ब्रेन बाइट्स
म्युजिकको म्याजिक
म्युजिक मेडिसिन
कस्तो म्युजिक
नेपालमा म्युजिक थेरापीः
म्युजिक मेडिसिन
ओम बानियाँ
म्युजिक अर्थात् संगीत प्रकृतिको अनुपम उपहार हो । डाँडापहरा, पाखापखेरा, बनजंगल, झरना, नदीनाला तथा समुद्र जताततै संगीत नै संगीत छ । भरभुमिको वालुवादेखि हिमालको हिउँले तथा हरेक वनस्पति तथा प्राणीहरुको अंगअंगहरुले हरदिन हरपल गीत गाइरहेको छ । म्युजिक प्रकृतिको म्याजिक हो । म्युजिक मेडिसिन पनि हो । प्रकृतिको यो अनुपम उपहारको महत्वलाई बुझेर नै प्राचिन कालदेखि नै मानिसहरुले शब्दहरुलाई लिपिबद्ध गर्ने, संगीत भर्ने तथा कर्णप्रीय आवाजमा स्वरांकन गर्ने कार्य गरी संगीत तयार गर्दै आएका छन् । संगीत प्राचिन कालदेखिको एक प्रमुख र निकै लोकप्रिय मनोरंजनको साधान हो । तर हाम्रो समाजमा म्युजिकले मान्छे बिर्गाछ भन्ने पनि चलन छ । त्यो एक हदसम्म सत्य पनि हो, त्यो किनभने आफ्नो कामधन्दा वा पढाइलेखाइ छोडेर दिनरात गीतसंगीत सुन्नेतिर लाग्ने हो भने म्युजिकले अवश्य नै मानिस बिर्गाछ । तर मन प्रसन्न गर्ने तथा उत्प्रेरित गर्ने खालका म्युजिकहरु कहिलेकाहीँ सुन्ने हो भने म्युजिकले मानिसको थकित मनलाई मनोरंजन दिनुकासाथै मानिसलाई दिशा निर्देश समेत गर्छ । कर्णप्रीय संगीतले शारीरिक थकाइ पनि मेटाउँछ ।
म्युजिकको म्याजिक
मीठो र कर्णप्रीय म्युजिकले श्रोतालाई यसरी बाँध्दछ कि श्रोता केही क्षण सबैकुरा बिर्सेर गीतमा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हँुदैनन् । साँच्चै म्युजिकले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ । वास्तवमा हरेक मानिसको मनमस्तिष्क म्युजिकल हुन्छ । यस संसारमा म्युजिक मन नपर्ने मानिस नै हुँदैनन् भने पनि हुन्छ । हरेक समान्य मानिसलाई म्युजिक मन पर्छ । त्यसैले उनीहरुले मौका पाउनासाथ म्युजिक सुन्छन्, वेलावेलामा गीत गुनगुनाउँछन् ।
म्युजिकले मानव मनमस्तिष्कमा निकै ठुलो प्रभाव पार्छ । म्युजिकको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्दछ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भुमिका निभाउँछ। म्युजिक मानिसलाई मात्र होइन, पशुपंक्षीहरुलाई पनि मन पर्छ । त्यही भएर त नदीनाला, ताल र बनजंगलको म्युजिकमा चराचुरुंगीहरु रमाइलोसँग नाचिरहेका हुन्छन् । म्युजिक सुनेर गाईभैंसीले पनि बढी दूध दिने गर्छन् । भारतका प्रसिद्ध वैज्ञानिक जगदिश चन्द्र बोसले त वनस्पति समेत संगीतबाट प्रभावित हुने कुरा प्रमाणित गरिदिएका थिए ।
म्युजिक मेडिसिन
म्युजिकले मेडिसिनको काम गर्छ भन्ने तथ्य मैले धेरै पहिला नै आफैँ अनुभव गरेका भएता पनि सन् २००२ तिर आएर माइन्डबडी मेडिसिनको अध्ययनका दौरानमा मैले सिनेमाथेरापीसँगै म्युजिक थेरापीका बारेमा धेरै कुराहरु सिक्ने मौका पाएँ । सानैदेखि फिल्मप्रति रुचि राख्ने भएकोले पनि सिनेमाथेरापी र म्युजिक थेरापीले मलाई आकर्षित गर्नु स्वभाविकै थियो । त्यसैले मैले म्युजिक थेरापी र सिनेमाथेरापीलाई कग्निटिभ थेरापीसँगै प्रयोगमा ल्यान शुरु गरेँ ।
म्युजिक थेरापी (राग चिकित्सा) आयुर्वेदको एक अंग हो । वेदमा म्युजिकलाई ठूलो महत्व दिइएको छ । चार वेद मध्यको एक प्रमुख वेद, सामवेद संगीतसँग सम्बन्धित छ । गान्धर्व वेद भनेको त संगीत शास्त्र नै हो । आयुर्वेदका अनुसार वात, पित्त र कफ असन्तुलन र कुपित भयो भने मानिसलाई रोग लाग्छ । यसरी कुपित भएको वात, पित्त र कफलाई सन्तुलित गर्न म्युजिकले ठूलो भूमिका खेल्छ ।राग चिकित्साका अनुसार रागहरुलाई विभिन्न रोगहरुको उपचार गर्न प्रयोग गर्न सकिन्छ । जस्तो कि अहीर भैरव रागले अपच रोगमा फाइदा गर्छ । असावरीले आत्मविश्वास बढाउन सहयोग गर्छ । बागेश्रीले अनिद्रामा र भिमा पलासले दुश्चिंता घटाउन सहयोग गर्छ आदि । राग चिकित्साका अनुसार रागले अनिद्रा, दुखाइ, उच्च रक्तचापदेखि लिएर मिर्गी तथा सिजोफ्रेनिया समेत फाइदा गर्ने कुरा उल्लेख छ । यस सम्बन्धमा भारतको चेन्नइ स्थित राग अनुसंधान केन्द्रले अनुसंधान गरिरहेको छ ।
मोजार्ट र म्युजिक
मानिसको शरीरमा म्युजिकले के कस्तो प्रभाव पार्दछ भन्ने विषयमा थुप्रै अध्ययन अनुसंधान भए, भैरहेका छन् । अध्ययनबाट म्युजिकका थुप्रै औषधीय गुणहरु समेत भेटिएका छन् । प्रसिद्ध फ्रेन्च चिकित्सक अल्पे्रmड टोमाटिजले आफ्नो सम्पूर्ण जीवन नै स्वर र म्युजिकले, खासगरी मोजार्ट म्युजिकले मानव शरीरमा के कस्तो असर गर्दछ भन्ने अनुसंधानमा लगाए । आफ्नो ५० वर्षको अध्ययन, अनुसंधानबाट मोजार्ट म्युजिकमा अद्भुत औषधीय गुणहरु भएको तथ्य फेला पारे । उनले मोजार्ट म्युजिकलाई मेडिसिनका रुपमा पनि प्रयोग गरे । उनको म्युजिक मेडिसिनबाट लाखौं रोगीहरुले स्वास्थ्य लाभ पाए । उनी रोगीहरुको माँझ डा. मोजार्टको उपनामले लोकप्रिय भए ।
कस्तो म्युजिक
म्युजिक धेरै किसिमका हुन्छन् । तर, सबै म्युजिकहरुलाई थेरापीका रुपमा प्रयोग गर्न सकिँदैन । कुन रोग र रोगीलाई कस्तो संगीतलाई थेरापीका रुपमा प्रयोग गर्ने भन्ने कुरा जान्न विशेषज्ञको सल्लाह आवश्यक हुन्छ । रोगीले आफै उचित म्युजिक छनौट गर्न सक्दैनन् । बरु उल्टो रोग बढाउने खालका म्युजिक सुन्न र हेर्न मन पराउँछन । जस्तो कि डिप्रेस्ड व्यक्तिले प्रायः उदास गीत सुन्न र हेर्न चाहन्छन् । प्रेमी वा प्रेमिकाको विछोडको पीडामा परेकाहरुले नारायण गोपालको यो सम्झिने मन छ, म बिर्सु कसरी तथा अंजु पन्तको न पाएँ तिमीलाई न बिर्सें तिमीलाई जस्ता गीतहरु सुन्न र हेर्न चाहन्छन् । तर यस्ता गीतले उसको उदासी झन् बढाउँछन् । त्यसैले यस्ता व्यक्तिलाई मन प्रसन्न बनाउने खालका, उत्प्रेरित गर्ने र उसको नकारात्मक सोचलाई सकारात्मक बनाउने खालका म्युजिकहरु सुन्न र हेर्ने सल्लाह दिनुपर्छ ।
म्युजिक थेरापी प्रयोग
हिजोआज विकसित मुलुकमा म्युजिक थेरापी माइन्डबडी मेडिसिनको एक प्रमुख टेक्निकका रुपमा उदाएको छ । मनोजन्य रोगहरुदेखि लिएर लर्निगं डिसअर्डर, डिमेंसिया क्यान्सर र पक्षघातले थला परेका रोगीहरुकालागि पनि निकै उपयोगी पनि देखिएको छ । यहाँ उल्लेखनीय कुरा के भने मानिसका लगभग ८० प्रतिशत रोगहरु मनका कारण नै पैदा हुन्छन् । त्यसो त कतिपय शारीरिक रोगहरुको उपचारकालागि पनि म्युजिक थेरापी प्रयोगमा ल्याउन सकिन्छ । साधारणतया म्युजिक थेरापीलाई बिभिन्न रोगहरुमा बैकल्पिक वा पूरक चिकित्साको रुपमा प्रयोगमा ल्याउने गरेको पाइन्छ । साइकोम्युजिकोलोजिस्टले रोगहरुको चिकित्साका लागि मनोवैज्ञानिक टेक्निकहरुका साथै म्युजिकलाई प्रयोग गर्ने गर्छन् ।
नेपालमा म्युजिक थेरापीः
नेपालमा म्युजिक थेरापीको प्रयोग भएको देखिँदैन । त्यसो त विशाल छिमेकी देश भारतमा समेत म्युजिक थेरापीको विकास भएको छैन । तर भारतका कतिपय चिकित्सकहरुले म्युजिक थेरापीलाई प्रयोगमा ल्याउँदै आएका छन् । भारतको चेन्नइ स्थित प्रसिद्ध विश्वविद्यालय, नेश्नल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेसकी प्राध्यापिका डा. मन्जुला देविले प्रायः रोगीहरुलाई म्युजिक थेरापी प्रेस्क्राब्ड र्गिर्छन् । यसबाट उनले आशातीत सफलता पनि पाइरहेको बताउँछिन् । डा. मन्जुलाको अनुभव छ, सुस्त मनस्थितिका बालबालिकाका लागि म्युजिक थेरापीले अद्भुत फाइदा गर्छ ।
अन्तमा श्रोतालाई मनोरंजन प्रदान गरी व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका यस्ता म्युजिकहरु मेडिसिनको रुपमा उपयोग आउनु निकै खुसीको कुरा हो । तर बिडम्बना के भने २१ औं शताब्दीमा पनि नेपालको मनोचिकित्सा केवल औषधिमा मात्र निर्भर छ । नेपालमा साइकोथेरापीको पनि विकास हुन सकेको छैन । त्यसैले नेपालमा साइकोथेरापीसँग म्युजिक थेरापी तथा सिनेमा थेरापीको विकास हुन जरुरी छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)


Commendable insight Dr. saab
ReplyDeleteThanks a LOTS !
Delete