ब्रेन बाइट्स
चंञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्थे वायोरिव सुदृष्करम् ।।
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च ग्रह्यते ।।
संकल्प शक्ति
ओम बानियाँ
प्रख्यात दार्शनिक राल्फ वाल्डो इमर्सन भन्छन्ः मानिसको उद्देश्य जति नै विशाल किन नहोस्, एक न एक दिन उसले त्यो उद्देश्य प्राप्त गरेर नै छोड्छ । तर यसकालागि दृढसंकल्पको साथै उद्देश्य परिपूर्तिको दिशामा निष्ठा अर्थात निरन्तर अग्रसरता चाहिँ हुनुपर्छ । हुन पनि हो, दृढसंकल्पको उत्तोलक, निष्ठाको ओट र पर्याप्त इच्छाशक्तिको बलले गन्तव्य पथको चट्टान त के पृथ्वी नै हल्लाउन सकिन्छ ! तर विश्वका थुप्रै मानिसहरूलाई आफ्नो यो अथाह शक्तिको बारेमा थाहा छैन । एक हातले विश्व हल्लाइदिने आर्किमिडिज ज्ञान अवगत छैन । त्यसैले त अधिकांश मानिसहरूले जीवनमा आफ्नो लक्ष्य समेत बनाउन सकिँरहेका छैनन् । केवल झर्ला र खाउँला भनेर राजा–महाराजा वा नेताको टांगमुनि थुतुनो आँ गरेर बसिरहेका छन् । के तपाईं पनि यसरी नै आँ गरेर त बस्नुभएको छैन ? छ भने भयो भो, अब थुतुनोलाई धेरै कष्ट नदिनुहोस्, झर्नेवाला केही छैन । त्यसैले टांग पनि नढुक्नुहोस् । एक दिन त अवश्य नै कुनै मसीहा आउँछ र पेटभरि टन्न खाना पाइन्छ भन्ने आशामा पनि नबस्नुहोस् । तपाईंको मसीहा तपार्इंं आफैँ हो । तपार्इंं आफैँ आफ्नो राजा हो । एक पटक मनको राजा भएर त हेर्नुहोस् ?
नदी त्यसै नदी हुँदैन । झरना र ससाना कुलेसाहरूले गर्दा नै नदी विशाल हुँदै जान्छ । नदीको जलप्रवाह पनि बढ्दै जान्छ । अनि नदी कर्णालीझैँ सुस्साउँदै समुन्द्रसम्म पुग्न सक्छ । नदीको गन्तव्य समुन्द्र नै हो । तर, यदि नदी ससाना कुलेसाहरू तथा खोला–नालाहरूमा बाँडिदै गयो भने के समुन्द्रसम्म पुग्न सक्छ ? पक्कै पुग्दैन । जीवनको दौडमा पनि यही सिद्धान्त लागू हुन्छ । त्यसैले जीवनमा कुनै महान् कार्य गर्नु छ भने अनगिन्ती इच्छा र चाहनाहरू पछि भेडादौड दौडिनु हुदैन । तर अधिकांश मानिस जीवनको मूल्य र मान्यताहरूलाई बिर्सिएर यस्तै–यस्तै स–साना महत्वहीन इच्छाहरूको पछि भेडादौड दौडिँरहेका छन् । झर्ला र खाउँला भन्ने आशामा आँ गरेर टांग ढुकिँरहेका छन् । यस्तै महत्वहीन इच्छाहरू र मूर्खताले गर्दा नै मानिस दिग्भ्रमित छ, किंकर्तव्यविमूढ छ । उदास छ, निराश छ । दिन प्रतिदिन मानिस सुक्दै गएको छ, गल्दै गएको छ । दुब्लाउँदै गएको छ, निथ्रिदै गएको छ । त्यसैले नै अशक्त मन–शरीरको (आँको) थुतुनोले आक्रोेशको आगो ओकल्दै छ । तर यस्तो आक्रोेशको आगोले केही हुनेवाला छैन । त्यो किनभने लक्ष्यमा पुग्न आक्रोेशको राँको होइन, इच्छाशक्तिको आँठो आवश्यक हुन्छ । तर मानिसको त्यो अपार शक्तिको आँठो अनगिन्ति इच्छा र आशाका टांगहरूको ससाना कुलेसाहरूमा बाँडिदै–बाँडिदै सकिएको छ, रित्तिएको छ । त्यसैले त अधिकांश मानिसहरू आफ्नो गन्तव्यसम्म पुग्न सकिँरहेका छैनन् । टांगमुनि आँ नै गरिरहेका छन् । त्यसैले सावधान ! यस्ता अनगिन्ती इच्छा र चाहनाहरूको भेडादौडदेखि सावधान !! झर्ला र खाउँला भन्ने चेतनादेखि पनि सावधान !
फेरि याद राख्नुहोस्, इच्छाहरूको गह्रंगो भारी बोकेर भेडा दौडले लक्ष्यको समुद्रसम्म पुग्न सकिँदैन । झर्ला र खाउँलाको आशामा भोकको थुतुनो पनि भरिँदैन । यो निश्चित छ । त्यसैले महत्वहीन इच्छाहरूलाई त्याग्नुहोस् । झर्ला र खाउँलाको मनस्थितिबाट आफूलाई आजाद बनाउनुहोस् । जीवनमा केही गर्ने अठोट गर्नुहोस् । जीवनको लक्ष्य बनाउनुहोस् । र, जीवनलाई सार्थक बनाउन लक्ष्य प्राप्तिको दिशामा दृढसंकल्पकासाथ भावनात्मक बुद्धिमत्ताले कठोर मेहनत गर्दै अगाडि बढ्नुहोस् । यसरी दृढसंकल्पको उत्तोलक, निष्ठाको ओट र पर्याप्त इच्छाशक्तिको बलले साहसी पाइलाहरू अगाडि बढाउनु भयो भने लक्ष्यको बाटोमा देखापर्ने प्रत्येक अवरोधहरू नै लक्ष्यमा पुग्ने खुड्किलाहरू बन्नेछन् । तपार्इंं अवश्य नै लक्ष्यमा पुग्नुहुनेछ । यसमा कुनै शंका छैन । ढिलो चाँडो भन्ने कुरा अलग हो । यस प्रसंगमा एक विद्वान डा. नारमन मैकलियडले बहुतै सटीक तथा तर्कसंगत शब्दहरू व्यक्त गरेका छन्ः “यद्यपि बाटो खराब र खतरनाक छ, त्यसको अन्त पनि देखिएको छैन, बहुतै दुर्गम छ, तापनि परमात्माप्रति विश्वास गर्दैै दृढताका साथ साहसी पाइला अघि बढाऊ, एक न एक दिन लक्ष्य (बाटोको अन्त) प्राप्त गर्नेछौँ ।”
कतिपय मानिसले लक्ष्य त बनाउँछन्, तर त्यो लक्ष्यमा दृढसंकल्प हुदैन, दृढइच्छाशक्ति र पर्याप्त निष्ठा हुदैन, जसले गर्दा उनीहरू सफलताको पहिलो खुड्किलो नै उक्लिन सक्दैनन्, तब लक्ष्यमा पुग्ने सवालै उठ्दैन । त्यसैले आफ्नो निर्दिष्ट लक्ष्यमा पुग्न मस्तिष्कको यो भाषालाई बुझ्नु नै पर्दछ । अनिगिन्ति इच्छा र आकांक्षाहरूले चंचल मनलाई झन् चंचल बनाउँछ । त्यसैले यस्ता सानातिना इच्छाहरूबाट मनलाई वशमा राखी मनलाई अर्जुनलेझैँ लक्ष्यमा टिकाउनुपर्छ । हुनत चंचल मनलाई वशमा राख्ने कार्य गाह्रो छ । तर असम्भव चाहिँ पक्कै छैन । तपाईं–हामी जस्ता साधारण मानिसको त कुरै छोडौँ । पाँच हजार वर्ष पूर्व महाभारत युद्धभूमिमा श्रेष्ठ धनुर्धर अर्जुनको मन समेत चंचल भएको थियो । र, उनले श्रीकृष्ण समक्ष यसो भनेका थिएः
चंञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्थे वायोरिव सुदृष्करम् ।।
(अर्थात् हे कृष्ण ! यो मन अति नै चंचल, सुदृढ र बलमान् छ । यसलाई वशमा राख्न मलाई वायुलाई वशमा राख्न भन्दा पनि कठिन जस्तो लागेको छ ।) जसको जवाफमा श्री कृष्णले अत्यन्तै वैज्ञानिक र सटीक शब्दहरू व्यक्त गर्नु भएको थियो, जुन अहिले पनि त्यतिकै उपयोगी र मनन योग्य छः
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च ग्रह्यते ।।
(अर्थात हे महाबाहु ! निःसन्देह मन चंचल र कठिनताले वशमा हुने खालको छ । तर हे कुन्तीपुत्र १ बारम्बारको प्रयत्न, अभ्यास तथा विरक्ति भावद्वारा यसलाई वशमा राख्न सकिन्छ ।) त्यसैले दृढसंकल्प लिएर विवेकको प्रयोग गरी बारम्बार प्रयत्न र अभ्यास गर्दैरहनाले मनमस्तिष्कलाई सफलताको बाटोमा हिँडाउन सकिन्छ । लक्ष्यको सही बाटो पहिल्याइ हिँड्न थालेपछि लक्ष्यसम्म पुग्न नसक्ने प्रश्नै उठ्दैन । त्यसैले जीवनको निर्दिष्ट लक्ष्य प्राप्तिका लागि दृढसंकल्पको ऊर्जालाई सदुपयोग गर्नु अनिवार्य छ । यसका लागि सानातिना इच्छा र आकांक्षाहरूको पछि नलागि मनलाई एकाग्रपूर्वक लक्ष्यमा टिकाउनुपर्छ । वास्तवमा लक्ष्यको आँखामा अर्जुनको एकाग्रताले नै इच्छाशक्ति बढ्ने गर्छ ।
दृढसड्ढल्प भनेको मानसिक अठोट हो । मनको आँट हो । आफ्नो काममा पूरापुर विश्वासकासाथ लाग्ने, लक्ष्यबाट जस्तोसुकै विषमपरिस्थितिमा पनि विचलित नहुने विचारको गहराइबाट निस्केको हिम्मत हो । आमभाषामा भन्ने हो भने आफ्नो कुनै महान् लक्ष्य प्राप्तिका लागि वा कुनै सकाम कामकाज गर्न, जस्तो कि जौ–तिल–कुश र पानी अँजुलीमा लिई गर्ने प्रतिज्ञा हो । यस्तो प्रतिज्ञा जति मनको गराइ अर्थात् एकीकृत क्षेत्रबाट उर्लिन्छ, त्यत्ति नै हिमालझैँ दृढरहिरहन्छ । दृढसड्ढल्पको प्राविधि पक्षलाई हेर्ने हो भने दृढसड्ढल्पमा तीन तत्वहरू निहित हुन्छन् । ती हुन्ः ऊर्जा, बुद्धि र, विश्वास । त्यसैले कुनै सड्ढल्प दृढसड्ढल्प हुनाका लागि पर्याप्त ऊर्जा, सद्बुद्धि र विश्वास आवश्यक हुन्छ ।
विश्वास त दृढसड्ढल्पको जरो नै हो । विश्वास बिना त दृढसड्ढल्पको कल्पना नै गनै सकिँदैन । त्यसैले दृढसड्ढल्प भनेको डीङ हाँक्नु होइन, धाक लगाउनु होइन, फाइँफुट्टी गर्नु पनि होइन । भेडोझैँ बिना सोचबिचार एकोहोरो हिँड्नु पनि होइन । आवेगमा हल्ला बोल्नु तथा डुङ्ग्री पिटनु पनि होइन । सरल शब्दमा भन्नुपर्दा दृढसड्ढल्प भनेको गर वा मरको प्रण हो । यस्तै प्रण सन् १९४०, जून ४–मा विंस्टन चर्चिलले गरेका थिए । चर्चिलले हाऊस आफ कमन्सलाई सम्बोधित गर्दै भनेका थिएः “हामीहरू आखिर तक लड्नेछौँ, हामीहरू फ्रान्सको धरतीमा लड्नेछौँ, हामीहरू समुद्र र सागरहरूमा लड्नेछौँ, हामीहरू आफ्नो बढ्दै गएको विश्वास तथा शक्तिले हावामा पनि लड्नेछौँ, हामीहरू हर हालतमा आफ्नो देशको रक्षाको लागि लड्नेछौँ, यसका लागि हामीहरूलाई जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्, तर हामीहरू लड्नेछौँ । हामीहरू समुद्रको किनारामा लड्नेछौँ, हामीहरू मैदानमा लड्नेछौँ, हामीहरू खेतहरूमा लड्नेछौँ, हामीहरू गल्लीहरूमा लड्नेछौँ, हामीहरू बजारमा लड्नेछौँ, हामीहरू पहाडमा लड्नेछौँ । यो लडाइँमा चाहे हाम्रो ज्यान किन नजाओस्, हामीहरू यो लडाइँ लड्नेछौं, तर आत्मसमर्पण भने कदापि गर्नेछैनौं ।”
भारतका महान् क्रान्तिकारी नेता सुवासचन्द्र बोसको संकल्प पनि फलाम जस्तो दृढ र मजबुत थियो । विदेशमा बसेर आजाद हिन्द फौज गठन गरेका बोसले सन् १९४२ मा देशविदेशमा बसोबास गर्ने सम्पूर्ण भारतीयहरूलाई स्वतन्त्रता संग्राम होमिन आब्हान गर्दै शेरको गर्जनमा भनेका थिएः “तुम मुझे खुन दो, मै तुम्हे आजादी दुंगा । (तिमी मलाई रगत देऊ, म तिमीलाई आजादी दिन्छु ।)” दृढसड्ढल्प भनेको नै यही हो । त्यसैले जीवनमा केही गर्ने संकल्प गरेका व्यक्तिहरूले दृढसड्ढल्पको यो मनोविज्ञानलाई अनिवार्य रूपमा बुझ्नुपर्छ । ख्याल गर्नुहोस्, दृढसड्ढल्प र इच्छाशक्ति भएका मनका शेरहरूले नै जुन कार्यमा हात हाल्छन्, त्यो पूरा गरी छोड्छन् । बाँकी कामात्तुर नाउँका शेरहरूले त इच्छाको भीख मात्र माग्छन् । सधैँभरि झर्ला र खाउँलाको थुतुनो नै आँ गर्छन् ।
इतिहास साक्षी छ, दृढसंकल्पका शेरहरू एक पटक गन्तव्यपथमा पाइला टेकिसकेपछि निष्ठापूर्वक आफ्नो बाटो हिँडिरन्छन्, डटेर अगाडि बढिरहन्छन् । कर्तव्यपथका पर्खालहरूलाई तोड्दै जान्छन्, फोड्दै जान्छन् । खुड्किलो बनाउँदै जान्छन् । मास्तिर चढ्दै जान्छन्, अगाडि बढ्दै जान्छन् । रोकिँदैनन्, अगाडि बढिरहन्छन् । एक न एक दिन आफ्नो गन्तव्यमा पुगी छोड्छन् । त्यो किनभने यस्ता मनका शेरहरूलाई दृढसंकल्पद्वारा नै आफ्नो अपार शक्ति जागृत हुन्छ भन्ने कुरा थाहा छ । त्यसैले तपाईं पनि उठ्नुहोस् । जाग्नुहोस् । दृढसंकल्पको शेर बन्नुहोस् । जीत तपाईको निश्चित छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)



No comments:
Post a Comment