Sunday, May 3, 2020

ब्रेन बाइट्स 
किन घट्छ स्मरणशक्ति ?
ओम बानियाँ 
ब्रेन अर्थात् मस्तिष्क मानव शरीरको सबै भन्दा महत्वपुर्ण अड्ड हो । मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ । कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही मस्तिष्क हो । मस्तिष्क मानिसको ‘मेमरी बैंक’ पनि हो । यही मेमोरी बैंकमा नै सूचनाहरू संग्रह हुन्छन् र यसका आधारमा नै मेमोरी (सम्झना–शक्ति)ले कार्य गर्दछ । तर, सबै मानिसको स्मरणशक्ति एकनाश हुँदैन र सधैँभरि उस्तै पनि रहँदैन । प्रायः सबै मानिसहरूले आफ्नो जीवन कालमा स्मरणशक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग(स्मृतिलोप)का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाद्य हुन्छन् ।


किन घट्छ स्मरणशक्ति ?

स्मरणशक्ति गडबड हुने तथा बिर्सिने रोगका विभिन्न कारणहरू हुन्छन् । उमेर ढल्कदै गएमा तथा स्मरणशक्तिका क्रियात्मक आधार (स्मरणशक्तिका तीन क्रियाहरू हुन्छन्ः अंकन(रजिस्टे«सन्), धारणा(रिटेन्सन) तथा पुनःस्मरण(रिकल) मा कुनै त्रृटि भएमा पनि स्मरणशक्ति कमजोर हुन्छ । जस्तो कि याद राख्नु पर्ने विषयमा राम्रोसँग ध्यान दिइएन भने त्यो विषय मस्तिष्कमा राम्रोसँग अंकन तथा धारण हुन सक्दैन, जसले गर्दा स्मरणशक्ति कमजोर हुन्छ । त्यसैगरी ठीक तरिकाले पुनःस्मरण गर्न नसकेको खण्डमा पनि स्मरणशक्ति कमजोर हुन्छ । यी मेमोरी घट्ने सामान्य कारणहरू हुन् । तर स्मरणशक्ति शिरको चोटपटक तथा अन्य शारीरिक तथा मानसिक रोगहरूका कारण पनि घट्ने गर्छ । त्यसैले सजिलोका लागि स्मरणशक्तिको कमी तथा स्मृतिलोपलाई दुई भागमा वर्गिकरण गर्न सकिन्छ ।

(१.) सामान्य विस्मृति(नर्मल फर्गेटफुलनेस)
(२.) बिर्सने रोग (एम्नेसिया)

 
सामान्य विस्मृतिः
मानिसको उमेर ढल्कदै गएमा मानिसको स्मरणशक्ति पनि केही न केही मात्राामा घट्दै जान्छ । यो प्रायः हरेक बृद्धबृद्धाले महसुस गरेको तथ्य हो । खास गरी ४० वर्षको उमेरपछि प्रायः मानिसहरूले आफ्नो स्मरणशक्ति घटेको गुनासो गर्छन् । यस किसिमको स्मरणशक्तिको कमीले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन । तर, बुढेसकालमा, खासगरी ६०–६५ वर्षको उमेरपछि मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्ने गरी स्मरणशक्तिमा कमी आयो भने त्यो स्नायुरोग, अल्जाइमरका कारणले हुन सक्दछ । तर, अल्जाइमरले जस्तो लक्षणहरू देखाउने ९० प्रतिशत कारणहरू अल्जाइमर नभएर अन्य रोगहरू हुने गर्छन् । 

बिर्सने रोग (एम्नेसिया)ः

बिर्सने रोग (मेमोरी लस)–लाई मेडिकल भाषामा स्मृतिलोप(एम्नेसिया) भनिन्छ । यस्तो रोग लागेको व्यक्तिले आफ्नो नाम, ठेगाना, मिती–वार, गाउँ–टोल आदि जस्ता कुराहरू वा सम्पूर्ण कुरा बिर्सन सक्दछन् । वास्तवमा बिर्सिने रोग (एम्नेसिया) पुनःस्मरण गर्ने क्षमता वा पुर्वअनुभवहरूको पहिचान गर्ने आंशिक वा पुर्ण अयोग्यता हो । एम्नेस्टिक डिस्अर्डरमा पुराना कुराहरू मात्र होइन कि नयाँ कुराहरू पनि याद राख्न कठीन हुन्छ । स्मृति लोप विभिन्न कारणहरूले हुने गर्दछ । तर यसको प्रमुख कारण मस्तिष्कमा हुने क्षति तथा खराबी हो । कोर्सकोफको संलक्षण (सिन्ड्रोम) पनि यस्तो स्मृति लोप हो, जुन भिटामिन बी १ (थाइमीन)को कमीले हुने गर्छ । मस्तिष्कमा चोटपटक लागेर हुने स्मृति लोप प्रायः स्थायी प्रकृतिको हुन्छ, तर भिटामिन बी १ को कमीले हुने स्मृति लोप, सुरुमा नै उपचार गरेको खण्डमा निको हुन्छ । 

स्मृति लोप दुई किसिमका हुन्छन् । (१) एन्टेरोग्रेड एम्नेसिया (२) रेट्रोग्रेड एम्नेसिया । 

एन्टेरोग्रेड एम्नेसियामा नयाँ सुचना संझना राख्ने क्षमता ह्रास हुन्छ, यस प्रकारको एम्नेसिया प्रायः प्रोग्रेसिभ डिमेंसियामा देखा पर्छ भने रेट्रोग्रेड एम्नेसियामा पुरानो कुराहरू याद गर्न कठिन हुन्छ । चर्चित हिन्दी सिनेमा ‘गजिनी’ मा नायक सञ्जय सिंघानिया (आमिर खान)लाई टाउकाको चोटले गर्दा एन्टेरोगे्रड एम्निेसिया (सर्टटर्म मेमोरी लस अर्थात् अल्पकालीन मेमोरीको कमी)बाट पीडीत देखाइएको छ । यस्तो अवस्थामा अल्पकालीन स्मरणशक्ति बाहेक अन्य संज्ञानात्मक (कग्निटिभ) क्षमता भने प्रायः सामान्य हुन्छ । यसै गरी प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र जीवन रेखामा नायिका उमा (मिनाक्षी आनन्द)  तथा शम्भु प्रधानद्वारा निर्देशित नेपाली चलचित्र सपनामा नायिका सपना (करिश्मा केसी)लाई टाउको चोटले स्मृति लोप भएको देखाइएको छ । यी दुवै चलचित्रहरूमा नायिकाहरूलाई टाउकाको चोटपछि पुरानो कुनै कुराहरू याद हँुदैन । यो रेट्रोग्रेड एम्निेसिया उदाहरण हो । तर यी चलचित्रहरूमा देखाएझैं पुनः टाउकाको चोटले स्मृति फर्किदैन ।

स्नायु रोगः डिमेंसिया
बृद्धावस्थामा(६० वर्ष भन्दा बढी) हुने मानसिक क्षमताको ह्रास, जसले गर्दा व्यक्तिको स्मरणशक्ति, सुझबुझ, सोचविचार, नयाँ कुरा सिक्ने क्षमता तथा नयाँ परिस्थितिमा ढल्ने योग्यता आदि यदि धेरै नै बढेर जान्छ भने त्यो डिमेंसियाको लक्षण हो । सामान्यता उमेरसँगै व्यक्तिको मानसिक तथा शारीरिक क्षमताहरूमा कमी आउने भएता पनि यस्तो कमीले मानिसको आमजीवनमा कुनै ठुलो असर गर्दैन । तर डिमेंसियाले मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्न थाल्दछ । डिमेंसिया विभिन्न किसिमका हुन्छन् । जस्तैः अल्जाइमर डिमेंसिया, भास्कुलर डिमेंसिया, शिरको चोटपटकबाट हुने डिमेंसिया, एचआइभीको कारणबाट हुने डिमेंसिया, पार्किन्सन डिमेंसिया, हन्टिगंटन डिमेंसिया तथा पिक डिमेंसिया आदि । मेमोरीको कमी डिमेंसियाको एक प्रमुख लक्षण हो । तर सबै डिमेंसियामा मेमोरी कमी हुन्छ भन्ने छैन । शिरको चोटपटक  वा अन्य शारीरिक कारणहरुले पैदा भएको स्मृतिलोपलाई अग्र्यानिक एम्नेसिया भनिन्छ भने मनोवैज्ञानिक कारणबाट पैदा भएको स्मृतिलोपलाई साइकोजनिक एम्नेसिया (डिसोसिएटिभ एम्नेसिया) भनिन्छ । प्रायः अग्र्यानिक एम्नेसिया एन्टेरोग्रेड प्रकृतिका हुन्छन् भने साइकोजनकि एम्नेसिया रेट्रोग्रेड प्रकृतिका हुन्छन् ।


स्मरणशक्ति घट्ने अन्य कारणहरूः

शारीरिक रोगहरू जस्तै कलेजो तथा मिर्गौलाको रोग, थाइरायड ग्रन्थिको रोग, हाइपर–हाइपोकैल्केमिया, भिटामिन बी१ को कमी, भिटामिन बी१२ को कमी, आयोडिनको कमी, थायराइड ग्रन्थिको समस्या, रक्ताल्पता, नर्मल प्रेसर हाइड्रोसेफलस, औषधिको प्रतिप्रभाव, ट्यूमर, संक्रमण, मुटु र   छातीको रोग, दृष्टि तथा श्रवण दोष, हाइपर–हाइपोएटे«मिया, मद्यपान तथा दुव्र्यसन, सिफलिस, मधुमेह आदि तथा मानसिक रोगहरू जस्तैः डिप्रेसन तथा आत्तिने रोग, मानसिक थकान (न्युरेस्थेनिया), आत्मविस्मृति (फ्युग), तीब्र दुविधा, मानसिक मंदता तथा मस्तिष्कीय चोटपटक, स्नायुमण्डलमा सङ्क्रमण र अन्य स्नायुरोगहरूका कारण पनि डिमेंसिया देखा पर्छ, मानिसको स्मरणशक्ति कमजोर हुने तथा घट्ने गर्छ । यत्ति मात्र होइन कि गलत  जीवनशैलीका कारणले पनि स्मरणशक्ति घट्ने गर्छ । स्मरणशक्ति कमजोर हुनुको लगभग २० प्रतिशत कारण त मानिसको गलत जीवनशैली हो ।

बिर्सिने रोगको उपचार र रोकथामः
कतिपय बिर्सने रोग स्थायी प्रकृतिका हुन्छन् भने अधिंकाश बिर्सने रोग उपचारबाट ठीक हुन्छन् । जस्तो कि डिपे्रसिभ सिउडोडिमेंसिया, डिप्रेसनको उपचारपछि ठीक हुन्छ । त्यस्तै गरी मद्यपानका कारण भिटामिन बी१ को कमीले हुने एम्नेसिया पनि भिटामिन बी१ पÒर्तिपछि निको हुन सक्दछ । यसै गरी डिसोसिएटिभ एम्निेसिया (मनोजन्य बिर्सने रोग) लगायत माथि उल्लेखित अधिकांश रोगहरू औषधोपचारपछि ठीक हुन्छन् । यस्ता रोगहरू निको भएपछि स्मरणशक्ति पनि सामान्य हुन्छ । यसका साथै स्मरणशक्ति पुनस्र्थापना कार्यक्रमले पनि बिर्सने रोगको उपचारमा ठुलो टेवा पु¥याउने गर्छ । त्यसैले आफु तथा आफ्ना परिवारका कुनै सदस्यमा यदि बिर्सिने रोगको लक्षण देखा परेको छ भने तुरुन्त चिकित्सकसँग सम्र्पक गर्नु  बुद्धिमानी हुन्छ । समयमै औषधोपचार गरेको खण्डमा बिर्सने रोग ठीक हुन्छ, ठीक नभए पनि नियन्त्रण गर्न सकिन्छ । यसका साथै निम्नलिखित कुराहरूप्रति विशेष ध्यान दिने हो भने बिर्सने रोग तथा डिमेंसियाको रोगथाम गर्न सकिन्छ ।

रक्तचाप सामान्य राख्ने । कोलेष्ट्रोल नियन्त्रण गर्ने । होमोसिस्टीन सामान्य राख्ने । यदि होमोसिस्टीनको मात्रा बढ्यो भने पनि हृदयघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ । शिरलाई चोटपटकबाट बचाउने । आँखा तथा कानलाई ठीक राख्ने । आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने । शारीरिक व्यायामका साथै मानसिक व्यायाम गर्ने, सधैँ सन्तुलित आहार लिने । मस्तिष्कको प्रयोग गर्ने । सामाजिक रूपमा सक्रिय रहने । तनाव तथा डिप्रेसन आदिबाट बच्ने । स्वस्थ जीवनशैली अपनाउने । 

मानिसको जीवनमा जीवनशैलीको ठूलो महत्व छ । जीवनशैली ठीक राख्ने हो भने अधिकांश रोगहरू हुन पाउदैनन्, कतिपय रोगहरू त उचित जीवनशैलीबाट नै ठीक हुन्छन् । यदि यस्ता रोगहरू ठीक भए भने स्मरणशक्तिले पनि ठीकठाकसँग आफ्नो कार्य गर्न समर्थ हुन्छ । त्यसैले मस्तिष्कको सबैभन्दा महत्वपुर्ण कार्य स्मरणशक्तिलाई सधैँ तरोताजा राख्न मानिसले आफ्नो जीवनशैली ठीक राख्नुपर्छ । सधैँ सन्तुलित भोजन गर्ने, शारीरिक तथा मानसिक व्यायाम गर्ने, सधैँ सकारात्मक सोच राख्ने तथा सकारात्मक कार्यहरू गर्ने हो भने डिप्रेसन लगायतका अनेकौँ रोगहरूबाट समेत जोगिन सकिन्छ । बुढेस्कालसम्म स्मरणशक्ति ठीक राख्न सकिन्छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)


No comments:

Post a Comment