ब्रेन बाइट्स
केस नं. एकः
केस नं. दुईः
पुछारमाः
बुक स्मार्ट कि स्ट्रिट स्मार्ट
ओम बानियाँ
हिजोआज स्मार्ट शब्द निकै चर्चामा छ । प्रायः मानिसहरु स्मार्ट हुन चाहन्छन् । संघ, संस्था तथा कम्पनीहरुले पनि स्मार्ट कर्मचारीहरु काममा लगाउन चाहन्छन् । समाजमा स्मार्टनेसको महत्व बढ्दै गएका कारण कतिपय मानिसले आफुमा स्मार्टपना देखाउनका लागि पनि जानी नजानी स्मार्ट शब्द प्रयोग गरेको देखिन्छ । निर्वाचन ताका अधिकांश उमेदवारहरुले स्मार्ट सिटीको खुब भाषण गरेको सर्बविदितै छ । तर मजाको कुरा के भने अधिकांश मानिसहरुलाई स्मार्टको वास्तविक अर्थ भने थाहा छैन । मनिसलाई के भम्र छ कि जो व्यक्ति देख्नमा सुन्दर र सुडौल छ, उही नै स्मार्ट हो । यो सरासर गलत हो । स्मार्टनेसको मतलब सुन्दरता होइन, यसको शाब्दिक अर्थ हो, बुद्धिमान, समझदार, मेधावी, गतिशिल, फुर्तिलो, जागरुक, चतुर तथा हाजिर जवाफी । शाब्दिक अर्थमा यस्ता गुणहरु भएको व्यक्ति नै स्मार्ट व्यक्ति हो ।
हिजोआज स्मार्ट शब्दसँग जोडिएर अनेक विशेषणहरु आएका छन् । जस्तो कि स्मार्ट फोन, स्मार्ट सिटी, स्मार्ट कार्ड आदि आदि । बुक स्मार्ट तथा स्ट्रिट स्मार्ट यसका थप उदाहरणहरु हुन् । बौद्धिक जगतमा हिजोआज बुक स्मार्ट तथा स्ट्रिट स्मार्ट वारेमा बाक्लो बहस हुने गरेको छ । बुक स्मार्ट भन्दा स्ट्रिट स्मार्ट उत्तम भन्नेहरु धेरै छन् । के यो सही हो ?
केस नं. एकः
डा. बाबुराम भट्टराई । नेपालका एक नेता तथा नेपालका ३५ औं भुपु प्रधानमन्त्री । वि.स. २०११ सालमा गोरखाको खोप्लाङमा जन्मिएका बाबुराम भट्टराई नेपाली राजनीतिमा मात्र होइन, शैक्षिक तथा बौद्धिक वृतमा समेत निकै चर्चित छन् । भोजप्रसाद भट्टराई तथा धर्माकुमारी भट्टराईका दोस्रो सन्तानका रुपमा जन्मिएका भट्टराईको राष्ट्रव्यापी चर्चा त्यत्तिबेला भयो, जब उनी एसएलसीमा बोर्डफस्ट भए । राजनीतिक रुपमा उनले १० वर्षे सशस्त्र विद्रोह मार्फत आफ्नो पहिचान बनाएका हुन् । मनोवैज्ञानिकरुपमा डा. बाबुराम भट्टराई एक बौद्धिक तथा उच्च आईक्यु भएका व्यक्ति हुन् । उनको स्मरणशक्ति पनि निकै तेज छ । स्कुल तथा क्याम्पसमा उनी सधैँ प्रथम आउनुले पनि यस कुरालाई प्रमाणित गर्छ । तर, उनी राजनीतिक क्षेत्रमा एक सफल नेताको रुपमा स्थापित हुन सकेका छैनन् । उनको पढाइ र कामलाई लिएर नेपालमा एउटा लोकोक्ती नै बनेको छ, पीएचडी बाबुराम भन्दा तीन पटक एसएलसी फेल हरिवंश उत्तम ।
केस नं. दुईः
हरिवंश आचार्य एक लोकप्रिय अभिनेता । नेपालका सर्वश्रेष्ठ हाँस्य कलाकार । पढाइलेखाइमा गोबरगणेश कहलिए पनि अभिनय तथा गायनमा उनि धेरै कुशल र अब्बल छन् । मदन कृष्ण श्रेष्ठसँगको उनको अद्भुत केमिस्ट्रीले मह जोडी नेपाली आकाशको तारा भएको छ । हरिवंश आचार्यलाई सानैदेखि पढाइलेखाइमा खासै रुचि थिएन । उनी पढाइलेखाइमा निकै कमजोर थिए । उनी एक पटक होइन, तीन तीन पटक एसएलसीमा फेल भएका थिए । र, चौथो पटकको प्रयासपछि थर्ड डिभिजनमा बल्ल बल्ल एसएलसी पास भएका थिए ।
यी दुई स्मार्ट तस्विरहरु अहिले हाम्रो सामु जीवीत छन् । र, प्रश्न के भने कक्षा एकदेखि नै प्रथम प्रथम भएका र विद्यावारिधि समेत गरेका निकै मेधावी डा. बाबुराम भट्टराईले किन आफ्नो पेशा तथा राजनीतिमा जुन स्थान बनाउनु पर्दथ्यो त्यो बनाउन सकेनन्, केवल एक विद्धान नेता मात्रका रुपमा मात्र सीमित रहे भने अर्कोतिर पढाइलेखाइका दृष्टिले गोबरगणेश हरिबंश आर्चायले यति ठूलो सफलता र लोकप्रियता कसरी प्राप्त गरे ? यो जिज्ञासाको विषय हो ।
हो, यस कुरामा कनै संदेह छैन, दुबै स्मार्ट व्यक्ति हुन् । तर, यहाँ उल्लेखनिय कुरा के भने डा. बाबुराम बुक स्मार्टका उदाहरण हुन् भने हरिवंश स्ट्रिट स्मार्टका उदाहरण हुन् । सामान्य शब्दमा भन्ने हो भने उच्च शैक्षिक योग्यता हासिल गरेका पढाइया व्यक्ति, जसले कठिन परिस्थितिहरुमा निर्णय लिनु पर्दा तथ्यहरुबाट, किताबहरुबाट र पढाइलेखाइबाट प्राप्त ज्ञानका आधारमा गर्छन्, भने त्यस्ता व्यक्तिलाई बुक स्मार्ट भनिन्छ । अर्कोतिर व्यवहारमा कुनै कामकुरा कसरी गरिन्छ वा गर्न सकिन्छ भन्ने व्यवहारिक समझदारी भएका व्यक्तिलाई स्ट्रिट स्मार्ट भनिन्छ । छोटो शब्दमा भन्ने हो भने किताबहरुबाट भन्दा पनि व्यबहारिक जीवनबाट तथा व्यक्तिगत अनुभवहरुबाट प्राप्त ज्ञान नै स्ट्रिट स्मार्ट हो ।
साधारणतया आईक्यु बढी भएका व्यक्ति बुक स्मार्ट हुने गर्छन् भने ईक्यु बढी भएका व्यक्ति स्ट्रिट स्मार्ट हुने गर्छन् । हो, यस कुरामा कुनै संदेह छैन कि स्मरणशक्ति तथा आईक्यु बढी भएको व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्दछ । डा. बाबुरामले जस्तो उच्च शैक्षिक योग्यता हासिल गर्न सक्छन् । तर आईक्यु बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिहरुले उच्च पेशागत दक्ष्यता प्रर्दशन गर्छन् भन्ने छैन । उच्च पेशागत दक्ष्यताका लागि ईक्यु बढी हुन आवश्यक छ । आईक्युले शैक्षिक परीक्षामा राम्रो अंक दिलाउँछ जबकि ईक्युले जीवनको परीक्षामा राम्रो अंक दिलाउँछ । मनोविज्ञानको दावी छ कि जीवनमा २० प्रतिशत सफलता आईक्युको कारण हुन्छ भने ८० प्रतिशत सफलतामा ईक्युको कारण हुन्छ । त्यसैले मानिसको जीवनमा आईक्यु भन्दा बढी महत्वपुर्ण हुन्छ, ईक्यु (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।) ।
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोड्ने, कठिनाइहरुमा औसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खुबी नै भावनात्मक बुद्धिमत्ता हो । प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको महत्व विषयमा वर्षौदेखि शोध गर्दै आएका शोधकर्ता प्रा. डेनियल गोलमैनको भनाइ छ, बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । बुद्धिलब्धी (आई. क्यू.) ठूला–ठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरूभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता ।
आधुनिक समाजमा भावनात्मक बुद्धिमत्ताको झनै ठुलो महत्व छ । त्यो किनभने ईक्यु बढी भएका व्यक्ति नै अगाडि बढ्दै जान्छन्, समस्याहरुलाई खुड्किलो बनाउँदै मास्तिर चढ्छन्, तर ईक्यु कम भएका व्यक्तिको जीवन समस्याहरु गन्नमा नै कट्छ । अर्को कुरा ईक्यु कम भएका व्यक्तिहरुमा बढी मानसिक समस्याहरु देखिने गर्छ । त्यसैले हरेक मानिसले जीवन सफल र स्वस्थ बनाउन आफुमा ईक्यु दक्षता विकास गर्न आवश्यक छ । ईक्यु दक्षताहरुले मानिसको जीवन प्रभावशाली हुने संभावना बढ्छ ।
पुछारमाः
अतः आईक्यु बढी भएको व्यक्ति बुक स्मार्ट हो भने ईक्यु बढी भएको व्यक्ति नै स्ट्रिट स्मार्ट हो । आईक्यु र ईक्यु दुवै भएको व्यक्ति महामानव हो । नेपाली राजनीतिमा अहिलेसम्म आईक्यु र ईक्यु दुबै भएका केवल एक राजनीतिज्ञ जन्मिएका छन्, उनी हुन्, बीपी कोइराला । बीपी कोइरालाबाट कांग्रेसलेमात्र होइन, पूर्वाग्रहबाट माथि उठ्ने हो भने गैरकांग्रेसहरुले धेरै सिक्न सक्दछन् । शान्ति र समृद्धिका लागि बीपी कोइराला सर्वश्रेष्ठ रोलमोडल हुन् । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)


No comments:
Post a Comment