Saturday, May 23, 2020

ब्रेन बाइट्स

प्रविधि दुर्व्यसनको दलदल
ओम बानियाँ 

विश्वले प्रविधिहरुको विकास र बिस्तारमा ठुलो छलाङ लगाइरहेको छ । प्रविधिको विकासका कारण मानिसको श्रम वचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरंजन प्राप्त गरिरहेका छन् । मोबाइल, कम्प्युटर तथा इन्टरनेटको विकास र बिस्तारले त ज्ञानविज्ञान तथा सूचनासंचारलाई मानिसको हातहातमा पुराइदिएको छ । हातमा मोबाइल वा कम्प्यूटर छ, इन्टरनेटको सुविधा छ भने आफुले खोजेको वा जान्न चाहेको जुनसुकै सूचना वा ज्ञानगुनका कुरा तुरुन्त पढ्न, सुन्न र हेर्न पाइने अवस्थामा छ अहिलेको विश्व । तर प्रविधिको विकाससँगै यसको दुरुपयोग पनि बढ्दै गएको छ । कतिपय प्रविधिका यस्ता साधनहरुले मानिसहरुलाई नराम्रोसँग दुर्व्यसनको दलदलमा फसाउँदै लगेको छन् । दुर्व्यसनी बनाउँदै लगेको छन् । प्रविधि दुर्व्यसन लागूपदार्थको दुर्व्यसन जस्तै गम्भिर तथा खतरनाक हुने वैज्ञानिक अध्ययनले देखाएको छ ।


के हो प्रविधि दुर्व्यसन:
साधारण शब्दमा भन्ने हो भने टीभी, कम्प्युटर, टेबलेट, स्मार्टफोन, भिडियो गैम तथा इन्टरनेट आदि जस्ता प्रविधिहरु प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई प्रविधि लत वा दुर्व्यसन भनिन्छ । प्रविधि दुर्व्यसनमा फसेको व्यक्तिको ध्यान केवल यस्ता प्रविधिहरु प्रयोग गर्नमा हुन्छ । दिनको १०—१२ घण्टासम्म पनि ऊ यस्ता प्रविधिहरु प्रयोग गर्न पछि पर्दैन । ऊ यस्ता प्रविधिहरु प्रयोग नगरि बस्न सक्दैन । यदि प्रयोग गर्न नपाएको खण्डमा बैचन हुन्छ, आक्रोशित हुन्छ या उदासिन हुन्छ ।  यहाँ उल्लेखनिय कुरा के भने नयाँ प्रविधि सिक्नको लागि घण्टौं प्रयासरत रहनु या आवश्यकता अनुसार यसको प्रयोग गर्नु लत होइन । यो तबसम्म नशा होइन जबसम्म यसले सामान्य जीवनयापनमा वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन ।


तुलनात्मकरुपमा किशोरकिशोरी तथा युवावर्गहरु बढी यस्तो दुर्व्यसनको दलदलमा फस्ने गरेको भएता पनि बालबालिका तथा पाका मानिसहरुमा पनि यस्तो लत कम छैन । विश्वका सयमा ६ जना अर्थात् १८ करोड २० लाख मानिस इन्टरनेट लत ग्रस्त रहेको हालैको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ हङकङका शोधकर्ताहरुका अनुसार मध्यपूर्व एसिया विश्वमा सबैभन्दा धेरै इन्टरनेट अम्मलीको क्षेत्र बनेको छ । शोधकर्ता सिसेलिया चेंग र एन्जेल लाम लीले विभिन्न ८० वटा अध्ययनपत्रहरु छनोट गरेका थिए जसमा विश्वका विभिन्न ७ क्षेत्रका ३१ देशका मानिसहरुको इन्टरनेटको लतका बारेमा शोध गरिएको थियो । त्यसक्रममा अध्ययनमा समावेश गरिएका देशहरुमा इन्टरनेट अम्मलीको संख्या कुल जनसंख्याको औषतमा ६ प्रतिशत रहेको पाइयो । सबैभन्दा उच्च इन्टरनेट लत भएको क्षेत्र मध्यपूर्व रहेको छ । त्यहाँ इन्टरनेट लतको दर १०.९ प्रतिशत रहेको छ, त्यसमा इरान, इजरायल, लेवनान र टर्की समावेश छन् । इन्टरनेट अम्मल उच्च रहेको दोश्रो क्षेत्र उत्तर अमेरिका परेको छ । त्यहाँ इन्टरनेट अम्मलीको संख्या ८ प्रतिशत छ । समग्र एसियामा इन्टरनेट एडिक्सन ७.१ प्रतिशत रहेको छ । दक्षिण तथा पूर्वी युरोपमा ६.१ प्रतिशत, उत्तरी तथा पश्चिमी युरोपमा २.६ प्रतिशत रहेको छ । यस्तै सन् २००७ मा गरिएको एक अर्को सर्वेक्षण अनुसार अमेरिकामा २ प्रतिशत तथा युरोपमा ८ प्रतिशत मानिस यस लतबाट प्रभावित भएको देखाएको छ । नेपालमा पनि प्रविधि दुर्व्यसनमा फस्नेहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । अस्टेलिया, चिन, भारत, जापन, इटाली, कोरिया तथा ताइवान जस्ता देशहरुमा इन्टरनेट दुव्र्यसनलाई एक गम्भिर समस्याको रुपमा लिएका छन् । र, यस समस्याको समाधानका लागि उपायहरु खोजिरहेका छन् ।
प्रविधि दुर्व्यसनको लक्षणः
प्रविधि दुव्र्यसनको प्रमुख लक्षण भनेको आवश्यकता बिना दैनिक ५ देखि १० घण्टा वा त्यो भन्दा बढी समय प्रविधिहरु प्रयोग गर्न बिताउनु हो । यसका अन्य लक्षणहरुमाः साथीसंगी तथा परिवारबाट टाढा रहने । पर्याप्त निद्रा नसुत्ने । खेलकुद तथा अन्य मनोरंजनपूर्ण क्रियाकलापहरुमा चाँसो नदेखाउने । धेरै खाने वा कम खाने । शरीरको वजन बढ्ने वा घट्ने । हात र कलाइमा दर्द हुनु । कार्पेल टनेल सिंड्रोमको समस्या देखा पर्नु । बारम्बार टाउको दुख्नु । दृष्टि सम्बन्धि समस्याहरु देखा पर्नु । शरीर, ढाड र कम्मर दुख्ने । यस्ता प्रविधिहरु प्रयोग गर्न नपाउँदा मुड खराब हुनु । बैचन तथा चिडचिडे हुनु । आत्मविश्वासमा कमी तथा भावनात्मक रुपमा कमजोर महसुस गर्नु ।


प्रविधि दुर्व्यसनको प्रकारः

प्रविधि दुर्व्यसन अन्र्तगत अनेक दुर्व्यसनहरु पर्छन् । ती मध्य प्रमुख दुर्व्यसन हुन्ः  भिडियो तथा कम्प्युटर गैम दुर्व्यसन, स्मार्टफोन, टेबलेट तथा आईप्याड दुर्व्यसन, साइबरसेक्स तथा पोर्नोग्राफी दुर्व्यसन, अनलाइन गेम्बलिंग, अनलाइन सपिंग, सोसल मिडिया दुर्व्यसन (जस्तैः फेसबुक, युट्युब, स्काइप, ट्विटर, इन्ट्राग्राम, माइस्पेस आदि ।) । लत लगाउन जति पनि प्रविधिहरु छन्, इन्टरनेटको विकास र बिस्तारपछि इन्टरनेट चलाउने माध्यम पनि भएका छन् । जस्तो कि पहिला पहिला मोबाइल बातचित गर्न तथा खबर पठाउनका लागि प्रयोग गरिन्थ्यो भने अहिले मोबाइलबाट नै इन्टरनेट चलाउन सकिन्छ । नेपालमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या धेरै छ । यही कारणले गर्दा प्रविधि दुर्व्यसनलाई अहिले इन्टरनेट दुर्व्यसन भन्ने गरिन्छ । 

इंटरनेट लत र ब्रेनः
हालै गरिएको एक मनोवैज्ञानिक शोधका अनुसार इन्टरनेट लत ड्रग्स वा मद्यपानको लत जस्तै खतरनाक र हानीकारक देखिएको छ । विशेष गरी बालबालिका, किशोर तथा युवावर्ग इन्टरनेट एडिक्सनबाट बढी पीडित छन् । अनलाइन गैम तथा सोसल नेटवर्क जस्तैः पेसबुक, व्हाट्सएप्सको बढी प्रयोग तथा अश्लील चिजहरु हेर्ने आदत यसको शुरुवाती लक्षण हो । आदत बढ्दै गएमा इन्टरनेट प्रयोग गर्न नपाउ“दा बेचैनी, चिडचिडापन तथा क्रोध आउने स्थिति देखा पर्छ । यो नै इंटरनेट एडिक्सन डिसअर्डरको लक्षण हो । चाइनीज एकाडेमी अफ साइन्सको रिसर्च अनुसार इन्टरनेटको लतले मस्तिष्क तथा इम्युन सिस्टमलाई कमजोर बनाइदिन्छ । जसले गर्दा मस्तिष्क शक्ति तथा स्मरणशक्ति घट्ने तथा रोगस“ग लडने क्षमता ह्रास हुने गर्छ । यसको अध्याधिक प्रयोगले मानिसको सोच्ने शक्ति तथा सृजनाशीलतामा पनि असर गर्छ ।


इन्टरनेट एडिक्सन डिसअर्डरः
मनोरोग मैनुअल (डीएसएम)ले इन्टरनेट एडिक्सनलाई अहिलेसम्म मनोरोगको रुपमा सूचिबद्ध गरेको छैन । तर निकट भविष्यमा नै एक मनोरोगको रुपमा सूचिबद्ध गर्ने पक्का छ । सन् १९९५ मा मनोविद् किम्बर्ली योङले इन्टरनेट एडिक्सन केन्द्र खोलेका थिए । र, उपचारका लागि कग्निटिभ बिहाभिएर थेरापी (सीबीटी)को आधारमा उपचार पद्धति बनाएका थिए । सोही वर्ष मनोचिकित्सक डा. इभान गोल्डबर्गले इन्टरनेटको लतलाई इन्टरनेट एडिक्सन डिसअर्डर निदान गरी मनोवैज्ञानिक उपचार पद्धतिको शुभारम्भ गरेका थिए । सम्बत् इन्टरनेट एडिक्सनलाई एक मनोरोग (मेन्टल डिसअर्डर)को रुपमा लिएर उचार गर्ने उनी पहिलो ब्यक्ती हुन् । लागुपदार्थ दुव्र्यसन जस्तै प्रविधि दुव्र्यसन पनि हल्का र कडा खालको हुन सक्दछ । यसले पनि वीथड्रअल लक्षण देखाउछ । दुव्र्यसनमा परेपछि केही क्षण मोबाइल नहुँदा मानसिक तनाव हुनसक्छ साथमा चिड्चिडापन पनि देखिनसक्छ । कसैकसैलाई निद्राको समस्या हुने काँप्ने वा पाचन प्रक्रिया गड्बड् हुने गर्दछ ।

(अ)समाजिक संजाल


हिजोआज समाजिक संजाल (जस्तैः फेसबुक, युट्युब, स्काइप, ट्विटर, इन्ट्राग्राम, माइस्पेस आदि ।) को सदुपयोग भन्दा दुरुपयोग हुने क्रमः बढ्दै गएको छ । यस्ता नेटवर्कहरुले टाढाका मानिसहरुलाई नजिक तथा नजिकका मानिसहरुलाई टाढा बनाउने कार्य गरेको छ । तर, फेसबुक आदिका साथीसंगीहरु भरपर्दो र विश्वानीय नहुने कुरा अध्ययनहरुले देखाएको छ । नेपालका सबै भन्दा बढी चलाइने सोसल मिडिया, फेसबुक हो । गृहणी तथा विद्यार्थीले बढी प्रयोग गर्ने पनि फेसबुक नै हो । फेसबुकका कारण बिद्यार्थीको पढाइलेखाइ चौपट भएको छ । विद्यार्थीको ध्यान पढाइमा होइन, स्मार्टफोनमा हुने गरेको छ । स्मार्टफोनलाई फोटो खिच्न, फेसबुक चलाउन, गैम खेल्न र पार्नोग्राफी हेर्न प्रयोग गर्ने गर्छन् ।


प्रविधि दुर्व्यसनको कारणः 
 प्रविधि दुर्व्यसनका अनेक कारणहरु हन्छन् । साधारणतया मानिसहरु तनाब, उदासिनता, चिन्ता तथा एक्लोपना कम गर्न इन्टरनेटको साहरा लिन्छन् । यसरी इन्टरनेट प्रयोग गर्दा उनीहरुलाई आनन्द मिल्दछ । यस्तो आनन्दले उनीहरुलाई अम्मली बनाउछ । स्र्माफोन लत व्यक्तिका लागि निकै खतरनाक सावित भएको छ । हालै गरिएको एक अध्ययनका अनसार स्मार्टफोन बढी प्रयोग गर्ने व्यक्ति व्यक्तिगत, पारिवारिक, समाजिक तगा कार्यस्थल समस्याहरुबाट जध्न पर्छ । प्रोफेसर तोरेसिल्यासका अनुसार यो दुव्र्यसनको सम्भावित खतरा त्यस्ता युवा युवतीमा बढी हुन्छ जसमा आत्मविश्वासको कमी छ र सामाजिक रुपमा घुलमिल हुन नसक्ने तर भित्रबाट सम्बन्ध बढाउन इच्छुक हुन्छन् ।

रोकथाम र उपचारः
इन्टरनेट दुर्व्यसनले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र यसले अन्य मनोरोगहरुको समस्या समेत निम्ताउने हनाले छिटो भन्दा छिटो उपचार गर्न आवश्यक हन्छ । त्यसो त हल्का खाल इन्टरनेट दुव्र्यसनको उपचार आफैं पनि गर्न सकिन्छ । जस्तो कि समाजिक संजालहरुमा बिताउने समय कम गर्दै जाने । बाहिर खेलहरु खेल्ने । साथीसंगी तथा परिवारको साथमा समय बिताउने । राम्रा किताबहरु पढ्ने । राती छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्ने । योग, ध्यान तथा व्यायाम गर्ने । समाजिक संजाल चलाउने समय तालिका बनाउने । सोही समयमा मात्र इन्टरनेटको प्रयोग गर्ने । यस सम्बन्धि सेल्पहेल्प किताबहरु पढेर उल्लेखित उपायहरुको पालना गर्ने । तर कडा खालको इन्टरनेट दुर्व्यसनको उपचारका लागि विज्ञको आवश्यता पर्छ । इन्टरनेट दुर्व्यसन एक मनोवैज्ञानिक समस्या भएकाले यसको उपचार पनि मनोवैज्ञानिक तरिकाबाट गर्नुपर्छ । कग्निटिभ बिहाभिएर थेरापि (सीबीटी) तथा ईडीएमआर जस्ता मनोवैज्ञानिक पद्धतिहरु उत्तम उपचार पद्धतिहरु हुन् । 
अन्तमाः
आधुनिक जीवनमा मोबाइल, कम्प्युटर तथा इन्टरनेट जस्ता प्रविधिहरुको ठूलो महत्व छ, आवश्यकता छ । यस्ता प्रविधिहरुलाई आवश्यकता अनुसार प्रयोग गर्दा धेरै फाइदा हुन्छ । आवश्यकता अनुसार प्रविधिको प्रयोग गर्नु दुर्व्यसन होइन । त्यसैले प्रविधिलाई नशा नबनाइकन त्यसबाट सक्दो फाइदा उठाउनु बुद्धिमानी हो । (लेखक साइकोथेरापिष्ट हुन् ।) 






No comments:

Post a Comment