Tuesday, May 5, 2020

ब्रेन बाइट्स 

व्यक्ति एकः रुप अनेक 
ओम बानियाँ 

तामिल र हिन्दी भाषामा बनेको कथानक चलचित्र अपरिचितका नायक अम्बी (विशाल) एक सीधासाधा युवक हो । ऊ जति इमानदार छ, त्यत्ति नै अनुशासित पनि छ । ऊ आफुले कानुनको अक्षरस पालना गर्छ र अरुले पनि त्यसरी नै कानून पालना गरुन् भन्ने चाहन्छ । तर उसले पाइला–पाइलाहरूमा बेइमान, श्वार्थी र भ्रष्ट मानिसहरू भेट्छ । यस्तो अवस्थामा उसको रगत तात्छ । अनि ऊ एकाएक अपरिचित नामक व्यक्तित्वको रुपमा देखा पर्छ । अनि उसले अपराधीलाई गरुण पुराणमा उल्लेख भए बमोजिम सजाय दिन्छ । जस्तो कि दालमा छिपकली परेको पनि ख्याल नगरी लापरवाही गर्ने रेलवे क्यान्टीनको मालिकलाई कुखुरा भुत्लाएर तेलबेसार दली तेलको कराहीमा तारेझैं तार्छ । जनताको रगत चुस्ने व्यापारीलाई किर्मी भोजनम्ः अर्थात् जुकाले टोकाएर मार्छ । अम्बीले नायिका नन्दनी(सधा)लाई खुब माया गर्छ । नन्दनी अम्बीकी सानैदेखिकि साथी भएपनि उसले अम्बीलाई जीवन साथीको रुपमा हेरेकी हँुदैने । एक दिन अम्बीले उसलाई प्रेम प्रस्ताव राख्दछ । तर नन्दनीले उसको प्रेम अस्विकार गर्छे । अम्बीलाई ठूलो चोट पर्छ । अनि अम्बी एक स्टाइलिस्ट केटो रेमोको रुपमा नन्दनीको जीवनमा आउँदछ । यसरी एउटै व्यक्तिले, अम्बी, अपरिचित र रेमोको तीन व्यक्तित्वहरू धारणा गर्दछ । तर यसको जानकारी अम्बीलाई हुदैन । कथा अगाडि बढ्छ, न्युरो अस्पतालका चिकित्सकले अम्बी बहु–व्यक्तित्व विकृतिबाट पीडित भएको निदान गर्छन् । द थ्री फेसस् अफ इभ पनि यस्तै कथामा आधारित एक चर्चित अंग्रेजी फिल्म हो । यस फिल्ममा नायिकाका पनि तीन फरक–फरक व्यक्तित्वहरू हुन्छन् । 


व्यक्ति एकः व्यक्तित्व अनेक
अतः यसरी कुनै एक व्यक्तिले दुई वा दुई भन्दा बढी व्यक्तित्वहरूमा विभाजित भएर बेग्लाबेग्लै समयमा स्पष्ट र पूर्ण विरोधी व्यवहार देखाउन थाल्दछ भने त्यसलाई बहु–व्यक्तित्व विकृति (मल्टिपल पर्सनालिटि डिसअर्डर) भनिन्छ । यदि यस्तो व्यक्तित्वको दुई रुपमात्र देखा पर्छ भने त्यसलाई द्वि–व्यक्तित्व विकृति (डबल पर्सनालिटि डिसअर्डर) भनिन्छ । यस्तो अवस्थामा व्यक्तित्वको एक रुप अर्को रुप भन्दा बिलकुल अलग हुन्छ । जस्तो कि यहाँ गोडार्डले उल्लेख गरेको पोली र नोर्माको घटना स्मरणीय छ । नोर्मा एउटी शालीन, संयमी र मधुर व्यक्तित्व भएकी केटी थिइन् भने पोली तेज, चंचल र स्वार्थी व्यक्तित्व भएकी केटी थिइन् । यहाँ अर्को उल्लेखनीय कुरा के भने चलचित्र अपरिचितका अम्बीलाईझैं बहु–व्यक्तिव विकृतिग्रस्त व्यक्तिलाई आफ्नो बहु–व्यक्तित्वको बारेमा जानकारी हुदैन । बहु–व्यक्तित्व विकृतिलाई हिजोआज मनोविच्छेदी पहिचान विकृति(डीआईडी) भनिन्छ । बहु–व्यक्तित्व विकृति पुरुषको तुलनामा महिलामा बढी देखिएको छ ।  

व्यक्तित्व के हो ? 

व्यक्तित्वलाई अंग्रेजीमा पर्सनालिटि भनिन्छ, जुन शब्द लैटिन शब्द परसोनाबाट बनेको हो । यसको शाब्दिक अर्थ हुन्छ, मुखौटो (मास्क) । तर यस शाब्दिक अर्थले केवल व्यक्तित्वको बाहिरी आवरणलाई मात्र इंकित गर्ने भएकाले यस अर्थ अवैज्ञानिक ठराइ व्यक्तित्वको अनेकौं परिभाषाहरू प्रस्तुत गरियो । मनोवैज्ञानिक आइजेन्कका अनुसार व्यक्तित्व व्यक्तिको चरित्र, चित्रप्रकृति, ज्ञानशक्ति तथा शरीर गठनका करीब–करीब एक स्थायी एवं टिकाउ संगठन हो, जसले जीवनको परिस्थितिहरूको साथमा हुने समायोजनको निर्धारण गर्दछ । अर्को शब्दमा व्यक्तित्व भिन्न–भिन्न शीलगुणहरूको एक यस्तो डाइनेमिक संगठन हो, जसको कारण व्यक्तिको व्यवहार तथा विचार कुनै पनि वातावरणमा आफ्नो ढंगको अर्थात् अपूर्व (युनिक) हुन्छ । अतः व्यक्तिको व्यक्तित्व फरक–फरक र युनिक हुन्छ । र, यस्तो व्यक्तित्व निर्माणमा व्यक्तिको शरीरिक बनौट, सोच, बुद्धि र वातावरणको प्रमुखता रहन्छ ।

बहुव्यक्तित्व र समाजः
हरेक समाजका प्रायः हरेक व्यक्तिले स्टे«सफुल अवस्थामा वा आफ्नो कामनापूर्ति नभएको स्थितिमा वा आफुले भनेजस्तो नभएको खण्डमा एकाएक अर्को रुपमा धारणा गरेका पाइन्छ । जस्तो कि क्रोधावस्थामा मानिसको व्यक्तित्व एकदम फरक हुन्छ । यस्तो अवस्थामा, केही क्षण, व्यक्तिले आफ्नो पूर्व पहिचान समेत बिर्सिएको हुन्छ । यसैगरी राजनीतिक व्यक्ति तथा सेलिबेट्रिहरूले नाटकीय रुपमा आफ्नो बहुव्यक्तित्व प्रर्दशन गरेका पाइन्छ । नेपाली राजनीतिलाई हेर्ने हो भने नेकपाका अध्यक्ष क. प्रचण्ड यसको सशक्त उदाहरण हुन् । क. प्रचण्ड फरक–फरक ठाउँमा आफ्नो फरक–फरक व्यक्तित्वहरू देखाउने नेताको शीर्ष स्थान रहेको सर्वविदितै छ । जस्तो कि नागरिक समाज तथा आम नागरिकसँगको अन्तक्र्रिया आदिमा उनी एक शालीन, सौम्य र परिपक्क राजनेताको रुपमा प्रस्तुत हुन्छन् । त्यस्तै उनले दलहरूसँगको वार्तामा भद्र सम्झौताको मान्यता राख्छन् । तर जब उनी कार्यकर्ताको भीडमा पुग्छन्,  उनले आक्रमक, अविवेकी, विद्रोही व्यक्तित्व देखाउँछन् । यो क. प्रचण्डको चेतनमनको नाटक पनि हुन सक्दछ, एक आदत पनि हुन सक्दछ, यो उनलाई थाहा नभएको अवचेतनको खेल पनि हुन सक्दछ । त्यस्तो त क. प्रचण्डले बेला भन्ने गरेको सुनिन्छ, उनी नेपाली राजनीतिमा पुष्पकमल र प्रचण्ड, दुवै व्यक्तित्वको रुपमा स्थापित हुन चाहन्छन् ।

यो एक उदाहरण हो । यस्तो बहु–व्यक्तित्व अन्य नेताहरूमा पनि देख्न सकिन्छ । मनोवैज्ञानिक रुपमा यो सामान्य कुरा हो । तर यदि यस्तो बहु–व्यक्तित्वले आफ्नो दैनिक जीवनमा नै प्रत्यक्ष प्रभाव पार्छ र आफुमा बहु–व्यक्तित्वहरू छन् भन्ने व्यक्तिलाई जानकारी भएको हुदैन भने त्यो बहु–व्यक्तित्व विकृति हो । बहु–व्यक्तित्व विकृतिका हरेक व्यक्तित्वहरूको आफ्नै छुट्टै पहिचान, आत्मछवि तथा नाम हुन्छ । 

डीआईडी झुटो हो कि साँचोः

बहु–व्यक्तित्व विकृतिका बारेमा अध्ययन–अनुसंधान भैइरहेको छ । तर कतिपय विशेषज्ञहरूले बहु–व्यक्तित्व विकृतिलाई पूर्ण स्वीकार गरेको पाइदैन । तर डीएसएमले बहु–व्यक्तित्वलाई एक मनोरोगको रुपमा वर्गिकृत गरेको छ । त्यसो त कतिपय व्यक्तिहरूले आफु यस्तो विकृतिबाट मुक्त भएको सप्रमाणहरू दिएको पनि भेटिएको छ । बहु–व्यक्तित्व विकृतिलाई यस विषयमा बनाइएका चलचित्रहरूले जनमानसमा चर्चित बनाएको पाइन्छ । तर चलचित्रमा देखाइएका कतिपय तथ्यहरू नितान्त काल्पनिक छन् ।



डीआईडीको कारणः
बहु–व्यक्तित्व विकृतिको प्रमुख कारण बाल्यकालको भवानात्मक ट्रउमा, यौन दुव्र्यवहार तथा स्टे«स हो । चलचित्र अपरिचितमा पनि डीआईडीको कारणका रुपमा यस्तै कुराहरू प्रस्तुत गरिएको छ । आफ्नो बहु–व्यक्तित्वका बारेमा एकदम अनभिज्ञ अम्बीलाई मनोचिकित्सकले हिप्नोटाइज्ड गरी पछाडिको जीवनतिर लग्छन् । अम्बीले खुसी–खुसी नन्दनीलाई प्रेम प्रस्ताव राख्दा नन्दनीले अम्बीको प्रेम अस्वीकार गरेपछि अम्बी एकाएक छांगाबाट खसेझैं हुन्छ, अनि रेमो देखा पर्छ । मनोचिकित्सकले अम्बीलाई बाल्यकालमा पु¥याउँछन्, विद्युत्वाला र प्रहरीको लापरवाहीले गर्दा बालक अम्बीको आँखा अगाडि नै उसकी प्यारी बैनीको ज्यान गएको, तर पनि न्याय नपाएको घटना सामुन्ने आउँछ । त्यसै ट्रउमाले अपरिचित व्यक्तित्व पैदा भएको हुन्छ ।

पुछारमाः
बहु–व्यक्तित्व विकृतिमा बनेका चलचित्रहरू हेर्न निकै रोचक हुने भएता पनि यस विकृतिलाई बुझ्न निकै कठीन हुन्छ । त्यो किनभने चाहे त्यो बहु–व्यक्तित्व विकृति होस् वा अन्य व्यक्तित्व विकृति होस्, यस्तो विकृतिबाट पीडित व्यक्तिले आफु यस्तो विकृतिबाट ग्रस्त भएको स्वीकार्दैन । तर उनीहरूको यस्तो व्यक्तित्वले दैनिक जीवनमा परिवार, समाज र स्वयंलाई पनि निकै अप्ठारो बनाइरहेको हुन्छ, अनावश्यक समस्या उत्पन्न गराइरहेको हुन्छ । त्यसैले बहु–व्यक्तित्व विकृति होस् वा अन्य व्यक्तित्व विकृति, औषधोपचार हुन आवश्यक छ । व्यक्तित्व विकृतिहरू मनोरोग भएकाले यस्ता विकृतिहरूको उपचार पनि मनोवैज्ञानिक हुनु ठीक हुन्छ । तर बहु–व्यक्तित्व विकृति मनोचिकित्साका लागि एक चुनौती हो । तथापि हिप्नोसिसले यस रोगको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । (लेखक मनोविद हुन् ।)



No comments:

Post a Comment