हेल्थ फर्स्ट
सूर्य स्नान के होः
सूर्य स्नानका फाइदाः
पुछारमाः
सूर्य स्नान र स्वास्थ्य
ओम बानियाँ
सूर्यलाई समस्त जड तथा चेतना जगतको आत्मा भनिन्छ । त्यो किनभने सृष्टि संचालनमा सूर्यको महत्वपूर्ण भूमिका छ । यस सृष्टिका समस्त वनस्पति तथा प्राणी जगत सूर्यको ऊर्जाबाट निर्माण, विकास र सञ्चालन भएको पाइन्छ । सूर्यको प्रकाश बिना प्राणी जिवित रहन सक्दैन । जसरी घाम नपर्ने ठाउँको बोटविरुवा राम्रोसँग हुर्कन र फस्टाउन सक्दैन, त्यसरी नै पर्याप्त घाम नलाग्ने ठाउँका मानिसहरुमा यसरी नै यसको असर पर्छ । जसले गर्दा मानिस अनेक मानसिक तथा शारीरिक समस्याहरुबाट पीडित हुने गर्छन् । भनिन्छ, जुन घरमा सूर्यको प्रकाश जाँदैन, त्यहाँ डाक्टर जान्छ ।
सूर्यको प्रकाशले एकातिर प्राणी तथा वनस्पति जगतलाई ऊर्जा प्रदान गर्छ भने अर्कोतिर हानीकारक किटाणुहरुलाई मार्ने कार्य गर्दछ । त्यसैले घर बनाउँदा पूर्वतिर ढोका राख्ने परम्परा रहेको पाइन्छ । तर, आधुनिक भौतिक सुविधा र भागदौडको जीवनका कारण मानिसको जीवन अस्तव्यस्त भएको छ । पर्याप्त घाम लाग्ने देश र ठाउँका मानिसहरुले पनि सूर्यको प्रकाशलाई पर्याप्तरुपमा सेवन गर्न पाएका हँुदैनन् । विशेष गरेर महिलाहरु घामबाट डडिन्छ भनेर निकै डराउने गर्छन् । घामबाट डराउनु पर्दैन, स्वास्थ्यका लागि घाम निकै आवश्यक छ । सूर्यको प्रकाश महाऔषधि हो । भिटामिन डी तथा सूर्यबाट प्राप्त हुने रङ शरीरलाई अत्यन्तै जरुरी हुन्छ । तर लुगाका कारण हामी सूर्यका रङयुक्त प्रकाशबाट वञ्चित हुन पुग्छौँ । फलस्वरुप अनेक नयाँ–नयाँ रोगहरुले पीडित भएका छौँ । हानिकारक ब्याक्टेरिया तथा भाइरसहरुका लागि त सूर्य स्नान महाऔषधि हो । अतः घामबाट स्वास्थ्य लाभ लिन सप्ताहमा कम्तिमा पनि ३ दिन सूर्य स्नान गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । सूर्य स्नानले एकातिर शरीरलाई ऊर्जा तथा पोषण प्रदान गर्छ भने अर्कोतिर विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ । तर चर्को घामबाट भने जोगिनु पर्छ ।
सूर्य स्नान के होः
साधारण शब्दमा नुहाउनका लागिझैं कपडा खोलेर घाममा बसेर घाम ताप्नुलाई नै सूर्य स्नान भनिन्छ । प्राचिन ग्रन्थ अथर्व वेदमा समेत सूर्य स्नानका वारेमा उल्लेख छ । अथर्व वेदमा लेखिएको छ, जो व्यक्ति बिहान उठेर सूर्यको कलिलो किरण ताप्छ, त्यो व्यक्ति अनेक रोगहरुबाट बच्नुको साथै उसको हृदय स्वस्थ र मजबुत रहन्छ । विदेशतिर सूर्य स्नान निकै लोकप्रिय छ । समुन्द्रको किनारमा बसेर मानिसहरुले सूर्य स्नान गरेको यत्रतत्र देखिन्छ । कतिपय मानिसहरुले नियमितरुपमा नै सूर्य स्नान गर्ने गर्छन् ।
सूर्य स्नानका फाइदाः
सूर्य स्नानका अनेक स्वास्थ्य फाइदाहरु छन् । सूर्यको किरण क्यालसियमको प्रमुख स्रोत हो भने भिटामिन डी सूर्यको प्रकाशको सहायताबाट शरीरले आफैं बनाउँछ । त्यसैले सूर्य स्नानले हड्डी स्वस्थ र मजबुत हुन्छ । यहाँसम्म भनिएको छ कि नियमति सूर्य स्नान गर्ने हो भने हड्डीका कुनै पनि रोग लाग्न पाउँदैन, रोग लागेको छ भने पनि ठीक हुन्छ । सूर्य स्नानले मस्तिष्क तथा स्नायुप्रणालीलाई पनि स्वस्थ र मजबुत बनाउँछ । रक्तचाप समान्य बनाउँछ । छाला सम्बन्धित रोगहरु हटाउँछ, छालालाई सुन्दर तथा निरोग बनाउँछ । चिसोको कारणले हुन सक्ने सबै प्रकारका रोगमा सूर्य स्नान निकै प्रभावकारी हुन्छ । सूर्यको प्रकाशले शरीरमा सिरेटोनिन पैदा गर्न महत्वपुर्ण भूमिका निभाउँछ । सिरेटोनिन मुड ठीक गर्न महत्वपूर्ण मानिन्छ । त्यसैले डिप्रेसन तथा तनावबाट बच्न तथा मानसिक रोगहरुबाट छुटकारा पाउन सूर्य स्नान आवश्यक छ ।
सूर्य स्नान गर्ने विधि
सूर्य स्नानको सरल विधि भनेको बिहान तथा साँझको सूर्यको कलिलो किरण ताप्ने हो । कपडा खोलेर शरीरमा तील, तोरी या नरिवल आदिको तेल लगाएर शान्तसँग घाममा बस्नु नै सूर्य स्नान हो । यसरी सूर्य स्नान गर्दा पहिला शरीरको अघिल्लो भाग घाममा सेकाउने । अनि पछाडिको भाग सेकाउने । आँखालाई घामबाट जोगाउन कालो चश्मा प्रयोग गर्न सकिन्छ । तेलले शरीर मालिस गरेर सूर्य स्नान गर्ने हो भने अधिक लाभ प्राप्त हुन्छ । सूर्य स्नानको महत्व जाडो मौसम झन बढी हुन्छ । जाडोयाममा सूर्य स्नान गर्दा एकातिर न्यानो प्राप्त हुन्छ भने अर्कोतिर शरीरलाई सूर्य ऊर्जा मिल्छ । दस मिनेट देखि आधा घण्टासम्म सूर्य गर्न सकिन्छ । सूर्य स्नान पछि मनतातो पानीले स्नान गर्नुपर्छ । योग तथा प्राकृतिक चिकित्सामा सूर्य स्नानका लागि काँचको बाकस बनाइएको हुन्छ । त्यसैमा मानिसलाई टाउको बाहिर राखेर सुताइन्छ । तर, अर्को एउटा सजिलो उपाय पनि छ । जो घरमा सजिलै बनाएर सूर्य स्नान गर्न सकिन्छ । बजारमा पाइने सेतो प्लास्टिकलाई धोक्रोजस्तो बनाउनुपर्छ । जसमा मानिस सजिलैसँग छिर्न सकियोस् । त्यो प्लास्टिक कम्तीमा पनि पाँच फिट हुनु आवश्यक छ । सो प्लास्टिकमा छिरेर घाँटीमा र पैतालको तल हावा नछिर्ने गरी बाध्नुपर्छ । राम्रोसँग घाम लाग्ने खाली चौर वा छतमा बिहानीको समयमा खाली पेटमा यसको अभ्यास गर्दा फाइदा हुन्छ । प्लास्टिक बेरेर घाममा सुत्ने, कम्तीमा तीन गिलास जति पानी पिएर टाउकोलाई एउटा रुमालले भिजाएर बाँध्ने । शिरलाई तातो हुनबाट बचाउनुपर्छ । अर्थात् शिरमा पानी बेलाबेलामा छर्कदैँ जानुपर्छ । शरीरमा लुगा जति सकिन्छ कम लगाउनुपर्छ । जसले गर्दा सम्पूर्ण शरीरमा सूर्यको किरणले राम्रो सँग स्पर्श गर्न पाओस् । हावा बन्द भएर प्रकाशको उष्णता बढ्दै गएपछि छोटो समयमा नै खलखली पसिना आउँछ । यस प्रक्रियालाई अबस्था हेरी कम्तीमा १५ मिनेट अर्थात् राम्रोसँग सम्पूर्ण शरीरबाट पसिना आएपछि बन्द गर्नुपर्छ । यसप्रकारको सूर्य स्नानले भित्र गडेर बसेको चिसो तथा विषाक्त पदार्थहरुलाई बाहिर निकालिदिन्छ ।
पुछारमाः
सूर्यको प्रकाश प्राणीहरुको प्राण हो । औषधि पनि हो । त्यसैले यसको उचित सदुपयोग गरेर तनमनलाई स्वस्थ र सुदृढ राख्न सकिन्छ । यसका लागि एक पैसा खर्च गर्नु पर्दैन । अतः यस कुरालाई मनन गरी जाडो मौसममा दिनहुँ तथा गर्मीयाममा हप्ताको दुईतीन पटक सूर्य स्नान गरेर स्वास्थ्य लाभ प्राप्त गरौं । कोरोना जस्ता भाइरसहरुको संक्रमणबाट बच्न सूर्य स्नानको झनै महत्व छ । (लेखक साइकोथेरापिष्ट, माइण्डबडी थेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)



No comments:
Post a Comment