Wednesday, May 20, 2020

हेल्थ फर्स्ट 

एक मुठ्ठीको चनाका ताकत
ओम बानियाँ
एउटा प्रसिद्ध लोकोक्ती छ, घोडाको जस्तो हर्सपावर तागत चाहिए, चना खानुहोस् । प्राचिन कालमा चना घोडाको प्रमुख आहार मानिन्थ्यो । चना घोडाको निकै प्रिय आहार पनि हो । चना खाएर नै घोडा यति बलवान भएको मान्यताले उक्त लोकोक्ती बनको हुनुपर्छ । हुन पनि चना शारीरिक तथा मानसिक स्वास्थ्य तथा सौंदर्यका लागि निकै उपयोगी छ । यो अनेक रोगहरुको औषधि पनि हो । वास्तवमा बहुगुणी चना सुपरफूड हो । 


सुपरफूड चनाः
चना पौष्टिकता र ताकतको पावरहाउस हो । चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रशस्त मात्रामा पाइन्छन् । चनामा पनि गाढा खैरो वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुराउँछ । यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ ।

ब्रेनफूड चनाः
चना शारीरिक कमजोरी हटाउन, ताकत र ऊर्जाका लागि निकै फाइदाजनक मानिन्छ । चना सबैभन्दा सस्तो र बदामभन्दा पनि धेरै असरदार हुन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खानुपर्छ । यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरिरमा ताकत आउँछ । चनामा भिटामिन बी–६ भएको कारणले यसको सेवनले मस्तिष्कलाई तेज बनाउनको साथै स्मरणशक्तिको विकास गर्छ । 

चाइल्डफूड चनाः
चना बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पनि निकै फाइदाजनक छ । त्यसैले बालबालिकालाई बदामको साथै कालो चना खवाउने गर्नुपर्छ । चनामा पाइने भिटामिन्सले बालबालिकाको मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढाउन सहयोग गर्छ भने यसमा पाइने फस्फोरसले दाँतलाई मजबूत बनाउने काम गर्छ ।


बोडि बिल्डर चनाः
चनाले हरेक प्रकारको कमजोरीलाई भगाउँछ । ताकत बढाउँछ । तौल बढ्न सहयोग गर्दछ । भुटेको चना स्वाथ्यको लागि लाभदायक हुन्छ । जब त्यसलाई गुढसँग मिलाएर सेवन गरिन्छ तब त्यो शरीरको लागि स्वभाविकरुपमा भन्दा एकदमै फाइदाजनक सावित हुन्छ । विशेषगरी आफ्नो शरीर बनाउन जिम जाने व्यक्तिको लागि यो नभई नहुने खाद्य पदार्थ हो ।  गुढ र चनामा धेरै मात्रामा प्रोटिन पाइन्छ जुन माशंपेशीलाई मजबूत बनाउन एकदमै सहयोगी हुन्छ र त्यसमा भएको जिन तत्वले छालालाई निखार्ने काम गर्छ । यी दुई तत्व एकै साथ सेवन गर्नाले शरीरमा मेटाबोलिजमको मात्रा बढ्छ र यसले शरीर सुडौल बनाउन र लम्बाइ बढाउन सहयोग पुराउँछ । यसका लागि एक मुठ्ठी चना लिने र राम्रोसँग सफा गर्ने । त्यसबाट किरा लागेको, नभिज्ने कडा चनालाई निकाल्ने र सफा चनालाई धोएर एक गिलास सफा पानीमा रातभर भिजाएर राख्ने । बिहानको नित्यकर्मपछि यसरी भिजाएर राखेको चनालाई राम्रोसँग चपाएर खाने र चनाको पानी पनि पिउने । स्वादका लागि चनामा पिसेको मरिच, अदुवा, सिधे नून तथा कागतीको रस मिलाउन सकिन्छ । अझ चनाको पानीमा १ चम्चा मह घोलेर पिउनु तथा भिजाएको चनालाई अंकुरित गरेर खानु सर्वोत्तम हुन्छ । अंकुरित चनाको नास्ता उत्तम टनिक हो । चनालाई अंकुरित गर्नका लागि २४ घण्टा जति भिजाएको चनालाई चिसो कपडा वा थैलीमा बाँधी झुण्डाएर राख्ने । गर्मीयाममा आवश्यकता अनुसार पानी छर्किदै रहने । दुईतीन दिनमा चना अंकुरित हुन्छ । चनाको मात्रालाई बिस्तारै आफ्नो तौल र व्यायामको हिसाबले बढाउँदै लान सकिन्छ । यसरी नियमित एक मुठ्ठी चना खानले शरीर स्वस्थ रहनुको साथै बलिष्ट र ताकतवार हुन्छ । 

मेडिसिन चना

चनामा प्रशस्त मात्रामा औषधीय गुण हुन्छ । यो अनेक रोगहरुको औषधि पनि हो । चनामा प्रचर मात्रामा आइरन पाइन्छ । त्यसैले चनाको सेवन गर्नाले रक्तअल्पता(एनिमिया)को समस्या टाढा राख्दछ । शरीरमा आइरनको कमीका कारण हुने रक्तअल्पताको समस्यालाई चना खाएर टाढा भगाउन सकिन्छ । चनाले रगत सफा पनि गर्ने काम गर्छ । चनामा मह मिसाएर खानाले अझैं प्रभावकारी हुन्छ ।  चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचनक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । भिजाएर राखेको चनामा मह मिसाएर खानाले पत्थरीको खतरा कम हुन्छ र यदि मुत्राशय वा मृर्गौलामा पत्थरी छ भने पनि सजिलै निस्किन मद्दत गर्छ । चना तागतिलो हुनुका साथै शरीरमा भएको अतिरिक्त ग्लूकोजको मात्रालाई पनि कम गर्छ । बिहान खाली पेट चनाको सातु खानाले पनि मधुमेहको खतराबाट बच्न सकिन्छ । २५ ग्राम कालो चना रातभरि भिजाएर बिहान खालीपेट सेवन गर्ने हो भने मधुमेहमा निकै फाइदा गर्छ । जौ र चनाको रोटी  मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । चनाले यौन कमजोरी हटाउँछ । वीर्यको संख्या वृद्धि गर्दछ । वीर्य गाढा हुने गर्दछ । एक मुठ्ठी चनासँगै पाँचवटा बदाम भिजाउने । बिहान मज्जाले चपाएर खाने । त्यसपछि एक गिलास मनतातो दुध पिउने । चिनियाँ माटोको भाँडामा भिजाएको चना खानाले पुरुषहरुलाई निकै फाइदा पुराउँछ । चनालाई दूधसँग पनि खान मिल्छ । चना छालाको लागि पनि निकै लाभदायक रहेको छ । चनाको बेसनलाई बेसारसँग मिसाएर मुहारमा लगाउनाले फाइदा हुन्छ । यसले सुन्दरता बढाउनुका साथै दाग, दाद जस्ता समस्याहरुबाट पनि राहत दिन्छ । भुटेको चना खानाले बारम्बार पिसाब जानुपर्ने समस्याबाट आराम पाइन्छ । दैनिक भुटेको चना खानाले पायल्समा पनि राहत मिल्छ । चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ । नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् । पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । गुढसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ । चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चना निम्न रक्तचापलाई सामान्य बनाउन निकै उपयोगी हुन्छ । २० ग्राम चना र किसमिस वा मुनक्काको २५ दाना रातभरि सफा पानीमा भिजाएर राख्ने । बिहान नित्यकर्मपछि नास्ताको रुपमा भिजाएको चना र किसमिस खाने । पानी पिउने हो भने केही दिनमै रक्तचाप सामान्य हन्ुछ । शरीर बलिष्ट बन्छ, चेहराको चमक बढ्छ । चनाले शरीरको इम्यूनिटीलाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ । गर्मीको समयमा चनाको सातुले धेरै फाइदा हुन्छ । शरीरलाई तन्दुरुस्त, ऊर्जा प्रदान गर्न लु लाग्नवाट बच्न सातुले सहयोग गर्छ । सातुलाई कागती र बिरेनुनसंग घोलेर पिउदा पनि फाइदा हुन्छ । नुन हालेको सातु मन नपरे गुढ वा चिनी हालेर समेत सातु खाना सकिन्छ । 


चना खाने विधि

चनालाई अनेक तरिकाले सेवन गर्न सकिन्छ । चनाको गेडागुडीको तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ । चनालाई अंकुरित गरेर तथा चनाको रोटी बनाएर पनि सेवन गर्न सकिन्छ ।

पुछारमाः
अतः चना मानिसको लागि प्रकृति दिव्य बरदान हो । यो बहुगुणी चना जति पौष्टिक र औषधीय गुणहरुले भरिपूर्ण छ, त्यत्ति नै सस्तो र सर्वसुलभ छ । त्यसैले उचित तरिकाले चनाका परिकारहरुको सेवन गरेर शरीरलाई स्वस्थ र मजबुत बनाउन सकिन्छ । अनेक रोगहरुलाई टाढा भगाउन सकिन्छ । तर, हिजोआज जंकफूड र फास्टफूडहरुका कारण चनाको उपयोग कम हँुदै गएको छ । यो चिन्ताको विषय हो । यसतर्फ हामी सबै सचेत हुन आवश्यक छ । जंकफूड र फास्टफूड होइन, नास्ताका रुपमा, तरकारी आदिका रुपमा चना खाऔं, बालबालिकाहरुलाई पनि चना खाने बानी बसालौं । (लेखक साइकोथेरापिष्ट तथा सुलभ हेल्थ फूड्स प्रमुख हुन् ।)



No comments:

Post a Comment