Friday, May 1, 2020

ब्रेन बाइट्स 

माइण्ड मालिक, ब्रेन बोस 
ओम बानियाँ

साधारणतया माइण्ड र ब्रेनलाई समानार्थी र पर्यावाचीका रुपमा प्रयोग गरिन्छ । तर माइण्ड (मन) र बे्रन (मस्तिष्क) एउटै कुरा होइन, फरक फरक हुन् । ब्रेन शरीरको एक प्रमुख भौतिक अंग हो भने माइण्ड भौतिक अंग होइन । मन मस्तिष्क जस्तो दृश्य छैन । मन अदृश्य छ । जहाँ ब्रेनको सम्बन्ध भौतिक शरीर (फिजिकल बोडी) सँग छ भने माइण्डको सम्बन्ध शुक्ष्म शरीर (मेन्टल बोडी) सँग छ । वास्तवमा ब्रेन हार्डवेयर हो भने माइण्ड सफ्टवेयर हो । बे्रन शरीररुपी संस्थाको बोस हो भने माइण्ड मालिक । त्यो किनभने ब्रेनले शरीरको नियन्त्रण र नियमन गर्छ भने माइण्डले ब्रेनको । त्यसैले माइण्ड (मन)लाई सर्वशक्तिमान मानिन्छ । 


मनबाट विचारको उत्पत्ति हुन्छ । मनमा विचार, चेतना, ज्ञान, इच्छा आकांक्षा, अनुभव, अनुभूति तथा भावना हुन्छ भने मस्तिष्कले स्नायु प्रणाली मार्फत शरीरका विभिन्न अंगहरुमा सूचना आदनप्रदान गर्दछ । वास्तवमा मन र मस्तिष्कले यसरी नै कार्य गर्छन्, जसरी भौतिक शरीर र मानसिक शरीरले काम गर्छन् । माइण्ड शुक्ष्म शरीरका हेड हो भने ब्रेन स्थुल शरीरको हेड हो ।  

स्टोरहाउस अफ मेमोरी

महात्मा बुद्धले मनलाई स्मृति आलय अर्थात् स्टोरहाउस अफ मेमोरी भनेका छन् । त्यो किनभने अनुभव, आदत तथा संस्कार आदि यही मनमा नै संग्रह हुने गर्छ । वैदिक ऋषिमुनिको भनाइ छ, आत्माको ऊर्जाले मनले कार्य गर्दछ । मनको प्रोग्रामिंग अनुसार मस्तिष्कले र मस्तिष्कको निर्देशन अनुसार शरीरले कार्य गर्छ । मनलाई आत्मा र मस्तिष्क बीचको पुल पनि भन्ने गरिन्छ । सामान्यतया मनका दुई भागहरु हुन्छन् । सचेतन मन तथा अवचेतन मन । 


सचेतन मनः  
सचेतन मन मनको लगभग दसौ हिस्सा हो, जसमा स्वयंको तथा वातावरणको बारेमा जानकारी तथा चेतना रहन्छ । यही मनले नै दैनिक कार्यहरू गर्दछ । मानिसको चेतन मनले दुःख–पीडा आदि शारीरिक संवेदनाहरू ग्रहण गर्छ । यो मन तार्किक हुन्छ र हरेक विषयहरुमा तर्क गर्छ । चेतन मनले कुनै पनि विषयलाई सहजतापुर्वक ग्रहण गर्दैन । जस्तो कि गाईलाई देखाएर यो भैंसी हो भन्ने हो भने तपाईंले होइन, यो भैंसी हो भन्नुहुन्छ । त्यो किनभने गाई र भैंसीको रुपरंग तपाईंको अवचेतन मनमा स्टोर भएको छ । गाई कस्तो हुन्छ, भैंसी कस्तो हुन्छ भन्ने कुरा तपाईलाई थाहा छ ।  चेतन मन नै बुद्धि हो । 

अवचेतन मनः
अवचेतन मन मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन । यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरूमा प्रभाव पार्दछ । यसको बोध व्यक्तिको आउने सपनाहरूसित हुन सक्दछ । यसमा व्यक्तिको मूल प्रवृत्तिसित जोडिएका इच्छाहरू जस्तै भोक, प्यास तथा यौन इच्छाहरू दबिरहेका हुन्छन् । मानिसले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन । यदि यस भागमा दबेका इच्छाहरू प्रकट भएर धेरै लक्षणहरू उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन् । वास्तवमा भन्ने हो भने मानसिक रोगहरुको कारण मस्तिष्क रसायनको असन्तुलन होइन, अवचेतनमा दबेका इच्छा र आकांक्षाहरुको विकृति रुप हो । त्यसैले मानसिक रोगको उपचार मस्तिष्कमा होइन, मनमा खोज्नु आवश्यक छ । 

पुछारमाः
आधुनिक विज्ञान शरीरमुखी भएका कारण ब्रेनको बारेमा अनेकौं वैज्ञानिक अध्ययनहरु भएता पनि माइण्डको बारेमा खासै वैज्ञानिक अध्ययनहरु भएका छैनन् । त्यसो त वैदिक ऋषिमुनिहरुले माइण्डलाई ठूलो महत्व दिएर माइण्डका बारेमा निकै अध्ययन गरेका थिए । त्यसैले माइण्डका बारेमा थुप्रै कुरा जान्न वैदिक शास्त्रहरुको शोधखोज र अध्ययन गर्न आवश्यक छ । (लेखक साइकोथेरापिष्ट हुन् ।) 



No comments:

Post a Comment