Thursday, April 30, 2020

ब्रेन बाइट्स

पुरुष ‘मानसिकता’
ओम बानियाँ 

घर निर्माण कार्य भैरहेको थियो । गारो जोड्न सिपालु नाइके डकर्मी दुई दिनदेखि नआएको देखेपछि मैले अर्को डकर्मीसँग ऊ नआउनुको कारण सोधेँ । उसले भन्यो, अस्ति श्रीमतिसँग उसको झगडा भयो । अनि श्रीमतिलाई कुटेपछि उनी माइता गईन्, त्यसैले ऊ नआएको । मैले भनेँ, ‘श्रीमतिलाई यसरी कुट्नु हुन्छ त ? माया पो गर्नुपर्छ ।’ मेरो कुरा भुइँमा खस्न नपाउँदै सीधासाधा देखिने त्यो डकर्मीले भन्यो, ‘कहिलेकाहीँ त पिट्नु पनि पर्छ, नत्र कसरी तह लाग्छन् र ?’ उसको कुरा सुनेर मैले मनमनै भनें, ‘कुटेर तह लगाउन खोज्ने पुरुष मानसिकता ।’
-----------------
एक पटक म एक गाउँको बाटो हिँडिरहेको थिए । एक जना युवकले आफ्नी श्रीमतिलाई बाटोमा घिसार्दै खुब पिटिरहेको थियो । छुटाउन खोज्ने छिमेकीहरुलाई ऊ भन्दै थियो, म फलाम होइन, ढुंगा हुँ । बरु फोडिन्छु, तर यो सँग झुक्दिनँ । यसलाई मैले पिटेर नै ठिक पार्छु ।’ 

डकर्मी र युवकको कुरा मात्र होइन, अधिकांश पुरुषहरुमा यस्तो मानसिकता रहेको हुन्छ । यो पुरुष मानसिकता पुरुषहरुमा विभिन्न तरीकाले देखा पर्ने गर्छ । अचम्म लाग्दो कुरा के भने कतिपय महिलाहरुमा समेत यो पुरुष मानसिकता बलवती हुन्छ । यस्तो मानसिकताका महिलाहरुले आफ्ना छोराछोरीहरु मात्र होइन, पतिलाई समेत कुटेर ठेगान लगाउन उद्दत हुन्छन् ।

पुरुष मानसिकता अहम्को उपज हो । कामना वा आफुले भनेजस्तो नभएको खण्डमा भडासका कारण पुरुष मानसिकता व्यवहारमा देखा पर्छ । यही पुरुष मानसिकताको कारण नै घरसमाजमा झैंझगडा तथा घरेलु हिंसा हुने गर्छ ।  यदि पतिपत्नी दुवैमा यो मानसिकता भएको खण्डमा घरेलुहिंसाले उघ्ररुप लिन सक्ने संभावना बढी हुन्छ । नेपाल गाउँघरतिर मात्र होइन, शहरहरुमा पनि दिनहु घरेलुहिंसाका थुप्रै घटनाहरु घटिरहेका छन् । यस्ता अधिकांश घटनाहरुमा पत्नी नै पीडित हुने गरेका छन् । वास्तवमा नेपालका थुप्रै महिलाहरु आफ्नै घरभित्र नारकीय जीवन बाँच्नु परेको छ । आफ्नै पतिद्धारा कुटिएर घरमै बलात्कृत हुनु परेको छ । 

नेपालको हिमाल, पहाड तथा तराई जताततै यस्ता समस्याहरु देखिने गरेको छ । तर, जाँडरक्सी सेवन गर्ने निम्न वर्गीय परिवारमा घरेलुहिंसाको स्थिति निकै कहाली लाग्दो छ । मैले केही दिन पहिला भवन निर्माण कार्यमा संलग्न रुपन्देही जिल्लाका ३० विवाहित महिलाहरुलाई सोधेको थिएँ, ती मध्य २२ मजदुर महिलाहरुले आफ्नो पतिले दिनहु रक्सी सेवन गर्ने र सानो कुरामा पनि रिसाएर वा बिना कारण आफुलाई कुट्ने बताएँ । 

एक महिलाको कहानी 
 

एक महिलाले त मनको बह रोक्न सकिनन् । र, रुदै भनिन्, ‘मेरो लोग्नेले केही काम गर्दैन् । दिनभरि रक्सी पिएर बस्छ । केटाकेटीहरु सानासाना छन् । त्यसैले मजदुरी नगरी हातमुख जोर्न पुग्दैन ।  म दिनहु बिहानै ३, ४ बजेतिर उठ्छु, घरधन्दा गर्छु, खाना पकाउँछु । ७ बजेतिर हल्का खाना खाई दिउँसोको लागि खाना लिएर एक, डेढ घन्टा सकाइकल कुदाउँदै काममा आउँछु । एक, डेढ घन्टाको साइकल चलाउँदा त्यसै थकाइ लागेको हुन्छ, त्यसमाथि यो प्रचण्डमा गर्मीमा इँटा, सिमेन्ट तथा बालुवा बोकेर तीन चार तलामा पुराउँदा शरीर फत्तक हुन्छ । दिउँसोतिर बिहान पकाएको भात खाएर ५, ६ बजेसम्म काम गरेपछि घर पुग्न हतारो हुन्छ । घर पुग्दा झमक्क साँझ परिसकेको हुन्छ । घरमा पुग्नासाथ बुढोले पैसा माग्छ । पैसा नदिए, कुट्छ । दिए, रक्सी खाएर आउँछ र आज किन ढिलो आइस भन्दै कुट्छ । घर धन्दा गर्दा गर्दै रात निकै छिपिन्छ । तर भट्टिमा गएको बुढोको कुनै अत्तोपत्तो हुँदैन । निकै भोक लागेको हुन्छ, तर अबेरसम्म पनि उसलाई कुर्नुपर्छ, नत्र मलाई खाना नदिइ पहिला आफै खाइस् भन्दै कुट्छ । खाना खाएर भाँडासाडा माझी सुत्न जाँदा शरीर थाकेर मुर्दा जस्तो भएको हुन्छ । तर, बिछयौनामा पनि शरीरले आराम पाउँदैन । बेलाबेलामा आफ्नै पतिद्धारा बलात्कृत हुनुपर्छ । मलाई लाग्छ, मेरो मात्र होइन, म जस्ता थुप्रै महिलाहरुको जीवन यसरी नै चलिरहेको छ ।’ 

हो,  नेपाली महिलाहरु धेरै नै सहनशील हुन्छन् । पतिले जतिसुकै अत्याचार गरे पनि आफ्नो त भाग्य नै यस्तो रहे छ भनी सहेर बस्छन् ।  तर, बारम्बार पतिको दुव्र्यहारबाट आजित भएका कतिपय महिलाहरु चुप लागेर बस्दैनन् । आफुलाई कुट्ने पतिलाई कुटेर नै ठीक पार्न तम्सिन्छन् । आफ्नी पत्नीको दुर्गा रुप देखेपछि कतिपय पुरुषहरु ठीक ठाउँमा आएको उदाहरणहरु पनि देख्न सकिन्छ । एक अर्की महिलाको भनाइ थियो, मैले लोग्नेको अत्याचार धेरै सहेँ । तर, अहिले मैले मेरो लोग्नेको अत्याचार टुलुटुलु हेरि बस्दिनँ । जब ऊ शेर बन्न खोज्छ, झाडु समाएर ठुलाठुला आँखा देखाएपछि ऊ लुते कुकुर जस्तो हुन्छ । 

जाँडरक्सी सेवन गर्ने पुरुषहरुले मात्र होइन, जाँडरक्सी नखानेहरुले पनि आफ्नी पत्नीलाई गाली गर्ने तथा कुट्नेपिट्ने गरेको देखिन्छ । अधिकांश पुरुषहरुले महिलाहरुमाथि म पुरुष हुँ भन्ने डर देखाएर आफ्नो प्रभुत्व जमाउन चाहन्छन् । 

हो, मानिसको जीवनमा एकहदसम्म डर आवश्यक छ । यस्तो डरले मानिसलाई सम्भावित खतराबाट बचाउँछ, समाजिक मर्यादा नाघेर गलत कार्य गर्न जोगाउँछ, अनुशासनमा राख्दछ । त्यसैले महिलापुरुष हुन् वा केटाकेटीहरु हुन् केही हदसम्म डर देखाउनु आवश्यक हुन्छ । तर हाम्रो समाजमा नकारात्मक तरीकाले गाली गरेर तथा कुटेर डर पैदा गर्ने चलन छ । कलिलो मस्तिष्कमा रोपिएको यस्तो डर पछि गएर मनोवैज्ञानिक समस्या बन्न सक्दछ । अधिकांश मानसिक रोगहरुको प्रमुख कारण भनेको नै घर, परिवार तथा समाजमा देखा पर्ने नकारात्मक मनोविज्ञान नै हो । त्यसैले तनमन स्वस्थ राख्न सकारात्मक मनोविज्ञान आवश्यक छ । सकारात्मक मनोविज्ञान बिना कुनै पनि मानिस स्वस्थ रहन नसक्ने प्रा. र्मािर्टन सेलिगम्यानको दावी छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)



No comments:

Post a Comment