Saturday, April 18, 2020

ब्रेन बाइट्स

बार्ड ब्रेन
जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछ कवि
 
ओम बानियाँ

हान् साहित्यकार विलियम सेक्सपियर शब्दशिल्पी मात्र होइनन् मानवीय संवेदना र मनोविज्ञानलाई गहिरोसँग बुझेका तिक्ष्ण बुद्धिका एक भविष्यद्रष्टा पनि हुन् । त्यसैले त उनले मानवीय संवेदना र मानिसका यावत् चाहना तथा समस्याहरुलाई हरेक कोणहरुबाट आफ्ना नाटकहरुमार्फत् उजागर गरेका छन् । उनका नाटकहरुमा मानिसका भाव, राग, आवेग, इच्छाआकांक्षा, सामान्य तथा असमान्य व्यवहारहरु कलात्मकशैलीमा उल्लेख भएको पाइन्छ । उनले सामान्य तथा असमान्य दुवै थरीका पात्रहरुलाई आफ्ना नाटकहरुमा उतारेका छन् । तर उनले मानिसको असमान्य मनोविज्ञानलाई बढी जोड दिएका छन् । 


नाटकमा असामान्य मनोविज्ञानः
सेक्सपियरको नाटकहरुको अध्ययनबाट अवगत हुन्छ, उनको विषेश इच्छा असमान्य मनोविज्ञानमा थियो । त्यसैले त हेमलेट, ओफेलिया तथा लेडि म्याकबेथमा सेक्सपियरले सिजोफ्रेनिया (आम भाषामा पागलपन)को चरित्रलाई देखाएका छन् भने किंग लियरमा उनले बुढौली समस्या तथा डिमेंसियालाई सम्बोधन गरेका छन् । त्यसैगरि जुलियस सिजरमा छारेरोग (इपिलेप्टिक सिजर)का बारेमा उल्लेख गरेका छन् । उदासिनता (डिप्रेसन) अहिले संसारभरि निकै फैलिएको रोग हो । एक तथ्यांकका अनुसार अहिले १० जना मध्य एक जना मानिस डिप्रेसनबाट पीडित भएको देखिन्छ । तर, उत्तिबेलामा नै यो रोगका बारेमा पनि सेक्सपियरले आफ्ना नाटकहरुमा उल्लेख गरेका छन् । रिचर्ड द्धितियमा उनले डिप्रेसनका क्लिनिक लक्षणहरु उल्लेख गरेका छन् । 

हो, रिचर्डकोझै डिप्रेस्ड मानिसको नूर गिरेको हुन्छ, उसको अरुचि कम हुन्छ । उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमि आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि डिप्रेसनका लक्षणहरु हुन् । यस्तै लक्षणहरु उनले रिचर्ड द्धितीयमा उल्लेख गरेका छन् । 

स्नायुविज्ञान र कवि मस्तिष्कः
आधुनिक स्नायुविज्ञानको विकास २०औं शताब्दीको शुरुतिर भएको हो । तर मस्तिष्क परीक्षण गर्ने सीटी स्क्यान तथा एमआरआई जस्ता स्नायुप्रविधिहरुको विकास भएको आधा शताब्दी पनि भएको छैन । तर चौथो शताब्दी पुर्व नै साहित्यकार विलियम सेक्सपियरले मानिसको मन र मस्तिष्कसँग सम्बन्धित धेरै विषयहरु नाटकमा उतारेका छन् । कल्पना के हो ? स्मरणशक्ति कसरी निमार्ण हुन्छ ? कस्तो कुराहरुले मानिसलाई उत्प्रेरित गर्छ ? किन विदेशी भाषा सिक्न गाह्रो हुन्छ ? स्नायुविज्ञानसंग सम्बन्धित यस्ता यावत् प्रश्नहरुको उत्तरहरु सेक्सपियरका नाटकहरुमा पाइन्छन् ।

अतः मानव मस्तिष्कप्रति जुन दिलचस्मी अहिले स्नायुवैज्ञानिकहरुको छ, त्यस्तै दिलचस्मी उहिले सेक्सपियरको थियो । स्नायुविज्ञानप्रति उनको यही दिलचस्मीका कारण नै उनका नाटकहरुमा यससम्बन्धमा थुप्रै वैज्ञानिक तथ्यहरु देख्न पाइन्छन् ।

मस्तिष्क पुनर्संरचनाः
सेक्सपियरले आफ्ना नाटकहरुमा औषधी तथा मानिसको सोच तथा व्यवहारले मानिसको मनमस्तिष्क पुनर्संरचना हुने कुरा उल्लेख गरेका छन् । हो, मानिसको सोचमा मन परिवर्तन गर्ने शक्ति हुन्छ । उचित र तार्कीक विचारहरूमा मस्तिष्क पुनर्संरचना गर्ने सामथ्र्य हुन्छ । अंगुलिमाललाई नै हेर्नुहोस् । एउटा विचारले ऊ हत्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो । साइकोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो ।


मनोचिकित्सा पद्धति मानसिक विकारहरूको मूल कारण प्रतिकूल वा नकारात्मक भावना हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान(कग्निसन) तथा चिन्तनले नै मानसिक रोग पैदा गर्छ । त्यसैले मानसिक रोग ठीक गर्नकालागि रोगीको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावनाहरू परिवर्तन गर्न आवश्यक पर्छ । कग्निटिभ बिहाभियर थेरापीमा विभिन्न कग्निटिभ टेक्निकहरूको सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ, जसलेगर्दा रोगीको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भइ व्यवहार समायोजित हुन पुग्दछ । 

मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ । मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ । मस्तिष्कको यस्तो  पुनर्संरचनामा मनको सबै भन्दा ठूलो हात हुन्छ । अर्को शब्दमा भन्ने हो भने मन नै मस्तिष्क पुनर्संरचनाको मुख्य औजार हो । मनले मस्तिष्क पुनर्संरचना गर्न सक्ने कुरा एकदम सत्य हो । जस्तो कि सिद्धार्थ गौतम जन्मिदै बुद्ध भएका होइनन्, ध्यानद्वारा मस्तिष्क पुनर्संरचना गरेर महात्माबुद्ध भएका हुन् । ध्यान मन प्रशिक्षणको एक सर्वोत्तम मनोवैज्ञानिक विधि हो ।

कथा, कविता, संगीत, नाटक तथा फिल्म आदिमा पनि मानिसको मनमस्तिष्क पुनर्संरचना गर्ने शक्ति हुन्छ । त्यो किनभने काब्यमा रस हुन्छ, त्यो रसले गर्दा नै मानिसले गहिरो आनन्द, खुसी, करुणा तथा हास्य आदिको अनुभव गर्छ र सोही मुताबिक मानिसको मन परिवर्तन हुन्छ । काब्यको यही विशेषता कारण नै बिब्लियो थेरापी, म्युजिक थेरापि तथा मुवि थेपारी आदिको विकास भएको हो ।

नवरस र भावनाः
रसको मुख्य आश्रय भाव हो । भाव भन्नाले मनका विभिन्न स्थिति र तरंग बुझिन्छ । रस सामान्यता नौ थरी मानिएका छन्, श्रृगांर (संयोग र वियोग), हास्य, करुण, वीर, रौद्र, भयानक, वीभत्स, अद्भुत र शान्त । (कृष्णप्रसाद पराजुली) । यीनै रसहरु नै हरेक काब्यहरुमा पाइन्छन् । क्रोध, भय(डर), खुसी, प्रेम आदि हाम्रो जीवनका प्रमुख भावना वा संवेगहरु(इमोसन) हुन् । प्रेम धनात्मक संवेग हो । आनन्द तथा उल्लास पनि धनात्मक संवेगहरु हुन् । यसै गरी उदासी, खिन्नता, डर, दुश्चिंता, क्रोध, डाह तथा इष्र्या आदि नकारात्मक संवेगहरु हुन् । त्यसो त मानिसका लागि डर तथा चिन्ता एकहदसम्म आवश्यक पनि छन् । सम्यक डर र चिन्ताले मानिसलाई अग्रसर र उत्प्रेरित पनि गर्छ । तर बढी डर र चिन्ताले मानिसलाई मनोरोगी बनाउन पनि सक्दछ । 

भविष्य द्रष्टा कवि

जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछ कवि । यो भनाइ जति सटीक छ, त्यत्ति नै मनोवैज्ञानिक पनि छ । हो, कवि भविष्यद्रष्टा हुन् । कविले एक पंक्तीमा नै भविष्यको तस्विर खिच्छन् । भूपि शेरेचनको घुम्ने मेचमाथि अन्धो मान्छे एक सानो दृष्टान्त हो । वास्तवमा भन्ने हो भने हरेक सानाठूला कविसाहित्यकारहरु मानिसको ब्रेनबिहाभियर अध्ययन गर्ने मनोवैज्ञानिक नै हुन् । समाज र संस्कृतिलाई गहिरोसँग बुझ्ने समाज शास्त्री तथा मानव शास्त्री नै हुन् ।  प्रोफेटका कवि खलिल जिब्रानले लेखेका छन्, आमाबा धनुष् हुन्, छोराछोरी बाँण हुन् । जति धनुष् निहुरिन्छ, त्यत्ति नै बाँण टाढा पुग्दछ । उनले दुई वाक्यहरुमा नै सम्पूर्ण पारिवारिक मनोविज्ञानलाई दर्साएका छन् । वैदिक युगका ऋषिमुनि(वैज्ञानिक) पनि कवि नै हुन् । उनीहरुले हजारौं वर्ष पहिला वैदिक साहित्य मार्फत् जे—जे भनेका थिए, अहिले आएर ती—ती कुराहरु सत्य सावित भएका छन् । 



पुछारमाः
कवि मस्तिष्कका धनि हुन्, सृजनात्मक चिन्तनशीलता र कल्पनाशीलताका खानी हुन् । यहाँ उल्लेखनीय कुरा के भने चिन्तन तथा कल्पना दुवै उच्चतम मानसिक प्रक्रियाहरु हुन् । सृजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सृजनतात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यबहार त्यही लक्ष्यसँग सम्बन्धित हुन्छ । त्यसैले सेक्सपियर मात्र होइन । हरेक कवि कल्पनाको सुन्दर संसारमा हुन्छन् । र, सेक्सपियरद्धारा लिखित द टेम्पेस्टकी नायिका मिरन्डालेझैं सुन्दर र संभावनाको संसार देख्ने गर्छन् । (लेखक मनोविद् हुन् ।) 

 


No comments:

Post a Comment