ब्रेन बाइट्स
मानिसको हात र ब्रेनः
ब्रेन व्यायामः
ब्रेन व्यायाम एकः
ब्रेन व्यायाम दुईः
ब्रेन व्यायाम तीन:
ब्रेन व्यायाम चारः
ब्रेन व्यायाम पाँचः
ब्रेनको 'व्यायाम'
ओम बानियाँ
ओम बानियाँ
हातको क्रियाकलापका दृष्टिले मानिस दुई प्रकारका हुन्छन्ः दायाँहाते र वायाँहाते । दायाँहाते मानिसले दायाँ हातले कार्य गर्दछन् भने वायाँहाते मानिसले वायाँ हातले कार्य गर्दछन् । दायाँहाते मानिसको तुलनामा वायाँहाते मानिसको संख्या ज्यादै न्यून हुने गर्दछ । तर क्रिकेटका नामी खेलाडीहरू वायाँहाते छन् । जस्तैः सचिन तेन्दुलकर, सनथ जयसूर्या आदि । भारतका प्रसिद्ध अभिनेता अमिताभ बच्चन पनि वायाँहाते हुन् । यसको फेहरिस्त निकै लामो छ ।
मानिसको हात र ब्रेनः
मानिसको मस्तिष्कसँग हातको सम्बन्ध ज्यादै अनौठो छ । त्यो किनभने वायाँहाते मानिसको दायाँ मस्तिष्क बढी सक्रिय हुने गर्दछ भने दायाँहाते मानिसको वायाँ मस्तिष्क बढी सक्रिय हुने गर्दछ । साथै बायाँ हाते मानिस तुलनात्मकरुपमा बढी सृजनात्मक पनि हुने गर्छन् । बनौटको दृष्टिकोणले ठूलो मस्तिष्क (सेरेब्रम)का दुई भागहरु हुन्छन्, जसलाई दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्क पनि भनिन्छ । यी दुवै भागहरूलाई कोर्पस कोलोजमले जोडेको हुन्छ । कोर्पस कोलोजम लाखौं स्नायुरेसाहरूद्वारा बनेको हुन्छ । यसको प्रमुख कार्य दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्क बीच सम्बन्ध स्थापित गर्नु हो ।
दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्कको एउटा विशेषता के छ भने दायाँ मस्तिष्कले शरीरको वायाँ अंगहरूको क्रियाहरूको संचालन तथा नियन्त्रण गर्ने कार्य गर्दछ भने वायाँ मस्तिष्कले दायाँ अंगहरूको क्रियाहरूको संचालन तथा नियन्त्रण गर्ने कार्य गर्दछ । त्यसैले नै त टाउकाकोे दायाँपट्टि चोटपटक लागेर दायाँ मस्तिष्कमा क्षेति पुग्यो भने वायाँ हात–खुट्टा नचल्ने हुन्छ । त्यसै गरी वायाँ मस्तिष्कमा क्षेति पुग्यो भने शरीरको दायाँ भागमा असर पर्न सक्दछ । यसको साथै यी दुई मस्तिष्कको अर्को विशेषता पनि छ, त्यो के भने दायाँ मस्तिष्क संगीत, नृत्य, चित्रकला, अभिनय, प्रत्यक्षीकरण, सिलाइबुनाइ इत्यादि सृजनात्मक कार्यहरूसँग सम्बन्धित हुन्छ । वायाँ मस्तिष्क तर्क–बितर्क गर्ने परीक्षण गर्ने, हिसाबकिताब गर्ने, भाषा र विज्ञान इत्यादि तर्कपूर्ण कार्यहरूसँग सम्बन्धित हुन्छ ।
दायाँ मस्तिष्कले कार्य गर्ने मानिसहरू ज्यादै सृजनशील हुने गर्दछन् । उनीहरूको सिक्ने र याद राख्ने क्षमता राम्रो हुन्छ । तर वायाँ मस्तिष्कले कार्य गर्ने मानिस बढी तार्किक हुने गर्दछन् । भाषामा उनीहरूको राम्रो दखल हुने गर्दछ । दायाँ मस्तिष्क तथा वायाँ मस्तिष्कको सम्बन्धमा वैज्ञानिकहरूको निचोड छ, साधारणतया वयस्क र दायाँहाते मानिसहरूले वायाँ मस्तिष्कले कार्य गर्ने गर्छन् । तर बालबालिकाहरूले दायाँ मस्तिष्कले कार्य गर्दछन् । जति–जति मानिसको उमेर ढल्कँदै जान्छ, उनीहरूको दायाँ मस्तिष्क निस्क्रिय हुदै जान्छ । यसैकारणले गर्दा नै बालबालिकाहरू कुरा भुइँमा खस्न नपाउँदै टप्प टिप्ने गर्दछन्, पाको मानिस दिनप्रति दिन भुलक्कड हुदै जान्छन् ।
अतः मस्तिष्क शक्ति, तेज मेमोरी र सिक्ने क्षमता बृद्धि गर्न दायाँ तथा वायाँ, दुबै मस्तिष्कलाई उचित सदुपयोग गर्नु पर्ने देखिन्छ । यदि मानिसले आफ्नो दायाँ मस्तिष्कलाई निस्क्रिय हुन नदिई दायाँ–वायाँ, दुवै मस्तिष्कलाई सदुपयोग गर्दछ भने मानिसले गर्न नसक्ने कुनै कुरा हुदैन, मानिसकालागि सबै कुरा सम्भव हुन्छ । त्यो किनभने जति–जति मानिसको मस्तिष्क शक्ति बढ्छ, त्यति–त्यति मानवीय समाथ्र्य पनि बढ्ने गर्दछ । यो वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर सानैदेखि नै शारीरिक व्यायामका साथै मस्तिष्क व्यायाम गर्नु सुनमा सुगन्ध थपेजस्तो हुन्छ । मस्तिष्क व्यायामले मस्तिष्कलाई सृजनतात्मक बनाउँछ । सृजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सृजनतात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यबहार यही लक्ष्यसँग सम्बन्धित हुन्छ ।
ब्रेन व्यायामः
मस्तिष्क व्यायाम अनेक प्रकारका छन् । तर यहाँ ५, ७ वर्षका सानासाना बालबालिकाहरुले पनि गर्न सक्ने केही सरल मस्तिष्क व्यायामहरु उल्लेख गरिएको छ । अतः मस्तिष्क व्यायामबाट लाभ प्राप्त गर्न पहिला मस्तिष्क व्यायाम कसरी गर्ने हो भन्ने कुरा पढ्नुस्, सिक्नुस् र दिनहु अभ्यास गर्नुस् ।
आफ्नो जुन हात बढी चल्दछ, बेलाबेलामा त्यसको विपरित हातले कार्य गर्ने हो भने मस्तिष्कको व्यायाम हुने गर्दछ । त्यसैले यदि तपाईं दायाँ हाते हुनुहुन्छ भने बेलाबेलामा वायाँ हातलाई पनि प्रयोगमा ल्याउनुस् । यस्तो अभ्यासले सुसुप्त अवस्थामा रहेको मस्तिष्कको दायाँ भागलाई पनि क्रियाशिल बनाउँछ । त्यसैले टुथ–ब्रश गर्दा, नुहाउँदा, साबुन लगाउँदा वा जुत्ताको तना बान्ने जस्ता कार्यहरू गर्दा वायाँ हातको प्रयोग गर्न सकिन्छ । तर तपाईं वायाँहाते हुनुहुन्छ भने बेलाबेलामा यसरी नै दायाँहातलाई पनि प्रयोगमा ल्याउनुस् ।
ब्रेन व्यायाम दुईः
बिहान सबेरै उठ्ने बानी बसाल्नुस् । दिसापिसाब आदि गरेर बिहानको नित्यकर्म सकेपछि अनुलोमबिलोम प्राणायाम र भ्रामरी प्राणायाम गर्नुस् । यी दुई प्राणायामहरु मस्तिष्कका लागि निकै उपयोगी छन् । प्राचिन वैज्ञानिक(ऋषिमुनि)हरुले मस्तिष्क शक्ति बढाउनका लागि नै यी प्राणायामहरुको आविस्कार गरेका हुन् ।
ब्रेन व्यायाम तीन:
प्राणायाम गरेपछि आफ्नो जुन हात चल्छ, त्यसको विपरित हातले आफ्नो नाम लेख्नुस्, आफ्नो जीवनको लक्ष्य लेख्नुस् । अनि अर्को हातले पछाडिको अक्षरतिरबाट आफ्नो नाम लेख्नुस् । अनि दुवै हातले एकै पटक आफ्नो नाम लेख्नुस् । हरेक दिन केही समय निकालेर यस प्रकारका अभ्यासहरु गर्नुस् ।
ब्रेन व्यायाम चारः
बिहानको नास्तामा ब्रेन फूड्स जस्तै ओक्खर, बदाम(आलमन्ड), कालो अँगुर, अमला, ब्ल्याकबेरी, स्ट्राबेरी, अंकुरित गेडागुडि, अन्डा तथा मौसमी फलफूलहरुको नास्ता गर्नुस् । खाली पेट चियाकफी नपिउनुस् ।
ब्रेन व्यायाम पाँचः
ध्यान लगाएर आफ्नो कार्य गर्नुस् । ध्यानपूर्वक पढाइलेखाइ गर्नुस् । पढेका कुराहरुलाई कल्पनाचित्रमा उतारेर याद राख्ने कोसिस गर्नुस् । आफ्नो कार्य वा पढाइलेखाइलाई बोझका रुपमा होइन कि खेलका रुपमा लिनुस् । सृजनात्मक र सकारात्मक सोच राख्नुस् । सृजनात्मक कार्यहरु गर्नुस् । फुर्सदका बेलामा चित्रहरु बनाउने रंग भर्ने, कविता वा निबन्ध आदि लेख्ने, वर्गपहेली आदि हल गर्ने कार्य गर्नुस् ।
अतः यसरी ब्रेनको ब्यायाम गर्ने हो भने मस्तिष्क स्वस्थ र मजबुत हुन्छ, मस्तिष्क शक्ति बढ्छ । मानिसको मस्तिष्क स्वस्थ र मजबुत भयो भने मानिसको शरीर पनि स्वस्थ र मजबुत हुन्छ । अनि मानिसले बढी मस्तिष्क शक्ति उपयोग गर्न सके भने असम्भवलाई पनि सम्भव बनाउन सक्छन् । आफ्नो मस्तिष्क शक्तिलाई अधिकतम सदुपयोग गरेर नै अल्बर्ट आइन्सटाइन शब्ताब्दी कै महान् वैज्ञानिक बनेका हुन् । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)



No comments:
Post a Comment