Tuesday, April 7, 2020

ब्रेन बाइट्स 
घटना घर घरका

ओम बानियाँ 
तोकिएको समयमा नै पीएचडीका होनहार विद्यार्थी विवेक बस्नेत मेमोरी क्लिनिकमा हाजिर भए । डा. कोर्टेक्सले विवेकलाई देखाउन दराजबाट धमाधम पुराना केसहरु निकाल्न थाले । डा. कोर्टेक्सको हातमा सबै भन्दा पहिला वसन्तको केस पर्यो । फाइल हातमा पर्नसाथ डा. कोर्टेक्सलाई झल्यास ३ वर्ष पहिला कलेंटी परेको ओंठ लिएर मेमोरी क्लिनिकमा आएका वसन्तको सम्झना भयो । केही वर्षदेखि आफ्नै आमा र पत्निको दोहोरो पेलाइमा परेर उनको अवस्था कस्तो भएको थियो भन्ने कुरा कित त्यतिबेला वसन्तलाई थाहा थियो कि त डा. कोर्टेक्सलाई अनुमान थियो । तर वसन्तको केस नौलो थिएन, नेपाली समाजको आमकेस थियो । प्रायः यस्ता समस्याहरु नेपालका घर-घरमा घटिरहन्छन् भने पनि फरक खाँदैन ।

----------------
डा. कोर्टेक्सले विवेकलाई वसन्तको फाइल दिँदै भने, ‘यो फाइल हेर्नेुहोस् । समस्या एउटा छ, पीडित तीन जना छन् । तर सबै भन्दा पीडित समस्या सृजना नगर्ने छन् ।’ फाइल हातमा पर्नासाथ विवेकले निकै इच्छुक भएर केस पढ्न थाले । 
----------------
ऋतु वसन्तको घरमा बुहारी भएर भित्रिएको दुई वर्ष भएको थियो । उनको एक वर्षकी छोरी समेत छे । तर विवाह भएर आएको हप्तादिनदेखि नै सासुसँगको उनको सम्बन्ध राम्रो छैन । जतिसुकै राम्रोसंग घरधन्दा गर्दा पनि उनकी सासु कहिल्यै खुसी नदेखिने, बिरामी पर्दा समेत ख्याल नगर्ने तथा आफ्नो पतिलाई जोइटिंग्रे भन्दै गाली गर्ने उनको भनाइ छ । जति सिकाए पनि काम नसिक्ने, बिहान ढिलो उठ्ने, जतिखेर पनि टाउको दुख्यो भनेर बाहना बनाउने, राम्रोसंग सम्झाउंदा पनि मुख लाउने बुहारीबाट आफु हार खाएको सासुको भनाइ छ । श्रीमतिलाई सम्झाउंदा श्रीमाति ठुस्सिने, आमालाई सम्झाउंदा आमा भुनभुनिदै मर्न जान्छु भन्दै हिँड्ने, सानोतिनो कुरा पनि सहन नसक्ने आमा र मुखाले पत्नीको चेपुवा आफु परेको ऋतुको श्रीमान् वसन्तको भनाइ छ । 
----------------
केस पढेपछि विवेक बोले, ‘सर । यस केसमा विवेक मात्रै मानसिक समस्यामा परेका थिए कि सासुबुहारी पनि ? डा. कोर्टेक्सले भने, ‘समस्या सासुबुहारी बीचको सम्बन्धमा थियो, तर सासुबुहारी बीचको कटुताले वसन्तमाथि गम्भिर असर गरेको थिए । तनावका कारण वसन्त डिप्रेसनमा पुगेका थिए । मैले यस केसका लागि खुब मेहनत गरेको थिएँ । सीबीटी, इन्टरपर्सनल साइकोथेरापि तथा पारिवारिक साइकोथेरापिबाट वसन्तको पारिवारिक सम्बन्ध समाधान गरेको थिएँ । केही दिन पहिला वसन्तकी आमासंग भेट भएको थियो, सबै खुसी छन् ।’
----------------
डा. कोर्टेक्सले भने, ‘संयुक्त परिवारमा सबै भन्दा बढी समस्या सासुबुहारीको बिचमा हुने गर्छ । सासुबुहारीको बिचमा देखा पर्ने समस्याको अनेक कारण छन्  । दाइजोको कारणले पनि समस्या देखा पर्छ । बुहारीले घरधन्दा ठीकसंग नगर्नाले तथा मरिमेटी घरधन्दा गर्दा पनि सासु सन्तुष्ट नहुनाले पनि समस्या देखा पर्छ । आफ्नी आमाले गाली गर्दा तथा पिट्दा पनि सहने छोरीले बुहारीका रुपमा सासुले गरेको सानोतिनो गालीलाई पनि सहन नसक्दा पनि समस्या पैदा हुन्छ । छोरा बेरोजगार, दुव्र्यसनी र आवारा भएको खण्डमा पनि सासुबुहारीको बिचको बिचमा समस्या देखा पर्छ । र, सासुबुहारीका बिचमा हुने मनमुटावका सबै भन्दा प्रमुख मनोवैज्ञानिक कारण ईष्या र अहम् हो । सासुलाई छोराबुहारी संगै बसेर हाँसेको, छोराले बुहारीको काममा सगाएको तथा धेरै माया गरेको देख्दा जलन हुन्छ । यदि पहिलादेखि नै बुहारी कुनै कारणले मन परेकी छैनिन् भने यो जलन झन उघ्र हुन्छ र घर नै जलाउंछ । सासुबुहारीको बिचको समस्याले कहिलेकाही त छोरा यत्ति मिच्चिएको हुन्छ, वसन्तझैं ऊ मरुकि बाँचुको स्थितिमा पुग्छ ।’ 
 ----------------
डा. कोर्टेक्सले अर्को फाइल दिँदै भने, ‘ल यो हेर्नुहोस् आकाश र मेघाको केस । यी दुई ५ वर्ष पहिला मेमोरी क्लिनिकमा आएका थिए ।’ 
----------------
३४ वर्षीय आकाश र ३० वर्षीय मेघा । ८ वर्ष पहिला यी दुईको विवाह भएको थियो । उनीहरूको ५ वर्षको छोरा छ । आकाश पेशाले एक व्यस्त इन्जिनियर हुन् । उनी आफ्नो पेशाप्रति यति व्यस्त छन् कि परिवारका लागि समय निकाल्न अति कठीन हुन्छ । शुरु–शुरुमा आकाशमेघाको सम्बन्ध निकै सुमधुर भएपनि केही वर्ष यता उनीहरू बीच खटपट बढेको छ । मेघा सानासाना कुराहरू पनि झडयाड्ड रिसाउने तथा च्याठिने गर्न थालेकी छिन् । आकाशको साथी हिमाललाई केही दिनदेखि मेघाको व्यवहार देखेर शंका लाग्न थालेको थियो । त्यसैले एक दिन उसले आकाशलाई मेघालाई लिएर मेमोरी क्लिनिकमा जाने सल्लाह दियो । आकाशलाई हिमालको सुझाव उचित लाग्यो र अर्को दिन नै उनले मेघालाई लिएर मेमोरी क्निनिकमा आएका थिए । 
----------------
विवेकले सोधे, ‘अनि के भयो ?’ डा. कोर्टेक्स बोले, ‘मैले दुवैको मनोवैज्ञानिक परीक्षण गरे । परीक्षणबाट मेघाको समस्या यौनजन्य भएको निचोड निक्लियो ।’ विवेक आश्चर्य मान्दै, ‘हो र सर ?’ डा. कोर्टेक्सले अगाडि भने, ‘पारिवारिक जीवनमा सामान्यता सबै भन्दा बढी नजिक भएर बढी समयसम्म साथसाथ रहने पतिपत्नी हुन्  । यसरी एउटै बिछयौनमा सुत्ने र उठ्ने हुँदा पतिपत्नीका बिचमा कहिलेकाही ठाकठुक हुनु, मनमुटाव स्वभाविकै हो । तर, कहिलेकाही त झिनामसिना कारणले पनि पतिपत्नीको झैझगडा सम्बन्ध विच्छेद तथा हिंसामा परिणत हुन पुग्दछ । बुढेसकालमा समेत पतिपत्नी बीचको आपसी सम्बन्धमा समस्या पैदा हुने गर्छ । सामान्यतया पतिपत्नीको सोच, व्यवहार, अहंम, एक अर्कोमाथि प्रभुत्व जमाउने होडबाजी, रोजीरोटी, रोजगार, मादकपदार्थको सेवन तथा दाइजो जस्ता पारिवारिक तथा समाजिक कारणले पतिपत्नी बिचको सम्बन्धमा समस्या उत्पन्न हुन्छ । तर, पतिपत्नीका बिचमा सबै भन्दा बढी समस्या उत्पन्न गर्ने विषय हो, शंका र सेक्स ।’  डा. कोर्टेक्सले चस्मा मिलाउँदै भने, ‘सामान्यतया पतिपत्नीबीच देखा पर्ने समस्याहरुलाई दुई वर्गमा वर्गिकरण गर्न सकिन्छ । पहिलो हो, व्यक्तिगत जीवनसंग सम्बन्धित समस्या जस्तै सेक्स समस्या र अर्को हो, पारिवारिक तथा समाजिक समस्या । पारिवारिक तथा समाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्दछ । जसले गर्दा यस्ता समस्याहरुको समाधान पनि छिटै निस्किन्छ । तर पतिपत्नीबीचको व्यक्तिगत समस्या बढी जटिल हुन्छ । यो समस्या प्रायः सेक्ससंग  सम्बन्धित हुनाले निजात्मक हुन्छ, समस्या लामोसमय सम्म रहिरह्यो भने यसले पतिपत्नीबीच आक्रोश, कलह तथा कटुता पैदा गर्छ । सेक्स समस्याले पतिपत्नी दुवैलाई प्रभावित पार्छ । जस्तो कि पत्नी कामशीतलताद्धारा पीडित भएको खण्डमा पतिलाई यौन सुखानुभूति प्राप्त हुँदैन । पत्नी पनि यौनसुखबाट वंचित हुन्छिन् । यदि पति शीघ्रपतनवाट ग्रस्त छ भने पत्नीलाई मात्र होइन, स्वयंमलाई पनि प्रभावित पार्छ । यस्ता पतिहरु हीनतावोध र डिप्रेसनको शिकार बन्न सक्छन् ।’ 
 ----------------
आकाश र मेघाको फाइल राख्दै डा. कोर्टेक्स बोले, ‘अर्को उल्लेख्य कुरा के भने विवेक, अधिकांश मानसिक समस्याहरु सेक्ससंग नै सम्बन्धित हुने हुनाले उपचारका लागि चिकित्सककहाँ पुगेका अधिकांश महिलाहरुले पनि आफ्नो समस्या पूरा खोलेर भन्न लज्जाउंछन् । जस्तो कि दुश्चिंता तथा डिप्रेसनबाट पीडित महिलामा सेक्स इच्छा कम हुन्छ । जसले पतिपत्नी विच कटुता पैदा गर्न सक्छ । यति हुँदा पनि महिलाहरुले यो समस्यालाई आफैं भित्र गुम्साएर राख्न उचित ठान्छन् । सेक्सबाट सन्तुष्टि प्राप्त गर्न नसकेको कुरा पनि लुकाएर नै राख्छन् । परिणामस्वरुप यस्ता महिलाहरु थप मानसिक समस्याहरुको चुंगलमा पर्छन् । अनि पीडाको पहाड बोकी आँसु पिएर बाँच्न बाद्य भएका हुन्छन् ।’
----------------
कार्यालय सहयोगीले चिया लिएर आए । र, टेबुलमा राखिदिए । डा. कोर्टेक्स चियाको कप समात्दै बोले, ‘विवेक मैले त हर्बल चिया पिउँछु, अरुलाई पनि हर्बल चिया नै खुवाउँछु । मीठो नलागे पनि मीठो मानेर पिउनु है ।’ विवेक हतपत बोले, ‘मलाई पनि हर्बल चिया नै मन पर्छ सर ।’ डा. कोर्टेक्सले सुरुप्प चिया पिए र अर्को फाइल निकाले । 

----------------
सचिन ११ कक्षाका विद्यार्थी हुन् । पढाइमा राम्रो भएपनि उनी घरमा बाबुले भनेजस्तो गरेर पढ्दैनन् । उनको चालढाल तथा बोलीव्यबहार पनि बाबुले सोचे जस्तो छैन । उनी मौका पाउनसाथ मोबाइलमा गैम खेलेर वा टीभी हेरेर बस्छन् । दैनिक जसो नै बाबुछोरामा टोकाटोक हुन्छ । कहिलेकाहीं त हात हालाहाल नै हुन्छ । छोरासंग आजित भएर सचिनका बाबु एक वर्ष पहिला मेमोरी क्लिनिकमा आएका थिए । उनी निकै तनावमा थिए । केस हेरेपछि विवेक बोले, ‘सर ! यस्तो समस्या त अहिले हरेक घर घरमा हुन्छ जस्तो छ ।’ डा. कोर्टेक्स बोले, ‘हो, विवेक ! इन्टरनेट र प्रविधिको पहुँचका कारण हिजोआज स्क्रिन् एडिक्सनले समाजमा जरो गाँडेको छ । हाम्रो परिवार तथा समाज नै दोषि छ । यसबारे कुनै दिन बिस्तृत कुरा गरौलाँ । अहिले यो हेर जीवनका तीन भाइको केस ।
----------------
६० वर्षीय जीवन राती निद्रा नलाग्ने तथा बेलाबेलामा झाँक्रीझैं हल्लिने समस्याको कहीकतै उपचार नभएपछि मेमोरी क्लिनिकमा आएका थिए । जीवनका तीन भाइहरु छन् । आर्थिकरुपमा सबै राम्रै छन् । तर, आमाको मृत्युपछि एक तोला सुनको विषयलाई लिएर भाइहरुमा चर्को विवाद भयो । ५ वर्षदेखि उनीहरुका बीचमा पानी बाराबारको स्थिति छ । जीवनको छोराको विवाहमा समेत अन्य दुई भाइहरु उपस्थित भएनन् । केही समय पहिला जीवनले आफ्नी श्रीमतिलाई स्कुटी किनीदियो । त्यो देखेर माइलोले जग्गा बेचेर भए पनि स्कुटी किन्यो । अहिले उनीहरुका बीचमा भएको अस्वस्थ प्रतिस्पर्धाले छिमेकीहरु पनि तीनछक्क छन् । विवेकले प्रश्न गरे, ‘जीवनको समस्या कस्तो हो ? डा. कोर्टेक्सले जवाफ दिए, ‘पारिवारिक समस्याको तनाव । मैले उनलाई केही दिन सीबीटी गराए, हिन्दी फिल्म वार्वची देखाए । उनी मात्र होइन, भाइहरुको सम्बन्ध पनि पहिला जस्तो नै सुमधुर भयो ।’ डा. कोर्टेक्सले अगाडि भने, ‘विवाह हुनुभन्दा पहिला दाजुभाइहरुका बिचको सम्बन्धमा खासै ठुला समस्याहरु देखा पर्दैन । तर, विवाह भएपछि दाजुभाइका विचमा बढी खटपट शुरु हुने गर्छ । एउटा भाइले बढी कमाउने तथा अर्को भाइले नकमाउने वा कम कमाउने भयो भने पनि परिवारमा समस्या देखा पर्छ । अंशबण्डाको विषयलाई लिएर पनि दाजुभाइको सम्बन्धमा समस्या देखा पर्छ । कहीकही त एक फिट जमीनलाई लिएर समेत दाजुभाइका बिच पानी बाराबरको स्थिति सृजना हुन्छ । कतिपय अवस्थामा त मारकाट नै हुने गर्छ ।  अंशबण्डा भएर बसेका दाजुभाइमा प्रतिस्पर्धा र ईष्र्याका कारण सम्बन्धमा समस्या पर्छ ।’ डा. कोर्टेक्स मुसुक्क हाँस्दै बोले, ‘तर विवेक, एकाध अपवादलाई छोड्ने हो भने दिदीबहिनी बिचको सम्बन्धमा खासै ठुलो समस्या देखिंदैन । कहिंलेकाही दिदीबहिनीहरुका बिचमा ठाकठुक, हात हालाहाल तथा बोलचाल नै बन्द भए पनि यसले उघ्ररुप लिदैन । केहीदिनमै आपसी समस्या साम्य हुन्छ र दिदीबहिनी बिचको सम्बन्ध पुनः पहिलाको जस्तै हुन्छ । दिदीबहिनी बीचको समस्या लिएर अहिलेसम्म मेरोे क्लिनिकमा कोही पनि आएका छैनन् ।’
----------------
विवेकले डा. कोर्टेक्सका हरेक कुरा ध्यान दिएर सुनिरहेका थिए । ‘विवेक ! ल यो हेर्नुहोस् कुलबहादुरको केस ।’ डा. कोर्टेक्सले विवेकलाई कुलबहादुरको फाइल दिए । कुलबहादुर अवकाशप्राप्त कर्मचारी हुन् । उनका दुई भाइ छोराहरु छन् । जेठोले व्यापार गर्छ । कान्छोले जागिर । कान्छोको विवाह भएपछि कुलबहादुर तथा उनी श्रीमति निकै टेन्सनमा छन् बुहारीहरुको बोली र व्यवहारले । छिमेकीले हेर्दा देउरानीजेठानीको सम्बन्ध राम्रो देखिएता पनि भित्र भने त्यस्तो छैन । जेठानीले आफु जेठानी हुँ भन्ने तथा देवरानीले आफु ठुलाबढाकी छोरी हुँ भन्ने धाकले गर्दा उनीहरुका बीचको सम्बन्धमा चिसो पसेको छ । डा. कोर्टेक्सले मोबाइल चलाउँदै भने, ‘नेपाली समाजमा देवरानीजेठानी बिचमा समस्या नभएको कुनै घर छैन । कतिपय घर त देउरानीजेठानी बिचको झैझगडाका कारण नै टुट्ने गर्छ । देउरानीजेठानीहरुका बिचमा आइ पर्ने समस्याको जड भनेको भाइहरुको कमाइको अवस्था, घरधन्दा, एकअर्को माथि प्रभुत्व जमाउने होडबाजी तथा ईष्या हो ।’ 
----------------
डा. कोर्टेक्सले दराज बन्द गर्दै भने, ‘विवेक ! यसरी हरेक घरमा समस्या छ । पारिवारिक सम्बन्धमा समस्या । पतिपत्नी बिचमा समस्या । आमाबाबु र छोराछोरीको बिचमा समस्या । दाजुभाइ बिचमा समस्या । दिदीबहिनी बिचमा समस्या । देउरानीजेठानी बिचमा समस्या । सासुबुहारी बिचमा समस्या । यहाँ उल्लेखनीय कुरा के भने यस्ता अधिकांश समस्याहरु सानातिना कुराहरुबाट उत्पन्न हुन्छन् । कतिपय घरमा यस्ता मनमुटावहरु यति गम्भिर बन्छन् कि जसले गर्दा परिवारमा मानसिक समस्या, जाँडरक्सी तथा लागुपदार्थ कुलतको समस्या तथा घरेलु हिंसाका अपराधहरु समेत देखा पर्छन् । हो, कुनै यस्तो घर छैन, जहाँ बेलाबेलामा आमाबाबु र छोराछोरीहरुको बिचमा ठाकठुक नभएको होस् । तर कतिपय घरमा बाबुछोरा बिचको समस्याले यति उघ्ररुप लिन्छ कि बाबुछोरा बिच मारकाट नै हुन पुग्छ । खासगरी किशोर छोरा र आमाबाबुका बिचमा भनाभन, झैझगडा र हातपात समेत हुने गर्छ । किशोरकिशोरीमा हुने रासायनिक परिर्वतन, छोराछोरीबाट आमाबाबुको अपेक्षा, पुरानो पिढी र नयाँ पिढीको सोचको अन्तर, पारिवारिक संस्कार तथा घरको वातावरणका कारण नै यस्तो समस्या देखा पर्छ ।’ 
----------------
विवेकले भने, ‘सर ! यस्ता पारिवारिक समस्याहरुको रोकथाम र समाधानहरु के के हुन् ?’ डा. कोर्टेक्सले रुमालले अनुहार पुछ्दै भने, ‘विवेक ! परिवारमा कुनै विवाद, समस्या वा कठिनाईहरु उत्पन्न नहुनु सम्भव छैन । एउटै घरमा बस्दा, संगै उठबस गर्दा परिवारका बीच अनेक आपसी समस्याहरु आउन सक्छन् । यो आम कुरा हो । तर, यस्ता समस्याहरुको समाधान आवश्यक हुन्छ । यदि यस्ता समस्याहरुले उग्ररुप लियो भने परिवार नै भताभुंग हुन सक्दछ । त्यसैले परिवारमा देखा पर्ने समस्याहरुलाई समयमै समाधान गर्न आवश्यक हुन्छ ।  पतिपत्नी जीवनरुपी रथका दुई पांग्रा हुन् । यी दुई पांग्राको आपसी सहयोगमा नै जीवनरुपी रथ ठीकसंग अगाडि बढ्छ । वास्तवमा पतिपत्नीको सोच, आपसी भावना, व्यवहार तथा शैलीद्धारा उत्पन्न स्थिति तथा परिस्थितिहरुको परिणामस्वरुप नै परिवारको भविष्य बन्दछ । दाम्पत्य जीवन सुखमय भएको खण्डमा नै परिवार फुल्छ । फल्छ । त्यसैले पतिपत्नीले आफु बिच र परिवारका बिचमा देखा पर्ने समस्याहरु बेलैमा समाधान गर्न अग्रसर हुनुपर्छ । पारिवारिक सम्बन्ध सुमधुर बनाउन परिवारका प्रत्येक सदस्यहरुले आआफ्नो कर्तव्य पुरा गर्नुपर्छ । एकअर्कालाई प्रेम, आदार र सम्मान गर्ने तथा एकअर्कोको कुरा सुन्ने, एक अर्काको दुःखमा तथा काम हात बटाउने, सानाठुला सबै सदस्यहरुको विचार र भावनाको कदर गर्ने, आफुले कुनै गल्ती तथा त्रुटि गरेको खण्डमा स्वीकार गर्ने र आइन्दा नदोराउने प्रतिवद्धता जनाउने तथा परिवारमा कुनै समस्या देखा परे मिलेर समाधान गर्नुपर्छ ।  पतिपत्नी जति व्यस्त भएपनि पारिवारका सदस्यहरुका लागि समय निकाल्नु पर्छ । परिवारसँग  सँगै बसेर खाना खाने, गफ गर्ने, बेलाबेलामा घुम्न जाने तथा चाडपर्व सँगै मनाउदा परिवारका सदस्यहरुमा झनै मायाममता बढ्छ । बालबालिकाले राम्रो संस्कार पाउँछन् । परिवारमा कुनै मनमुटाव देखिएमा उचित तरिकाले समाधान गर्नु पर्छ । परिवारका सदस्यलाई हेला गर्ने तथा होच्चाउने, कसैलाई काखा, कसैलाई पाखा गरियो भने परिस्थिति झन जटिल हुन सक्दछ । डा. कोर्टेक्सले अगाडि भने, ‘महिलाहरुले आफु वा आफ्नो पतिमा कुनै मानसिक समस्या तथा सेक्सस“ग सम्बन्धित समस्याहरु देखिएमा तुरुन्त मनोचिकित्सकस“ग सम्र्पक गर्नुपर्छ, झारफुकतिर लाग्नु हु“दैन । चिकित्सकस“ग राम्रोस“ग छलफल गर्नुपर्छ । चिकित्सकलाई आफ्नो सम्पूर्ण समस्याहरु बताउनुपर्छ । तब मात्र चिकित्सकलाई रोग पहिचान गर्न तथा उपचार गर्न सजिलो हुन्छ । यसरी परिवारका सदस्यहरुले आफ्नो कर्तव्य पुरा गर्ने हो भने पारिवारिक सम्बन्ध सुमधुर हुन पुग्छ । पारिवारिक सम्बन्ध सुमधुर भएको खण्डमा नै परिवार सुखी र सम्पन्न हुने गर्छ ।’
----------------
डा. कोर्टेक्सको कुरा विवेललाई निकै चित्त बुझ्यो । विवेकले मेमोरी क्लिनिकमा आएर धेरै कुराहरु सिके । साइकोथेरापिप्रति उनको आस्था र विश्वास झन मजबुत भयो । आफु पनि एक कुशल साइकोथेपिष्ट बन्ने लक्ष्य लिएर विवेक बिदा भए । (लेखक साइकोथेपिष्ट हुन् ।)


                       

No comments:

Post a Comment