ब्रेन बाइट्स
के चिन्ता गर्नु रोग हो ?
उपचारः
मनोचिकित्साले सामान्यीकृत चिंता विकृति एक कम कडा खालको मानसिक रोग भनेको छ । तर, यो मानसिक रोग नभएर मानसिक समस्या हो भन्ने पनि धेरै छन् । विश्वमा अहिले यस रोगको उपचारकालागि प्रचलित प्रमुख दुई उपचार पद्धतिहरू छन् । ती हुन्ः जैविक चिकित्सा(औषधिद्धारा चिकित्सा) । मनोचिकित्सा (साइकोथेरापि) । यसका साथै विश्राम चिकित्सा तथा बायोफिड ब्याक आदि पनि निकै प्रभावकारी मानिन्छ ।
अन्तमाः
के चिन्ता गर्नु रोग हो ?
ओम बानियाँ
हरेक मानिसलाई बेला बेलामा चिन्ता पर्छ, फिक्री र सुर्ता हुन्छ । यस संसारमा साहेदै कोही व्यक्ति होलान्, जसलाई बेला बेलामा चिन्ता पर्दैन, सुर्ता हँुदैन । मानिसको मनमा अनेकौं प्रकारका चिन्ताहरु पैदा हुन्छन् । जस्तो कि छोराछोरीको चिन्ता, परिवारको चिन्ता, जागिरको चिन्ता, पैसाको चिन्ता, स्वास्थ्यको चिन्ता, भविष्यको चिन्ता तथा हैन मैले किन बेकारमा चिन्ता गरेको छु भन्ने कुराको चिन्ता आदि आदि ।
मनोवैज्ञानिक दृष्टिमा चिन्ता भविष्य उन्मुख एक सामान्यकृत मनोदशा हो, जसले व्यक्तिलाई भविष्यमा आइपर्न सक्ने घटनाहरुको सामाना गर्नका लागि सजग र तैयार गराउँछ । यही चिन्ता हो, जसले विद्यार्थीलाई फेल हुनुबाट बचाउन पढ्न बाद्य बनाउँछ । भविष्यमा आर्थिक संकट पर्ने हो कि भनेर वचत गर्न लगाउँछ । यसर्थमा चिन्ता जरुरी छ । तर यही चिन्ता बढी भयो भने यसले दृश्चिन्ताको रुप धारण गर्छ । यस सम्बन्धमा एक लोकप्रिय भनाइ नै छ, चिताले मरेको मान्छे जलाउँछ, तर चिन्ताले जिउँदो मान्छे जलाउँछ । त्यसैले चिन्ता होइन, चिन्तन गर्नुपर्छ । यही कुरा मनोविज्ञानले भनेको छ, विद्धानहरुले लेखेका छन् । तर पनि मानिसहरुमा चिन्ता बढेको बढ्यै छ । आखिर यो चिन्ता (एनजाइटि) के हो ? रोग हो कि मानिसको स्वभाविक प्रकृति ?
केस नं. एक
एक जना दाउरे जंगलमा बसेर गीत गुनगुनाउँदै आफ्नै धुनमा दाउरा काटिरहेको छन् । अचानक नजिकैबाट बाघ कराएको आवाज आउँछ । उनी डराउँछन्, आत्तिन्छन्, उनको मुटु बेतमासले धडकिन्छ, सास छिटो छिटो चल्न थाल्दछ, उनको आँखा गोला र ठुल्ठुला हुन्छन्, शरीरबाट चितचित पसिना छुट्छ, उनले भयभति ठुल्ठुला आँखाले चारैतिर, परपर हेर्न थाल्छन् । पुनः नजिकैबाट बाघ कराएको झनै ठूलो आवाज आउँछ । उनको सातो जान्छ । उनी ज्यान जोगाउन त्यहाँबाट सुइँकच्चा ठोक्दछन् । पछाडि नहेरी भाग्छन् । खुब भाग्छन् । र, गाउँ पुग्दछन् । सुरक्षित ठाउँमा पुगेपछि उनको मुटुको धड्कन बिस्तारै कम हँुदै जान्छ, सास सामान्यरुपमा चल्न थाल्दछ । केही छिनमा पसिना सुक्दछ । मनमा भय र त्रास रहँदैन । उनको मनस्थिति सामान्य हुन पुग्दछ ।
केस नं. दुई
कृति सानैदेखि आत्तिने र सानातिना कठिनाइहरु पर्नासाथ निकै चिन्तित हुने गर्थिन् । परीक्षामा पनि आत्तिनाले उनले आफुले चाहे जस्तो गर्न सकेकी थिइनन् । तर पनि उनले बीबीएस पास गरिन् र एक बैंकमा टेलरको नोकरी गर्न थालिन् । नोकरीको शुरुवातसँगै उनको समस्या निकै बढ्न थाल्यो । उनलाई अनेक कल्पनिक भयले सताउन थाल्यो । पैसा गन्दा गल्ति हुने त होइन ? बैंक लुट्न आए भने के गर्ने ? कतै कम्प्युटर बिग्रियो भने त सबै हिसाव किताब उढ्छ ? घरमा आमा एक्लै हुनुहुन्छ, कतै आमालाई केही हुने पो हो कि ? सुत्ने वेलामा पनि उनको मनमा अनेक थरीका कुराहरु खेल्न थाले, आमालाई केही हुने हो कि ? भोलि बैंक जांदा दुर्घटना हुने हो कि ? बैंकमा काम गर्न थालेपछि बिहानीलाई टाउको दुःख्ने, काम गर्न रुचि नलाग्ने, डर लाग्ने, चिटचिट पसिना आउने जस्ता समस्याहरु देखिन थाल्यो । जसले गर्दा उनी पटक पटक बैंकमा काम गर्न पनि गइनन् । पटक पटक गयल हुँदा उनको मनमा थप चिन्ता थपियो, यसरी लगातार छुट्टि लिँदा कतै मलाई बैंकबाट निकाल्ने त होइनन ? बल्ल बल्ल पाएको नोकरी गए पछि के गर्ने होला ?
केस नं. एक सामान्य आवस्था हो । त्यो किनभने मस्तिष्कले कुनै खतरा देख्यो भने लड्न वा भाग्नका लागि शरीरलाई तयार बनाउँछ । यसका लागि मुटु छिटो छिटो धड्किएर थप शक्तिका लागि बढी रगत शरीरलाई उपलब्ध गराउँछ । तर केस नं. दुई सामान्य होइन, यहाँ कुनै स्पष्ट घटना बिना नै डर लागिरहेको छ, मन आत्तिरहेको छ । मुटुको धड्कन बढिरहेको छ ।
अतः यि दुई उदाहरणहरुबाट के प्रष्ट हुन्छ भने कुनै स्पष्ट कारण र घटना बिना डर लागिरहने, मन आत्तिरहने तथा अनेक आशंकाहरुले मन बेचैन हुने, टाउको भारी हुने तथा दुख्ने, मुटुको धड्कन बढ्ने, मुटु हल्लिने, सास बढ्ने, चक्कर लाग्ने, शरीरका विभिन्न भागहरुमा अप्ठरो महसुस हुने तथा दुख्ने, पाचनक्रिया कमजोर हुने, मुखमा अमिलो पानी आउने, केही काम नगर्दा पनि थकाइ लागिरहने तथा निद्रा नलाग्ने जस्ता लक्षणहरु सामान्य होइन, यो एक मानसिक समास्याको संकेत हो, यसलाई मनोचिकित्साले सामान्यीकृत चिंता विकृति (जेनरजलाइज्ड एनजाइटि डिसअर्डर) भनेको छ । सामान्यीकृत चिंता विकृतिलाई पहिला एनजाइटि न्युरोसिस भन्ने गरिनथ्यो ।
केही नराम्रो हुने हो कि भनेर लगातार डराइरहनु, आत्तिइरहनु यस समस्याको प्रमुख लक्षण हो । यस्तो समस्याबाट पीडित व्यक्ति प्रायः चिन्तित भैइरहन्छन् । तर कुन कारण वा घटना वा परिस्थितिका कारण ऊ चिन्तित भएको छ भन्ने स्पष्ट बताउन सक्दैनन् । यस्ता व्यक्तिले अनेक तर्कहीन र असंगत कारणहरु बताउ“छन् । यस्ता व्यक्तिहरु प्रायः भय, आशंका, दुश्चिंता (खराव किसिमको कुरामा पर्ने पीर, नराम्रो चिन्ता ।) तथा मानसिक अन्तद्र्धन्दले घेरिएको हुने हुँदा प्रायः तनावपूर्ण, निराशाावादी, नकारात्मक कुरा गर्ने र आफ्ना जीवनकाप्रति असन्तुष्ट तथा उदासिन देखिन्छन् । आफुलाई अनुपयुक्त र असाहय पनि ठान्छन् । मनोचिकित्साले यसलाई कम कडा खालका मानसिक समस्या मानेको छ । अधिकांश मानिसले यसको उचित समाधान खोजेको पाइँदैन । प्रायः यस समस्याबाट ग्रस्त मानिसहरु शारीरिक लक्षणहरु जस्तै पेट दुःखाई, हर्टबर्न तथा शरीर दुःखाईलाई महत्व दिई घरि यो त घरि त्यो फिजिसियनकहाँ चक्कर लगाउँछन् । तर, उनीहरुको समस्या बीसको उन्नीस हँुदैन ।
के चिन्ता गर्नु रोग हो ?
मनोचिकित्साका अनुसार सामान्यीकृत चिंता विकृति महिलापुरुष दुवैमा देखा पर्छ । तर प्रायः किशोर अवस्थामा शुरु हुने यस समस्या पुरुषको तुलनमा महिला र युवामा बढी देखा पर्छ । सामान्यीकृत चिंता विकृति निम्नलिखित कारणहरुले देखा पर्न सक्दछ । ती हुन्ः जैविक कारणः जैविक दृष्टिमा मानिसको मस्तिष्कमा सेरोटोनीन, नोरएपिनेफरिन आदि रसायनहरुमा आएको असन्तुलन र गडबडी दुश्चिंताको कारक मानिन्छ । आनुवांशिक कारणः यस रोगबाट पीडित व्यक्तिका सन्तान र आफन्तहरुको स्नायुप्रणाली बढी संवेदनशील हुन सक्दछ । यसकारणले गर्दा यो रोग हुने संभावना हुन्छ । मनोवैज्ञानिक कारणः चेतन तथा अवचेतनमा चलेको द्धन्द, वाल्यकालको मानसिक आघात, हीन भावना, संघर्षपूर्ण जीवन, नकारात्मक सोच, अन्तर्मुखी व्यक्तित्व आदि जस्ता मनोवैज्ञानिक कारणहरु पनि सामान्यीकृत चिंता विकृतिका कारक मानिन्छन् । तर चिन्ता (एनजाइटि) सम्बन्धमा मनोचिकित्साको धारणाप्रति प्रसिद्ध मनोचिकित्सक तथा मनोवैज्ञानिक नै सहमत छैनन् । बिना ब्लड टेस्ट, बिना एक्सरे चिन्ताको समस्यालाई मस्तिष्क रसायन असुन्तलनको रोग भन्नु गलत भएको उनीहरुको भनाइ छ । यो समस्या व्यक्तिगत, पारिवारिक, आर्थिक, नैतिक तथा समाजिक वातावरण र घटनालाई हेर्ने दृष्टिकोणद्धारा पैदा हुने समस्या हो । यो समस्या मनले पैदा गर्छ । जस्तो कि दाउरेमा बाघको आवाज सुनेपछि जस्तो लक्षणहरु देखिएको थियो, ठीक त्यस्तै लक्षणहरु अब उनले बाघको कल्पना गर्दा वा त्यो परिस्थितिको स्मरण गर्दा पनि देखिन सक्दछ ।
सामान्यीकृत चिंता विकृति जस्तै लक्षण अन्य शारीरिक रोगहरु जस्तैः हाइपरथायराइडिज्मको समस्या वा एनिमियाको समस्या आदिमा पनि देखा पर्न सक्दछ । त्यसैले रोगको जरो पत्ता लगाउन कतिपय अवस्थामा विशेष स्वास्थ्य परीक्षणहरु पनि गर्न आवश्यक हुन्छ ।
उपचारः
मनोचिकित्साले सामान्यीकृत चिंता विकृति एक कम कडा खालको मानसिक रोग भनेको छ । तर, यो मानसिक रोग नभएर मानसिक समस्या हो भन्ने पनि धेरै छन् । विश्वमा अहिले यस रोगको उपचारकालागि प्रचलित प्रमुख दुई उपचार पद्धतिहरू छन् । ती हुन्ः जैविक चिकित्सा(औषधिद्धारा चिकित्सा) । मनोचिकित्सा (साइकोथेरापि) । यसका साथै विश्राम चिकित्सा तथा बायोफिड ब्याक आदि पनि निकै प्रभावकारी मानिन्छ ।
अन्तमाः
चिन्ता तथा डिप्रेसन आदि रोग होइनन्, लक्षणहरु हुन् । अतः यस्ता मानसिक समस्याहरुको लागि औषधि सही समाधान होइन, सही समाधान भनेको यस्ता लक्षणहरु पैदा गर्ने कारण हटाउनु हो । (लेखक साइकोथेरापिष्ट हुन् ।)



No comments:
Post a Comment