Tuesday, April 21, 2020

ब्रेन बाइट्स 
मुभि, मस्तिष्क र मेडिसिन  
के चलचित्रले औषधिको काम गर्न सक्दछ < 
ओम बानियाँ


मुभि अर्थात् चलचित्र, जसलाई सिनेमा, मोसन पिक्चर तथा फिल्म पनि भन्ने गरिन्छ र आम नेपाली जनजिब्रोमा फिलिम र पिक्चरले चिनिन्छ, आधुनिक युगको प्रमुख र निकै लोकप्रिय मनोरंजनको साधान हो । तर हाम्रो समाजमा पिक्चरले मान्छे बिर्गाछ भन्ने पनि चलन छ । त्यो एक हदसम्म सत्य पनि हो, त्यो किनभने आफ्नो कामधन्दा वा पढाइलेखाइ छोडेर फिल्मको किरो बन्ने हो भने फिल्मले अवश्य नै मानिस बिर्गाछ । तर राम्रा चलचित्रहरु कहिलेकाहीँ हेर्ने हो भने चलचित्रले मानिसको थकित मनलाई मनोरंजन दिनुकासाथै मानिसलाई दिशा निर्देश पनि गर्छ । 



 
मुभि म्याजिक 
राम्रा चलचित्रले दर्शकलाई २—३ घण्टा यसरी बाँध्दछ कि दर्शक पर्दामा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हँुदैनन् । त्यसैले त किताबको पाठ याद नहुने विद्यार्थीलाई पनि चलचित्रको एक—एक सम्वाद र दृश्यहरु याद हुन्छन् । प्रायः दर्शकलाई थाहा हुन्छ, चलचित्र एक नाटक हो, कलाकारहरुको अभिनय हो, सत्य घटना होइन, तर पनि चलचित्र हेर्ने क्रममा उसले चलचित्रलाई सत्य घटना नै ठान्छ, सक्कली कथा नै मान्छ, अनि ऊ कथासँगै हाँस्छ, रुन्छ, खुसीले उफ्रिन्छ । साँच्चै मुभिले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ ।

मनमस्तिष्कमा मुभिको प्रभाव 
चलचित्र यस्तो साहित्य हो, जसलाई हेर्न, सुन्न र अनुभव गर्न सकिन्छ । त्यो किनभने दर्शकले चलचित्र हेरेका मात्र हुँदैन, सम्वाद र गीत सुनेका पनि हुन्छन्, चलचित्रको कथाको बगाइसँगै आफुलाई कलाकारको अभिनयमा समाहित पनि गरेका हुन्छन् । त्यसैले चलचित्रले मानव मनमस्तिष्कमा निकै ठुलो प्रभाव पार्छ । चलचित्रको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्छ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भुमिका निभाउँछ । 

मेरो आफ्नै अनुभव 

कलेज पढ्ने बेलाका कुरा हो । मेरो एउटा महत्वपुर्ण काम बिग्रिपछि म निकै हतास र निराश भएको थिएँ । मलाई खाना रुचि थिएन, कसैसँग बोल्न मन थिएन । मलाई रातभरि निद्रा परेन । निद्रा नपरेपछि मैले मन नलगाइ¬ नलगाइ टीभी खोलेँ । टीभीमा निर्देशक मोहन सिन्हाको हिन्दी फिल्म ‘इम्तिहान’ आइरहेको थियो । केहीबेर हेरेपछि मलाई फिल्मले निकै आर्कषित गर्यो । कभि रुक जना नही तु हारके गीतले निकै प्रभावित पार्यो । मेरो मन एकाएक परिवर्तन भयो, नून खाएको कुखुराको जस्तो भएको मेरो टाउको माथि उठ्यो, निराश मेरो मनमा एकाएक आशाको ज्योति जल्यो । इम्तिहानले म्याजिक गर्यो । चलचित्रले कसरी मानिसको मन परिवर्तन गरिदिन सक्दोरहेछ भन्ने कुरा मैले त्यसेबेला प्रत्यक्ष अनुभव गरेको थिएँ । 

मुभि मेडिसिन
मुभिले मेडिसिनको काम गर्छ भन्ने तथ्य मैले धेरै पहिला नै आफैँ अनुभव गरेका भएता पनि सन् २००२ तिर आएर माइन्डबडी मेडिसिनको अध्ययनका दौरानमा मैले सिनेमाथेरापीका पिता तथा मुभि डक्टरको उपनामले चर्चित डा. गैरी सोलोमन, डा. बिर्जिट वोल्ज र डा. न्यासी पेस्के आदिबाट सिनेमाथेरापीका बारेमा धेरै कुराहरु सिक्ने मौका पाएँ । सिनेमाथेरापीका क्षेत्रमा उनीहरुको चमत्कारिक प्रयोग सुन्न र देख्न पाएँ । सानैदेखि फिल्मप्रति रुचि राख्ने भएकोले पनि सिनेमाथेरापीले मलाई आकर्षित गर्नु स्वभाविकै थियो । त्यसैले मैले सिनेमाथेरापीलाई कग्निटिभ थेरापीसँगै प्रयोगमा ल्यान शुरु गरेँ । सिनेमाथेरापीलाई मुभिथेरापी, मोसनपिक्चर थेरापी, रीलथेरापी तथा मुभि मेडिसिन पनि भन्ने गरिन्छ ।

मेरो पहिलो मुभि प्रेस्क्रिप्सनः
सन् २००४ तिरको कुरा हो, मैले प्रेमिकाले अर्कै केटासँग विवाह गरेपछि डिप्रेस्ड भएका र तीन महिना एन्टीडिप्रेसेन्ट खाएर पनि ठीक नभएका काठमाडौंका एक युवकको केस हेरेको थिएँ । ती युवक निकै उदास थिए, बारम्बार आउने प्रेमीकाको सम्झनाले निकै स्ट्रेसफुल पनि थिए । मैले उनलाई कग्निटिभ थेरापीका साथै मुभिथेरापीद्धारा उपचार गर्ने निधो गरेँ र उनलाई विद्युविनोद चोपडाद्धारा निर्देशित हिन्दी चलचित्र ‘मुन्ना भाई एमबीबीएस’ हेर्न लगाएँ । कस्तो अचम्म भयो कि एन्टिडिप्रेसिन्टले ठीक नभएका ती युवक मुन्ना भाई हेरेर ठीक भए । यो मेरो पहिलो मुभि प्रेस्क्रिप्सन थियो । 

सयुंक्त परिवारमा बस्ने एक जना भद्रपरुष आफ्ना दाज्युभाइको खिचातानीले गर्दा निकै तनावमा थिए । मैले उनलाई ऋषिकेश मुखर्जीद्धारा निर्देशित हिन्दी चलचित्र ‘बावर्ची’ प्रेस्क्राब्ड गरेँ । उनले मेरो सल्लाह वमोजिम घरमा दाज्युभाइसँग बसेर त्यो चलचित्र हेरे । बावर्चीले कमाल नै गर्यो, दाज्युभाइहरुका बीचमा एकअर्कालाई हेर्ने नकारात्मक दृष्टिकोण नै फेरिदियो । दाज्युभाइको सम्बन्ध पुनः बाल्यकालमा जस्तो सुमधुर हुन पुग्यो । यस्ता उदाहरणहरु थुप्रै छन् ।  

निको नहुने क्यान्सरबाट थला परेका र एचआइभी एड्सको शिकार भएका कतिपय रोगीहरुलाई राजेश खन्नाद्धारा अभिनित हिन्दी चलचित्र आनन्दले बाँचुन्जेल खुसी र आनन्दसँग, आफुले गर्न सक्ने कार्य गरेर जिउन सिकाइदिएको छ । शिक्षक पेशाबाट एकदमै निराश बनेका एक शिक्षकलाई तुलसी घिमिरेद्धारा निर्देशित र अभिनित चलचित्र दक्षिणाले उनको जीवन नै फेरिदिएको छ । अहिले उनले दक्षिणाका हरि सरलेझैँ शिक्षा पेशामा आफुलाई समर्पण गरिदिएका छन् । उनले मानसम्मान र प्रतिष्ठा पनि निकै कमाएका छन् ।

कस्तो मुभि
चलचित्र धेरै किसिमका हुन्छन् । तर, चलचित्रलाई साधारणतया दुई वर्गमा विभाजित गर्न सकिन्छ । (१.) कथानक चलचित्र (पिचर फिल्म) र (२.) वृत्तचित्र (डकुमेन्ट्री) । कुनै काल्पनिक वा सत्यकथामा आधारित कलाकारद्धारा अभिनय गरिएको लामो चलचित्रलाई कथानक चलचित्र भनिन्छ । यस्ता चलचित्रहरु प्रायः २—३ घण्टा समयका हुन्छन् । जस्तैः लुट, दक्षिणा, शोले आदि । वृत्तचित्र कुनै घटना वा व्यक्तिको यथार्थ चित्रण हो । वृत्तचित्रमा कलाकारहरुले अभिनय गर्दैनन् । वृत्तचित्र प्रायः ३०—४० मिनेटको हुन्छन् । एरिक भ्यालीको हनी हन्टर तथा नविन सुब्बाको दी लंग जर्नी आदि वृत्तचित्रका उदाहरणहरु हुन् ।  



कथानक चलचित्रहरु पनि विभिन्न किसिमका हुन्छन्, जस्तै, पारिवारिक, समाजिक, एक्सनप्रधान, रोमान्टिक, कमेडि, रहस्यात्मक, हर्रर तथा बालचलचित्र आदि । यसैगरी व्यावसायिक उद्देश्य नराखी लिकबाट हटेर बनाइएका समाजिक यथार्थ कथामा आधारित चलचित्रहरु पनि हुने गर्छन्, जसलाई कलात्मक वा यथार्थवादी चलचित्र भन्ने गरिन्छ । जापनका महान् निर्देशक आकिरा कुरोसवा तथा भारतका महान् निर्देशक सत्यजीत राय कलात्मक चलचित्रका विश्वप्रसिद्ध सर्जकहरु हुन् । कुरोसवाको रसोमन तथा सत्यजीतको पाथर पंचाली निकै चर्चित कलात्मक चलचित्रहरु हुन् ।  

अतः चलचित्र चाहे कलात्मक होस् वा व्यावसायिक होस् । कथानक होस् वा वृत्तचित्र होस्, सबैमा थेरापीको गुण विद्यमान हुन्छ । तर कुन रोग र रोगीलाई कस्तो सिनेमा थेरापीका रुपमा प्रयोग गर्ने भन्ने कुरा जान्न विशेषज्ञको सल्लाह आवश्यक हुन्छ । रोगीले आफै उचित चलचित्र छनौट गर्न सक्दैनन् । बरु उल्टो रोग बढाउने खालका चलचित्र हेर्न मन पराउँछन । जस्तो कि डिप्रेस्ड व्यक्तिले प्रायः उदास गीत सुन्न र यस्तै फिल्म हेर्न चाहन्छन् । तर यस्ता गीत तथा फिल्मले उसको उदासी झन् बढाउँछन् । त्यसैले यस्ता व्यक्तिलाई हस्यौली ठटयौलीप्रधान चलचित्र र उसको नकारात्मक सोचलाई सकारात्मक बनाउने खालका चलचित्रहरु हेर्ने सल्लाह दिनुपर्छ । 

नेपालमा मुभि मेडिसिन 

हिजोआज विकसित मुलुकमा सिनेमाथेरापी माइन्डबडी मेडिसिनको एक प्रमुख टेक्निकका रुपमा उदाएको छ । मनोजन्य रोगहरुकालागि निकै उपयोगी पनि देखिएको छ । यहाँ उल्लेखनीय कुरा के भने मानिसका लगभग ९० प्रतिशत रोगहरु मनका कारण नै पैदा हुन्छन् । त्यसो त कतिपय शारीरिक रागहरुको उपचारकालागि पनि सिनेमाथेरापी प्रयोगमा ल्याउन सकिन्छ । त्यसैले दर्शकलाई मनोरंजन प्रदान गरी व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका यस्ता चलचित्रहरु मेडिसिनको रुपमा उपयोग आउनु निकै खुसीको कुरा हो । तर बिडम्बना के भने २१ औं शताब्दीमा पनि नेपालको मनोचिकित्सा केवल औषधिमा मात्र निर्भर छ । नेपालमा साइकोथेरापीको पनि विकास हुन सकेको छैन । त्यसैले नेपालमा साइकोथेरापीसँग सिनेमाथेरापीको विकास हुन जरुरी छ ।  




हो, नेपालमा थेरापीका रुपमा प्रयोग गर्न सकिने खालका नेपाली चलचित्रहरु निकै कम छन् । तर पनि बासुदेव, दक्षिणा, रहर, हाइवे तथा महका चलचित्र तथा टेलिचलचित्रहरुलाई सिनेमाथेरापीका रुपमा उपयोग गर्न सकिन्छ । यस्तै मेरी बास्सै, जिरे खुर्सानी, तीतो सत्य, जय होस्, झ्याइँकुटी झ्याइँ आदि जस्ता टेलिश्रृंखला तथा कमेडी कार्यक्रमलाई पनि थेरापीको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । त्यसो त हिन्दी र अंग्रेजी भाषाहरु बुझने व्यक्तिकालागि हिन्दी तथा अंग्रेजी फिल्महरुको लामो लिस्ट छँदै छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)

No comments:

Post a Comment