Saturday, April 11, 2020

ब्रेन बाइट्स
हाकु कालेको 'दिमाग’
ओम बानियाँ 

हाकु काले रीसले चुर थियो । दुवै हातले टाउको मिच्दै र यताउति गर्दै भनभनिएको थियोः ‘तिमीहरुले गरेर खादैनौ केटा हो ! तिमीहरुलाई मैले के ल्याउन भनेको थिएँ । यो के-के ल्याएर आयौ ? बंगुरको मासु, यो गनाउने झोल, अनि यो चुरोट र खैनी । चुरोट-खैनी स्वास्थ्यका लागि हानीकारक छ भन्ने यत्ति कुरा पनि थाहा छैन तिमीहरुलाई ? कस्ता गजडी केटाहरु फेला परेछन् भन्या ।’ 


‘हामीहरु कहाँ गएका थियौ र ? यो गोफ्लेले मैले ल्याएर आउँछु भनेर एक्लै गएको थियो ।’ पाण्डेले भन्यो । ‘मोटो बंगुरको मासु खाई-खाई यसको बुद्धि पनि मोटो भएको छ । दिमाग लगा पासा, दिमाग, नत्र तँ सधैभरि यस्तै गोफ्ले नै रहने छस् ? रक्सीचुरोट खाईस भने तँ खत्म हुन्छस् । जीवनमा केही गर्ने हो भने रक्सीचुरोट होइन, दिमाग बढाउने खुराक खाने गर् । बलले मात्र होइन बुद्धिले पनि काम गर्ने गर् ।’ हाकु कालेले सम्झाउदै भन्यो । 

‘भैगयो नि त म ल्याएर आउँछु ।’ बीचमा प्याच्च मने बोल्यो । ‘हुँदैन, हुँदैन । यही मोटो बुद्धिलाई नै पठाउनुपर्छ । नत्र हाम्रा बैंक लुट्ने योजना नै सब चौपट हुन्छ । बैंक लुट्न जाँदा यो भुलक्कड गोफ्लेले बैंकको क्यान्टिनमा पसेर भुटुवा खाना थाल्यो भने के हुन्छ थाहा छ तिमीहरुलाई ? सीधै जेल जानुपर्छ । मसँग काम गर्ने भए दिमागले काम गरौ केटा हो, नत्र, तिमीहरु जस्ता केटाहरु त म गल्ली गल्लीमा पाउँछु ।’

‘फेरि एक चोटि भन् त सही । अब सत्ते सत्ते बिर्सिन्नँ ।’ गोफ्ले बोल्यो । गोफ्लेको कमस सुनेपछि हाकु कालेले भन्यो, ‘ल सुन्, बाइक लिएर जाने अनि माछा, चना, पालुंगो, अमलाको मुरब्बा, बदाम, दूध, मख्खन, किताब र स्ट्राबरि लिएर आउने ।’ ‘ल ल अब त मैले सम्झें, बाइक लिएर जाने अनि माछा, गोलभेडा, सुर्ती...’ गोफ्लेले फेरि बिर्सियो । ‘हत्तेरिका फेरि बिस्र्यो यसले ?’ हाकु कालेले रिसले टाउको समायो । ‘यो यस्तै छ हाकु, लेखेर दिए भैहाल्यो नि?’ ‘यो नरेको बुद्धि हेरन बुद्धि । यसको बुद्धि पनि एक पैसाको छैन, बैंक लुट्ने बेलामा पनि यसरी नै के के गर्ने भनेर लेखेर लान्छस् ?’ ‘अनि के गर्ने त ?’ ‘ए पाण्डे ! तैले उल्लूले जस्तो के टुलुटुलु हेरिरहेको छस् ? सिका यसलाई ? तैले त पढेको छस् नि ?’ ‘सक्दिनँ मैले यसलाई सिकाउन । कसरी सिकाउने ?’ पाण्डे ठुस्सियो । ‘यो पनि मैले नै सिकाउनु पर्ने ? पढेको मानिसलाई पनि कसरी पढाउने भन्ने कुरा थाहा छैन रे ? यो के सुन्नु पर्यो मैले ? त्यही भएर त तैले कही काम नपाएको ?’ हाकु बोल्यो । ‘तँ दिमाग लगाउनेले आफै सिकाए भैहाल्यो नि ?’ पाण्डे च्याठ्ठियो ।

‘हेर गोफ्ले ! मैले एउटा टेक्निक सिकाउँछु, तब पनि सम्झिन सकिनस् भने तँ सीधै आउट भइस्, बुझिस् ? ल अब राम्रोसँग सुन् । एउटा बढेमानको माछाले मोटरबाइक चलाएको छ । आँखा बन्द गरेर यो कल्पना गर् । गरिस् ?’ हाकुले सोध्यो । ‘गरेँ ।’ गोफ्लले आँखा बन्द गरेर भन्यो । ‘अनि भन्, चना कसले बढी मन पराउँछ ?’ ‘घोडाले ।’ ‘ठीक कुरा गरिस्, अब कल्पना गर् कि बाइक चलाएको माछा घोडासँग ड्याम्म ठोकिन्छ । घोडा उछिट्टिएर पालुंगोको वारीमा पल्टिन्छ । पल्टिएको घोडाले अमलाको रुख समाएर उठ्न खोज्दछ । रुख हल्लिन्छ । रुखबाट बर्र बदामका ठूल्ठुला दानाहरु खस्छन् । बदामले लागेपछि घोडा कराउँदै उठ्छ । उसले एउटा खुट्टाले दूधको पाउच र अर्को खुट्टाले मख्खनको डिब्बा समाएको हुन्छ । अनि ऊ एउटा बढेमानको किताबमाथि बस्दछ र राताराता स्ट्राबरि खाना थाल्दछ । कल्पना गरिस् ?’ ‘गरेँ, गरेँ ।’ ‘ल अब भन त ? अब तैले केके ल्याएर आउछस् ?’ ‘बाइक लिएर जान्छु, अनि माछा, घोडा, ए होइन, चना, पालुंगो, अमलाको मुरब्बा, बदाम, दूध, मख्खन, किताब र स्ट्राबरि लिएर आउँछु ।’

‘आबुई, मलाई त डरलाग्यो, यस्तो मोटो दिमागले पनि काम गर्यो भन्या ! अब त हाम्रो काम होला जस्तो छ खत्री ।’ हाकु खुसी भयो । ‘हाकु तेरो टेक्निकले त कमाल नै गर्यो ।’ खत्रीले हाकुलाई धाप लगायो । ‘त्यही त खत्री, यसको यो मोटो बुद्धिले त काम गर्यो भने यो हाकुको छोराले त झन चमत्कार नै गर्ने छ । अब त मैले मेरो भुन्टेलाई पनि यसरी नै पढ्न सिकाउने छु र डाक्टर बनाउने छु ।’

‘यी भुत्रो बनायौ तिमीले छोरालाई डाक्टर ? बैंक लुटेर तिमीले छोरालाई डाक्टर होइन, डाँकाको छोरा भने पक्कै बनाउँने छौं । तिमीले अरुलाई दिमाग लगा पासा, दिमाग लगा भन्छौ, तर खै तिमीले दिमाग लगाएको ? फिल्म हेरेर फिल्मको नक्कल गर्न खोजेर हुन्छ ? चोर, डाँका, हत्यारा तथा ठगहरु एक न एक दिन अवश्य जेल जानुपर्छ भन्ने यत्ति कुरा पनि थाहा छैन तिमीलाई ? चाल्स सोभराज त जेलमा सढ्नु पर्यो भने तिमीहरु कुन खेतका मूला हौ र ? तीन तीन वर्ष जेलको हावा खाएर अझ तिम्रो सुद्धि पलाएको छैन ?’ काखमा भुन्टेलाई लिएर पुतली आइन् ।
‘हरे ! यो फेरि कहाँबाट आइ यहाँ ?’ हाकुले टाउको समायो । ‘मैले लिएर आएकी हुँ ।’ ‘आयशा तिमी ?’ पाण्डे चकित पर्यो । ‘हो पाण्डेजी म, तिमीमाथि मैले कति भरोसा गरेकी थिएँ । तर तिमी यस्तो रहेछौ ? छिः !’ आयशाले आँसु पुछ्दै भनिन् । ‘आयशा मेरो कुरा त सुन ।’ ‘मलाई हात नलगाऊ, म तिम्रो कुनै कुरा सुन्दिनँ ।’ ‘हो यार, भाउज्यु र आयशाले ठीक भनेका छन् । हामीले हाम्रो बल र बुद्धिलाई सही काममा लगाउनुपर्छ । लुटेर होइन मेहनतको पसिना बगाएर कमाउनुपर्छ । मेहनत गर्याैं भने खेतमा पनि लहलह सुन फल्दछ ।’ पाण्डेले पुतली र आयशाको समर्थन गर्यो ।


‘तैले पहिलो पटक सही कुरा गरिस् पाण्डे ।’ हाकु कालेले अगाडि भन्यो, ‘हामी पाँच जना मिलेर मेरो त्यो होटललाई बिस्तार गरौं । दिमाग लगाएर मेहनत गरौं । बल र बुद्धि लगाए पछि गैरकानूनी काम नगरेपनि पैसा कमाउन सकिन्छ । धेरै पैसा कमाएपछि बैंक नै खोलौलाँ नि । अनि बैंक डकैत होइन, बैंकको मालिक नै बनौउला नि कसो ?’ ‘कुरा एकदम सही हो । हात मिला ।’ नरेले हात अगाडि बढायो । पाँचै जनाले हात मिलाए ।  ‘हामीले चाहेको पनि त यही हो ।’ पुतली र आयशा, दुवै खुसी भए । पुतलीलाई खुसी देखेर हाकु कालेले पुतलीको नाक समात्दै जिस्कायो, ‘यो मेरो पुतलीको नाकमै रिस झुण्डिएको छ, खुसी पनि नाकमै झुण्डिएको छ । हेर त कसरी मुस्कुराइकी ? आबुई म त मर्छु कि क्या हो गाँठे ?’(लेखक मनोविद हुन्। )




No comments:

Post a Comment