ब्रेन बाइट्स
प्लेसिबो इफेक्ट मनोविज्ञान
ओम बानियाँ
दिनमानले मनकामनालाई भाके, उनको मनोकामना पुरा भयो । औषधि गर्दागर्दै हैरान भएकी आकिसाको रोग तन्त्रमन्त्र तथा झारफुकबाट ठीक भयो । सत्यवतीमा चिच्चाएकी दिमनाले आफुले रोजेको पति पाइन् । आर्थीक कारोबार चौपट भएका विषम्ले टीभीद्वारा प्रभुकृपा वर्षाउने पास्टरलाई सम्झे, उनको अवस्था सुध्रियो । निशानले बाबाको सल्लाह बमोजिम दही खाए, गरीबहरूलाई दही बाँडिदिए, उनको फसेको पैसा असुल भयो । रुकमनीले रातो साडीको ठाउँमा निलो साडी लगाइन्, उनको छोराले मेडिकलमा नाम निकाल्यो । विरामी जावेद पीर–मौलाले भनेझैं गरेर मस्जिदमा माथा टेके, उनको रोग ठीक भयो । पशुरामको भैंसीले दुध दिएन, उनले झारफुक गराए, भैंसीले दुःध दिन थाल्यो । केही दिनदेखि भात खाना मन नगरेको मिनप्रसादको बालक छोरालाई पानी मन्तरेर दिएपछि सपासप भात खाना थाल्यो । निलमको हराएको औंठी ज्योतिषले भनेझैं पुर्व दिशामा भेट्टियो ।
के यस्ता घटनाहरू सम्भव छन् ? हो, एक दृष्टिकोणले यस्ता कुराहरू सम्भव छन् । यस्ता घटनाहरुको प्रत्यक्ष अनुभव गरेका व्यक्तिहरु पनि तपाईहामी सामु थुप्रै छन् । तर यहाँनिर महत्वपुर्ण कुरा के भने मनकामनालाई भाकेका कति मानिसहरूको मनोकामना पुरा हुन्छ ? कुनै बाबाको कृपाबाट कति मानिसहरूको मनोकामना पुरा हुन्छ ? ५–६ हजार मानिसहरूको भीडमा एकाध मानिसहरू एक पास्टरको कृपाबाट आफ्नो कामना पुर्ति भएको दावीको कुनै वैज्ञानिक महत्व छ ? वास्तवमा यस्ता घटनाहरूको पछाडिको मनोविज्ञान के हो ? यस प्रश्नको सीधा जवाफ हो, प्लेसिबो इफेक्ट । अतः प्लेसिबो इफेक्टका कारण नै यस्ता घटनाहरू सम्भव भएका हुन् । त्यसैले अब प्रश्न उठ्न सक्दछ, यो प्लेसिबो इफेक्ट के हो ?
एकजना प्रसिद्ध चिकित्सक आफ्नी पत्नीलाई लिएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको मनमोहक कार्यक्रम हेर्न गएका थिए । कार्यक्रम निकै आकर्षक थियो । चिकित्सक मन्त्रमुग्ध भएर कार्यक्रम हेरिरहेका थिए । तर कार्यक्रम हेर्दाहेर्दै उनकी पत्नीको अचानक टाउको दुख्यो । दुःखाइ असह्य भएपछि उनले पतिसँग घर फर्किन आग्रह गरिन् । तर त्यो मनमोहक कार्यक्रम बीचमै छोडेर घर फर्किन चिकित्सकको मन मानिरहेको थिएन । अनि चिकित्सकले पकेटबाट एउटा च्युङ्गम निकालेर पत्नीलाई दिँदै भनेः “लौ यो च्युङ्गम चपाऊ । अमेरिकामा बनेको यो च्युङ्गमले एक मिनेटमै टाउको दुखेको ठीक पार्दछ ।” आफूले पनि च्युङ्गम चपाएझैं गर्दै उनले भनेः “मेरो पनि टाउको दुखेको थियो । यो च्युङ्गम चपाएको त एकदमै ठीक भयो । त्यसैले त यसरी मन्त्रमुग्ध भएर कार्यक्रम हेरिरहेको छु ।” चिकित्सकी पत्नीले पनि च्युङ्गम चपाउन थालिन् । नभन्दै केही क्षण मै उनी बिलकुल ठीक भइन् । र, कार्यक्रम हेर्न थालिन् । त्यसपछि पुरा कार्यक्रम हेरेर उनीहरू घर फर्किए ।
चिकित्सकले उनकी पत्नीलाई दिएको त्यो च्युङ्गम कुनै विशेष औषधीय च्युङ्गम थिएन, त्यो त साधारण च्युङ्गम नै थियो । यहाँ च्युङ्गमले औषधीको काम गरेको थिएन, चिकित्सकप्रति उनकी पत्नीको विश्वासले औषधीको काम गरेको थियो । यो नै प्लेसिबो इफेक्टको एक उदाहरण हो ।
आधुनिक युगमा प्लेसिबो इफेक्टलाई प्रकाशमा ल्याउने डा. एच. के. बीचर हुन् । उनले १ हजार ८२ रोगीहरूमा गरेको १५ वटा क्लिनिकल ट्रायल्समा ३५ प्रतिशत रोगीहरूमा प्लेसिबो इफेक्ट्स देखियो । तर अन्य अध्ययनले यसको प्रभाव अझ बढी देखाएको छ । पीडा, डिपे्रसन, कतिपय हृदय रोग, ग्यासट्रिक अल्सर तथा अन्य पेटकाबिकार जस्ता रोगहरूमा त ५०–६० प्रतिशत प्लेसिबो प्रभाव देखा पर्ने कतिपय शोधकर्ताको दावी छ । एक पटक प्रसिद्ध आर्थोपेडिक सर्जन जे. ब्रुस मोसलेले ८ जना घुँडाका रोगीहरू मध्य २ जनालाई अप्रेशन गरे भने ६ जनालाई नक्कली अप्रेशन गरे । ६ महिनापछि उनले सबै रोगहरू ठीक भएको पाए ।
अतः प्लेसिबो इफेक्ट वैज्ञानिक कुरा हो । तर यसलाई जानेर वा नजानेर प्रत्यक्ष–परोक्षरूपमा धेरै ठाउँहरूमा प्रयोग गरिँदै आइएको छ । प्लेसिबो इफेक्टको व्यापक प्रयोग चिकित्सा क्षेत्रमा हुने गरेको छ । दृटान्तका रुपमा एन्टिबायोटिक थेरापीलाई लिन सकिन्छ । चिकित्सकले प्रायः भाइरल इन्फेक्सनका लागि एन्टिबायोटिक प्रेस्क्राइब्ड गर्ने गर्छन् । तर, एन्टिबायोटिकले व्याक्टेरियालाई मार्ने र प्रतिप्रभावको रुपमा पेटलाई असर गर्ने गर्छ । तर यस औषधिले भाइरसलाई कुनै असर गर्दैन । तर पनि एन्टिबायोटिकको सेवनबाट यस्ता रोगीहरूले आराम महसुस गर्छन् । त्यसो त बेला बेलामा नामी चिकित्सहरुले विरामीहरुको अवस्था हेरेर जानी जानी प्लेसिबोको रुपमा चिनीको चम्की वा सिरप दिने गर्छन् । विरामीले यस्ता चक्कीहरुलाई औषधि नै ठानेर खान्छन् । ठीक पनि हुन्छन् । जसरी चिकित्सककी पत्नीको टाउको दुखाई ठीक भएको थियो । शारीरिक रोग भन्दा पनि मानसिक रोगका लागि प्लेसिबो इफेक्ट अझ प्रभावकारी हुन्छ । यस्ता रोगहरूमा प्लेसिबो इफेक्टले ४०–५० प्रतिशत काम गर्छ । कतिपय एन्टिडिप्रेसेन्टसको ७० प्रतिशतसम्म प्रभाव प्लेसिबो इफेक्टका कारण हुने गर्छ ।
प्लेसिबो इफेक्टको यही विशेषताका कारण नै कतिपय झोले चिकित्सक, ओझा–धामी, तान्त्रिक, पीर–मौला, नीमहाकीम, ज्योतिष, वास्तुशास्त्री, सन्तमहाराज तथा धर्मगुरुहरूको दोकान चलिरहेको छ । मेडिकल चिकित्सकहरूले यसलाई रोगी र रोगको अवस्था हेरेर एक विज्ञानको रुपमा प्रयोग गर्छन् । तर प्लेसिबो इफेक्टको दोकान चलाउनेहरूले यसलाई आफ्नो सीप, प्रभु तथा अल्लाह आदिबाट प्रदत्त शक्तिको संज्ञा दिने गर्छन् । तर यो सरासर झुटो कुरा हो । त्यसैले कुनै बाबाको नाम सम्झेर मनकामनालाई भाके पनि वा कुनै जंगलमा गएर बनदेवीलाई भाके पनि वा खोलाको ढुंगामाथि विश्वास गरेर भाके पनि ३०–४० प्रतिशत मानिसको मनोकामना पुरा हुन सक्दछ, जुनसुकै चिकित्सा पद्धतिद्वारा उपचार गरेपनि ३०–४० प्रतिशत रोगीहरू ठीक हुन सक्दछन् । यो नै प्लेसिबो इफेक्टको चमत्कार हो । प्लेसिबो इफेक्टले कसरी कार्य गर्छ भन्ने ठोस वैज्ञानिक तथ्य अझ पनि प्रकाशमा आउन नसकेता पनि यसको मूलाधार भनेको विश्वास हो । त्यो किनभने विश्वास जति मजबुत हुन्छ, प्लेसिबो त्यत्तिनै प्रभावकारी हुन्छ । त्यसैले कतिपय ठगहरू स्वामी–महाराजको खोल ओढेर प्लेसिबो इफेक्टद्वारा समाजमा नाजायज प्रभाव जमाइरहेका छन् । सोेझासीधा मानिसलाई ठगेर अकुत सम्पत्ति थुपारिहेका छन् । यस्ता ठगहरू हरेक धर्महरू भित्र छन् ।
विश्वका ५० देशमा आफ्नो साम्राज्य खडा गर्न सफल भएका संख्यापति बेनी हिन धर्म र प्लेसिबो इफेक्टका आडमा चमत्कारको हौवा फैलाएर ठगी गर्नेहरूका प्राचार्य नै हुन् । अतः यसरी चमत्कारका नाउँमा वा घर–घरको ढोका ढकढकाएर चमत्कारको झुट बोल्दै प्रभुको विक्री गर्न खोज्नेहरूलाई के भन्ने ? के प्रभु भनेका कुनै कम्पनीका प्रडक्ट हुन् ? कथित चमत्कारहरू देखाएर जनता लुट्ने लुटेराहरू नेपालमा पनि थुप्रै छन् । यस्ता ठगहरूले अहिले टीभीलाई प्रचारको माध्यम बनाएका छन् । त्यसैले टीभी च्यानलहरूको विज्ञानमा देखाइने देउताबा वा स्पर्श चिकित्सा आदिको भम्रमा नपर्नु नै बुद्धिमानी हुन्छ ।
हो, सबै सन्त–महाराज तथा धर्मप्रचारकहरू खराब छैनन् । पुर्णरूपमा मानव सेवामा समर्पित र भट्किएकाहरूलाई सही मार्ग देखाउने असल स्वामी–महाराजहरू नभएका पनि होइनन् । तर अधिकांश धार्मीक व्यक्तिहरू तथा वैकल्पिक चिकित्सामा लागेकाहरूले यही प्लेसिबो इफेक्टको आडमा लुट मच्चाइरहेका छन् । यहाँ एउटा मननयोग्य कुरा के भने यस्ता ठगहरू प्रभुकृपाले शक्तिशाली भएका होइनन्, रोग–व्याधी र समस्या नै समस्याहरूले थिचिएका नागरिकहरू कमजोर भएपछि उनीहरूमा नाजायज फाइदा लिने शक्ति देखिएको हो । यसरी नै हामी आम नेपाली नागरिकहरू जतिखेर दुहुन गए पनि दुःध दिने जर्सी गाई जस्तो भएर नै देशमा दलहरूको लुटतन्त्र मौलाएको हो । त्यसैले आफ्नो निजी स्वार्थका लागि मुलकलाई नै दलदलमा फसाउने नेताहरूको दादागिरि टुलुटुलु हेर्नु भनेको मुलुकलाई टुक्रा–टुक्रा हुन दिएर विदेशीलाई सुम्पनु हो । जानेर वा नजानेर के हामीहरू यसैको प्रतिक्षा त गरेका छनौं ?
अन्तमा धार्मीक आस्था तथा चिकित्साको आडमा चमत्कारको हल्ला फिंजाउँदै ‘प्लेसिबो इफेक्टको लुट’ मच्चाउने लुटेराहरूले भन्दा विदेशीहरूको निर्देशनमा आफ्ना नागरिकहरूलाई इमोसनल ब्ल्याकमैल गर्दै लुटतन्त्र मच्चाइरहेका लुटेराहरूले यो देशको दुगर्ति बनाउने पक्का छ । त्यसैले हामी सबै आम नेपाली नागरिकहरू आफ्नो जात, धर्म र भाषा भन्दामाथि उठेर जुनसुकै मुल्यमा यो देश बचाउनु छ । सोचौं त, देश नै नरहे, हामी कहाँ रहुलाँ । त्यसैले अब एकछिन अवेर नगरी उठौं, एकजुट होऔं र भ्रष्टचारको दलदलमा भासिन लागेको र २००७ सालदेखि नै विदेशीको पञ्जाले घाँटी अठाइएको यो देशलाई बचाऔं । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)


No comments:
Post a Comment