ब्रेन बाइट्स
अन्तमाः
इमोसनल ब्लैकमेल
ओम बानियाँ
ओम बानियाँ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विपक्षीहरुले इमोसनल ब्लैकमेलर भन्ने गर्छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि झुटा सपनाहरु देखाएर देश र जनतालाई इमोसनल ब्लैकमेलिंग गर्ने प्रयास गरिरहेका छन् । उनी मात्र होइन नेपाली राजनीतिक वृत्तमा थुप्रै इमोसनल ब्लैकमेलरहरु छन् । राजनीतिक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा इमोसनल ब्लैकमेलरहरुको बिगबिगी छ । पावर, पैसा र आफ्नो उद्देश्य पूरा गर्नको लागि टाठाबाठा चतुर व्यक्तिहरुले इमोसनल ब्लैकमेलको साहरा लिने गरेका छन् । आममानिसले पनि आफ्नो काम फत्ते गर्न कहिलेकाहीँ जानीनजानी इमोसनल ब्लैकमेलिङ गर्ने गर्छन् ।
एउटा शहरीया नेता गााउँमा किसानहरुको भेलामा स्थानीय पोशाक सजिएर यसो भन्न सक्दछ, म तपाईहरु जस्तै एक किसानको छोरा हुँ । मेरो नशा–नशामा किसानको रगत बगेको छ । मलाई थाहा छ किसानहरुको समस्या, दुःखपीडा । किसानहरु उसको भाषणमा भावुक बन्छन् । उसलाई आफ्नो मुक्तिको मसीहा ठान्छन् । अनि तरर्र ताली पिट्छन् । कुनै बेइमान चिकित्सकले यसो भन्न सक्दछ, स्थिति निकै नाजुक छ, तुरुन्त अप्रेसन गर्नुपर्छ, नत्र आमाबच्चा दुबैको ज्यान जान सक्दछ ? कुनै कम्पनीले यस्तो विज्ञापन गर्न सक्दछ, मुटुरोगबाट बच्न यो तेलको प्रयोग गर्नुहोस् । जर्महरुबाट बच्न यो साबुनको प्रयोग गर्नुहोस् । कुनै जँडाया मानिसले जाँड खाने पैसा जोगाडका लागि यसो भन्न सक्दछ, मेरो छोरोलाई क्यान्सर भएर अस्पतालमा भर्ना छ, केही सहयोग गरिदिनुहोस् । कुनै प्राइभेट स्कूलको प्रिन्सिपलले अभिभावकलाई यसो भन्न सक्दछ, तपाईंको छोरा निकै कमजोर छ, होस्टेल राख्नु भएन भने फेल हुन्छ । प्रेमीले प्रेमिकालाई फोनमा यसो भन्न सक्दछ, म पार्कमा छु, छिटो आऊ । धेरै बहाना नबनाऊ । यदि तिमी आइनेऊ भने मैले गाडी लगेर खोलामा हाल्छु । गाउँको धाराको लामो लाइनमा कुनै चतुर महिलाले यसो भन्न सक्छिन्, घरमा मेरो सानो बाबु एक्लै छ, मलाई पहिला पानी भर्न दिनुहोस् न । यी सबै इमोसनल ब्लैकमेलिङका केही उदाहरणहरु हुन् ।
सिर्फ यौनतृष्णा मेटाउने उद्देश्यले आकाशको तारा खसालिदिने सपना बाँड्नु पनि इमोसनल ब्लैकमेलिङको अर्को उदाहरण हो । ड्रग्स किन्ने पैसा असुल्न आमाबाबुसामु आत्महत्याको धम्की दिनु पनि इमोसनल ब्लैकमेल हो । समाजमा इमोसनल ब्लैकमेलका यस्ता अनेक उदाहरणहरु देख्न सकिन्छ । वास्तवमा भन्ने हो भने हिजो आज इमोसलन ब्लैकमेल अधिकांश व्यक्तिहरुको चरित्र भएको छ । त्यो किनभने इमोसनल ब्लैकमेलबाट आफ्नो स्वार्थ तथा उद्देश्य पूरा गर्न तुलानात्मकरुमा निकै सजिलो हुने भएकाले नै मानिसहरुमा यो प्रवृत्तिको विकास भएको हो ।
जनसंख्याको तीब्र वृद्धि, होडबाजी, जसरी हुन्छ अगाडि बढ्ने प्रतिस्पर्धा, स्वार्थी प्रवृत्ति तथा जायज बाटोबाट भन्दा इमोसनल ब्लैकमैलको बाटोबाट आफ्नो अभिष्ट पूरा गर्न सजिलो हुने भएका कारण हिजोआज यत्रतत्र सर्वत्र इमोसनल ब्लैकमेलिङको प्रकोप बढेको हो । त्यसैले अधिकांश मानिसहरु आफ्नो जीवन कालमा कुनै कुनै बेला इमोसनल ब्लैकमेलिङको शिकार हुने गर्छन् । त्यसो त इमोसनल ब्लैकमेलर पनि अर्को इमोसनल ब्लैकमेलरको शिकार बन्न सक्दछन् ।
इमोसनल ब्लैकमेलरले आफ्नो नाजायज उद्देश्य पुरा गर्न मानिसको भावनात्मक संवेगहरु जस्तैः प्रेम, डर, धम्की, क्रोध, लोभ, दुःखपीडा तथा अपराधबोध आदिलाई प्रभावित गरी ब्लैकमेलिङ गर्छन् । यसका लागि उनीहरुले नयाँ–नयाँ तरकिव निकाल्छन् । कतिपय इमोसनल ब्लैकमेलरहरुले यति चलाखीपूर्ण तरिकाले ब्लैकमेल गर्छन् कि इमोसनल ब्लैकमेलमा परेका व्यक्तिहरुले यसको सुँइको समेत पाउदैनन् । उल्टो ब्लैकमेलरलाई नै आफ्नो सहयोगी ठान्छन् । इमोसलन ब्लैकमेल प्रायः नजिकको व्यक्ति, परिचित व्यक्ति तथा साथीसंगीहरुबाट नै हुने गर्छ ।
सामान्यतया अरुलाई पनि आफु जस्तै सम्झने ईमान्दार व्यक्ति, नो भन्न नसक्ने व्यक्ति, परिस्थितिको मूल्यांकन गर्न नसक्ने व्यक्ति, अशिक्षित, डरपोक तथा भावुक प्रकृतिको व्यक्ति अर्थात् भावनात्मक बुद्धिमत्ता कम भएको व्यक्ति नै प्रायः इमोशनल ब्लैकमेलिङको शिकार हुने गर्छन् । त्यसो त शिक्षित व्यक्ति पनि इमोशनल ब्लैकमेलिङको शिकार हँुदैन भन्ने होइन, हुन्छन् । विद्यावारिधि गरेको एक शिक्षित व्यक्तिलाई एउटा अशिक्षित गाउँले मानिसले पनि इमोशनल ब्लैकमेलिङ गर्न सक्दछ । ईन्जिनियरलाई चिकित्सकले, चिकित्सकलाई ईन्जिनियरले, प्रहरीलाई वकिलले, वकिललाई प्रहरीले, शिक्षकलाई विद्यार्थीले, विद्यार्थी तथा अभिभावकलाई शिक्षकले, नेतालाई पत्रकार, कर्मचारी तथा व्यापारीले, पत्रकार, कर्मचारी तथा व्यापारीलाई नेताले तथा विज्ञापनले उपभोक्तालाई इमोशनल ब्लैकमेलिङ गर्न सक्दछन् । गरिरहेका प्रशस्त उदाहरणहरु छन् । त्यसैले वर्तमान युगमा इमोशनल ब्लैकमेलबाट बच्न त्यति सजिलो छैन । त्यसो त मानिसको मनोविज्ञान बुझ्न सक्ने, परिस्थितिको मूल्यांकन गर्न सक्ने सचेत र भावनात्मक बुद्धिमत्ताले परिपूर्ण व्यक्ति इमोशनल ब्लैकमेलबाट कमै पीडित हुन्छन् । तर संसारमा यस्ता व्यक्तिहरु कमै हुने गर्छन् । खुसीको कुरा के भने मानिसले चाह्यो भने आफ्नो व्यक्तित्वमा चार चाँद लगाउन सक्दछ । त्यसैले यस कुरालाई मनन गरी आफुमा भावनात्मक बुद्धिमत्ताको विकास गर्ने तथा इमोसनल ब्लैकमेलिङप्रति सचेत रहेन हो भने इमोसनल ब्लैकमेलबाट जोगिन सकिन्छ ।
अन्तमाः
अतः नाजायज फाइदा उठाउने उद्देश्यले अर्काको भावनालाई प्रभावित गर्नु नै इमोसनल ब्लैकमेलिङ हो । यसका लागि ब्लैकमेलरले प्रेम, डर, भावना(फिलिङ) तथा अपराधवोध आदिको साहरा लिने गर्छ । आधुनिक युगमा यत्रतत्र सर्बत्र, हरेक क्षेत्रमा इमोसनल ब्लैकमेलिङको बिगबिगि भएता पनि यसप्रति अलिकति सचेत हुने हो भने इमोसनल ब्लैकमेलिङलाई कम गर्न सकिन्छ । वास्तवमा शिक्षा तथा सचेतना नै इमोशनल ब्लैकमेलिङबाट बच्ने उपाय हो । (लेखक मनोविद् हुन् ।)

No comments:
Post a Comment