Monday, May 18, 2020

ब्रेन बाइट्स

अवचेतनको ‘गुहार’
ओम बानियाँ 

२७ वर्षीय साक्षी एक विवाहित महिला हुन् । उनी एक चर्चित बैंकमा अधिकृत पदमा कार्यरत छिन् । संयुक्त परिवारकी बुहारी भएता पनि अहिले उनको वैवाहिक जीवन सुखमय छ । पारिवारिक सम्बन्ध निकै सुमधुर छ । तर ३ वर्ष पहिला उनको जीवन निकै कष्टपुर्ण थियो । उनीसँग अहिले पनि त्यतिबेलाको एक मानसिक समस्याको कटु अनुभव छ । उनी भन्छिन्, “यदि मैले समयमै उचित मनोवैज्ञानिक सेवा नपाएको भए साहेद म देवीको रुपमा बाहिरबाट पुजनीय, तर भित्रभित्र घुट्न र अन्तद्र्वन्दको जीवन बाँच्न बाद्य हुने थिएँ ।”


कुरा ५ वर्ष पहिलाको हो । निम्न मध्यम परिवारकी साक्षीको एक निम्न मध्यम परिवारका लेखा अधिकृत विनोदसँग विवाह भयो । विनोद भाइहरूमा जेठा थिए । उनका दुवै जना भाइहरूले पढ्दै थिए । व्यावस्थापनमा स्नातक साक्षीलाई एमबीए गर्ने ठूलो धोको थियो । तर आफ्नो पतिको जिम्मेवारी र घरको आर्थीक स्थिति देखेर उनले आफ्नो एमबीए पढ्ने इच्छा पति र सासुुससुरासामु व्यक्त गर्न सकिँरहेकी थिइनन् । यसरी समय बित्दै गयो, आफ्नो धोको पुरा नहुने देखेर उनी ज्यादै चिन्तित र परेशान हुन थालिन् । एक दिन काम गर्दागर्दै अचानक उनी वेहोश भइ भुइँमा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै हल्लिन थालिन् । उनी एउटा खुट्टा चल्न छोड्यो । त्यो देखेर परिवारका सदस्यहरू तथा आफन्तहरु जम्मा भए र तुरुन्त अस्पताल पु¥याए । अस्पतालमा उनको सम्पुर्ण मेडिकल परिक्षण भयो । तर सबै मेडिकल रिर्पोटहरू सामान्य देखिए । 

रिर्पोटहरू हेरेपछि अस्पतालका फिजिसियनले साक्षीका सासुससुरालाई भित्र बोलाएर भने, ‘साक्षीको मेडिकल रिर्पोटहरु सबै समान्य छन् । उनको समस्या शारीरिक नभएर मानसिक हो । त्यसैले एक पटक मानसिक रोग विभागमा गएर डा. कोर्टेक्सलाई देखाउनुहोस् ।’ तर साक्षीका सासुससुरा मात्र होइन साक्षीका आमाबा पनि साक्षी मनोरोगबाट पीडित भएको मान्न तयार भएनन् । उनीहरूले साक्षी भुतप्रेतको वाधाअड्चनद्वारा पीडित भएको दावी गर्दै उनलाई धामीकहाँ लिएर गए । धामीले झारफुक गर्न थाले । साक्षी पनि धामीसँगै हल्लिन थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोड–जोडले हाँस्दै र कराउँदै बक्न थालिन्, ‘हेर् । हेर् । हेर् । म कालीदेवी हुँ, कालीदेवि । अहिले नै, भर्खरै, एउटा बोका ल्याएर बली चढाऔ । र, सबैले मेरो पूजा गरौ । मेरो कुरा नमानेको खण्डमा ठुलो अनिष्ट आई पर्ने छ ।’ साक्षीको कुरा सुनेर सबै आश्चर्यचकित भए ।

गाउँभरि हल्ला फैलियो । अनि साक्षीलाई देवीको रुपमा पुज्न थालियो । साक्षीलाई देबीको रुपमा पुजेर बोकाको बली दिइयो । मन्दिरमा पुजापाठ तथा स्वस्तीशान्ति पनि गरियो । तर पनि साक्षी बेलाबेला काप्न, हल्लिन र बेहोस हुन छोडिनन्, उनको समस्या जस्ताको तस्तै थियो । भित्री पीडा भित्रै थियो । अर्कोतिर भने उनलाई देवी भनेर पुज्नेहरु बढ्दै थिए । टाढा टाढासम्म उनको चर्चा थियो । यसरी नै ४ महिना बित्यो । वगंलादेशबाट एमबीबीएस गरेर फर्केका साक्षीका भाइले उनका सबै मेडिकल रिर्पोटहरु हेरे र उनको अवस्था देखे अनि परिवार र आफन्तहरुको विरोधका वावजुत साक्षीलाई मनोचिकित्सक डा. कोर्टेक्स कहाँ लिएर गए । 

डा. कोर्टेक्सले सबै रिपोर्टहरु हेरे । साक्षीसँग केहीबेर गहन कुरा गरे । अनि साक्षीका सासुससुरा तथा पति विनोदलाई भित्र बोलाए । साक्षीको रोग र मनोवैज्ञानिक उपचारको वारेमा विस्तारपुर्वक सम्झाउन बुझाउन थाले, ‘साक्षीको समस्या भनेको कन्भर्जन डिसर्डर हो । जसलाई चलनचल्तीको भाषामा हिस्टेरिया भन्ने गरिन्छ । यसको मूल कारण भनेको तनाव हो । जस्तै पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक  तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहुँदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदिइत्यादि ।’ उनले अगाडि भने, ‘अँ । यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्दछ । अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) हुने हुनाले यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । वास्तवमा हिस्टेरिया अवचेतन मनको खेल हो जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।’ उनले अगाडि भने, ‘हिस्टेरियामा विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । जस्तैः बेहोश हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झम्झमाउने र लाटो हुने  । घाँटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देविदेउताको रुप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।’


‘ठीक भन्नु भयो डा. साब साक्षीमा पनि यस्तै यस्तै लक्षणहरु देखिने गर्छन् । अनि यो रोग ठीक त हुन्छ नि डा. साब ?’ दबेको आवाजमा विनोद बोले । डा. कोर्टेक्सले चस्मा मिलाउँदै भने, ‘यसको कारण पत्ता लगाइ उपचार गर्ने हो भने यो समस्या बिलकुलै ठीक हुन्छ । तर बुझ्नु पर्ने कुरा के भने जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिने भन्दा बढी महत्व दिएको देखिन्छ । तर यो बुझाइ गलत हो । त्यो किनभने हिस्टरिया अनेक कारणहरु उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणहरुले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ । साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरुले हुन सक्दछ । महिलाले पुरुषलेझैं आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरमा भन्दा किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्याहरुलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।’ 


 ‘औषधि कति खानु पर्ला डा. साहेब ?’ सीमनाको सासुको प्रश्न थियो । डा. कोर्टेक्स, ‘हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्का शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरुद्धारा पैदा भएको तनावको प्रतिरक्षा स्वरुप देखिएको मनको रोग हो । वास्तवमा यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । त्यसैले सबै भन्दा पहिला यस कुरालाई परिवार, समुह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ । अनि तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस् । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानको लागि तनावको पहिचान आवश्यक छ । तर तनाबको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ । साक्षीलाई औषधि भन्दा पनि तपाईहरुको सहयोगको आवश्यकता छ ।’ विनोद आश्चर्य पर्दै, ‘हाम्रो सहयोग ? हामीहरुले त साक्षीलाई सहयोग गरिरहेका नै छौ ।’  डा. कोर्टेक्सः ‘हो, सहयोग गर्नु भएको छ तर साक्षीको मनको गुहारलाई सुन्न सक्नु भएको छैन तपाईंहरुले । विनोदजी, तपाईंहरुले मेलै भनेझैं साक्षीलाई सहयोग गर्नु भयो भने केही दिनमै साक्षीको समस्या छुमन्तर हुन्छ ।’ डा. कोर्टेक्स मुँसुक्क हाँसे । ‘हामीहरुले के कस्तो सहयोग गर्नु पर्रो हामीहरु सहयोग गर्न तयार छौं डा. साब ।’ साक्षीका ससुरा बोले ।

‘साक्षीको एमबीए पढ्ने ठूलो धोको छ । त्यसैले साक्षीलाई एमबीए पढ्ने वातावरण बनाइदिनुहोस् । अर्को कुरा तपाईंहरुले आआफ्नो ठाउँबाट घरायसी काममा उनलाई सहयोग गर्नु पर्यो ।’ विनोद आश्चर्य पर्दै, ‘हो र डा. साब । यसबारेमा त साक्षीले हामीस“गै कहिल्यै कुरा गरेनिन् ।’ ‘परिवारको आर्थिक समस्या बुझेर नै उनले आफ्नो इच्छा मनमै दबाएर बसिन् । जसको कारण यस्तो मनोवैज्ञानिक समस्या पैदा भयो ।’ ‘डा. साब, मैले कुरा बुझें, अब हामीहरुले जसरी हुन्छ तपाईले भनेझैं गर्ने छौं । साक्षीको एमबीए पढ्ने धोको पनि पुरा गरिदिने छौं ।’ रिपोर्टहरु दिँदै डा. कोर्टेक्स बोले, ‘हरेक हप्ताको सोमवार १२ दिनसम्म साक्षीलाई लिएर आउनु होला । तपाईंहरुको सर्पोट तथा मनोवैज्ञानिक उपचारबाट साक्षी बिलकुल ठीक हुने छिन् ।’ 



सोमवारदेखि साक्षीको चिकित्सा सत्र शुरु भयो । डा. कोर्टेक्सले साक्षीको औषधिप्रतिको विश्वासलाई ध्यानमा राखेर औषधिको रुपमा प्लेसबो पिल्स दिए । तीन चिकित्सा सत्रपछि नै साक्षीलाई निकै आराम महसुस हुन थाल्यो । उनको मन भित्र गुम्सिएको कुण्ठा तथा अन्तद्र्वन्द घट्दै गयो । साक्षीको आत्मबल तथा ऊर्जा बढ्दै गयो । १२ चिकित्सा सत्रपछि साक्षी बिलकुल ठीक भइन् । अनि परिवारको सल्लाह वमोजिम उनले एमबीए पढ्न थालिन् । घरधन्दा र एक छोराको रेखदेख गरेर पनि उनले २ वर्षमा प्रथम श्रेणीमा एमबीए उत्र्तीण मात्र गरिनन् बैंकमा जागिर प्राप्त गर्न समेत सफल भइन् । (कथाकार साइकोथेरापिष्ट हुन् ।)




No comments:

Post a Comment