ब्रेन बाइट्स
पहिलो सिद्धान्तः
दोस्रो सिद्धान्तः
तेस्रो सिद्धान्तः
अतः यी तीन सिद्धान्तहरुलाई अलग अलग वा एकआपसमा मिलाएर व्यबहारमा ल्याउने हो भने निश्चितरुपमा मानिसको स्मरण शक्ति शक्तिशाली हुन्छ । शक्तिशाली स्मरणशक्तिले नै मानिसलाई सफल बनाउँछ । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)
यसरी हुन्छ स्मरण शक्ति शक्तिशाली
ओम बानियाँ
कुनै पनि सूचना तथा अनुभवहरू (डेटा) पंच ज्ञानेन्द्रिय अर्थात आँखा, नाक, कान, जिब्रो तथा त्वचा मार्फत् अवचेतन मन अर्थात मेमोरी बैंकमा संग्रह हुने गर्छन् । यसरी मेमोरी बैंकमा संग्रह भएका कुराहरुलाई चेतन मनले स्मृतिमा ल्याउने कार्य गर्छ, जसलाई स्मरण शक्ति भन्ने गरिन्छ । स्मरण ती कुराहरुको हुन्छ, जुन कुराहरु पंच ज्ञानेन्द्रिय मार्फत् मेमोरी बैंकमा संग्रह भएका हुन्छन् । मेमोरी बैंक भन्नाले मस्तिष्कको कुनै एक निश्चित ठाउँ होइन, डेटा संकलित हुने मस्तिष्कको समष्टिगत भाग हो । यहाँ बुझ्नु पर्ने कुरा के भने मानिसको स्मरण शक्ति संचालन तथा नियमनका लागि मस्तिष्कका विभिन्न प्रणाली तथा भागहरूको सक्रिय सहभागिता रहन्छ । डेटाहरु मस्तिष्कको कुनै एक भागमा संग्रह नभएर मस्तिष्कको चारैतर्फ छरिएर रहेको हुन्छ । जस्तो कि प्रायः मोटर मेमोरी मोटर प्रोसेसिंग भागमा, श्रव्य मेमोरी वायाँ मस्तिष्कको नियोकोर्टेक्समा, दृश्य मेमोरी दायाँ नियोकोर्टेक्समा तथा काइनेस्थेटिक मेमोरी कोर्टेक्सको बाहिर, सेरेबेलममा भण्डारण हुन्छ ।
मस्तिष्कमा डेटा संग्रह गर्नका लागि मस्तिष्कका विभिन्न भागहरूको सक्रिय सहभागिता हुुने भएता पनि लिम्बिक प्रणाली तथा नियोकोर्टेक्सको केन्द्रिय भुमिका रहन्छ । त्यो किनभने लिम्बिक प्रणालीले डेटाहरूलाई दीर्घकालीन मेमोरीमा भण्डार गर्न पठाउने कार्य गर्छ । लिम्बिक प्रणाली, जसलाई भावनात्मक मस्तिष्क पनि भनिन्छ, यसको प्रमुख कार्य भनेको डेटाहरू मुल्यवान् छन् कि छैनन् भन्ने निर्णय गर्ने पनि हो । त्यसैले लिम्बिक प्रणालीको सम्र्पकमा आएका डेटाहरूलाई नियोकर्टेसमा भण्डारण गर्न उपयुक्त छ कि छैन भन्ने कुरा निर्धारण गर्न लिम्बिक प्रणालीले नियोकर्टेक्ससँग निरन्तर संवाद स्थापित गर्दछ ।
यस कार्यमा हिप्पोक्याम्पस तथा एमिग्डेलाको महत्वपुर्ण भुमिका रहन्छ । हिप्पोक्याम्पसले अभावनात्मक सुचानाहरू तथा एमिग्डेलाले भावनात्मक सचनाहरूका बारेमा निर्णय गर्दछन् । त्यसैले लिम्बिक प्रणालीका यी दुई भागहरूः हिप्पोक्याम्पस र एमिग्डेलासँग सुचनाहरू काटछाँट र पे्रषित गर्ने योग्यता भएन भने नयाँ सुचनाहरू दीर्घकालीन भण्डारणमा पुग्न सक्दैनन् । ठीक यही कुुरा अल्जाइमरका रोगी तथा पाको उमेरका कारण हुने स्मरणशक्तिको कमीमा लागु हुन्छ । त्यो किनभने यस्ता मानिसहरूको हिप्पोक्याम्पीले डेटाहरूलाई मेमोरी बैंकमा पठाउने आफ्नो जैविक क्षमता घुमाउँदै गएको हुन्छ ।
औसतरूपमा मानिसको मस्तिष्क शक्ति तथा डेटा स्टोर गर्ने क्षमता उस्तै–उस्तै हुन्छ । यदि कुनै डेटा मानिसको मेमारी बैंकमा स्टोर हुन्छ भने बिर्सने रोग वा अन्य रोगहरूको कारणले बाहेक, त्यो डेटा बिर्सिदैन । मेमोरी बैंकमा स्टोर भएका डेटाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहँुदैन । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहुँदैन । किनकि सानैदेखिनै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर मेमोरी बैंकमा संग्रह भएका यस्ता सबै कुराहरु चाहेको बेला तुरुन्त स्मृतिमा आउँछन् भन्ने छैन । आउन पनि सक्छन् । नआउन पनि सक्छन् । चाहेको बेलामा याद नआएर पछि याद आउन पनि सक्छन् । जस्तो कि दुईचार दिन यता तपाई स्कूलकलेज वा अफिस जाँदा आउँदा बाटोमा अनेक घरहरु देख्नुभयो, पसलहरु देख्नुभयो, होर्डिंग बोर्डहरु देख्नुभयो, मानिसहरु आवतजावत गरेको देख्नुभयो, कार, बस, ट्रक, साइकल, मोटरसाइकल, अटोरेक्सा, रेक्सा आदि गुडेको देख्नु भयो, मानिस बोलेको, हाँसेको, गाडी कराएको, कुकुर भुकेको अनेक आवाजहरु सुन्नु भयो । तपाईंलाई अहिले यस्ता कुन कुन कराहरु याद छ ? लगभग कुनै कुराहरु पनि याद छैन । मस्तिष्कमा जोड लगाएर याद गर्न खोज्नु भयो भने मुश्किलले मुठीभरका कुराहरु याद हुने छन् । याद नहुन पनि सक्छन् । त्यो किनभने तपाईंको चेतनमनलाई बाटोमा देखिएका यस्ता कमन कुराहरुप्रति कुनै चासो थिएन । र, जति पनि बाटोमा देखेका तथा सुनेका कुराहरु थिए, ती चेतनरुपमा अवचेतनमा प्रवेश भएका थिएनन् । तर तपाईले बाटोमा ट्राफिक जाम गर्ने गरी बसको एक बढेमानको साँढे देख्नु भएको थियो भने वा मानिसको भीडमा एकदम अग्लो र मोटो डरलाग्दो मानिस देख्नु भएको थियो भने पक्का पनि त्यो तपाईंलाई याद आउँछ । यदि बाटोमा कुनै महिला कुक्काइ कुक्काइ रोइरहेको थिइन् भने त्यो पनि तपाईलाई पक्का याद आउँछ । यदि तपाईं क्रिकेटको खेलाडी वा क्रिकेटप्रेमी हुनुहुन्छ भने बाटोमा क्रिकेटको ब्याट समाएर हिंडेको केटो याद आउन सक्दछ । तर तपाईंसँगै हिँडेको तपाईंको साथीलाई त्यो याद नआउन सक्दछ । यहाँ उल्लेखनीय कुरा के हो भने यसरी यस्ता कुराहरु याद आउनुको कारण हो, विषयले ध्यान खिच्नु र चेतनरुपमा त्यो विषय मेमोरी बैंकमा संग्रह हुनु । यस तथ्यबाट के प्रष्ट हुन्छ भने यदि कुनै पनि कुराहरु चेतनरुपमा मेमोरी बैंकमा संग्रह हुन्छन् भने ती कुराहरु सजिलै स्मरणमा आउँछन् । यो नै स्मरणशक्ति शक्तिशाली बनाउने वैज्ञानिक आधार हो । त्यसैले निम्न तीन सिद्धान्तहरुलाई व्यबहारमा ल्याउने हो भने जोसुकैले पनि आफ्नो स्मरणशक्तिलाई शक्तिशाली बनाउन सक्छन् ।
पहिलो सिद्धान्तः
मानिसको मनमस्तिष्कमा स्मरणशक्तिको संरचना यसरी हुन्छ कि असामान्य, अद्भूत, अनुपातहीनता, धेरै ठुलो तथा धेरै सानो कुराहरुप्रति मानिसको ध्यान केन्द्रित हुन्छ र चेतन मनले यस्ता कुराहरुलाई मेमोरी बैंकमा देखिने गरी राख्दछ । यसरी राखिएका कुराहरु चेतन मनले चाहिएको बेलामा सजिलै बाहिर निकाल्न सक्दछ । स्कूलकलेज वा अफिस जाँदा वा घर फर्किदा देखिएका अनगिन्ती कुराहरु मध्य बढेमानको साँढे वा निकै अग्लो र मोटो डरलाग्दो मानिस याद आउनुको कारण पनि यही हो ।अतः असामान्य, अद्भूत, अनुपातहीनता, धेरै ठुलो तथा धेरै सानो कुराहरु याद गर्न सजिलो हुने हँुदा कुनै पनि याद गर्नु पर्ने कुराहरुको आकार, प्रकार तथा रुपरंगलाई धेरै ठुलो तथा धेरै सानो, असामान्य र अद्भुत बनाएर तथा एकअर्कोलाई अचम्मसँग जोडेर सजिलै याद राख्न सकिन्छ । उदाहरणका लागि बाघ र टोपी शब्द याद राख्नु छ भने बाघले बढेमानको टोपी लगाएको कल्पना गर्ने हो भने यो कुरा सधैं याद रहिरहन्छ ।
दोस्रो सिद्धान्तः
मानिसको स्मरण शक्ति भावनाबाट प्रभावित हुन्छ । त्यसैले मन छुने अति राम्रो भावना वा अति खराब भावना मेमोरी बैंकमा राम्रोसँग स्टोर हुन्छ । त्यसैले त मानिसलाई अति गर्मी वा अति सर्दी, अति मान वा अति अपमान, अति सुख वा अति दुःखसँग सम्बन्धित भावानात्मक कुराहरु सजिलै याद रहन्छ । स्कूलका अनगिन्ती दिनहरुमा पुरस्कार पाएको दिन वा शिक्षकले गाली गरेको वा सजाय दिएको गरेको दिन कुनै विद्यार्थीले साहेदै बिर्सिन्छन् । स्मरणशक्तिको यस विज्ञानलाई विज्ञापनले खुब उपयोग गरिरहेको छ ।
तेस्रो सिद्धान्तः
स्मरण शक्तिको तेस्रो सिद्धान्त हो, लक्षित सोच । जब मानिसको चेतनमन लक्ष्यप्रति एकाग्र हुन्छ, तब चेतन मनले लक्ष्यसँग सम्बन्धित कुराहरुलाई ग्रहण गरी मेमोरी बैंकमा पठाउँछ । तर अन्य विषयहरुलाई वास्तै गर्दैन । क्रिकेट खेलाडी वा क्रिकेटप्रेमीलाई क्रिकेटको ब्याट समाएर हिँडेको व्यक्ति याद आउनु र अन्य व्यक्तिहरुलाई त्यो याद नआउनुको कारण पनि यही हो ।
अतः यी तीन सिद्धान्तहरुलाई अलग अलग वा एकआपसमा मिलाएर व्यबहारमा ल्याउने हो भने निश्चितरुपमा मानिसको स्मरण शक्ति शक्तिशाली हुन्छ । शक्तिशाली स्मरणशक्तिले नै मानिसलाई सफल बनाउँछ । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)




No comments:
Post a Comment