हेल्थ फर्स्ट
कोराना जित्ने जीवनशैली
ओम बानियाँ
हामी अझ कति दिन र महिना लक डाउन गरेर बस्ने ? वैज्ञानिकहरुले कोरोना भाइरस(सार्स कोभ २)को प्रभाव सन् २०२३ सम्म रहने अनुमान गरेका छन् र कोरोनाले रुप परिवर्तन गरेर फेरि महामारी फैलाउन सक्ने पनि उत्तिकै सम्भावना छ । भोलि कोरोनाको ठाउँमा अर्को भाइरसको महामारी आउने सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । त्यसैले अब हामीले लक डाउनको स्वस्थ र भरपर्दो विकल्प नखोजी हँुदैन । लक डाउन कोरोना महामारीको स्थायी समाधान होइन । यही स्वरुपको लकडाउन गरेर औषधि तथा भ्याक्सिनको पर्खाइमा पनि बस्नु हँुदैन । यदि यही स्वरुपको लक डाउनलाई नै निरन्तरता दिने हो भने देश झनै जटिल समस्याहरुको भुमरी पर्ने पक्का छ । आर्थिक समस्याले मात्र होइन, राजनीतिक, समाजिक, पारिवारिक तथा रोजगारका समस्याहरुले देश नै तहसनहस हुने छ ।
भनिन्छ, यस पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन् । ती मध्य २१९ प्रकारका भाइरसको पहिचान भएको छ । यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति(इम्युनिटि)का कारण नै मानिसहरु यस्ता भाइरसको बिचमा पनि बाँचेको छन् । त्यसैले महत्वपुर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटि हो । मानिसको इम्युनिटि शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन् । यो वैज्ञानिक तथ्य हो ।
सार्स कोभ २ को हकमा पनि यो कुरा लागु भएको छ । कोरोना भाइरस संक्रमित ८० प्रतिशत मानिसहरुलाई कोभिड १९ ले कुनै असर गरेको देखिएको छैन । कतिपय यस्ता मानिसहरुलाई कोरोना संक्रमण भएको अवगत समेत छैन । त्यो किनभने शरीरको रोगप्रतिरोधक क्षमताले स्वस्फुर्तरुपमा यस्ता भाइरसलाई खेदेर बाहिर फ्याँकिदिन्छ । यस प्रक्रियामा कसै कसैलाई ज्वरो आउन सक्दछ । ती मध्य कतिपय सिटामोल आदि खाएर नै निको हुन्छन् । तर, २० प्रतिशत मानिसहरु मध्य केही, जो दीर्घरोगहरुबाट पीडित छन्, रोगप्रतिरोधात्मक शक्ति कमी छ, उनीहरुमा नै कोभिड १९ देखा पर्दछ । यस्ता मानिसहरुलाई नै बढी जोखिम हुन्छ । यस्ता बिरामीहरुलाई नै सघन उपचारको आवश्यकता पर्दछ ।
निचोडमा भन्नु पर्दा कोरोनाको स्थायी समाधान भनेको मानिसको रोगप्रतिरोधक क्षमताको बृद्धि हो । त्यसैले विश्वले रोगप्रतिरोधक क्षमताको बढाउने बाटोमा अगाडि बढ्नु पर्छ । यस सम्बन्धमा आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा विशेषज्ञहरु रोगप्रतिरोधक क्षमता बढाउने अनेक शास्त्रिय तथा वैज्ञानिक विधिहरु सुझाएका छन् । यस सन्दर्भमा भारतको आयुश मन्त्रालय तथा नेपालको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले पनि विख्यात वैद्यहरुको समुहले निर्माण गरेको एक गाइडलाइन जारी गरेको छ । अतः यी सबै तथ्यहरुलाई मध्यनजर राखेर कोरोना जित्ने जीवनशैली यहाँ प्रस्तुत गरिएको छ ।
१. बिहान उठेर दिशा पिसाब गरेपछि अलिकति नुन हालेको मनतातो पानीले जलनेती गरेर नाक सफा गर्ने । नाकमा एक दुई थोपा अणु तेल वा तिलको तेल वा नरिवलको तेल वा घिउ हाल्ने । अनि आयल पुलिगं गर्ने । यसका लागि एक चम्चा तिल वा नरिवलको तेल मुखमा राखेर २, ३ मिनेट मुख वरिपरि घुमाउने र थुक्ने । अनि नुन बेसार हालेको तातो पानीले कुल्ला गर्ने ।
२. बिहान खाली पेटमा एक चम्चा (१० एमएल) अमलाको रस, एक चम्चा घिउकुमारीको रस तथा एक चम्चा गुर्जोको (गिलोय) रस । तीन चम्चा तातो पानीमा मिसाएर सेवन गर्ने वा तातो पानीसँग एक चम्चा अमलाको धुलो तथा काँचो बेसारको सानो टुक्रा सेवन गर्ने ।
३. खुल्ला ठाउँमा कलिलो घाम ताप्दै कम्तिमा पनि आधा घण्टा योग, ध्यान तथा प्राणायाम गर्ने । अनि एक चम्चा च्यवनप्रास बिस्तारै बिस्तारै १० मिनेट समय लगाएर चाट्ने । मधुमेहीले चाही सुगरफ्रि च्यवनप्रास सेवन गर्ने । नास्ता खाने बेलामा तुलसी पत्र, दालचिनी, मरिच, सुठो, मुनक्का आदिको काढा वा जडिबुटि चिया पिउने । स्वादका लागि आवश्यकता अनुसार मह वा गुढ तथा कागतीको रस हाल्ने । साँझ पनि यो चिया पिउने ।
४. दिनभरि प्रशस्त मात्रामा तातो पानी पिउने । राती सुत्ने बेलामा ५ ग्राम जति बेसार हालेको तातो दुःध पिउने ।
५. रोग प्रतिरोधात्मक क्षमता बढाई कोरोना संक्रमण रोकथाम गर्नाका लागि बिहान खाली पेट आर्सेनिकम अल्बम ३० सी को एक एक खुराक तीन दिन सेवन गर्ने र अनि हप्ताको एक एक खुराक तीन हप्तासम्म दिने । यदि कोरोना संक्रमण रहिरहेमा एक महिना पछि पुनः दिनु पर्ने हुन्छ ।
६. सरसफाइमा विशेष ध्यान दिने । भौतिक दुरी कायम राख्ने, भीडभाडबाट टाढा रहने, कतै जाँदा गुणस्तरीय मास्कको प्रयोग गर्ने । पटक पटक हात धुने र हात नधोइकन अनुहार नछुने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने । चुरोट, रक्सी, अत्याधिक चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स जस्ता औद्योगिक पदार्थ सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागती, सुन्तला, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने । प्रशस्त मात्रामा मौसमी फलफूलहरु सेवन गर्ने ।
वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ । यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ । भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन् । अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ ।
७. बृद्धबृद्धा, अशक्त तथा विरामीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिने । उचित र सुरक्षित रेखदेखको वातावरण बनाउने ।
८. अर्को महत्वपुर्ण कुरा अफवाह तथा हल्लाको पछि नलाग्ने । मनलाई भित्रदेखि नै बलियो बनाउने । मनबाट डर, त्रास हटाउने । विज्ञान भन्छ, डर, त्रास र आतंकको वातावरणले मानिसको मन तथा शरीरमा कुप्रभाव पार्दछ । मनमा बारम्बार डरत्रासको विचार आइरहेको खण्डमा एनजाइटि, फोबिया, पैनिक अट्याक तथा अब्सेसन कम्पल्सन जस्ता मानसिक समस्याहरु देखा पर्न सक्दछन् । डरत्रासले मानिसको मनमस्तिष्कमा मात्र होइन शरीरमा पनि असर गर्दछ । डरत्रासले मानिसको इम्युनिटि पनि कमजोर बनाउँछ । मानिसको इम्युनिटि कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ । सकारात्मक सोच, उचित खानपान तथा योग, ध्यान तथा प्राणायले मनलाई मजबुत बनाउन सहयोग गर्छ । यदि हामीहरुले यस किसिमको जीवनशैली अपनायौ भने कोरोनाको महामारीलाई जित्न सक्छौं । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)




No comments:
Post a Comment