ब्रेन बाइट्स
सोचका प्रभाव:
सोचको स्नायुविज्ञानः
सकारात्मक मनोविज्ञानः
पुछारमाः
सकारात्मक सोचको विज्ञान
ओम बानियाँ
विंस्टन चर्चिलले भनेका छन्ः ‘निराशावादीले हरेक अवसरमा कठिनाई देख्दछ, तर आशावादीले हरेक कठिनाईमा अवसर देख्दछ ।’ चर्चिलको यो भनाइजति मनोवैज्ञानिक छ, त्यत्ति नै सत्य पनि छ । त्यसैले जीवनमा अगाडि बढ्नकालागि आशावादी दृष्टिकोण तथा सकारात्मक सोच राख्नु हरेक मानिसकालागि ज्यादै आवश्यक छ । तर सकारात्मक सोच तथा विश्वास जतिसुकै शुभसंकल्पका लागि भएपनि त्यो तथ्यमा आधारित हुनुपर्छ । तथ्यहीन विश्वासबाट सफलता प्राप्त हुँदैन ।
तथ्यहीन विश्वास त विश्वास नै होइन, अन्धविश्वास हो । जस्तोकि अखण्ड भजनकीर्तन गरेर वा हरहर महादेव पानी देऊ भनेर पानी पर्दैन, पानी कसरी पर्छ भन्नेकुरा अब धेरैलाई थाहा छ । इन्द्र रिसाएर वा भ्यागुतो नकराएर खडेरी पर्दैन, बाक्लो रूपमा वन–जंगल फँडानी हँुदै गयो भने खडेरीपर्छ । त्यसैले खडेरीबाट बच्न भजनकीर्तनको ठाउँमा वन–जंगल फँडानी रोक्नुपर्छ, प्रशस्त रूखविरुवाहरू रोप्नुपर्छ । माथि आकाशमा पानी लिएर इन्द्र बसेका छन्, उनले नै पानी बर्साउँछन् भन्नेजस्ता तथ्यहीन कुरामा विश्वास गरेर सोचले सकारात्मक काम गर्दैन ।
सोचका प्रभाव:
हो, मानिसको जीवनमा सोचको ज्यादै ठुलो महत्व छ । महात्मा बुद्धले भनेका नै छन्, जस्तो सोच्चौँ तिमी त्यस्तै हुन्छौं । यो वैज्ञानिक तथ्य हो । प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिव मोडलका अनुसार डिप्रेसनको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्तीक सोचले नै डिप्रेसन लगायतका मानसिक रोगहरू पैदा गर्छ ।
सोचको स्नायुविज्ञानः
सोच अर्थात् विचारको उद्गम स्थल मस्तिष्क हो । विचारको प्रभाव पनि सबै भन्दा बढी मस्तिष्कमा नै पर्दछ, अनि मस्तिष्कमार्फत् सम्पुर्ण शरीरमा पर्दछ । वैज्ञानिकरूपमा नै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारसँग सम्बन्धित रसायन सक्रिय हुन्छन् । न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हुँदैन, शरीरभरि नै रहन्छ, पेट, मिर्गौला तथा कलेजो लगायतका अंगहरूमा पनि यसको उपस्थिति हुन्छ । यसैकारणले नै विचारले मानिसको शरीरिक ढाचा तथा रड्ड–ढड्ड पनि निर्धारित गर्ने गर्दछ । मानिसको मस्तिष्कमा सयौँ प्रकारका स्नायु रसायनहरू छन्, ती मध्ये सेरोटोनिन, नोरएपीनेफ्रीन तथा डोपामीन, यी तीन प्रसन्न पैदा गर्ने रसायनहरु हुन् । यिनै रसायनहरुमा नै मानिसको आनन्द, खुसी तथा प्रसनन्ता टिकेको हुन्छ । यदि यी रसायनहरुले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेशन हुनेगर्दछ । त्यसैले त भनिएको नै छ शुभ विचार तथा शुभ संकल्प शक्तिले नै मानिसलाई महान् बनाउँछ ।
सोचको रुप
सोचका दुई रूप हुन्छन् अर्थात् सोच दुई किसिमका हुन्छन् । सकारात्मक सोच तथा नकारात्मक सोच । यसलाई राम्रो र नराम्रो सोच भन्न सकिन्छ, असल र खराव सोच वा शुभ र अशुभ सोच पनि भन्न सकिन्छ । सोचको बुभ्mनै पर्ने मनोविज्ञान के हो भने मानिसको मन–मस्तिष्क लगायत सम्पÒर्ण शरीरमा राम्रा विचारको प्रभाव सधैँ राम्रो पर्दछ र नराम्रो विचारको प्रभाव सधैँ नराम्रो नै पर्दछ । मानिसको सोच तथा दृष्टिकोणलाई विभिन्न तत्वहरूले प्रभाव पार्दछन् । त्यसैले यस्ता तत्वहरूले नै मानिसको सोच र दृष्टिकोण निर्धारण गर्दछन् । मानिसको सोच र दृष्टिकोण निर्धारण गर्ने केही प्रमुख तत्वहरू यसप्रकार छन्ः पैत्रिक गुण । अनुभव । वातावरण । स्वःसुचना तथा शिक्षा । यी यावत् कुुराहरूद्वारा नै मानिसको सोच तथा दृष्टिकोण बन्ने गर्दछ । तर मानिसले चाहेको खण्डमा आफ्नो सोच र दृष्टिकोणलाई परिवर्तन गर्न सक्दछ ।
सकारात्मक मनोविज्ञानः
हिजोआज मनोविज्ञानले धेरै नै प्रगति गरेको छ । रुखरुपी मनोविज्ञानले थुप्रै नयाँ–नयाँ हाँगाबिँगाहरू हालेको छ । यस्तै भर्खर–भर्खर पलाएको नयाँ कलकलाउँदो हाँगा हो, सकारात्मक मनोविज्ञान । शाब्दिक अर्थमा मानव जीवनको सकारात्मक पक्षहरू जस्तैः खुसी, आनन्द तथा आरोग्यता आदिको विज्ञान नै सकारात्मक मनोविज्ञान हो । यो मानिसको सकारात्मक आचार–विचारको मनोविज्ञान हो । यो मनोविज्ञानले मानिसलाई आफ्नो सोच र जीवनशैली सकारात्मक राखेर कसरी आरोग्य तथा सार्थक जीवन जिउन सकिन्छ भन्ने कुरा सिकाउँछ । प्रसिद्ध मनोवैज्ञानिक प्रा.डा. मार्टिन सेलिगमैन सकारात्मक मनोविज्ञानका सर्जक हुन् ।
पुछारमाः
हो, सकारात्मक सोचमा अद्भुत शक्ति हुन्छ । सकारात्मक सोचका कारण नै मानिस स्वस्थ, शिक्षित र समृद्ध बन्न सक्छ । सकारात्मक सोच राख्नेले नै आफुले देखेको सपना पुरा गर्न सक्दछ । तर यहाँ बुझ्नु पर्ने कुरा के भने हुर्किएको आगो निभाउन सकारात्मक सोच राखेर मात्र हुँदैन, हुर्किएको आगोमा पानी हाल्नुपर्छ । एक दिन त आगो निभ्नेछ भनेर सकारात्मक सोच राख्दा के हुन्छ, थाहा छ ? एक दिन आगो त निभ्नेछ, तर सबकुछ खरानी भएपछि मात्र आगो निभ्ने छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)



No comments:
Post a Comment