Thursday, May 21, 2020

ब्रेन बाइट्स

रेट्रो वाकिंग
ओम बानियाँ

स्वास्थ्यका लागि व्यायामको ठूलो महत्व छ । व्यायामले माइण्ड र बडी दुबैलाई स्वस्थ र मजबुत राख्न सहयोग गर्छ । त्यसैले स्वस्थ, निरोग र ओजस्वी तेजस्वी जीवन जिउन हरेक दिन एक घण्टा समय व्यायामका लागि छुट्टाउन आवश्यक छ । व्यायाम अनेक किसिमका हुन्छन् । ती मध्य हिंडाइ र दौडाइ निकै सरल र बिना खर्चको एक श्रेष्ठ व्यायाम हो । दैनिक आधादेखि एक घण्टाको हिंडाइ र दौडाइका अनेक स्वास्थ्य लाभहरु हुन्छन् । अझ उल्टो हिंडाइ र दौडाइ (रेट्रो वाकिंग तथा रेट्रो रनिंग ) स्वास्थ्यका लागि निकै प्रभावकारी मानिन्छ ।


के हो रेट्रो वाकिंग ?

अगाडि हिंडे, दौडे जस्तै गरी पछाडितिर हिंड्ने तथा दौडिने क्रियालाई उल्टो हिंडाइ तथा उल्छो दौडाइ ((रेट्रो वाकिंग तथा रेट्रो रनिंग ) भनिन्छ । उल्टो हिंडाइ र दौडाइ एक रोमान्चक व्यायाम मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै उत्तम व्यायाम हो । यस व्यायाम मस्तिष्क शक्ति, स्मरण शक्ति, ध्यान शक्ति, एकाग्रता तथा सजगता बढाउन, मांशपेशी सुडौल बनाउन, घुँडालाई मजबुत बनाउन, शरीरको सन्तुलन कायम गर्न तथा खेलकुदलाई प्रभावकारी बनाउनका लागि निकै उत्तम मानिन्छ । सामान्य हिंडाइमा मुटुको धड्कन प्रति मिनेट १०६ हाराहारी हुन्छ भने रेट्रो वाकिंगमा मुटुको धड्कन प्रति मिनेट १५६ सम्म पुग्दछ ।

 रेट्रो वाकिंग सम्बन्ध अनेक वैज्ञानिक अध्ययनहरु भएका छन् । उल्टो हिंडाइ र दौडाइको अर्को निकै महत्वपुर्ण स्वास्थ्य फाइदा घुँडामा तनाव कम हुनु हो । तसर्थ यस व्यायामले घँुडाको दुःखाइमा निकै फाइदा गर्छ । यस्तो हिंडाइले क्यालोरी बर्न गर्न पनि सहयोग पुराउँछ । सामान्य हिंडाइको तुलनामा रेट्रो वाकिंगले ४० प्रतिशत भन्दा बढी क्यालोरी बर्न गर्छ, जसले गर्दा मोटोपनामा घटाउन निकै फाइदा पुग्छ । साताको चार दिन १०, १५ मिनेट उल्टो हिंडाइ गर्ने हो भने शरीरमा लचिलोपना बढ्छ । शरीर सन्तुलन हुन्छ । दृष्टि बढछ, श्रवण शक्ति बढछ, उत्साह, आत्मविश्वास, मस्तिष्क शक्ति, एकाग्रता तथा सजगता बढाउन पनि सहयोग गर्छ । १०० कदम रेट्रो वाकिंग १००० कदम सामान्य हिंडाइ बराबर प्रभावकारी रहने अध्ययनले देखाएको छ । रेट्रो वाकिंगले जस्तै फाइदा मूनवाकिंगले पनि गर्छ । मूनवाकिंग भनेको पछाडितर्फ हिंडेर गरिने नाच हो । यो नाचको सर्जक माइकल ज्याक्सन हुन् । 

रेट्रो वाकिंग र ब्रेनः
रेट्रो वाकिंगको सबै भन्दा बढी प्रभाव मस्तिष्कमा पर्छ । यस व्यायामले निस्क्रिय रहेको मस्तिष्कको भागहरुलाई सक्रिय बनाउन सहयोग गर्छ । यस्तो हिंडाइले मस्तिष्क सजगता, सृजनशिलता, एकाग्रता तथा सर्टटर्म मेमोरी समेत बढ्ने अध्ययनले देखाएको छ । यस व्यायामलाई एचडी तथा एडीएचडीका बालबालिकाको उपचारका लागि थेरापिको रुपमा उपयोग गर्न सकिने कतिपय अध्ययनको दावी छ । यसका साथै अनेक अध्ययनहरुले अन्य विद्यार्थीको तुलनामा रेट्रो वाकिंग गर्ने विद्यार्थीको स्मरण शक्ति बढेको देखाएका छन् । रेट्रो वाकिंग तथा रनिंग सानासाना बालिबालिकाहरुले पनि सजिलै गर्न सक्छन् । यस्तो व्यायाम गर्न बालबालिका निकै खुसी पनि हन्छन् । कतिपय बालबालिकाहरुले त आपसमा खेल्ने क्रममा यस्तो व्यायाम स्वस्पूmर्तरुपमा गरिरहेका हुन्छन् । मानसिक समस्याहरुमा परेका व्यक्तिहरुका लागि पनि रेट्रो वाकिंग तथा रनिंग एक थेरापिका रुपमा प्रयोगमा ल्याउन सकिन्छ । 


रेट्रो वाकिंग र मेमोरीः
कुन योग ध्यान गरेर ? कस्तो भोजन तथा औषधि खाएर ? कस्तो पजल हल गरेर वा कस्तो प्रशिक्षण लिएर मेमोरी बढ्छ भन्ने  मानिसहरुको जिज्ञासा रहँदै आएको छ । तर, खुसीको कुरा के भने मेमोरी बढाउने एउटा निकै सरल विधि छ, त्यो हो हिँडाइ र दौडाइ । दैनिक २ हजारदेखि १० हजार पाइला हिंड्ने वा दौडिने हो भने मधुमेह जस्ता रोगहरु नियन्त्रण मात्र होइन, मानिसको मेमोरी समेत बढ्ने अनेक अध्ययनहरुले देखाएका छन् । अझ सामान्य हिंडाइ वा दौडाइसँगै रेट्रो वाकिंग तथा रेट्रो रनिंग गर्ने हो भने यसको प्रभाव दस गुणा बढी हुन्छ । हिंडाइ वा दौडाइले कसरी मेमोरी बढाउँछ भन्ने प्रश्नको सरल उत्तर हो, मस्तिष्कमा रक्तसंचार । हिंडाइ, दौडाइ तथा रेट्रो वाकिंग गर्दा मस्तिष्कमा रक्तसंचार बढ्छ र मस्तिष्कले पर्याप्त अक्सिजन तथा पोषण तत्वहरु पाउँछ । स्मरण रहोस्, डेढ किलोको मस्तिष्कलाई २० प्रतिशत अक्सिजन आवश्यक पर्छ ।

रेट्रो वाकिंग र मोटोपनाः
उल्टो हिँडाइ र दौडाइ क्यालोरी घटाउन तथा मोटोपना घटाउन निकै उत्तम व्यायाम मानिन्छ । अतः जति हिंड्दा तथा दौडिंदा पनि मोटोपना कम नभएर निराश भएका मानिसहरुले यसबाट लाभ प्राप्त गर्न सक्छन् । यसका लागि दैनिक आधा घण्टा अगाडितर्फ र पछाडितर्फ हिंडेर वा दौडिँएर केही दिनमै शरीरको मोटोपना घटाउन सक्छन् ।   

रेट्रो वाकिंगको विधि

रेट्रो वाकिंग निकै सरल छ । जसरी अगाडि हिंडिन्छ, त्यसरी नै पछाडितर्फ हिंड्नु रेट्रो वाकिंग हो । पछाडि दौडिंनु रेट्रो रनिंग हो । रेट्रो वाकिंग तथा रेट्रो रनिंग गर्दा ध्यान दिन पर्ने कुरा के भने यो व्यायाम गर्ने ठाउँ समथर र खुल्ला हुनुपर्छ । नत्र, पल्टिने खतरा हुन्छ । समथर चौर वा ठुलो हलमा यस व्यायाम गर्न उपयुक्त हुन्छ । कोठामा दस कदम अगाडितर्फ हिँडेर वा दौडिएर अनि दस कदम पछाडितर्फ हिँडेर वा दौडिँएर पनि यो व्यायाम गर्न सकिन्छ । 

अन्तमाः
अतः रेट्रो वाकिंग तथा रेट्रो रनिंगले शरीरलाई मात्र होइन, मस्तिष्क तथा मनलाई स्वस्थ र मजबुत बनाउन सहयोग गर्छ । त्यसैले दिनहुँ आधा घण्टा हिंडाइ तथा दौडाइ गर्ने । अनि १०, १५ उल्टो हिंडाइ तथा दौडाइ गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । आफै गरेर हेर्नुहोस्, केही दिनमा नै यस व्यायामको लाभ आफैं थाहा पाउनु हुने छ । (लेखक साइकोथेरापिष्ट, माइण्डबडी थेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)






No comments:

Post a Comment