Tuesday, July 21, 2020

ब्रेन बाइट्स 

मेमोरीले कसरी काम गर्छ ? 
ओम बानियाँ 

मानिसको जीवनमा मेमोरीको ज्यादै ठूलो महत्व छ । घरबाट निस्किएको मानिस पुनः घर फर्किन देखि लिएर रकेट बनाउन र बनाएको रकेट उडाउन समेत मेमोरीको आवश्यकता हुन्छ । त्यसै भएर त एलेकजेण्डर स्मीथले भनेका नै छन्ः “मानिसको वास्तविक सम्पत्ति नै मेमोरी हो । अन्य कुनै कुराहरूले मानिसलाई धनी वा गरीब बनाउन सक्दैन ।” हुन पनि हो, तपाईं आफै एक क्षण सोच्नुहोस् त, मेमोरी नभए के हुन्छ ? र, मेमोरी तेज भए के हुन्छ ? त्यसैले पनि प्रत्येक मानिस आफ्नो मेमोरी तेज होस् भन्ने चाहन्छन् । र, मेमोरी बढ्छ कि बढ्दैन भन्ने प्रश्न गर्छन् । मसँग यस प्रश्नको एउटै जवाफ छ, मेमोरीको भाषा बुझेर निःसन्देह मेमोरी बढाउँन सकिन्छ । 


मानिसको मेमोरीले साहचर्यबाट कार्य गर्छ । जस्तो कि राम र श्याम मिल्ने साथी हुन् । रामसँग भेट भयो भने श्याम पनि स्मृतिमा प्रकट हुन सक्छ ! एकै छिन पानी शब्द सम्झिनुहोस् त । पानीसँगै नदी याद आउन सक्छ । अनि नदीका माछा याद आउन सक्छ । माछा खाएको याद आउन सक्छ । नदी नजिकैका रूख बिरूवाहरू याद आउन सक्छन् । रूखमा बसेको चरा याद आउन सक्छ । पानीसँगै समुद्र याद आउन सक्छ । पानी जहाज याद आउन सक्छ । र, कुनै बेला तपार्इंले पानी जहाजमा यात्रा गरेको याद हुन सक्छ । त्यस्तै गरी पानीसँगै वर्षा याद आउन सक्छ । वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउन सक्छ । वर्षाले बिजुली याद हुन सक्छ । बिजुलीसँगै घरको बल्ब याद आउन सक्छ । यसरी नै अनुभवहरू स्मृतिमा प्रकट हुने गर्छन् । यो नै मेमोरीको भाषा हो । 

स्नायूवैज्ञानिकहरूको भनाई के छ भने जब हामी कुनै कुराहरू सिक्छौ वा अनुभव गर्छौ तब मस्तिष्कमा केही चिन्हहरू बन्न पुग्छन्, जसलाई स्मृतिचिन्ह भनिन्छ । जबसम्म मस्तिष्कमा स्मृतिचिन्ह रहिरहन्छन् तबसम्म सम्बन्धित विषयको धारणा बनिरहन्छ । तर समय विलोपनसँगै तथा विविध कारणहरूले गर्दा स्मृति चिन्हहरू धमिलिदै जान्छन् र क्रमशः मेटिन्छन् । मस्तिष्कमा स्मृतिचिन्ह मेटिए पछि धारणा गर्ने सामाथ्र्य पनि नष्ट हुन्छ । जसले गर्दा हामीहरूले सिकेका र अनुभव गरेका कुराहरू याद गर्न सक्दैनौं । त्यसैले एकाग्रचित्त भएर, जसरी भण्डारमा सामग्रीहरू राख्दा मिलाएर वा ‘क्याप्सन’ दिएर राखिन्छ, ठीक त्यसै प्रकारले याद गर्नु पर्ने विषय तथा सूचनाहरू मन–मस्तिष्कमा मिलाएर संग्रह गर्ने हो भने याद गर्न सजिलो हुन्छ । यो नै तपाईहामीले आफ्नो मेमोरी बढाउने सर्वोत्तम उपाय हो । तर यसको लागि मेमोरीको प्रकृति थाहा हुनु पनि त्यत्तिकै जरूरी छ ।

मेमोरीको प्रक्रिया
मेमोरी एउटा जटिल मानसिक प्रक्रिया हो । र, मेमोरीका ३ प्रक्रियाहरूको हुन्छन्ः (१.) सिकाइ (२.) धारणा (३.) पुनःस्मरण, जसको यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
(१.) सिकाइः मेमोरी र लर्निङ अर्थात् सिकाइमा गहिरो सम्बन्ध छ । यदि कुनै कुरा सिकेको छैन वा अनुभूति नै गरएिको छैन भने त्यसको मेमोरी हुने सवालै हुँदैन । मेमोरी ती कुराहरूको हुन्छ, जुन पहिला सिकेका वा अनुभूति गरिएका हुन्छन् । सिकाइ प्रमुख रूपमा दुई प्रकारका हुन्छन् ।

(क.) सीपको सिकाइः कुनै पनि काम सिक्नुलाई नै सीपको सिकाइ (लर्निड्ड अफ स्किल) भनिन्छ । जस्तो कि जुत्ताको तना बाँध्ने, भात पकाउने कार्य देखि साइकल चलाउन सिक्नुलाई पनि सीपको सिकाइ भनिन्छ । यो सिकाइ प्रक्रियागत स्मरणशक्तिसँग सम्बन्धित छ ।
(ख.) सूचनाको सिकाइः विभिन्न किसिमका सूचनाहरू तथा तथ्यहरूलाई बुझ्ने तथा सम्झने प्रक्रियालाई सूचनाको सिकाइ (लर्निगिं अफ फ्याक्ट) भनिन्छ । यो सिकाइ  फ्याक्ट मेमोरीसँग सम्बन्धित छ । मनोवैज्ञानिक दृष्टिकोणमा सिक्नु एक मानसिक प्रक्रिया हो । र, यो विभिन्न तत्वहरूमा निर्भर रहन्छ । यसैकारणले गर्दा कुनै व्यक्तिले कुनै कुरा छिटो सिक्छ भने अर्कोले ढिलो सिक्छ वा उसलाई सिक्न अप्ठारो पर्छ ।
(२.) धारणाः धारणा अर्थात् रिटेनिगं मेमोरी प्रक्रियाको दोस्रो उपक्रिया हो । यो उपक्रिया कुनै कुरा सिक्ने वित्तिकै शुरू हुन्छ । र, कुनै निश्चित समय तक रहिरहन्छ । मानिसको मेमोरी यहि क्रियामा निर्भर रहन्छ । यो उपक्रिया जवसम्म जीवित रहन्छ तव सम्म सिकेका र अनुभव गरेका कुराहरू याद रहन्छन् ।
(३.) पुनःस्मरणः धारणको जाँच नै पुनःस्मरण (रिकालिगं) हो । कुनै पनि सिकेका कुराहरूको याद कति छ भन्ने कुराको जाँच पुनःस्मरणले गर्छ अर्थात पुनःस्मरण त्यस्तो मानसिक प्रक्रिया हो जसको सहायताबाट विगतका अनुभवहरूलाई वर्तमानमा ल्याउने कार्य गरिन्छ । पुनःस्मरण दुई प्रकारका हुन्छन्ः (क.) तत्कालिन पुनःस्मरण तथा (ख.) विलम्वित पुनःस्मरण । जब कुनै विषय सिक्ने वित्तिकै पुनःस्मरण गरिन्छ भने त्यसलाई तत्कालिन पुनःस्मरण भनिन्छ । त्यस्तै गरि जव कुनै विषय सिकेको केही समय पछि (विश्राम पछि) पुनःस्मरण गरिन्छ भने त्यसलाई विलम्बित पुनःस्मरण भनिन्छ । 


पाईंलाई थाहा हुनु नै पर्ने हो, एकाध अपवादलाई छोडेर मानिसले कुनै पनि कुरा वा विषय हुबहु याद गर्न सक्दैन । मानिसलाई केवल मुख्य–मुख्य कुरा तथा विषयहरू मात्र याद हुने गर्छ । यसको लागि एउटा प्रयोग गरेर नै हेरौं । तपार्इंले आफूले पढेको कुनै किताब वा सिनेमाको कथा वा टेलिभिजन कार्यक्रम वा घुमेको कुनै ठाउँको वर्णन गर्नुहोस् त । तपार्इंले प्रमुख दृश्यहरू, शब्दहरू तथा घटनाहरू मात्र वर्णन गर्न सक्नुहुनेछ । शब्द–शब्द तथा प्रत्येक दृश्य तथा घटनाहरू वर्णन गर्न सक्नु हँुदैन । यो नै मेमोरीको प्रकृति हो । कुनै पनि किताबको सबै शब्द–शब्द याद गर्नु पर्ने आवश्यकता पनि छैन् । प्रमुख कुरो त पढेको पाठ बुझ्नु हो । कुनै कुरा याद त छ तर बुझिएको छैन भने त्यसको कुनै अर्थ हँुदैन । त्यसैले मेमोरीको प्रकृतिलाई बुझ्ने हो भने मेमोरी बढाउन सजिलो हुन्छ । जस्तो कि कुनै पनि याद गर्नु पर्ने कुरालाई मेमोरीको भाषा अनुरूप साहचर्य गरेर याद गर्न सजिलो हुन्छ । त्यस्तै गरी कुनै व्यक्तिको नाम बिर्सियो भने त्यो याद गर्न सादृश्य मेमोरीको सहयोग लिन सकिन्छ । जस्तो कि त्यो व्यक्तिसँग कहाँ भेट भएको थियो ? त्यसबेला ऊसँग अरू कोको थिए ? मेमोरीको भाषाको अर्को पक्ष के छ भने अदृश्य तथा निरर्थक शब्दहरूको तुलनामा दृश्यात्मक तथा सार्थक शब्दहरूको मेमोरी सुदृढ हुन्छ । जस्तोकि लिबभल याद राख्न गाह्रो हुन्छ, तर तिनै अक्षरहरुबाट बनेको भलिबल याद राख्न सजिलो हुन्छ । (लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्। )
थप जानकारीका लागि यो लिंक पनि पढौ: https://memorydoctor.blogspot.com/2020/05/blog-post_11.html







No comments:

Post a Comment