Thursday, July 9, 2020

हेल्थ फर्स्ट
ब्रेनफुड फर्सी
ओम बानियाँ

र्सी । सस्तो र सर्वसुलभ सुपरफुड हो । ब्रेनफुड हो । पौष्टिकता र औषधीय गुणको पावरहाउस फर्सीलाई संस्कृतमा कुष्माण्डा, पीतफला आदि नामबाट चिनिन्छ भने हिन्दीमा कद्दु, काँशीफल, लालपेठा, कुम्हडा, अंग्रेजीमा पम्पकिन र ल्याटिनमा कुकुरबिता मास्किमा भनिन्छ । गोला, च्याप्टा तथा लामा गरेर अनेक किसिमका फर्सीहरु नेपालमा जहाँतहीँ पाइन्छन् । 


फर्सी विशेष गरेर वर्षा ऋतुमा पाईने लहरामा फल्ने दिव्य फल हो । त्यसैले नेपालमा ग्रीष्म–वर्षा ऋतुमा फर्सीको खेती गरिन्छ । अरू तरकारी बालीको तुलनामा फर्सीमा उत्पादन क्षमता, पौष्टिक तत्वहरू, भण्डारण क्षमता र ढुवानी खप्न सक्ने क्षमता बढी हुनुका कारणले यसको खेती प्रचलित हुन सकेको हो । यसका हरिया र पाकेका दुवैथरी फलको तरकारी बनाएर खाइन्छ । यसका लहराका कलिला मुन्टा र पातको पनि तरकारी बनाइन्छ । पाकेको फर्सीमा प्रशस्त मात्रमा भिटामिन ‘ए’ पाइन्छ । फर्सीको औषधीय महत्व पनि छ । फर्सीका कलिला मुन्टा सागको रुपमा, फल र बिया तरकारीका रुपमा तथा बिया र जरो आदिलाई औषधिका रुपमा उपयोग गरिन्छ । नेपालका सबै जिल्लाहरूमा फर्सीको खेती गरिन्छ ।

फर्सीका प्रकारः
वानस्पतिक गुणका आधारमा फर्सी तीन किसिमका छन्, नेपाली फर्सी, युरोपियन फर्सी वा हिउँदे फर्सी तथा सुख्खा तथा गर्मी यामको स्क्वास । नेपाली फर्सीका लहरा लामा, फल खण्ड परेका, फलका भेट्ना पाटापाटा परेका, पात गाढा हरिया, गोलाकार र पातको नसामा सेता थोप्लाहरू भएका हुन्छन् । युरोपियन फर्सीका पात हल्का पहेंला रंगका फल गोला र फलका भेट्ना डोला हुन्छन् । नेपालमा स्थानीय जातहरूको बढी खेती गरिन्छ । फलको आकारका आधारमा फर्सीलाई जाँते (गोला थेप्चा आकारका) र मादले (लाम्चा मादले आकारका) भनिन्छ । मादले भन्दा जाँते फर्सी बढी मीठो हुन्छ ।


पोषणको खजनाः
फर्सी पोषणको खजना हो । फर्सीमा निम्नलिखित पौष्टिक तत्वहरु पाइन्छन् ।
पानी:                                            ९२.६ ग्राम
प्रोटिन:                                          १.४ ग्राम
चिल्लो:                                          ०.१ ग्राम
खनिज पदार्थ:                                ०.६ ग्राम
रेशा:                                             ०.७ ग्राम
कार्बोहाइड्रेट:                                ४.६ ग्राम
क्याल्सियम:                                  १० मिलिग्राम
फस्फोरस:                                   ३० मिलिग्राम
फलाम (प्रति १०० ग्राममा)            ०.७ मिलिग्राम
भिटामिन ए (प्रति १०० ग्राममा)     ८३.३ मिलिग्राम
भिटामिन बी (प्रति १०० ग्राममा)    ०.०६ मिलिग्राम
भिटामिन सी (प्रति १०० ग्राममा)    २
क्यालोरी प्रति (प्रति १०० मा)        २५

आहा फर्सीको मुन्टाः
हरियो सागपात मध्य फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत  हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।


फर्सीको मुन्टा खानुका फाइदा:
युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग नियमित भोजनमा खाने हो भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने पोषणविद्हरु बताउँछन । फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुराउँछ । त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, छाला सुन्दर बनाउन पनि फर्सीको मुन्टा विशेष मानिन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सीले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुराउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ । त्यतिमात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरलाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषिकाहरुलाई रोक्नमा मद्दत पुराउने चिकित्सकहरु बताउँछन् । यसले  पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो ।


डाक्टर पम्पिकिनः
आयुर्वेदिक मत अनुसार फर्सी मन्दाग्निकारक, वातलाई कुपित गर्नेवाला, भारी र कफनाशक गुणयुक्त छ । फर्सीको फल पौष्टिक, तिर्खा समाप्त गर्ने, पिसाब बढी लगाउने, भोक हटाउने साथै वात–पित्त बढेकालाई हानि गर्ने एवं कफवृध्दिमा लाभदायक छ । फर्सीले पेटमा स्निग्धता पैदा गर्नुका साथै कब्ज निवारण  गर्दछ । मल–मूत्र दुबै सफा गराई ज्वरनिवारकको काम पनि गर्दछ । फर्सीको बीज विषनाशक मानिन्छ साथै यो बीजबाट निकालेको तेल स्नायुमण्डलको पोषक एवं शक्तिवध्र्दक मानिन्छ । फर्सीको बीजलाई उत्तमकोटीको कृमिनाशक (पेटका जूका–कीरा) औषधिका रुपमा प्रयोग गरिन्छ ।युनानी चिकित्सामा फर्सीलाई पिसाब दिसा सफा गर्ने र बवारिस एवं प्रमेहमा लाभदायक मानिन्छ । आधा पाकेको फल कफलाई समाप्त गर्ने साथै पित्तनाशक छ । छालाका रोगीहरुको लागि पथ्य भोजनका रुपमा यसलाई लिन सकिन्छ । यसको बीज गर्मीको कारण निस्केका विभिन्न समस्याहरुमा लाभदायक छ । दिमागको लागि निकै पोषक छ । छाती पोल्ने साथै मुखबाट रगत आउने समस्या छ भने त्यसमा लाभदायक छ । 


बीजको तेलले शरीरको मालिस गर्नाले स्फूर्ति पैदा हुन्छ । साथै छालामा चम्किलोपन आउँछ । टाउको मालिस गर्नाले रौंको सुक्खापन समाप्त हुनुका साथै गाढा निद्रा लाग्दछ । रिँगटा लाग्ने, गर्मीले बेहोस हुने, टाउको दुख्ने, उदास हुने आदि स्थितिमा यस तेलले नियमित रुपमा टाउकोमा मालिस गर्नाले आश्चर्यजनक लाभ हुन्छ । खोकी र क्षयरोगमा यो तेल लाभदायक छ । फर्सीको तरकारी कब्जनिवारक गुणयुक्त छ तर यसलाई बोक्रा फ्याँकेर पकाउनु हुँदैन । बोक्रासँगै पकाउनु पर्दछ । फर्सीको तरकारीमा पुदिना, रायो, लसुन मिलाएर पकाउनाले स्वाद र गुण दुवै बढ्दछ । पाकेको फर्सीको कडा बोक्रालाई सफासँग धोइ तासेर सुकाउनाले र सुकेपछि कुटेर चूर्ण बनाउने । यो चूर्ण दाल, तरकारी, पीठोमा मिलाएर खानु स्वास्थ्यवध्र्दक छ । १–१ चम्चा बिहान र साँझ तातो पानीसँग खानाले कब्ज निवारण गर्दछ साथै शरीरमा पोषक तत्व बढ्दछ ।


र्सी खाएर कसैलाई बेफाइदा भएमा पुदिना या लसुनको चिया जस्तो पकाई पिउन दिनुपर्दछ । फर्सीको कुनै पनि परिकारमा पुदिना, लसुन, रायो, त्रिकटु (पिपला, सूठो र मरिच), जैतुनको तेल आदि मिलाउनाले आकस्मिक रुपमा हुनसक्ने बेफाइदा पनि न्यून भएर जान्छ । (फर्सीको फल, पात, मुन्टा तथा जरोका अनेक औषीय गणहरु छन् । विस्तित्र चर्चा गर्ने हो भने एउटा मोटो किताब नै तयार हुन्छ ।) (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)


No comments:

Post a Comment