ब्रेन बाइट्स
रुख रोपौंः
प्रणायाम गरौंः
बिहान हिडौंः
विश्राम गर्रौः
विश्राम टेक्निक एकः
विश्राम टेक्निक दुईः
पुछारमाः
वायु, ब्रेन र बडी
ओम बानियाँ
मानव शरीरका तीन स्तम्भः हावा, पानी तथा भोजन मध्ये हावाको स्थान सबै भन्दा माथि छ । मानिसले मात्र होइन कि यस चराचर जगतमा सबै सजीव प्राणीहरूले जन्मदेखि मृत्युसम्म सासको रूपमा वायु सेवन गर्दछन् । वास्तवमा वायु बिना प्राणीहरूको जीवन सम्भव छैन । वायु बिना त मानिस एक क्षण पनि बाँच्न सक्दैन । त्यसैले मानिसले सास लिने गर्छन् । सासको रूपमा मानिसले एक पटकमा लगभग २५ घनइंच हावा भित्र लिन्छन्, त्यति नै हावा बाहिर छोड्छन् । यो क्रिया प्रतिमिनेट १७–१८ पटक दोहोरिन्छ । अर्थात् एक मिनेटमा मानिसले करिब ४५० घनइंच हावा लिने र बाहिर छोड्ने गर्दछन् । तर यो मात्रा मानिसको श्रम, गति, अवस्था, लिंग र उमेरमा भर पर्दछ । मानिसले लिने सासमा २०.९४६ प्रतिशत अक्सिजन, ७८.०८४ प्रतिशत नाइट्रोजन, ०.९३४ प्रतिशत अर्गन, ०.०३३ प्रतिशत कार्बन डायअक्साइड तथा एकदमै थोरै–थोरै मात्रामा नियोन, हिलियम तथा हायड्रोजन जस्ता तत्वहरू हुन्छन् भने मानिसले फ्याँक्ने सासमा १६.४० प्रतिशत अक्सिजन, ७९ प्रतिशत नाइट्रोजन, ४.४१ प्रतिशत कार्बन डायअक्साइड तथा थोरै–थोरै मात्रामा अन्य तत्वहरू हुन्छन् ।
वायुमा रहेको प्राणवायु (अक्सिजन) नै शरीरकालागि आवश्यक हुन्छ । तर ब्रेन अर्थात् मस्तिष्कलाई अन्य अंगहरूको तुलनामा बढी प्राणवायु आवश्यक पर्दछ । त्यसैले वायुबाट बढी भन्दा बढी अक्सिजन लिएर आफ्नो शरीरलाई निरोग राख्नुको साथै मस्तिष्कशक्ति अद्भुतरूपमा बढाउन सकिन्छ ।
मानिसको शरीरको सबै भन्दा महत्वपूर्ण अंग बे्रन खप्परको हाडभित्र सुरक्षित अवस्थामा रहेको हुन्छ । यसले विभिन्न भागहरूबाट प्रेरणा लिने र स्नायु मार्फत् विभिन्न अंगहरूमा पठाउने काम गर्दछ । स्नायुमनोवैज्ञानिकहरूका अनुसार मानिसको बे्रनमा लगभग १५०,००,००,००,००० संख्यामा स्नायुकोष(न्युरोन) रहेका हुन्छन् । मानव मस्तिष्कको तौल लगभग १.४ कि.ग्रा.हुन्छ, जुन शरीरको कूल तौलको केवल २ प्रतिशत मात्र हुन्छ । तर यही १.४ कि.ग्रा.को मस्तिष्कलाई शरीरले लिने अक्सिजनको २०–२५ प्रतिशत अक्सिजन आवश्यक पर्दछ । अर्थात् शरीरले एक पटकमा सासकोरूपमा २५ घन इंच हावा लिन्छ भने त्यसमा अक्सिजनको मात्रा लगभग ५ घन इंच हुन जान्छ । त्यो ५ घन इंच अक्सिजन मध्ये करिब १ देखि १.२५ घन इंच अक्सिजन मस्तिष्कलाई आवश्यक पर्दछ । त्यसैले मस्तिष्क शक्तिको उच्चतम सु–संचालनका लागि पर्याप्त मात्रामा शुद्ध अक्सिजन लिने गर्नुपर्दछ । यसका लागि प्राणायाम सर्वोत्तम विधि हो ।
महर्षि पतंजलीका अनुसार श्वास प्रक्रियालाई नियन्त्रण गर्दै त्यसमा एक अनुशासित र नियन्त्रित क्रम ल्याउनु नै प्राणायाम हो । प्राणायामले शरीरलाई निरोगी र सुदृढ बनाउँछ । मनलाई निर्मल र एकाग्र बनाउँछ । प्राणायामका तीन भागहरु हुन्छन् । ती हुन्ः पूरक प्राणायामः फोक्सोमा प्राणवायु भर्ने क्रियालाई पूरक प्राणायाम भनिन्छ । कुम्भक प्राणायामः श्वास पूर्णरूपले राक्ने क्रियालाई कुम्भक प्राणायाम भनिन्छ । श्वास लिएर भित्र रोक्ने क्रियालाई अन्तर कुम्भक र श्वास बाहिर छोडेर बाहिर नै रोक्नुलाई बाहिय कुम्भक भनिन्छ । रेचक प्राणायामः फोक्सोको दुषित वायु पूर्णरूपले बाहिर निकाल्ने क्रियालाई नै रेचक प्राणायाम भनिन्छ ।
हावामा रहेको अक्सिजन सासको रूपमा फोक्सोमा पुगेर ब्लडस्ट्रिम मार्फत् लाखौँ–करोडौँ कोष तथा स्नायुकोषहरूमा पुगेर स्नायुकोषहरूलाई पोषण दिने र क्रियाशिल बनाउने काम गर्दछ । त्यसैले नै मानिसका मस्तिष्कले जति मात्रामा पर्याप्त अक्सिजन प्राप्त गर्दछ, त्यति नै यसको शक्ति बढ्छ । वास्तवमा सासको रूपमा लिइने हावामा निहित अक्सिजन मस्तिष्कको ज्यादै सर्वशुलभ र सर्वोत्तम ऊर्जा हो । मस्तिष्कको यो ऊर्जा फोकटमा पाइन्छ, यसका लागि एक पैसा पनि तिर्नु पर्दैन । तर धेरै मानिसहरूलाई हावामा रहेको अक्सिजनको यो महत्व थाहा छैन ।
अक्सिजन यही महत्वले गर्दा नै यसलाई प्राणवायु भन्ने गरिन्छ । यो प्राणवायु धेरै उचाइ तथा गहिराइमा कम हँुदै जान्छ । त्यसैले हिमाल चढ्दा वा सुरूङमा पस्दा अक्सिजन लिएर जाने कारण पनि यही हो । अतः प्राणवायुको यो महत्वलाई मनन गरी निम्नानुसार प्राणवायुको सदुपयोग गरेर ब्रेनबडी निरोग राख्नुको साथै मस्तिष्क शक्ति अद्भुतरूपमा बढाउन सकिन्छ ।
रुख रोपौंः
घर वरिपरिको वातारण सधैँ सफा, शुद्ध र स्वच्छ राख्ने । आफ्नो घर–आँगनमा तुलसी, निम, बर–पिपल तथा बेलपत्र आदि जस्ता रूख–विरूवाहरू लगाउने । रूख–विरूवाहरूले दिउँसो मानिसलाई अनावश्यक कार्बन डायअक्साइड लिन्छन् भने मानिसलाई अति आवश्यक अक्सिजन फ्याँक्छन् । तर तुलसी तथा पिपल जस्ता बोट–विरूवाहरूले दिन–रात कार्बन डायअक्साइड लिन्छन्, अक्सिजन फ्याँक्छन् । वायुमण्डलमा सबै भन्दा बढी अक्सिजन पिपलले नै फ्याँक्दछ । त्यसैले वातारणमा जति पिपलका रूखहरू हुन्छन्, त्यति नै हावामा मस्तिष्क ऊर्जा, अक्सिजन हुने गर्दछ ।
वर्षायामको बेला थियो । तर टन्टालापुर घाम लागिरहेको थियो । चौरासी नागेकी
एक जना वृद्धाले असिनापसिना भएर खेतमा आँपका बेर्नाहरू लगाइरहेको देखेपछि
बाटोमा हिँडिरहेको युवकले सोध्योः “ए, बज्यै, तपाई अब कति नै बाँच्नु हुन्छ
र, यतिका मेहनत गरेर आँपका विरुवाहरू लगाउँदै हुनुहुन्छ ?” बटुवा युवकको
कुरा सुनेर वृद्धा पसिना पुछ्दै रूखको छहारीमा गईन् र माथितिर हेर्दै
भनिन्ः “बाबु, यी बोट–बिरुवाहरू जसले मलाई छायाँ र शीतलता दिएका छन्, फल र
फूलहरू दिएका छन्, के यी बोट–बिरुवाहरू मैले लगाएका हुन र ?”
प्रणायाम गरौंः
प्रत्येक दिन सबेरै शान्त, शुद्ध र खुला ठाउँमा बसेर प्राणायामहरू गर्ने हो भने शरीर निरोग हुनुको साथै अद्भुतरूपमा मस्तिष्क शक्ति पनि बढ्ने गर्दछ । प्राणायामले सबै किसिमका रोगहरूलाई फाइदा गर्दछ । त्यसैले रोगी निरोगी सबैका लागि प्राणायाम लाभदायक हुन्छ ।
बिहान हिडौंः
वातावरणमा भएको धुवाँ धूलोले शरीरलाई हानी गर्छ । त्यसैले सधैँ धुवाँ, धुलोबाट बच्ने । प्रत्येक मिनेट–मिनेटमा सासप्रति सचेत हँुदै लामो र गहिरो सास लिने । बिहान–साँझ ४–५ किलो मिटर हिँडेर वायु सेवन गर्ने । बिहानको हिँडाइ मानिसको लागि सर्वोत्तम व्यायाम हो ।
विश्राम गर्रौः
श्रम अनुसार विश्राम गर्न जरुरी छ । त्यसैले कार्यगर्दा वा पढाइ–लेखाइ गर्दा थकाइ लाग्यो भने साससँग सम्बन्धित अति नै सरल निम्नलिखित विश्राम टेक्निकहरू अपनाएर मन–मस्तिष्क र शरीरलाई रिचार्ज गर्न सकिन्छ ।
विश्राम टेक्निक एकः
सीधा उभिने र नाकद्वारा लामो र गहिरो श्वास लिने र केही बेरसम्म (१ देखि ६ गन्ति गर्दासम्म) टाउकोमा श्वास रोक्ने । र, ओम (ओ ककककक म) उच्चारण गर्दा मुखको सहायताबाट बिस्तारै श्वास बाहिर फ्याँक्ने । श्वास छोड्दा मनलाई ओममा केन्द्रित गर्दै शरीरबाट तनाव श्वाससँगै बाहिर निस्केको कल्पना गर्ने । यो क्रिया १५–२० पटक गर्नु पर्याप्त छ ।
विश्राम टेक्निक दुईः
कुर्सीमा आरामसँग बस्ने । दुवै आखाँ बन्द गर्ने । मनमनै २१ बाट उल्टो गन्ति गर्दै आउने, सो क्रममा हातको चोरऔँलाले बूढीआँैलाको टुप्पोदेखि तलसम्म सुमसुम्याउने । जस्तैः चोरऔँलाले बूढीऔँठाको टुप्पोलाई स्पर्श गर्ने र बिस्तारै तलतिर झार्ने, मनमनै उच्चारण गर्ने, २१ । पुनः चोरऔला बूढीऔँलाको टुप्पोमा लग्ने र बूढीऔंलालाई हल्का सुमसुमाउँदै तल झार्ने र मनमनै उच्चारण गर्ने, २० । यसै क्रमले १ सम्म उल्टो गन्ति गर्ने । १ मा पुगेपछि पूर्ण विश्राम र शान्त अनुभव गर्ने । केही क्षणपछि ऊर्जावान् भएर आफ्नो कार्यमा लाग्ने ।
पुछारमाः
अतः मानिसको जीवनमा वायुको ठूलो महत्व छ । तर यहाँ हेक्का राख्नु पर्ने कुरा के भने वायु शुद्ध भयो भने त्यो प्राणवायु हो, प्राणवायु बे्रनको अपार ऊर्जा हो । तर वायु अशुद्ध भयो भने त्यो जहर जस्तै हो । त्यसैले हरेक मानिसहरु वातावरणप्रति सधैँ सचेत हुनुपर्दछ । जहाँ तहीँ फोहोर–मैला फालेर, धुवाँ–धूलो उडाएर, रूख–बिरूवाहरू सखाप पारेर वातावरण प्रदुषित बनाउनु हुँदैन । यो वा त्यो कारणले तत्कालीन लाभका लागि वातावरण प्रदुषित पार्नु भनेको आफ्नो र आफ्ना सन्ततीका लागि आफैँ जहर तयार पार्नु हो । अतः उपर्युक्त कुराहरुलाई आत्मसात गरी हरेक नयाँ वर्षमा तथा आफ्नो जन्म दिनको औसरमा रुख रोपेर त्यसको स्याहरसुसार गर्नु भोलिका सन्ततीलाई प्राणवायुरुपी अमूल्य उपहार दिनु हो । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)







No comments:
Post a Comment