ब्रेन बाइट्स
प्रेमपूर्ण जीवनः उत्कृष्ठ जीवन
ओम बानियाँ
‘प्रेम’ । शब्द नै कति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनी कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ । र, मन ‘प्रेम रस’–मा आह्लादित हुन पुग्छ । प्रेममा आनन्द छ । प्रेममा शान्ति छ । प्रेममा शक्ति पनि छ । प्रेम नै यस्तो भाव हो, जसले मानिसलाई शान्ति पनि दिन्छ, शक्ति पनि दिन्छ । वास्तवमा ‘प्रेम’ जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो । जब मानिस ‘प्रेममय’ हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । त्यसैले नै बेंजामिन डिजरायलीले भनेका छन्ः “हामी सबै प्रेम गर्नका लागि उत्पत्ति भएका हौँ । यो नै अस्तित्वको सिद्धान्त हो । र, एक मात्र अन्त ।”
‘प्रेम’ रचनात्मक तथा सिर्जनात्मक शक्तिसम्पदाको रूपमा सम्पूर्ण ब्रह्माण्डमा विराजमान छ । विकासको ऊर्जाको रूपमा प्रकृतिको कण–कणमा ‘ढुकढुक’ गरिरहेको छ । रूख–बिरुवाहरूको पातमा हावासँगै ‘सरसरी’ झुलिरहेको छ । झरनाझैँ ‘झरझर’ झरिरहेको छ । नदीझैँ ‘कलकल’ बगिरहेको छ । फूलहरूको वासनासँगै विराट ब्रह्माण्डमा ‘सुगन्ध’ छरिरहेको छ ।
‘प्रेमपूर्ण जीवन’ नै उत्कृष्ठ जीवन हो । यो नै जीवन सरिताको प्रक्रिया हो । प्रेमको प्रक्रिया उध्र्वगामी प्रक्रिया हो । मूत्र्तबाट अमूत्र्त, विशेषबाट सामान्य तथा व्यष्टिबाट समष्टितर्फ गतिमान् गर्ने शक्ति केवल प्रेममा नै छ । ‘प्रेम’ बिना मानिसको जीवन असंभव छ । ‘प्रेम’ बिना मानिस बाँच्नै सक्दैन । अरु कुरो छोडौं तपाईंको शरीरका अंगप्रत्यंगहरूले पनि बेला–बेलामा तपाईंको ध्यान आकर्षण गर्न खोज्छन् । तपाईंको प्रेम खोज्छन् । त्यसैले शरीरका कुनै अंग दुखेको छ भने यो यसकारणले गर्दा हो कि त्यहाँका जीव कोषहरूले तपाईंको प्रेम खोजिरहेका छन् । त्यसैले त्यो अंगमा ध्यान दिनुहोस् । प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्नुहोस् त, तपाईंले तुरुन्तै राहत महसुस गर्नुहुनेछ ।
प्रेम एक धनात्मक भावना हो । यो भावना मानिसमा बाल्यकालदेखि नै विकसित हुन्छ । जब मानिसको ब्रेन कुनै मानिस, पशुपंक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लव वा एफेक्सन्)को संज्ञा दिइन्छ । यस्तो संवेगमा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउँछ । प्रेमले मानिसको तनमनमा ठुलो प्रभाव पार्छ । प्रेमले शरीरमा इण्डोर्फिन, सेरोटोनीन तथा इम्युनोग्लोबुलिन जस्ता रसायनहरू, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठुलो भूमिका निभाउँछन्, निस्कासन गर्दछ । सकारात्मक प्रेमको विचारले खुसीका अणुहरू निस्कासन गर्दछ जबकि नकारात्मक विचारले हाम्रो इम्युनिटिलाई नै कमजोर पार्दछ, जसले गर्दा रोगहरूले आक्रमण गर्दछन् । त्यसैले ठोकुवा नै गर्न सकिन्छ, मानिसको रोगका लागि प्रेम भन्दा ठूलो चिकित्सा यो जगतमा अर्को कुनै छैन । वास्तवमा प्रेम हरेक रोगको औषधि हो । प्रत्येक रोगको उपचार हो । यो कुरा हरेक चिकित्सकहरूले बुझ्नुपर्छ र विरामीहरूलाई प्रेम र विश्वासको क्याप्सुलमा औषधि हालेर दिनुपर्छ । तब जस्तोसुकै घातक रोग पनि निको हुन सक्दछ !
हो, माानिसको जीवनमा प्रेमको ठूलो महत्व छ । तर, बिडम्बना के भने आधुनिक युगमा निश्वार्थ चोखोमाया पाऊन निकै गाह्रो छ । त्यसैले त जहाँ आफ्नो श्वार्थ पूरा हुन्छ, त्यहाँ प्रेम हुन्छ, होइन भने घृणा, घृणा, घृणा ? के प्रेमको परिभाषा यही हो ?
एक जना युवक सौंदर्यले परिपूर्ण एउटी युवतीको प्रेममा पागल थियो । युवतीको सौंदर्यमा कुनै कमी थिएनः निला–निला बदामी आँखा, रेशम जस्तो कपाल, मोती जस्ता चम्किला टम्म मिलेका दाँत, बारूले कम्मर । युवकले साहस ग¥यो, युवतीलाई गुलाबको फूल दिँदै भन्योः “म तिमीलाई साह्रै प्रेम गर्दछु ।... तिमीसँग जीवनभरि साथ निभाउन चाहन्छु ।” युवतीले मँुसक्क हाँस्दै फूल समाती र बोलीः “साँच्चै तिमी मलाई प्रेम गर्दछौ ?” “हो, म तिमीलाई समुद्रभन्दा पनि गहिरो माया गर्दछु ।” युवती भावुक भएर बोलीः “तिमी जस्तो एक साँचो प्रेमी पाएर म ज्यादै खुसी छु । तिमीले मलाई गुलाबको फूल दिएर प्र्रेम प्रस्ताव राख्यौ, तर खै मैले के दिएर तिम्रो प्रेमलाई स्वीकारुँ ?” युवक हतपत बोल्योः “तिमीले मलाई साथ दिए पुग्छ, मलाई केही चाहिँदैन ।” युवती बोलीः “तर यो खुसीयालीमा म तिमीलाई धेरै कुराहरू दिन चाहन्छु ।” अनि युवतीले आफ्नो आँखाबाट लेन्स निकाली, लौ यो लेन्स, अब यसको के काम ? युवक तीनछक प¥यो । लौ यो दाँत । युवक छाँगाबाट खसेझैँ भयो । लौ, यो कपाल । युवक वेहोश भई त्यही पल्टियो ।
फिरफिरे माया भनेको यही हो । तपाईंलाई थाहा छ कि छैन फिरफिरे माया भनेको फिल्मी माया हो । फिल्मी माया यस्तो हुन्छ कि बाहिरबाट त साँचो माया भन्दा पनि गहिरो हुन्छ, ज्यादै रसिलो र भरिलो हुन्छ, निकै पोटिलो र रंगीलो हुन्छ, तर भित्रबाट त्यो माया त्यति नै बनावटी, देखावटी र नाटकीय हुन्छ, वास्तवमा घुनले खाएको धानझैं खोक्रो जस्तो हुन्छ । उल्लेखनीय कुरा के भने यो फिरफिरे माया हर–हमेसा सौंदर्यको नाकबाट शुरु हुन्छ, एकाएक बासनाको टाङमुनी गएर टुड्डिन्छ । त्यसैले यस्तो मायालाई बाटोमा भेटिएकी पुतलीको फिरफिरे माया भनिन्छ ।
हिजोआज यत्रतत्र, सर्वत्र यस्तै फिरफिरे मायाको बैसमा लाली चढेको छ । जहाँ तहीँ यस्तै माया हावी भएको छ । परिवार, समाज र देश, कुना–काप्चा, सबै क्ष्ोत्रहरू फिरफिरे मायाले मिचिँदै गएको छ, किचिँदै गएको छ । माया–प्रेम भन्ने कुरा सिनेमाको पर्दामा नायक–नायिकाको अभिनय स्वांग भन्दा केही फरक छैन । रियालिटी शोको नाउँमा टीभीमा देखिने गोहीको आँसु भन्दा फरक छैन । तपाईं आफैँ हेर्नुहोस् न, प्रेम–प्रेमीकाबीच फिरफिरे माया । लोग्ने–स्वास्नीबीच फिरेफिरे माया । घर–परिवारमा फिरफिरे माया । देशप्रति फिरफिरे माया । त्यसैले त प्रश्न उठ्छः सधैँ सत्ताका लागि लुचाचुडी गर्ने नेताहरूको फिरफिरे मायाले कहीँ नयाँ नेपाल बन्दछ ?
अन्तमाः
वोट इज़ द डेफिनेशन ऑफ लव ?
'घड़ी चढ़े, घड़ी उतरे, वह तो प्रेम न होय,
अघट प्रेम ही हृदय बसे, प्रेम कहिए सोय।'
‘प्रेमपूर्ण जीवन’ नै उत्कृष्ठ जीवन हो । संसारका हरेक प्राणीलाई एकअर्काको प्रेमको आवश्यकता पर्दछ । प्रेम आफैंमा पूर्ण र परिपक्व छ । प्रेम दिने भाव हो, लिने भाव होइन । प्रेम विशाल अनुभूति हो । विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जीउन मद्दत गर्दछ । प्रसिद्ध लेखक एम्मेट फाक्स्ले भनेका नै छन्ः “यदि तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौ ।” त्यसैले प्रेम गर्न सिकौं । पहिला आफैंलाई प्रेम गरौं, परिवारलाई प्रेम गरौं, समाज र देशलाई प्रेम गरौं । अनि समस्त प्रकृति जगतलाई प्रेम गरौं । एउटा कुरा ख्याल राखौं, जब प्रेमको ठाउँमा घृणा, डाहा, ईष्र्या, क्रोध तथा अहंकार पैदा हुन थाल्दछ, तब मानसिक समस्याहरु पैदा हुन सक्छ है । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19





No comments:
Post a Comment