हेल्थ फर्स्ट:
सिजोफ्रेनिया कारणः
सिजोफ्रेनियाको स्थितिः
रोगको निदानः
उपचार सम्भवः
पुछारमाः
मन टुक्रिने रोग
ओम बानियाँ
मानिस मन र शरीरको संयुक्त रुप हो । जसरी मानिसको शरीर विरामी हुन्छ, त्यसै गरी मन पनि विरामी हुन सक्छ । मनको रोगलाई मनोरोग वा मानसिक रोग भनिन्छ । मनका रोगहरु अनेक किसिमका हुन्छन् । ती मध्य अति कडा खालको मनको रोग हो, सिजोफ्रेनिया वा स्किजोफ्रेनिया । सिजोफ्रेनियाको शाब्दिक अर्थ टुक्रिएको मन हो । सिजो अर्थात् टुक्रिएको, फ्रेनिया अर्थात् मन । सिजोफ्रेनिया गम्भिर र जटिल मानसिक समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको लगभग १५ प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याहरुबाट पीडित भएकोमा १ प्रतिशत सिजोफ्रेनिया जस्तो गम्भीर मानसिक रोगबाट पीडित छन् ।
सिजोफ्रेनिया सोच्ने प्रक्रियामा आउने गम्भीर समस्या हो, जसले मानिसको जीवनमा अनेक भ्रमहरुको सिर्जना गर्छ । वास्तविकतामा हुँदै नभएको कुरामा विश्वास गर्नु, अरुले नसुनेका र हुँदै नभएका आवाज सुन्नु जस्ता लक्षणहरु यस रोगमा देखा पर्छन् । अस्वाभाविक व्यवहार, डर, चिन्ता, शंकास्पद गतिविधि, मूर्तिझैं उभिइरहने, अकारण अस्थिरता पनि यस रोगको लक्षण हो । अरुले नसुन्ने आवाज, दृश्य, गन्ध आदि महसुस गर्ने, कुनै धर्म, दर्शन वा विचार विशेषमा अत्याधिक अडान लिने, पूर्वाग्रही विचार बनाउने जस्ता लक्षण पनि सिजोफ्रेनियाका रोगीमा देख्न सकिन्छ । यस्ता लक्षणहरु कमसेकम एक महिनासम्म रहिरहेमा सिजोफ्रेनिया भनिन्छ ।
सिजोफ्रेनिया कारणः
सिजोफ्रेनिया के कारणले पैदा हुन्छ भन्ने आजसम्म एकिन छैन । यसका अनेक कारणहरु रहेको विश्वास गरिन्छ । जस्तैः आनुवांशिक, मस्तिष्कमा भएको रासायनिक असन्तुलन, सामाजिक, मनोवैज्ञानिक तथा वातावरणीय प्रभाव । यदि बुबा आमा मध्ये कुनैमा सिजोफ्रेनिया को समस्या छ भने बच्चालाई सिजोफ्रेनिया हुने सम्भावना अत्यधिक हुन्छ । प्रायः गरेर सिजोफ्रेनियाका रोगीहरुको मस्तिष्कगत रसायनहरुको घटबढ हुने गरेको भेटिएको छ । जस्तो कि डोपामिन ग्लुटामेट र सेरोटोनिनको उतारचढाव हुनु । यदि परिवार का बीच मा सुसम्बन्ध छैन भने पनि सिजोफ्रेनियाको विकास हुन सक्छ । कुनै भाइरल संक्रमण भयो वा रोग प्रतिरोध क्षमतामा कमी आयो भने पनि सिजोफ्रेनियाको समस्या अझ मुखरित हुन्छ । औषधिको दुरुपयोग वा लागू पदार्थको दुर्व्यसन पनि सिजोफ्रेनियाको समस्यालाई बढावा दिने कारण हुन् । केही अनुसन्धानहरुले यसको कारण भ्रूण अवस्था मै भएको असन्तुलित मस्तिष्क विकास तर्फ संकेत गरेका छन् ।
सिजोफ्रेनियाको स्थितिः
सिजोफ्रेनिया सामान्यतया १३ देखि ३० वर्षका व्यक्तिमा हुने गरेको पाइन्छ । महिलामा भन्दा पुरुषमा यसका लक्षणहरु चाँडो देखिन्छन् । ३० वर्ष नाघेका मान्छेमा यो समस्या विरलै भेटिएको छ र ४५ वर्ष कटेपछि यो समस्या जन्मने सम्भावना हुँदैन । विश्वका झण्डै १ प्रतिशत मानिस यो रोग बाट पीडित छन् । अर्थात् झण्डै ३ करोड विश्ववासी सिजोफ्रेनियासँगै बाँचिरहेका छन् । यससँग सम्बन्धित भएर रहेका साइकोसिस, डेल्यूजनल डिस्अर्डर आदिको पनि गणना गर्ने हो भने त अझै भयावह रहन्छ यसको तस्वीर । यस रोगका कारण ५—१० प्रतिशतले आत्महत्या गर्ने, ६—७ गुणा बढी बेरोजगार रहने आँकडा प्रक्षेपण गरिएको छ । सिजोफ्रेनियाका रोगीहरुले अत्याधिक धुम्रपान गर्ने, उनीहरुमा उच्च रक्तचाप तथा मधुमेहजस्ता रोगहरु बढी नै पाइने हनाले औसत व्यक्तिभन्दा १५—२० वर्ष अघि नै मृत्यु हुने देखिएको छ ।
नेपालमा सिजोफ्रेनियाका बिरामी कति छन् भने आँकलन गर्न अझै सकिएको छैन । उपचारको अभाव र मानसिक रोगको बारेमा व्याप्त भ्रमका कारण उपचार अभावमै यसका बिरामी अझै पनि घरमा सिक्रीले बाँधिन र थुनिन विवश छन् ।
रोगको निदानः
सिजोफ्रेनिया भए नभएको पत्ता लगाउने सबैभन्दा भरपर्दो उपाय भनेको रोगीले देखाउने लक्षण हो । यदि रोगी लागू पदार्थको दुर्व्यसनी वा अन्य मानसिक विकारहरुको समस्याले पीडित छैन भने मनोचिकित्सकले भौतिक जाँच तथा मनोवैज्ञानिक परिक्षण गरेर रोगीलाई सिजोफ्रेनिया भए नभएको पत्ता लगाउँछन् ।
उपचार सम्भवः
सिजोफ्रेनिया जटिल मानसिक समस्या भएकाले यसको समाधान गाह्रो भएता पनि असम्भव चाही छैन । यस रोगलाई पूर्णतया निको गर्न नसकिए पनि व्यवस्थापन भने गर्न सकिन्छ । लक्षणहरुको जटिलता अनुसार उपचार र व्यवस्थापन फरकफरक भए तापनि औषधिको प्रयोग, साइकोथेरापी, मनोसामाजिक परामर्श, पारिवारिक सामाजिक सहयोग, मनोशिक्षा तथा रोजगारी व्यवस्थापन जस्ता पक्षलाई सन्तुलन गर्न सक्ने हो भने यसको समाधान हुन सक्छ । सिजोफ्रेनियाको उपचार गर्नु भनेको बिरामीमा देखिएका लक्षणहरुलाई कम गर्दै लैजानु हो ।
सिजोफ्रेनियाका लक्षणहरुलाई घटाउन मद्दत गर्ने खालका थुप्रै एन्टीसाइकोटिक औषधिहरु पाइन्छन् । दैनिक रूपमा सेवन गर्नुपर्ने यस्ता औषधिहरु चक्की वा झोल र कहिलेकाहीं महिनाको एक वा दुई पटक लगाइने सूईद्वारा दिइने खालका पनि हुन सक्छन् । शुरु शुरुमा यी औषधिका अनेक साइड इफेक्ट देखिने भए पनि ती बिस्तारै कम भएर जान्छन् । यस किसिमका औषधिहरुमा क्लोरोप्रोमाजिन, ह्यालोपेरिडोल, क्लोजापिन तथा जिप्रासिडोन आदि पर्दछन् ।
मानसिक रोगमा योग
योग
ऋषिमुनिहरुको (प्राचिन वैज्ञानिक) महान आविस्कार हो । योगले मनलाई स्वस्थ र
मजबुत बनाउँछ । योगले शरीर, मन र मस्तिष्कमा सन्तुलन बनाउन सहयोग गर्छ ।
हरेक प्रकारका मानसिक रोगहरुमा योग एक औषधि हो । यस तथ्यलाई अनेक
अध्ययनहरुले पनि पुष्टि गरेको छ । यदि बाल्यकालदेखि नै नियमितरुपमा योग
गर्ने व्यक्ति कुनै पनि प्रकारका मानसिक रोगहरुबाट पीडित नहुने
योगाचार्यहरु दावी छ । त्यसैले जीवनमा आइपर्ने उतारचढावहरुसँग सहजपर्वूक
मुकाबिला गर्न, शारीरिक तथा मानसिक रोगहरुबाट बच्न तथा सकारात्मक तथा
सिर्जनात्मक जीवन जिउन योगको विकल्प छैन ।
सिजोफ्रेनिया व्यावस्थापनमा मनोसामाजिक उपचार झनै महत्वपूर्ण हुन्छ । बिरामीलाई सामाजिक क्रियाकलापमा सरीक गराएर उसलाई समाजमा घुलमिल हुन सिकाउनु यस उपचारको उद्देश्य हो । जब बिरामी विस्तारै निको हुन थालेको देखिन्छ तब उसलाई स्कूल कलेज पठाउने, जागीर खान लगाउने आदि कुराहरु यस भित्र पर्दछन् । बिरामीमा मनलाई कुनै कुरामा केन्द्रित गर्न सक्ने स्वभावको विकास गर्न तथा मन बलियो पार्नका लागि योगासन, प्राणायाम तथा ध्यानको आवश्यकता भएको महसूस गरी केही समय यता योगा तथा ध्यानको पनि उपयोग गर्न थालिएको छ । योगाले सकारात्मक प्रभाव पनि देखाएको छ ।
पुछारमाः
सिजोफ्रेनिया एक जटिल मानसिक रोग भएकाले यसको अझ प्रभावकारी उपचार खोजी आजको आवश्यकता हो । सटिक उपचार पद्धतिको विकासस“गै यसको सही कारण पत्ता लगाइ रोकथाम गर्नु नै बुद्धिमानी हो । मानसिलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ र मजबुत बनाउने सर्वोत्तम माध्यम भनेको योग र प्राकृतिक रहनसहन हो । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी क्लिनिक प्रमुख हुन् ।)
सम्पर्क:





No comments:
Post a Comment