ब्रेन बाइट्स
अर्जुनदृष्टि भनेको नै यही हो । त्यसैले लक्ष्य बनाएर लक्ष्यमा अर्जुनदृष्टि साध्ने हो भने अर्जुनको मात्र होइन । हरेक मानिसको जीत निश्चित छ ।
जाग्नुहोस् ।
लक्ष्यमा ‘अर्जुनदृष्टि’ साध्नुहोस् ।
दृढसंकल्पका साथ अगाडि बढ्नुहोस् ।
‘जीत’ तपाईको निश्चित छ ।
लक्ष्यमा ‘अर्जुनदृष्टि’
ओम बानियाँ
महाभारतका अर्जुन श्रेष्ठ धनुर्धर थिए । उनको निशाना अचुक थियो । उनले महाभारतको यूद्धमा भीष्म, द्रोणाचार्य तथा कर्ण जस्ता महारथिहरूलाई हराएर महानतम् यूद्ध कौशलता देखाएका थिए । उनी धनुष विद्यामा जति निपुर्ण थिए, त्यति नै लक्ष्यप्रति सचेत र अटल थिए । तर मजाको कुरा के भने ती श्रेष्ठ धनुर्धर अर्जुनलाई तपाईंले पनि सजिलै पर्छान सक्नुहुन्थ्यो । यसकालागि तपाईं धनुष विद्यामा निपुर्ण हुन आवश्यक थिएन । तपाईंले केटाकेटीमा खेलौना धनुष चलाएको भए पनि तपाईंले अर्जुनले भन्दा पनि सही निशाना लगाउन सक्नुहुन्थ्यो । यो कुरा सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । तर यस कुरामा अचम्म मान्नु पर्दैन । यो साँचो हो, यो सत्य हो । तर यसकालागि अर्जुनको आँखामा कालो पट्टि बाँधेर, उनलाई ५–६ पटक दायाँतिरबाट, अनि वायाँतिरबाट पालै–पालो वरिपरि घुमाउन जरूरी थियो । यो कुरा सुनेर तपाईं भन्न सक्नुहुन्छ, “कस्तो कुरा गर्नुभएको यो, लक्ष्य नदेखिकन कसैले कसरी सही निशाना लगाउन सक्दछ ?”
हो, यो ज्यादै उत्तम प्रश्न हो । तर यो प्रश्नसँगै अर्को पनि प्रश्न उठ्छ, श्रेष्ठ धनुर्धर अर्जुनले लक्ष्य देख्न नपाएर सही निशाना लगाउन सकेनन् भने अब तपाईं नै भन्नुहोस्, लक्ष्य नबनाइकन तपाईं कसरी लक्ष्यमा पुग्न सक्नुहुन्छ ? अतः लक्ष्यमा पुग्न लक्ष्य बनाउन आवश्यक छ । र, हरेक मानिसले मनुष्य जीवनलाई सार्थक बनाउन जीवनको लक्ष्य बनाउन अत्यन्तै जरुरी छ । त्यसैले त लक्ष्यको महत्वमाथि प्रकाश पार्दै डा. मार्टिन लुथर किंग जुनियरले भनेका छन्, “मानिसले कुनै महान् उद्देश्यकालागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै वेकार छ ।” हुन पनि हो, लक्ष्यविहीन जीवन पशुतुल्य हुन्छ । तपाईंलाई थाहा नै छ, पशुपंक्षीहरूको कुनै उद्देश्य हँुदैन, कुनै लक्ष्य हुँदैन । पशुहरू जन्मन्छन्, खाने कुरा खोज्छन्, पेट भर्छन्, बच्चाहरू जन्माउँछन्, मर्छन् । पशुहरूले कुनै महान कार्य गर्दैनन् । पशुहरूले इतिहास पनि रच्दैनन् । मात्र जन्मिन्छन, अनि मर्छन । त्यसैले एउटा गंभिर प्रश्न उठ्छ, के सृष्ट्रिकै सबै भन्दा विकसित प्राणी, मानिसले पनि यस्तै पशुतुल्य जीवन जीउन सुहाउँछ त ? पक्कै सुहाउँदैन । त्यसैले मानिसले जीवनमा कुनै न कुनै महान् लक्ष्य अवश्य नै बनाउनुपर्छ । नत्र मार्टिनले भनेझै मानिसको जीवन नै बेकार हुन्छ । मानिस मनको दास, जीउँदो लाश बन्न पुग्छ ।
हिन्दुस्थानका महात्मा गान्धीले भारत आजाद गर्ने लक्ष्य लिएका थिए । अब्राहम लिंकनले अमेरिकी राष्ट्रपति बनि रङ्गभेद विहिन नयाँ अमेरिका बनाउने लक्ष्य लिएका थिए । कार्ल माक्र्सले गरीब र शोषित जनताको मुक्तिकालागि राजनीति शास्त्र बनाउने लक्ष्य लिएका थिए । माओत्सेतुङले च्याङ्काई सेकको साम्राज्य ध्वस्त पारेर चीनमा जनवादी सत्ता स्थापना गर्ने लक्ष्य लिएका थिए । तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखरमा पाइला टेकी नेपालको झण्डा फरफराउने लक्ष्य लिएका थिए । त्यसैले त उनीहरू अ–आफ्नो लक्ष्यमा पुग्न सके । याद राख्नुहोस्, जसले लक्ष्य बनाउँछ, ऊ नै लक्ष्यमा पुग्न सक्छ । लक्ष्यविहिन त जहाँको तही नै रहन्छ । तर ख्याल गर्नुहोस्, केवल इच्छा गर्नु लक्ष्य होइन, लक्ष्य भनेको अर्जुनले देखेको चराको आँखा हो ।
द्रोणाचार्यले धनुष प्रशिक्षण दिइरहेका थिए । कौरव तथा पाण्डव पुत्रहरू, सबै चौरमा एकतित्र थिए । रूखमा एउटा चरा झुण्डाइएको थियो । द्रोणाचार्यले सबै प्रशिक्षार्थीहरूलाई चराकोे आँखामा निशाना साध्नु पर्ने बताएका थिए । निशाना साध्नु भन्दा पहिला द्रोणाचार्यले सबैलाई एउटै प्रश्न सोध्ने गरेका थिए, “तिमीलाई के देखाइदिएको छ ?” कसैले रूखको हाँगा भने, त कसैले क्षितिज भने, कसैले चरा भने । थुप्रै चेला–चपेटाहरू आए, गए । त्यसपछि बाण लिएर दÒर्योधन आए । द्रोणाचार्यले दुर्योधनलाई पनि त्यही प्रश्न गरे । दुर्योधनले जँुगा मसार्दै भने, “मलाई त रूखको हाँगामा झुण्डिएको एउटा भँगेरा देखाइदिएको छ ।” द्रोणाचार्य दुर्योधनको जवाफबाट पनि सन्तोष भएनन्, उनलाई पनि अर्को लाइनमा खडा हुने संकेत गरे । दुर्योधन रिसाउँदै गए । अब अर्जुनको पालो आयो । द्रोणाचार्यले अर्जुनलाई पनि त्यही प्रश्न गरे । अर्जुनले भने, “गुरुवर मलाई आँखा देखाइदिएको छ ।” गुरु द्रोणाचार्यले अर्जुनको पिठिउँ थपथपाउँदै भने, “अर्जुन बाण चलाऊ ।” अर्जुनले बाण चलाए, बाण सीधै चराको आँखामा रोपियो ।
अर्जुनदृष्टि भनेको नै यही हो । त्यसैले लक्ष्य बनाएर लक्ष्यमा अर्जुनदृष्टि साध्ने हो भने अर्जुनको मात्र होइन । हरेक मानिसको जीत निश्चित छ ।
तपाईंलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्राउन सकिन्छ ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहँु फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहँु फलाउन गहँु । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागु हुन्छ । मानिसको मनमस्तिष्क पनि एक प्रकारको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ । हुर्किन्छ । फुल्छ । फल्छ । तर विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? त्यसैले एउटा कुरा के निश्चित छ भने तपाईले जे चाहनुहुन्छ, त्यही पाउनुहुनेछ । विफलता चाहनुभयो भने विफलता पाउनुहुनेछ । सफलता चाहनुभयो भने सफलता नै पाउनुहुनेछ ।
याद राख्नुहोस्, तपाईं अहिले जे हुनुहुन्छ, तपाईंले हिजो त्यही नै चाहनु भएको थियो । आज जे चाहनुहुन्छ भोलि त्यही नै पाउनुहुनेछ । त्यसैले जाग्नुहोस् । उठ्नुहोस् । तपाईं नउठी हँुदैन । आजै, यसै बेला उठिहाल्नुहोस् । तर, तपाईं मध्ये कतिपयलाई लागिरहेको होला, पुरा जीवन नै त्यसै छ, अहिल्यै केको हतारो ? तर विचार गर्नुहोस् त, एउटा मानिसको आयु कति नै हुन्छ र ? सालाखाला ८० वर्ष नै लगाइदिने हो भने पनि ४० वर्ष त सुतेर नै बित्छ । लगभग ५ वर्ष केटाकेटीपनमा नै बित्छ । त्यसपछिको लगभग १५ वर्ष पढाइलेखाइमा बित्छ । कम्तीमा पनि १० वर्ष जति समय खानपिन, भेटघाट, गफगाफ र मनोरञ्जनमा बित्छ । अब वाँकी रह्यो १० वर्ष, यो १० वर्षमा तपाईंले केके गर्नुहुन्छ ? त्यसैले त एक मिनेट पनि ढिला नगरी उठी हाल्नुहोस् । उठ्नु भयो ? अब आफ्नो मनमस्तिष्कमा कुन बीज रोप्ने हो, छनौट गर्नुहोस् । आँप रोप्ने हो कि कटहर ? धान रोप्ने हो कि गहँु ? कोदो रोप्ने हो कि फापर ? छनौट गर्नुहोस् । मनोभावको परिश्रमले जमीन तयार पार्नुहोस् । बुद्धिविवेकको पैसाले बीउ खरीद गर्नुहोस् । एकाग्रचित्तले बीउ रोप्नुहोस् । र, विश्वासको पानीले सिचार्इं गर्नुहोस् । प्रयत्न र कडा प्रयत्नले गोडमेल गर्नुहोस् । आशा र धैर्यको उकेरा लगाउनुहोस् । त्यसपछि तपाईंले रोपेको आँप हुर्किनेछ । फुल्नेछ, लटरम्म फल्नेछ । तर एउटा उल्लेखनीय कुरा के भने बोटबिरुवाकालागि उपयुक्त माटो र हावा पानी चाहिन्छ । जुनसुकै बिरुवा जुनसुकै माटो र जलवायुमा उम्रिन सक्दैन, हुर्किन सक्दैन । फुल्न र फल्न सक्दैन । तराईमा स्याउ फलाउन सकिँदैन, हिमालमा आँप । हिउँदमा धान रोप्न हँुदैन, वर्षायाममा गहँु । यो प्रकृतिको नियम नै हो । यो नियम मानव जीवनमा पनि लागू हुन्छ । त्यो किनभने मानिस पनि प्रकृतिकै एउटा अंग हो । त्यसैले तपाईंले जस्तो किसिमको सफलता चाहनु भएको छ, त्यस्तै मनस्थिति छनौट गर्नुपर्ने हुन्छ । विफलताको मनस्थितिमा सफलताको चेतना जागृत हुन सक्दैन । सफलता चेतना जागृति नभई कुनै मानिस ‘सफल’ हुन सक्दैन । यो निश्चित छ । यो नै मस्तिष्क विज्ञान हो ।
तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्नुपूर्व सगरमाथा चढ्ने प्रयासमा थुप्रै हिमाल आरोहीहरू सगरमाथाको फेदमा नै हराएका थिए, बेपत्ता भएका थिए । त्यसैले, त्यतिखेर सगरमाथा आरोहण अकासको फल मानिन्थ्यो, एउटा असम्भव कार्य ठानिन्थ्यो । तर तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले मानिसका लागि कुनै कार्य असम्भव छैन भन्ने मनोविज्ञान बुझे । र, सगरमाथाको शिखरलाई अर्जुनदृष्टिले साध्दै दृढसंकल्पको मुठ्ठी कसे । अनि छाती फर्काउ“दै सगरमाथाको शिखरतिर आफ्ना मजबुत पाइलाहरू चाले र २९ मई १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो, संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा पहिला पाइला टेकेर ‘विजयको झण्डा’ गाडे । हेर्दाहेर्दै हिउँबाघहरूले तीन त्रिभुवन हल्लाइदिए, असम्भवलँई सम्भव बनाएर देखाइदिए । त्यसैले त सगरमाथा आरोहण अहिले सम्भव कार्य मानिएको छ । तर मानिसकालागि सबै कुरा सम्भव छ भनेर डोकोमा दूध दुहेर अडिँदैन । सगरमाथा आरोहणकालागि आरोहणको पूर्वाभ्यास गर्नुपर्छ । दृढ अठोट र आरोहणको पूर्वाभ्यास बिना कुनै श्यामे वा च्यामे सगरमाथा चढ्न सक्दैनन् । बुझ्नु पर्ने कुरा यही हो ।
याद राख्नुहोस्, महान् पर्वतारोही तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होेइनन् । दृढसंकल्प, अथक मेहनत र लक्ष्यप्रतिको अटल विश्वासले नै सगरमाथाको शिखरमा पाइला टेकी ‘विजयको झण्डा’ फर्फराएका हुन् । त्यसैले जसले यो मस्तिष्क विज्ञान बुझी आफ्नो निर्दिष्ट ‘लक्ष्य’ पूरा गर्ने दिशामा, ‘अर्जुनदृष्टि’ साधेर, उच्च अठोटकासाथ अगाडि बढ्छ, ऊ अवश्य नै आफ्नो लक्ष्यमा पुग्दछ । यस कुरामा कुनै शंका छैन ।
त्यसैले उठ्नुहोस् ।जाग्नुहोस् ।
लक्ष्यमा ‘अर्जुनदृष्टि’ साध्नुहोस् ।
दृढसंकल्पका साथ अगाडि बढ्नुहोस् ।
‘जीत’ तपाईको निश्चित छ ।



No comments:
Post a Comment