ब्रेन बाइट्स
डिप्रेसनको लक्षणः
डिप्रेसनको कारणः
समस्याको समाधानः
विरामीले गर्नु पर्ने कामः
साथीसंगीले गर्नु पर्ने कामः
कलेजको भुमिकाः
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19
कलेजमा ‘डिप्रेसन’
ओम बानियाँ
डिप्रेसन अर्थात् उदासिनता एक जटिल किसिमको मनोवैज्ञानिक समस्या हो । यो समस्या हरेक संस्कृति, समाज र उमेरका महिलापुरुष दुवैलाई हुने गर्छ । तर पुरुषको तुलनामा महिलामा र नवयुवामा यो समस्या बढी देखिने गर्छ । कलेज पढ्ने थुप्रै विद्यार्थी यस समस्याबाट पीडित हुने गर्छन् । तर, अधिकांश यस्ता विद्यार्थीलाई आफु डिप्रेसनबाट पीडित भएको थाहा नै हुँदैन ।
हालै अमेरिकामा गरिएको एक सर्वेक्षणले अमेरिकाका ३० प्रतिशत कलेज पढ्ने विद्यार्थी डिप्रेसनबाट पीडित हुने गरेको देखाएको छ । नेपालमा यस किसिमको सर्वेक्षण नभएको भएता पनि यसैको सेरोफेरोमा नै नेपालका कलेज पढ्ने विद्यार्थी डिप्रेसनबाट पीडित भएको अनुमान गर्न सकिन्छ । डिप्रेसनले मानिसको सिक्ने र सम्झने क्षमतामा समेत प्रभाव पार्ने हुँदा डिप्रेसनको प्रकोपमा परेका विद्यार्थीको पढाइलेखाइ कमजोर हुन पुग्छ । आत्मविश्वासको कमीका कारण पढाइलेखाइमा मात्र होइन, हरेक क्षेत्रमा उनीहरुपछि पर्छन् । जसले गर्दा उनीहरुको आत्मबल झनै कमजोर हुन पुग्दछ । कतिपय यस्ता विद्यार्थी चुरोट, जाँडरक्सी तथा लागुपदार्थको कुलतमा पर्ने गर्छन् भने कतिपयले आत्महत्या समेत गर्ने गर्छन् ।
स्नायुविज्ञानको भाषामा डिप्रेसनलाई नक्कली भुल्ने रोग (सिउडो डिमेंसिया) पनि भनिन्छ । वास्तवमा यो भुल्ने रोग (एमेंसिया) वा डिमेन्शिया त होइन, तर त्यस्तै–त्यस्तै नक्कल देखाउने रोग हो । यो रोगले मानिसको प्रक्रियागत मेमोरीमा त कुनै असर गर्दैन, तर फ्याक्ट मेमोरीलाई भने प्रभावित गर्दछ । उदारहणका लागि डिप्रेसनबाट पीडित व्यक्तिले जुत्ताको तना बान्न वा साइकल तथा गाडी चलाउन बिर्सिंदैनन्, तर चिनेजानेको मानिसको नाम बिर्सन सक्छन्, हातमै घडी बाँधेर घडी खोजिरहेका हुन सक्छन् । मोजा हातमै समाएर हिजो राखेको मोजा कहाँ छ भनेर कराइरहेका हुन सक्छन् ? यही कारण डिप्रेसनको प्रकोपमा परेका विद्यार्थीले पढेको राम्रोसँग बुझ्न सक्दैनन्, जे जति बुझेका हुन्छन्, त्यो पनि छिट्टै बिर्सिन्छन् ।
वास्तवमा डिप्रेसन यस्तो मनोवैज्ञानिक समस्या हो, जसले नक्कली भुल्ने रोग मात्र पैदा गर्दैन कि मानिसलाई नै एउटा जिउँदो लाश बनाइदिन्छ । डिप्रेसनलाई सानोतिनो समस्या सम्झनु हँुदैन, यो मनोदैहिक समस्या हो, यसले मन र मस्तिष्कलाई त असर गर्छ गर्छ, शरीरका सम्पÒर्ण भागमा नै कुप्रभाव पार्दछ, मुटुको रोग पैदा गर्ने एउटा कारण डिप्रेसन पनि हो । त्यसैले त चर्चित राजनीतिज्ञ तथा साहित्यकार विंस्टन चर्चिल, जो आफैँ कुनै बेला डिप्रेसनको चपेटामा परेका थिए, ले डिप्रेसनलाई ‘ब्लैक डग’ भनेका छन् ।
डिप्रेसनको लक्षणः
डिप्रेसनको मूल लक्षण भनेको उदासिनता तथा खिन्नता हो । डिप्रेसनबाट पीडित व्यक्तिको मन सधै उदासी र निराशाले घेरिएको हुन्छ । कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन । डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशा भन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ । तर डिप्रेसनमा चाहीँ यस्तो हँुदैन । कडा खालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन् ।
अतः उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमि आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरू मध्य तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नु पर्ने हुन्छ । यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गंभिर स्थितिलाई दर्शाउँछ ।
डिप्रेसनको कारणः
डिप्रेसनको कुनै एक कारण छैन । डिप्रेसन विभिन्न कारणहरूले पैदा हुने गर्छ । जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा समाजिक कारणहरू । तर अधिकांश डिप्रेसनको कारण मनोवैज्ञानिक नै हो । जस्तो कि घर छोडेर कलेज पढ्न आएका विद्यार्थीको हकमा पहिलो पटक परिवारबाट टाढा हुनु । नयाँ वातावरणमा आफुलाई नितान्त एक्लो महसुस गर्नु । पैसाको चाजोपाजो मिलाउन कठिन हुनु आदि । यस्तै गरी पढाइलेखाइको अध्याधिक चाप । ब्रेक-अप, आपसी तथा पारिवारिक सम्बन्ध विग्रनाले पनि विद्यार्थी डिप्रेसनको चपेटामा पर्न सक्छन् ।
समस्याको समाधानः
डिप्रेसन उचित औषधोपचारबाट ठीक हुन्छ । औषधिको अतिरिक्त मनोपरामर्शद्धारा पनि डिप्रेसन ठीक हुन्छ । अधिकांश विदेशी मनोचिकित्सकहरुले डिप्रेसनको उपचारका लागि औषधिसँगै मनोपरामर्श (साइकोथेरापि) लाई उपयोगमा ल्याउँछन् । नेपालमा भने मनोपरामर्श सेवा सर्वसुलभ नभएका कारण चिकित्सकले औषधिलाई नै जोड दिन्छन् । तर कम कडा खालको डिप्रेसनको उपचारमा औषधि भन्दा मनोपरामर्श नै उत्तम मानिन्छ । यसका साथै डिप्रेसनको प्रभावकारी उपचारमा विरामी स्वयंको, परिवार तथा साथीसंगीहरुको महत्वपुर्ण भुमिका रहन्छ ।
विरामीले गर्नु पर्ने कामः
डिप्रेसनबाट पीडित व्यक्तिले शंका लागेमा छिटो भन्दा छिटो मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ । जति छिटो औषधोपचार गरियो त्यत्ति नै छिटो डिप्रेसन ठीक हुन्छ, पुनः हुने सम्भावना पनि कम हुन्छ । चिकित्सकको परामर्श अनुरुप औषधि खाने तथा गृहकार्य गर्ने । ठुलो कार्यलाई सानो सानो भागमा बाँढेर पालैपालो गर्ने । एक्लै नबस्ने । साथी तथा परिवारका सदस्यसँग आफ्नो समस्या बाढ्ने । ठुला ठुला निर्णयहरु आफैं नगर्ने । यस्ता निर्णयहरु लिनुपर्दा साथी वा परिवारका सदस्यहरुको सहयोग लिने । हल्का किसिमका व्यायामहरु गर्ने । हास्यब्यांगे सिनेमाहरु हेर्ने तथा मनोरंजनका क्रियाकलापहरुमा सहभागी हुने ।
साथीसंगीले गर्नु पर्ने कामः
आफ्नो कुनै साथीमा डिप्रेसनको लक्षण देखिएको छ भने उसलाई चिकित्सकसँग सम्पर्क राख्न सल्लाह दिने । उपचारप्रति ऊ उदासिन देखिएको खण्डमा मनाएर उसलाई चिकित्सकहाँ लिएर जाने । विरामी साथीलाई सक्दो सहयोग गर्ने, उसको समस्यालाई मनन् गर्ने तथा उसलाई उत्साह तथा हौसला दिने । यदि विरामी साथीले ‘दिनदिनै मरिमरि बाँच्नु भन्दा एक दिन मर्न निको’ जस्ता कुराहरु गरेको खण्डमा उसको परिवारको सदस्यहरु तथा उसको उपचारमा संलग्न चिकित्सकलाई जानकारी दिने । साथीलाई खेल्न तथा घुमफिर गर्न लिएर जाने ।
कलेजको भुमिकाः
कलेजमा डिप्रेसन न्युनीकरण गर्नाकालागि कलेजको महत्वपुर्ण भुमिका रहन्छ । त्यसैले हरेक कलेजले आफ्ना विद्यार्थीलाई डिप्रेसन तथा अन्य मानसिक रोगहरुबाट जोगाउन मनोपरामर्श सेवाको व्यावस्था गर्नुपर्छ । विद्यार्थीहरु शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको खण्डमा नै कलेजले आशातीत शैक्षिक सफलता प्राप्त गर्न सक्दछ ।
सम्पर्क:
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19







No comments:
Post a Comment