Monday, July 6, 2020

ब्रेन बाइट्स

के मानिसले आँखा नै बन्द गरेर देख्न सक्छन् ?
(ब्लाइण्डफोल्ड रिडिङको सत्यता)
ओम बानियाँ
केही वर्ष पहिला एक टेलिभिजन कार्यक्रममा अविरल नामक बालक देख्न पाइयो । रुमालले आँखा छोपेर पनि उनले देख्न सकेको पढ्न सकेको देख्दा धेरैलाई अचम्म लाग्यो । धेरैले उनलाई विलक्षण, अद्भूत तथा अलौकिक प्रतिभाको संज्ञा दिए । भारतमा त यस्ता बालबालिकाहरु चोकचोकहरुमा गल्लि गल्लिहरुमा छयापछाप्ती देख्न पाइन्छ । केही वर्ष पहिला प्रसिद्ध संगीतकार अन्नू मल्लिक तथा फिल्म निर्देशक फरहा खान जज भएको एक टेलिभिजन कार्यक्रममा एक बालिकाले यसरी नै आँखा बन्द गरेर देख्न सकेको पढ्न सकेको धेरैले हेरेको हुनुपर्छ । उक्त बालिकालाई दर्शकदीघ्राले मात्र होइन, अन्नू मल्लिक तथा फरहा खानले समेत खुब प्रशंसा गरेका थिए । अब प्रश्न उठ्छ । के मानिसले आँखा नै बन्द गरेर देख्न सक्छन् ? के कुनै ट्रेनिङबाट यस किसिमको क्षमता विकास हुन सक्दछ ? मिडब्रेन एक्टिभेसन वर्कसप चलाउनेहरुको दावी छ, सक्छ ।  उनीहरुको भनाइ छ, ब्लाइंडफोल्ड ट्रेनिङबाट मिडब्रेन एक्टिभेट हुन्छ र मिडब्रेन एक्टिभेट भएपछि बालबालिकाहरुको मस्तिष्क शक्ति, ज्ञानेन्द्रिय शक्ति तथा बौद्धिक क्षमता चमत्कारीकरुपमा बढ्छ । यस्ता बालबालिकाहरुले आँखा बन्द गरेर नै देख्न तथा पढ्न सक्दछन् । सुघेर तथा सुनेर समेत बस्तु पहिचान गर्न सक्दछन् ।


के हो मिडब्रेन ट्रेनिङः
 १० वर्ष अघि भारत लगायतका देशहरुमा भित्रिएको मिडब्रेन एक्टिभेसन नामक ट्रेनिङको अहिले बाढी आएको छ । मोटो रकम असुलेर यस्ता ट्रेनिङ गराउन संस्थाहरु भारतका गल्लीगल्लीहरुमा छयापछयाप्ती छन् । नेपालका केही ठाउँहरुमा पनि यस्ता संस्थाहरु खुलेको सुन्न आएको छ । जापानमा विकास भएको भनिएको यस ट्रेनिङ  मिडब्रेन एक्टिभेसन ट्रेनिङ, ब्लाइंडफोल्ड ट्रेनिङ तथा सेन्सइनहान्सर ट्रेनिङ आदि जस्ता नामहरुमा गराउने गरेको पाइएको छ । 

वायाँ मस्तिष्क र दायाँ मस्तिष्कलाई जोड्ने एक हिस्सा हुन्छ, जसलाई इंटर ब्रेन वा मिड ब्रेन भनिन्छ । अधिकांश मानिसले वायाँ मस्तिष्क उपयोग गर्छन्, जवकी दायाँ मस्तिष्क कम उपयोग हुन्छ । यदि बीचको मिडब्रेन एक्टिभ भयो भने मानिसमा अद्भुत प्रतिभा विकास हुने कतिपयको भनाई छ । यही सिद्धान्तलाई ध्यानमा राखेर नै मिडब्रेन एक्टिभेसन टेक्निक विकास गरिएको देखिन्छ । 


मिडब्रेन एक्टिभेसन ध्यान र विज्ञानको संयोगबाट विकास गरिएको टेक्निक भएको भनाई यसका पक्षधरहरुको छ । साधारणतथा यो कोर्स २ दिनको हुन्छ । ६, ६ घण्टाको २ दिने वर्कसपपछि हप्ताको एक पटक फलोअप हुन्छ । त्यसपछि दैनिक १०, १५ मिनेट यो अभ्यास घरमै गर्नुपर्ने हुन्छ । यो कोर्स ५ देखि १५ वर्ष उमेरका बालबालिका मात्र गराइन्छ । १५ वर्षपछि मिडबे्रन एक्टिभेसन हुने संभावना न्युन भएकाले यो कोर्स १५ वर्ष मुिनका बालबालिकाहरुलाई गराइने भनाई यस ट्रेनिङका प्रशिक्षकहरुको छ ।


यस वर्कसप गरेर केही महिना अभ्यास गर्ने हो भने बालबालिकाहरुको मस्तिष्क शक्ति, स्मरणशक्ति, ज्ञानेन्द्रिय शक्ति, एकाग्रता, विश्लेषणात्मक शक्ति,ईक्य, आईक्य, सृजनशीलता, कल्पनाशीलता, आत्मविश्वास बढ्ने तथा आँखा बन्द गरेर नै देख्न सक्ने, पढ्न सक्ने क्षमता विकास हुने दावी वर्कसप संचालकहरुको छ । यस ट्रेनिङ गरेका बालबालिकाहरुले आँखा छोपेर नै किताब पढेको, साइकल तथ मोटरसाइकल चलाएको देखेपछि आफ्ना छोराछोरीहरुमा पनि यस्तै क्षमता विकास होस् भन्ने लालसाले यसप्रति अभिभावकहरुको आर्कषण बढ्दो छ । तर यस ट्रेनिङ चिटिङ भएकाले यसप्रति सचेत हुनु पर्ने कतिपय विशेषज्ञहरुको सुझाव छ । 


सत्य के हो ?

मिडब्रेन एक्टिभेसन ट्रेनिङ विज्ञान सम्मत छैन । ब्लाइंडफोल्ड रिडिङलाई स्नायुवैज्ञानिकहरुले ठाडै अस्विकार गर्छन् । उनहरुको भनाइ छ, यस किसिमको ट्रेनिङबाट न त मिडब्रेन एक्टिभेट हुन्छ, न त मानिसले आँखा बन्द गरेर देख्न सक्दछ । भारतका चर्चित रेसनालिष्ट डा. नरेन्द्र नायकले सार्वजनिक रुपमा नै यस ट्रेनिङलाई झुटो सावित गरिदिएका छन् । उनको भनाइ छ यस ट्रेनिङमा बे्रेनको ट्रेनिङ होइन कि बालबालिकालाई ब्लाइंडफोल्डको तल्लोचरबाट हेर्ने ट्रिक सिकाइन्छ । यस्तो क्षमता भएको भनिएका बालबालिकाहरुको आँखा बन्द गराइ टेप लगाइदिने हो भने यस ट्रेनिङको हावा निस्किने उनको भनाइ छ । डा. नायकले उनको सामु यदि कसैले यस्तो क्षमता प्रर्दशन गर्न सक्छन् भने १० लाख पुरस्कार दिने घोषणा समेत गरेका छन् । 


यहाँ उल्लेखनीय कुरा के भने मिडब्रेन एक्टिभेसन ट्रेनिङका समर्थकहरुले जेजस्तो दावी गरे पनि यस्तो ट्रेनिङ लिएका बालबालिकाहरुमा यो ट्रिक क्षमता बाहेक अन्य कुनै मानिसक क्षमताहरु विकास भएको देखिँदैन । उनीहरुको आईक्यु, ईक्य, सोचसमझ तथा शैक्षिक स्तरमा पनि कुनै तात्विक फरक भेटिँदैन । तब यस ट्रेनिङको औचित्य के ? आँखा बन्द गरेर पनि पढ्न सक्छु भन्ने कुरा देखाउनका लागि मात्र ? त्यसैले यो झुटको खेती बाहेक अरु केही होइन । अर्को कुरा यो ट्रेनिङ आँखा नदेख्ने बालबालिकाहरुलाई गराएको पनि पाइँदैन । यदि यो ट्रेनिङ सत्य हुन्थ्यो भने अन्धा व्यक्तिहरुले यस ट्रेनिङ गरेर सामान्य व्यक्तिझैं लेखपढ गर्न सक्ने थिए, हिँडडल गर्न सक्थे ।   
अन्तमाः

हो, मानिसको ब्रेन निकै रहस्यमय छ, ब्रह्माण्ड जस्तै । यसको धेरै रहस्य पत्ता लगााउन बाँकी नै छ । तर विज्ञानले पनि मानेको कुरा के भने जसरी शारीरिक व्यायामबाट शारीरिक शक्ति बढ्छ, मांशपेशी मजबुत हुन्छ, त्यसरी नै उचित ढंगले ब्रेनको व्यायाम गर्ने हो भने मस्तिष्क शक्ति बढ्न सक्दछ । स्मरण शक्ति बढ्न सक्दछ । तर मिडबे्रन एक्टिभेसन कोर्स गरेका बालकालिकाहरुमा एक रत्ति पनि मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढेको पाइँदैन । तसर्थ ब्लाइण्डफोल्डको तल्तिरबाट हेर्ने ट्रिक सिकेर नै बालिबालिकाहरुले यस्तो तथाकथित क्षमता प्रदर्शन गरेका हन भन्ने डा. नायकको भनाईमा दम छ ।  अतः मिडबे्रन एक्टिभेसन वर्कसप पूर्णतया चिटिङ भएको प्रमाणीत भैसकेको छ । त्यसैले आँखा बन्द गरेर पनि कसैले कसरी देख्न सक्दछ भन्ने कमनसेन्स समेत राख्न नसकेर यस्ता बालबालिकाहरुलाई मिडियामा प्रस्तुत गरेर यस्ता झुटो ट्रेनिङलाई प्रोत्सान गर्नु पनि ठीक होइन । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)
सम्पर्क:
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

 

No comments:

Post a Comment