Sunday, July 26, 2020

ब्रेन बाइट्स

लक्ष्यमा ‘अर्जुनदृष्टि’ 
ओम बानियाँ 
हाभारतका अर्जुन श्रेष्ठ धनुर्धर थिए । उनको निशाना अचुक थियो । उनले महाभारतको यूद्धमा भीष्म, द्रोणाचार्य तथा कर्ण जस्ता महारथिहरूलाई हराएर महानतम् यूद्ध कौशलता देखाएका थिए । उनी धनुष विद्यामा जति निपुर्ण थिए, त्यति नै लक्ष्यप्रति सचेत र अटल थिए । तर मजाको कुरा के भने ती श्रेष्ठ धनुर्धर अर्जुनलाई तपाईंले पनि सजिलै पर्छान सक्नुहुन्थ्यो । यसकालागि तपाईं धनुष विद्यामा निपुर्ण हुन आवश्यक थिएन । तपाईंले केटाकेटीमा खेलौना धनुष चलाएको भए पनि तपाईंले अर्जुनले भन्दा पनि सही निशाना लगाउन सक्नुहुन्थ्यो । यो कुरा सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । तर यस कुरामा अचम्म मान्नु पर्दैन । यो साँचो हो, यो सत्य हो । तर यसकालागि अर्जुनको आँखामा कालो पट्टि बाँधेर, उनलाई ५–६ पटक दायाँतिरबाट, अनि वायाँतिरबाट पालै–पालो वरिपरि घुमाउन जरूरी थियो । यो कुरा सुनेर तपाईं भन्न सक्नुहुन्छ, “कस्तो कुरा गर्नुभएको यो, लक्ष्य नदेखिकन कसैले कसरी सही निशाना लगाउन सक्दछ ?”   



हो, यो ज्यादै उत्तम प्रश्न हो । तर यो प्रश्नसँगै अर्को पनि प्रश्न उठ्छ, श्रेष्ठ धनुर्धर अर्जुनले लक्ष्य देख्न नपाएर सही निशाना लगाउन सकेनन् भने अब तपाईं नै भन्नुहोस्, लक्ष्य नबनाइकन तपाईं कसरी लक्ष्यमा पुग्न सक्नुहुन्छ ? अतः लक्ष्यमा पुग्न लक्ष्य बनाउन आवश्यक छ । र, हरेक मानिसले मनुष्य जीवनलाई सार्थक बनाउन जीवनको लक्ष्य बनाउन अत्यन्तै जरुरी छ । त्यसैले त लक्ष्यको महत्वमाथि प्रकाश पार्दै डा. मार्टिन लुथर किंग जुनियरले भनेका छन्, “मानिसले कुनै महान् उद्देश्यकालागि मरिमेट्ने संकल्प गर्दैन भने उसको जीवन नै वेकार छ ।” हुन पनि हो, लक्ष्यविहीन जीवन पशुतुल्य हुन्छ । तपाईंलाई थाहा नै छ, पशुपंक्षीहरूको कुनै उद्देश्य हँुदैन, कुनै लक्ष्य हुँदैन । पशुहरू जन्मन्छन्, खाने कुरा खोज्छन्, पेट भर्छन्, बच्चाहरू जन्माउँछन्, मर्छन् । पशुहरूले कुनै महान कार्य गर्दैनन् । पशुहरूले इतिहास पनि रच्दैनन् । मात्र जन्मिन्छन, अनि मर्छन । त्यसैले एउटा गंभिर प्रश्न उठ्छ, के सृष्ट्रिकै सबै भन्दा विकसित प्राणी, मानिसले पनि यस्तै पशुतुल्य जीवन जीउन सुहाउँछ त ? पक्कै सुहाउँदैन । त्यसैले मानिसले जीवनमा कुनै न कुनै महान् लक्ष्य अवश्य नै बनाउनुपर्छ । नत्र मार्टिनले भनेझै मानिसको जीवन नै बेकार हुन्छ । मानिस मनको दास, जीउँदो लाश बन्न पुग्छ ।

हिन्दुस्थानका महात्मा गान्धीले भारत आजाद गर्ने लक्ष्य लिएका थिए । अब्राहम लिंकनले अमेरिकी राष्ट्रपति बनि रङ्गभेद विहिन नयाँ अमेरिका बनाउने लक्ष्य लिएका थिए । कार्ल माक्र्सले गरीब र शोषित जनताको मुक्तिकालागि राजनीति शास्त्र बनाउने लक्ष्य लिएका थिए । माओत्सेतुङले च्याङ्काई सेकको साम्राज्य ध्वस्त पारेर चीनमा जनवादी सत्ता स्थापना गर्ने लक्ष्य लिएका थिए । तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखरमा पाइला टेकी नेपालको झण्डा फरफराउने लक्ष्य लिएका थिए । त्यसैले त उनीहरू अ–आफ्नो लक्ष्यमा पुग्न सके । याद राख्नुहोस्, जसले लक्ष्य बनाउँछ, ऊ नै लक्ष्यमा पुग्न सक्छ । लक्ष्यविहिन त जहाँको तही नै रहन्छ । तर ख्याल गर्नुहोस्, केवल इच्छा गर्नु लक्ष्य होइन, लक्ष्य भनेको अर्जुनले देखेको चराको आँखा हो । 

द्रोणाचार्यले धनुष प्रशिक्षण दिइरहेका थिए । कौरव तथा पाण्डव पुत्रहरू, सबै चौरमा एकतित्र थिए । रूखमा एउटा चरा झुण्डाइएको थियो । द्रोणाचार्यले सबै प्रशिक्षार्थीहरूलाई चराकोे आँखामा निशाना साध्नु पर्ने बताएका थिए । निशाना साध्नु भन्दा पहिला द्रोणाचार्यले सबैलाई एउटै प्रश्न सोध्ने गरेका थिए, “तिमीलाई के देखाइदिएको छ ?” कसैले रूखको हाँगा भने, त कसैले क्षितिज भने, कसैले चरा भने । थुप्रै चेला–चपेटाहरू आए, गए । त्यसपछि बाण लिएर दÒर्योधन आए । द्रोणाचार्यले दुर्योधनलाई पनि त्यही प्रश्न गरे । दुर्योधनले जँुगा मसार्दै भने, “मलाई त रूखको हाँगामा झुण्डिएको एउटा भँगेरा देखाइदिएको छ ।” द्रोणाचार्य दुर्योधनको जवाफबाट पनि सन्तोष भएनन्, उनलाई पनि अर्को लाइनमा खडा हुने संकेत गरे । दुर्योधन रिसाउँदै गए । अब अर्जुनको पालो आयो । द्रोणाचार्यले अर्जुनलाई पनि त्यही प्रश्न गरे । अर्जुनले भने, “गुरुवर मलाई आँखा देखाइदिएको छ ।” गुरु द्रोणाचार्यले अर्जुनको पिठिउँ थपथपाउँदै भने, “अर्जुन बाण चलाऊ ।” अर्जुनले बाण चलाए, बाण सीधै चराको आँखामा रोपियो ।


अर्जुनदृष्टि भनेको नै यही हो । त्यसैले लक्ष्य बनाएर लक्ष्यमा अर्जुनदृष्टि साध्ने हो भने अर्जुनको मात्र होइन । हरेक मानिसको जीत निश्चित छ । 

पाईंलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्राउन सकिन्छ ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहँु फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहँु फलाउन गहँु । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागु हुन्छ । मानिसको मनमस्तिष्क पनि एक प्रकारको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ । हुर्किन्छ । फुल्छ । फल्छ । तर विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नु जस्तै हो । के यो सम्भव छ ? त्यसैले एउटा कुरा के निश्चित छ भने तपाईले जे चाहनुहुन्छ, त्यही पाउनुहुनेछ । विफलता चाहनुभयो भने विफलता पाउनुहुनेछ । सफलता चाहनुभयो भने सफलता नै पाउनुहुनेछ ।

याद राख्नुहोस्, तपाईं अहिले जे हुनुहुन्छ, तपाईंले हिजो त्यही नै चाहनु भएको थियो । आज जे चाहनुहुन्छ भोलि त्यही नै पाउनुहुनेछ । त्यसैले जाग्नुहोस् । उठ्नुहोस् । तपाईं नउठी हँुदैन । आजै, यसै बेला उठिहाल्नुहोस् । तर, तपाईं मध्ये कतिपयलाई लागिरहेको होला, पुरा जीवन नै त्यसै छ, अहिल्यै केको हतारो ? तर विचार गर्नुहोस् त, एउटा मानिसको आयु कति नै हुन्छ र ? सालाखाला ८० वर्ष नै लगाइदिने हो भने पनि ४० वर्ष त सुतेर नै बित्छ । लगभग ५ वर्ष केटाकेटीपनमा नै बित्छ । त्यसपछिको लगभग १५ वर्ष पढाइलेखाइमा बित्छ । कम्तीमा पनि १० वर्ष जति समय खानपिन, भेटघाट, गफगाफ र मनोरञ्जनमा बित्छ । अब वाँकी रह्यो १० वर्ष, यो १० वर्षमा तपाईंले केके गर्नुहुन्छ ? त्यसैले त एक मिनेट पनि ढिला नगरी उठी हाल्नुहोस् । उठ्नु भयो ? अब आफ्नो मनमस्तिष्कमा कुन बीज रोप्ने हो, छनौट गर्नुहोस् । आँप रोप्ने हो कि कटहर ? धान रोप्ने हो कि गहँु ? कोदो रोप्ने हो कि फापर ? छनौट गर्नुहोस् । मनोभावको परिश्रमले जमीन तयार पार्नुहोस् । बुद्धिविवेकको पैसाले बीउ खरीद गर्नुहोस् । एकाग्रचित्तले बीउ रोप्नुहोस् । र, विश्वासको पानीले सिचार्इं गर्नुहोस् । प्रयत्न र कडा प्रयत्नले गोडमेल गर्नुहोस् । आशा र धैर्यको उकेरा लगाउनुहोस् । त्यसपछि तपाईंले रोपेको आँप हुर्किनेछ । फुल्नेछ, लटरम्म फल्नेछ । तर एउटा उल्लेखनीय कुरा के भने बोटबिरुवाकालागि उपयुक्त माटो र हावा पानी चाहिन्छ । जुनसुकै बिरुवा जुनसुकै माटो र जलवायुमा उम्रिन सक्दैन, हुर्किन सक्दैन । फुल्न र फल्न सक्दैन । तराईमा स्याउ फलाउन सकिँदैन, हिमालमा आँप । हिउँदमा धान रोप्न हँुदैन, वर्षायाममा गहँु । यो प्रकृतिको नियम नै हो । यो नियम मानव जीवनमा पनि लागू हुन्छ । त्यो किनभने मानिस पनि प्रकृतिकै एउटा अंग हो । त्यसैले तपाईंले जस्तो किसिमको सफलता चाहनु भएको छ, त्यस्तै मनस्थिति छनौट गर्नुपर्ने हुन्छ । विफलताको मनस्थितिमा सफलताको चेतना जागृत हुन सक्दैन । सफलता चेतना जागृति नभई कुनै मानिस ‘सफल’ हुन सक्दैन । यो निश्चित छ । यो नै मस्तिष्क विज्ञान हो । 

तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्नुपूर्व सगरमाथा चढ्ने प्रयासमा थुप्रै हिमाल आरोहीहरू सगरमाथाको फेदमा नै हराएका थिए, बेपत्ता भएका थिए । त्यसैले, त्यतिखेर सगरमाथा आरोहण अकासको फल मानिन्थ्यो, एउटा असम्भव कार्य ठानिन्थ्यो । तर तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले मानिसका लागि कुनै कार्य असम्भव छैन भन्ने मनोविज्ञान बुझे । र, सगरमाथाको शिखरलाई अर्जुनदृष्टिले साध्दै दृढसंकल्पको मुठ्ठी कसे । अनि छाती फर्काउ“दै सगरमाथाको शिखरतिर आफ्ना मजबुत पाइलाहरू चाले र २९ मई १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो, संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा पहिला पाइला टेकेर ‘विजयको झण्डा’ गाडे । हेर्दाहेर्दै हिउँबाघहरूले तीन त्रिभुवन हल्लाइदिए, असम्भवलँई सम्भव बनाएर देखाइदिए । त्यसैले त सगरमाथा आरोहण अहिले सम्भव कार्य मानिएको छ । तर मानिसकालागि सबै कुरा सम्भव छ भनेर डोकोमा दूध दुहेर अडिँदैन । सगरमाथा आरोहणकालागि आरोहणको पूर्वाभ्यास गर्नुपर्छ । दृढ अठोट र आरोहणको पूर्वाभ्यास बिना कुनै श्यामे वा च्यामे सगरमाथा चढ्न सक्दैनन् । बुझ्नु पर्ने कुरा यही हो ।


याद राख्नुहोस्, महान् पर्वतारोही तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारी घुम्दाघुम्दै सगरमाथाको शिखरमा पुगेका होेइनन् । दृढसंकल्प, अथक मेहनत र लक्ष्यप्रतिको अटल विश्वासले नै सगरमाथाको शिखरमा पाइला टेकी ‘विजयको झण्डा’ फर्फराएका हुन् । त्यसैले जसले यो मस्तिष्क विज्ञान बुझी आफ्नो निर्दिष्ट ‘लक्ष्य’ पूरा गर्ने दिशामा, ‘अर्जुनदृष्टि’ साधेर, उच्च अठोटकासाथ अगाडि बढ्छ, ऊ अवश्य नै आफ्नो लक्ष्यमा पुग्दछ । यस कुरामा कुनै शंका छैन । 
त्यसैले उठ्नुहोस् ।
जाग्नुहोस् ।
लक्ष्यमा ‘अर्जुनदृष्टि’ साध्नुहोस् ।
 दृढसंकल्पका साथ अगाडि बढ्नुहोस् ।
‘जीत’ तपाईको निश्चित छ ।

Thursday, July 23, 2020

ब्रेन बाइट्स

द माइण्ड अफ द निमोनिष्ट
ओम बानियाँ 

    एक पटक स्वामी विरजानन्द, भारत—ऋषिकेशको एउटा नदीमा स्नान गर्दै थिए । कतैबाट दुई जना अंंग्रेजहरू त्यहीँ नदीको तिरमा आए । र, आपसमा झगडा गर्न थाले । झगडाले उग्ररूप लिन थाल्यो । हात हालाहाल नै भयो । दुवै रताम्मे भए । यो खवर अंग्रेज अफिसर कहाँ पुग्यो । खबर पाउनासाथ अफिसर घटना स्थलमा आए । अनि दुवैलाई केरकार गर्न थाले । तर दुवैले एक अर्कोलाई दोष दिन थाले । गवाह बिना अफिसरलाई दोषी छुटाउन गाह्रो प¥यो । अफिसरले सोधे, तिमीहरूको झगडा देख्ने कोही थियो यहाँ ? दुवैले भने, देख्ने त कोही पनि थिएनन्—तर ऊ त्यो अन्धो साँधुले हाम्रो झगडा सुनिरहेको थियो । अफिसर स्वामी नजिकै पुग्यो । र, सोध्यो, स्वामीजी तपार्इंले यिनीहरूको आपसी झैझगडा सुन्नु भएको थियो ? स्वामीजीले भने, सुन्न त सबै कुरा सुनेको थिए, तर बुझिन् । मलाई अंगे्रजी आउँदैन । तर यिनीहरूले बोलेका सबै शब्दहरू म भन्न सक्दछु । अनि स्वामी विरजानन्दले फरर्र अंगे्रजी बोल्न थाले । स्वामीको त्यो अद्भुत स्मरणशक्ति देखेर तीनै अंगे्रजहरू तीनछक परे । 


    धेरै पहिलाको कुरा हो, जर्मनीको हैगन शहर स्थित एक बैंकमा भयंकर आगलागी भयो । आगलागीमा परि बैंकका सबै रिकर्ड तथा हिसाबकिताबहरू खरानी  भए । अर्को दिन बैंकमा ग्राहकहरूको ठुलो भीड लाग्यो । ग्राहकहरूले बैंक प्रबन्धकसँग आफ्नो हिसाबकिताब माग्न थाले । तर खातापाता बिना बचतकर्ताको दावीको किनारा लगाउन असम्भव थियो । यस्तो विषम परिस्थितिमा बैंकमा कार्यरत एक लेखापालले सबै समस्याको हल गरिदिए । लेखापालले बताएको मौखिक हिसाबकिताब एकदमै सही थियो, सबै ग्राहकहरू सन्तुष्ट थिए । त्यति ठुलो बैंकको त्यति धेरै ग्राहकको हिसाबकिताब याद राख्ने ती लेखापालको नाउँ थियो, बर्थोल्ड नीव्डुर । 

    बेलायती निवासी फिल्डिड्ढ जन्मिदै अन्धा थिए, कत्ति पनि देख्न सक्दैन्थे । तर उनको मेमोरी ज्यादै अद्भुत थियो । उनलाई करीब दस हजार व्यक्तिहरूको नाम, ठेगाना तथा व्यावसाय कण्ठ थियो । यति मात्र कहाँ हो र ? उनले ती दस हजार व्यक्तिहरू मध्य जोसुकैको पनि आवाज मात्र सुनेर उनीहरूको नाम बताउन सक्थे ।

    फ्रान्सका पुर्व प्रधानमन्त्री मेम्बे्रज लियानको मेमोरी पनि ज्यादै चमत्कारीक थियो । उनलाई प्रतिपक्ष दलका सांसदहरूद्वारा संसद्मा दिएका भाषणहरूका एक–एक शब्दहरू तथा संसद्मा पेश गरिएका गत वर्षहरूका तमाम बजेटहरूका एक–एक शब्द, अंक, तथा तथ्यांकहरू कण्ठ थियो ।

    हार्वर्ड ल स्कुलका डीन रास्को पाउण्डको मेमोरी पनि ज्यादै विलक्षण थियो । पाउण्ड ल स्कुलका डीन मात्र होइन कि एक ज्यादै सफल वकिल पनि थिए । उमेरसँगै उनको आँखा कमजोर हुन थाले पछि उनले आँखाको ठाउँमा मस्तिष्क प्रयोग गर्न थाले, पाउण्ड पुर्णतया अन्धो भएता पनि उनको मेमोरी विलक्षण हुन गयो, जसले गर्दा उनको कानुनी बहस झनै खारियो । उनले बहसको दौरानमा फलानो किताबको फलानो संस्करणको फलानो पानामा.. भनेर सही–सही उद्धरण दिने गर्थे ।

    भाारतका स्वामी विवेकानन्दको मेमोरी पनि ज्यादै विलक्षण थियो । अमेरिका यात्राको दौरान, विवेकानन्दले शिकागो पुस्तकालयबाट एउटा वृहत विश्वकोश राती हेर्न लगे, बिहान त्यो विश्वकोष फर्काउदा उनलाई विश्वकोशका सबै पृष्टहरू हुबहु, जस्ताको तस्तै याद थियो ।

    रुसका एस.बी. शेरेस्वस्की एक साधारण पत्रकार थिए । तर उनको स्मरणशक्ति ज्यादै अद्भुत थियो । रिर्पोटिंगका लागि उनलाई कागजकलम तथा टेपरिर्कडर आदिको आवश्यकता पर्दैन्थ्यो । उनले सुनेका, पढेका तथा अनुभव गरेका जुनसुकै विषयहरू पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे । उनलाई विदेशी भाषाको कविता समेत हुबहु याद हुन्थ्यो ।


हिजो मात्र होइन आज पनि यस संसारमा यस्तो तीक्ष्ण स्मरणशक्ति भएका मानिसहरू थुप्रै छन् । यस्ता विलक्षण मानिसहरुले मेमोरी टेक्निक प्रयोग गरेर नै शक्तिशाली स्मरणशक्ति बनाएका हुन् । 

रुसका स्नायुमनोवैज्ञानिक ए.आर. लुरियाले एस.बी. शेरेस्वस्की स्मरणशक्तिका वारेमा लामो अध्ययन अनुसंधान गरे । उनका अनुसार शेरेस्वस्कीले १४ वर्ष पहिला बताएको निरर्थक शब्दहरूको समूहलाई समेत सही सही बताएको पाए । डा. लुरियाले आफ्नो अध्ययनबाट शेरेस्वस्कीले याद गर्नुपर्ने कुराहरूलाई सम्बद्ध (लिंक) तथा भिज्यूलाइज गरेर याद गर्ने गरेको तथ्य पनि फेला पारे । उनले याद गर्न पर्ने कुराहरूलाई रगिंन बनाएर र एक अर्कोसँग गाँसेर कल्पना चित्रमा उतार्थे । 


मेमोरी टेक्निकका बारेमा जानकारी नभएका मानिसहरूलाई यस्तो मेमोरी प्रर्दशनी ‘जादु’ जस्तो लाग्ने गर्छ । तर यो न त जादु हो न त जन्मिदै पुर्पुरोमा लिएर आएको क्षमता हो । मेमोरी टेक्निक सिक्ने हो भने जो सुकैले पनि यस्तो क्षमता प्रदर्शन गर्न सक्छन्, ७–८ वर्षका बालकालिकाले पनि ? मैले पनि मेमोरी टेक्निक सिकेको हुँ । मैले वैदिक ग्रन्थबाट धेरै मेमोरी टेक्निकहरू सिकेँ, सिक्दै छु ।  


वैदिक कालमा ऋषिमुनिहरु तथा उनका चेलाहरुले वैदिक मेमोरी टेक्निकद्धारा श्लोक तथा पाठहरु याद गर्थे । ५औं शताब्दीतिर ग्रीसमा पनि मेमोरी टेक्निकको खुब चर्चा थियो । तर बिचमा आएर मेमोरी टेक्निक मृत प्रायः भयो । अदभुत स्मरणशक्तिका पत्रकार शेरेस्वस्की अबगमनसँगै पुनः मेमोरी टेक्निकले चर्चा पायो । मेमोरिष्ट हैरी लोरेनको किताब, मेमोरी बुकले मेमोरी टेक्निकलाई संसारभरि फैलायो । अहिले त करोडौं मानिसहरुले मेमोरी टेक्निक सिकेर फाइदा लिइरहेका छन् । हुन पनि मेमोरी टेक्निकले कतिपय अवस्थामा कमाल नै देखाउँछ । यो टेक्निक विद्यार्थी तथा लेखकपत्रकारलाई मात्र उपयुक्त नभएर सबैका लागि उत्तिकै उपयुक्त छ ।   
अन्तमाः 
मेमोरी टेक्निकका पनि सीमाहरु छन् । हरेक कुराहरु याद गर्न यसको उपयोग गर्न कठीन हुन्छ । सबै भन्दा महत्वपुर्ण कुरा स्मरणको लागि पञ्च ज्ञानेन्द्रिय(आँखा, कान, नाक, जिब्रो तथा त्वचा) मार्फत् विषय मनमस्तिष्क स्टोर हुन आवश्यक छ । कुनै पनि किताब शब्द शब्द नपढीकन किताब हुबहु याद गर्न सम्भव छैन । (लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्। )


Tuesday, July 21, 2020

ब्रेन बाइट्स 

मेमोरीले कसरी काम गर्छ ? 
ओम बानियाँ 

मानिसको जीवनमा मेमोरीको ज्यादै ठूलो महत्व छ । घरबाट निस्किएको मानिस पुनः घर फर्किन देखि लिएर रकेट बनाउन र बनाएको रकेट उडाउन समेत मेमोरीको आवश्यकता हुन्छ । त्यसै भएर त एलेकजेण्डर स्मीथले भनेका नै छन्ः “मानिसको वास्तविक सम्पत्ति नै मेमोरी हो । अन्य कुनै कुराहरूले मानिसलाई धनी वा गरीब बनाउन सक्दैन ।” हुन पनि हो, तपाईं आफै एक क्षण सोच्नुहोस् त, मेमोरी नभए के हुन्छ ? र, मेमोरी तेज भए के हुन्छ ? त्यसैले पनि प्रत्येक मानिस आफ्नो मेमोरी तेज होस् भन्ने चाहन्छन् । र, मेमोरी बढ्छ कि बढ्दैन भन्ने प्रश्न गर्छन् । मसँग यस प्रश्नको एउटै जवाफ छ, मेमोरीको भाषा बुझेर निःसन्देह मेमोरी बढाउँन सकिन्छ । 


मानिसको मेमोरीले साहचर्यबाट कार्य गर्छ । जस्तो कि राम र श्याम मिल्ने साथी हुन् । रामसँग भेट भयो भने श्याम पनि स्मृतिमा प्रकट हुन सक्छ ! एकै छिन पानी शब्द सम्झिनुहोस् त । पानीसँगै नदी याद आउन सक्छ । अनि नदीका माछा याद आउन सक्छ । माछा खाएको याद आउन सक्छ । नदी नजिकैका रूख बिरूवाहरू याद आउन सक्छन् । रूखमा बसेको चरा याद आउन सक्छ । पानीसँगै समुद्र याद आउन सक्छ । पानी जहाज याद आउन सक्छ । र, कुनै बेला तपार्इंले पानी जहाजमा यात्रा गरेको याद हुन सक्छ । त्यस्तै गरी पानीसँगै वर्षा याद आउन सक्छ । वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउन सक्छ । वर्षाले बिजुली याद हुन सक्छ । बिजुलीसँगै घरको बल्ब याद आउन सक्छ । यसरी नै अनुभवहरू स्मृतिमा प्रकट हुने गर्छन् । यो नै मेमोरीको भाषा हो । 

स्नायूवैज्ञानिकहरूको भनाई के छ भने जब हामी कुनै कुराहरू सिक्छौ वा अनुभव गर्छौ तब मस्तिष्कमा केही चिन्हहरू बन्न पुग्छन्, जसलाई स्मृतिचिन्ह भनिन्छ । जबसम्म मस्तिष्कमा स्मृतिचिन्ह रहिरहन्छन् तबसम्म सम्बन्धित विषयको धारणा बनिरहन्छ । तर समय विलोपनसँगै तथा विविध कारणहरूले गर्दा स्मृति चिन्हहरू धमिलिदै जान्छन् र क्रमशः मेटिन्छन् । मस्तिष्कमा स्मृतिचिन्ह मेटिए पछि धारणा गर्ने सामाथ्र्य पनि नष्ट हुन्छ । जसले गर्दा हामीहरूले सिकेका र अनुभव गरेका कुराहरू याद गर्न सक्दैनौं । त्यसैले एकाग्रचित्त भएर, जसरी भण्डारमा सामग्रीहरू राख्दा मिलाएर वा ‘क्याप्सन’ दिएर राखिन्छ, ठीक त्यसै प्रकारले याद गर्नु पर्ने विषय तथा सूचनाहरू मन–मस्तिष्कमा मिलाएर संग्रह गर्ने हो भने याद गर्न सजिलो हुन्छ । यो नै तपाईहामीले आफ्नो मेमोरी बढाउने सर्वोत्तम उपाय हो । तर यसको लागि मेमोरीको प्रकृति थाहा हुनु पनि त्यत्तिकै जरूरी छ ।

मेमोरीको प्रक्रिया
मेमोरी एउटा जटिल मानसिक प्रक्रिया हो । र, मेमोरीका ३ प्रक्रियाहरूको हुन्छन्ः (१.) सिकाइ (२.) धारणा (३.) पुनःस्मरण, जसको यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
(१.) सिकाइः मेमोरी र लर्निङ अर्थात् सिकाइमा गहिरो सम्बन्ध छ । यदि कुनै कुरा सिकेको छैन वा अनुभूति नै गरएिको छैन भने त्यसको मेमोरी हुने सवालै हुँदैन । मेमोरी ती कुराहरूको हुन्छ, जुन पहिला सिकेका वा अनुभूति गरिएका हुन्छन् । सिकाइ प्रमुख रूपमा दुई प्रकारका हुन्छन् ।

(क.) सीपको सिकाइः कुनै पनि काम सिक्नुलाई नै सीपको सिकाइ (लर्निड्ड अफ स्किल) भनिन्छ । जस्तो कि जुत्ताको तना बाँध्ने, भात पकाउने कार्य देखि साइकल चलाउन सिक्नुलाई पनि सीपको सिकाइ भनिन्छ । यो सिकाइ प्रक्रियागत स्मरणशक्तिसँग सम्बन्धित छ ।
(ख.) सूचनाको सिकाइः विभिन्न किसिमका सूचनाहरू तथा तथ्यहरूलाई बुझ्ने तथा सम्झने प्रक्रियालाई सूचनाको सिकाइ (लर्निगिं अफ फ्याक्ट) भनिन्छ । यो सिकाइ  फ्याक्ट मेमोरीसँग सम्बन्धित छ । मनोवैज्ञानिक दृष्टिकोणमा सिक्नु एक मानसिक प्रक्रिया हो । र, यो विभिन्न तत्वहरूमा निर्भर रहन्छ । यसैकारणले गर्दा कुनै व्यक्तिले कुनै कुरा छिटो सिक्छ भने अर्कोले ढिलो सिक्छ वा उसलाई सिक्न अप्ठारो पर्छ ।
(२.) धारणाः धारणा अर्थात् रिटेनिगं मेमोरी प्रक्रियाको दोस्रो उपक्रिया हो । यो उपक्रिया कुनै कुरा सिक्ने वित्तिकै शुरू हुन्छ । र, कुनै निश्चित समय तक रहिरहन्छ । मानिसको मेमोरी यहि क्रियामा निर्भर रहन्छ । यो उपक्रिया जवसम्म जीवित रहन्छ तव सम्म सिकेका र अनुभव गरेका कुराहरू याद रहन्छन् ।
(३.) पुनःस्मरणः धारणको जाँच नै पुनःस्मरण (रिकालिगं) हो । कुनै पनि सिकेका कुराहरूको याद कति छ भन्ने कुराको जाँच पुनःस्मरणले गर्छ अर्थात पुनःस्मरण त्यस्तो मानसिक प्रक्रिया हो जसको सहायताबाट विगतका अनुभवहरूलाई वर्तमानमा ल्याउने कार्य गरिन्छ । पुनःस्मरण दुई प्रकारका हुन्छन्ः (क.) तत्कालिन पुनःस्मरण तथा (ख.) विलम्वित पुनःस्मरण । जब कुनै विषय सिक्ने वित्तिकै पुनःस्मरण गरिन्छ भने त्यसलाई तत्कालिन पुनःस्मरण भनिन्छ । त्यस्तै गरि जव कुनै विषय सिकेको केही समय पछि (विश्राम पछि) पुनःस्मरण गरिन्छ भने त्यसलाई विलम्बित पुनःस्मरण भनिन्छ । 


पाईंलाई थाहा हुनु नै पर्ने हो, एकाध अपवादलाई छोडेर मानिसले कुनै पनि कुरा वा विषय हुबहु याद गर्न सक्दैन । मानिसलाई केवल मुख्य–मुख्य कुरा तथा विषयहरू मात्र याद हुने गर्छ । यसको लागि एउटा प्रयोग गरेर नै हेरौं । तपार्इंले आफूले पढेको कुनै किताब वा सिनेमाको कथा वा टेलिभिजन कार्यक्रम वा घुमेको कुनै ठाउँको वर्णन गर्नुहोस् त । तपार्इंले प्रमुख दृश्यहरू, शब्दहरू तथा घटनाहरू मात्र वर्णन गर्न सक्नुहुनेछ । शब्द–शब्द तथा प्रत्येक दृश्य तथा घटनाहरू वर्णन गर्न सक्नु हँुदैन । यो नै मेमोरीको प्रकृति हो । कुनै पनि किताबको सबै शब्द–शब्द याद गर्नु पर्ने आवश्यकता पनि छैन् । प्रमुख कुरो त पढेको पाठ बुझ्नु हो । कुनै कुरा याद त छ तर बुझिएको छैन भने त्यसको कुनै अर्थ हँुदैन । त्यसैले मेमोरीको प्रकृतिलाई बुझ्ने हो भने मेमोरी बढाउन सजिलो हुन्छ । जस्तो कि कुनै पनि याद गर्नु पर्ने कुरालाई मेमोरीको भाषा अनुरूप साहचर्य गरेर याद गर्न सजिलो हुन्छ । त्यस्तै गरी कुनै व्यक्तिको नाम बिर्सियो भने त्यो याद गर्न सादृश्य मेमोरीको सहयोग लिन सकिन्छ । जस्तो कि त्यो व्यक्तिसँग कहाँ भेट भएको थियो ? त्यसबेला ऊसँग अरू कोको थिए ? मेमोरीको भाषाको अर्को पक्ष के छ भने अदृश्य तथा निरर्थक शब्दहरूको तुलनामा दृश्यात्मक तथा सार्थक शब्दहरूको मेमोरी सुदृढ हुन्छ । जस्तोकि लिबभल याद राख्न गाह्रो हुन्छ, तर तिनै अक्षरहरुबाट बनेको भलिबल याद राख्न सजिलो हुन्छ । (लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन्। )
थप जानकारीका लागि यो लिंक पनि पढौ: https://memorydoctor.blogspot.com/2020/05/blog-post_11.html







Friday, July 17, 2020

हेल्थ फर्स्ट: 

मन टुक्रिने रोग 
ओम बानियाँ 

मानिस मन र शरीरको संयुक्त रुप हो । जसरी मानिसको शरीर विरामी हुन्छ, त्यसै गरी मन पनि विरामी हुन सक्छ । मनको रोगलाई मनोरोग वा मानसिक रोग भनिन्छ । मनका रोगहरु अनेक किसिमका हुन्छन् । ती मध्य अति कडा खालको मनको रोग हो, सिजोफ्रेनिया वा स्किजोफ्रेनिया । सिजोफ्रेनियाको शाब्दिक अर्थ टुक्रिएको मन हो । सिजो अर्थात् टुक्रिएको, फ्रेनिया अर्थात् मन । सिजोफ्रेनिया गम्भिर र जटिल मानसिक समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको लगभग १५ प्रतिशत व्यक्ति विभिन्न मानसिक समस्याहरुबाट पीडित भएकोमा १ प्रतिशत सिजोफ्रेनिया जस्तो गम्भीर मानसिक रोगबाट पीडित छन् । 


सिजोफ्रेनिया सोच्ने प्रक्रियामा आउने गम्भीर समस्या हो, जसले मानिसको जीवनमा अनेक भ्रमहरुको सिर्जना गर्छ । वास्तविकतामा हुँदै नभएको कुरामा विश्वास गर्नु, अरुले नसुनेका र हुँदै नभएका आवाज सुन्नु जस्ता लक्षणहरु यस रोगमा देखा पर्छन् । अस्वाभाविक व्यवहार, डर, चिन्ता, शंकास्पद गतिविधि, मूर्तिझैं उभिइरहने, अकारण अस्थिरता पनि यस रोगको लक्षण हो । अरुले नसुन्ने आवाज, दृश्य, गन्ध आदि महसुस गर्ने, कुनै धर्म, दर्शन वा विचार विशेषमा अत्याधिक अडान लिने, पूर्वाग्रही विचार बनाउने जस्ता लक्षण पनि सिजोफ्रेनियाका रोगीमा देख्न सकिन्छ । यस्ता लक्षणहरु कमसेकम एक महिनासम्म रहिरहेमा सिजोफ्रेनिया भनिन्छ । 

सिजोफ्रेनिया कारणः
 सिजोफ्रेनिया के कारणले पैदा हुन्छ भन्ने आजसम्म एकिन छैन । यसका अनेक कारणहरु रहेको विश्वास गरिन्छ । जस्तैः आनुवांशिक, मस्तिष्कमा भएको रासायनिक असन्तुलन, सामाजिक, मनोवैज्ञानिक तथा वातावरणीय प्रभाव । यदि बुबा आमा मध्ये कुनैमा सिजोफ्रेनिया को समस्या छ भने बच्चालाई सिजोफ्रेनिया हुने सम्भावना अत्यधिक हुन्छ । प्रायः गरेर सिजोफ्रेनियाका रोगीहरुको मस्तिष्कगत रसायनहरुको घटबढ हुने गरेको भेटिएको छ । जस्तो कि डोपामिन ग्लुटामेट र सेरोटोनिनको उतारचढाव हुनु । यदि परिवार का बीच मा सुसम्बन्ध छैन भने पनि सिजोफ्रेनियाको विकास हुन सक्छ । कुनै भाइरल संक्रमण भयो वा रोग प्रतिरोध क्षमतामा कमी आयो भने पनि सिजोफ्रेनियाको समस्या अझ मुखरित हुन्छ । औषधिको दुरुपयोग वा लागू पदार्थको दुर्व्यसन पनि सिजोफ्रेनियाको समस्यालाई बढावा दिने कारण हुन् । केही अनुसन्धानहरुले यसको कारण भ्रूण अवस्था मै भएको असन्तुलित मस्तिष्क विकास तर्फ संकेत गरेका छन् ।

सिजोफ्रेनियाको स्थितिः

सिजोफ्रेनिया सामान्यतया १३ देखि ३० वर्षका व्यक्तिमा हुने गरेको पाइन्छ । महिलामा भन्दा पुरुषमा यसका लक्षणहरु चाँडो देखिन्छन् । ३० वर्ष नाघेका मान्छेमा यो समस्या विरलै भेटिएको छ र ४५ वर्ष कटेपछि यो समस्या जन्मने सम्भावना हुँदैन । विश्वका झण्डै १ प्रतिशत मानिस यो रोग बाट पीडित छन् । अर्थात् झण्डै ३ करोड विश्ववासी सिजोफ्रेनियासँगै बाँचिरहेका छन् । यससँग सम्बन्धित भएर रहेका साइकोसिस, डेल्यूजनल डिस्अर्डर आदिको पनि गणना गर्ने हो भने त अझै भयावह रहन्छ यसको तस्वीर । यस रोगका कारण ५—१० प्रतिशतले आत्महत्या गर्ने, ६—७ गुणा बढी बेरोजगार रहने आँकडा प्रक्षेपण गरिएको छ । सिजोफ्रेनियाका रोगीहरुले अत्याधिक धुम्रपान गर्ने, उनीहरुमा उच्च रक्तचाप तथा मधुमेहजस्ता रोगहरु बढी नै पाइने हनाले औसत व्यक्तिभन्दा १५—२० वर्ष अघि नै मृत्यु हुने देखिएको छ ।


नेपालमा सिजोफ्रेनियाका बिरामी कति छन् भने आँकलन गर्न अझै सकिएको छैन । उपचारको अभाव र मानसिक रोगको बारेमा व्याप्त भ्रमका कारण उपचार अभावमै यसका बिरामी अझै पनि घरमा सिक्रीले बाँधिन र थुनिन विवश छन् । 

रोगको निदानः
सिजोफ्रेनिया भए नभएको पत्ता लगाउने सबैभन्दा भरपर्दो उपाय भनेको रोगीले देखाउने लक्षण हो । यदि रोगी लागू पदार्थको दुर्व्यसनी वा अन्य मानसिक विकारहरुको समस्याले पीडित छैन भने मनोचिकित्सकले भौतिक जाँच तथा मनोवैज्ञानिक परिक्षण गरेर रोगीलाई सिजोफ्रेनिया भए नभएको पत्ता लगाउँछन् ।

उपचार सम्भवः
सिजोफ्रेनिया जटिल मानसिक समस्या भएकाले यसको समाधान गाह्रो भएता पनि असम्भव चाही छैन । यस रोगलाई पूर्णतया निको गर्न नसकिए पनि व्यवस्थापन भने गर्न सकिन्छ । लक्षणहरुको जटिलता अनुसार उपचार र व्यवस्थापन फरकफरक भए तापनि औषधिको प्रयोग, साइकोथेरापी, मनोसामाजिक परामर्श, पारिवारिक सामाजिक सहयोग, मनोशिक्षा तथा रोजगारी व्यवस्थापन जस्ता पक्षलाई सन्तुलन गर्न सक्ने हो भने यसको समाधान हुन सक्छ । सिजोफ्रेनियाको उपचार गर्नु भनेको बिरामीमा देखिएका लक्षणहरुलाई कम गर्दै लैजानु हो । 

सिजोफ्रेनियाका लक्षणहरुलाई घटाउन मद्दत गर्ने खालका थुप्रै एन्टीसाइकोटिक औषधिहरु पाइन्छन् । दैनिक रूपमा सेवन गर्नुपर्ने यस्ता औषधिहरु चक्की वा झोल र कहिलेकाहीं महिनाको एक वा दुई पटक लगाइने सूईद्वारा दिइने खालका पनि हुन सक्छन् । शुरु शुरुमा यी औषधिका अनेक साइड इफेक्ट देखिने भए पनि ती बिस्तारै कम भएर जान्छन् । यस किसिमका औषधिहरुमा क्लोरोप्रोमाजिन, ह्यालोपेरिडोल, क्लोजापिन तथा जिप्रासिडोन आदि पर्दछन् ।
मानसिक रोगमा योग


योग ऋषिमुनिहरुको (प्राचिन वैज्ञानिक) महान आविस्कार हो । योगले मनलाई स्वस्थ र मजबुत बनाउँछ । योगले शरीर, मन र मस्तिष्कमा सन्तुलन बनाउन सहयोग गर्छ । हरेक प्रकारका मानसिक रोगहरुमा योग एक औषधि हो । यस तथ्यलाई अनेक अध्ययनहरुले पनि पुष्टि गरेको छ । यदि बाल्यकालदेखि नै नियमितरुपमा योग गर्ने व्यक्ति कुनै पनि प्रकारका मानसिक रोगहरुबाट पीडित नहुने योगाचार्यहरु दावी छ । त्यसैले जीवनमा आइपर्ने उतारचढावहरुसँग सहजपर्वूक मुकाबिला गर्न, शारीरिक तथा मानसिक रोगहरुबाट बच्न तथा सकारात्मक तथा सिर्जनात्मक जीवन जिउन योगको विकल्प छैन ।


सिजोफ्रेनिया व्यावस्थापनमा मनोसामाजिक उपचार झनै महत्वपूर्ण हुन्छ । बिरामीलाई सामाजिक क्रियाकलापमा सरीक गराएर उसलाई समाजमा घुलमिल हुन सिकाउनु यस उपचारको उद्देश्य हो । जब बिरामी विस्तारै निको हुन थालेको देखिन्छ तब उसलाई स्कूल कलेज पठाउने, जागीर खान लगाउने आदि कुराहरु यस भित्र पर्दछन् । बिरामीमा मनलाई कुनै कुरामा केन्द्रित गर्न सक्ने स्वभावको विकास गर्न तथा मन बलियो पार्नका लागि योगासन, प्राणायाम तथा ध्यानको आवश्यकता भएको महसूस गरी केही समय यता योगा तथा ध्यानको पनि उपयोग गर्न थालिएको छ । योगाले सकारात्मक प्रभाव पनि देखाएको छ ।


पुछारमाः
सिजोफ्रेनिया एक जटिल मानसिक रोग भएकाले यसको अझ प्रभावकारी उपचार खोजी आजको आवश्यकता हो । सटिक उपचार पद्धतिको विकासस“गै यसको सही कारण पत्ता लगाइ रोकथाम गर्नु नै बुद्धिमानी हो । मानसिलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ र मजबुत बनाउने सर्वोत्तम माध्यम भनेको योग र प्राकृतिक रहनसहन हो । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी क्लिनिक प्रमुख हुन् ।)
सम्पर्क: 
 



Wednesday, July 15, 2020

 ब्रेन बाइट्स 

कलेजमा ‘डिप्रेसन’
ओम बानियाँ

डिप्रेसन अर्थात् उदासिनता एक जटिल किसिमको मनोवैज्ञानिक समस्या हो । यो समस्या हरेक संस्कृति, समाज र उमेरका महिलापुरुष दुवैलाई हुने गर्छ । तर पुरुषको तुलनामा महिलामा र नवयुवामा यो समस्या बढी देखिने गर्छ । कलेज पढ्ने थुप्रै विद्यार्थी यस समस्याबाट पीडित हुने गर्छन् । तर, अधिकांश यस्ता विद्यार्थीलाई आफु डिप्रेसनबाट पीडित भएको थाहा नै हुँदैन । 


हालै अमेरिकामा गरिएको एक सर्वेक्षणले अमेरिकाका ३० प्रतिशत कलेज पढ्ने विद्यार्थी डिप्रेसनबाट पीडित हुने गरेको देखाएको छ । नेपालमा यस किसिमको सर्वेक्षण नभएको भएता पनि यसैको सेरोफेरोमा नै नेपालका कलेज पढ्ने विद्यार्थी डिप्रेसनबाट पीडित भएको अनुमान गर्न सकिन्छ । डिप्रेसनले मानिसको सिक्ने र सम्झने क्षमतामा समेत प्रभाव पार्ने हुँदा डिप्रेसनको प्रकोपमा परेका विद्यार्थीको पढाइलेखाइ कमजोर हुन पुग्छ । आत्मविश्वासको कमीका कारण पढाइलेखाइमा मात्र होइन, हरेक क्षेत्रमा उनीहरुपछि पर्छन् । जसले गर्दा उनीहरुको आत्मबल झनै कमजोर हुन पुग्दछ । कतिपय यस्ता विद्यार्थी चुरोट, जाँडरक्सी तथा लागुपदार्थको कुलतमा पर्ने गर्छन् भने कतिपयले आत्महत्या समेत गर्ने गर्छन् । 


स्नायुविज्ञानको भाषामा डिप्रेसनलाई नक्कली भुल्ने रोग (सिउडो डिमेंसिया) पनि भनिन्छ । वास्तवमा यो भुल्ने रोग (एमेंसिया) वा डिमेन्शिया त होइन, तर त्यस्तै–त्यस्तै नक्कल देखाउने रोग हो । यो रोगले मानिसको प्रक्रियागत मेमोरीमा त कुनै असर गर्दैन, तर फ्याक्ट मेमोरीलाई भने प्रभावित गर्दछ । उदारहणका लागि डिप्रेसनबाट पीडित व्यक्तिले जुत्ताको तना बान्न वा साइकल तथा गाडी चलाउन बिर्सिंदैनन्, तर चिनेजानेको मानिसको नाम बिर्सन सक्छन्, हातमै घडी बाँधेर घडी खोजिरहेका हुन सक्छन् । मोजा हातमै समाएर हिजो राखेको मोजा कहाँ छ भनेर कराइरहेका हुन सक्छन् ? यही कारण डिप्रेसनको प्रकोपमा परेका विद्यार्थीले पढेको राम्रोसँग बुझ्न सक्दैनन्, जे जति बुझेका हुन्छन्, त्यो पनि छिट्टै बिर्सिन्छन् ।


वास्तवमा डिप्रेसन यस्तो मनोवैज्ञानिक समस्या हो, जसले नक्कली भुल्ने रोग मात्र पैदा गर्दैन कि मानिसलाई नै एउटा जिउँदो लाश बनाइदिन्छ । डिप्रेसनलाई सानोतिनो समस्या सम्झनु हँुदैन, यो मनोदैहिक समस्या हो, यसले मन र मस्तिष्कलाई त असर गर्छ गर्छ, शरीरका सम्पÒर्ण भागमा नै कुप्रभाव पार्दछ, मुटुको रोग पैदा गर्ने एउटा कारण डिप्रेसन पनि हो । त्यसैले त चर्चित राजनीतिज्ञ तथा साहित्यकार विंस्टन चर्चिल, जो आफैँ कुनै बेला डिप्रेसनको चपेटामा परेका थिए, ले डिप्रेसनलाई ‘ब्लैक डग’ भनेका छन् । 


डिप्रेसनको लक्षणः
 

डिप्रेसनको मूल लक्षण भनेको उदासिनता तथा खिन्नता हो । डिप्रेसनबाट पीडित व्यक्तिको मन सधै उदासी र निराशाले घेरिएको हुन्छ । कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन । डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशा भन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ । तर डिप्रेसनमा चाहीँ यस्तो हँुदैन । कडा खालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन् । 


अतः उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमि आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरू मध्य तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नु पर्ने हुन्छ । यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गंभिर स्थितिलाई दर्शाउँछ ।

डिप्रेसनको कारणः 
डिप्रेसनको कुनै एक कारण छैन  । डिप्रेसन विभिन्न कारणहरूले पैदा हुने गर्छ । जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा समाजिक कारणहरू । तर अधिकांश डिप्रेसनको कारण मनोवैज्ञानिक नै हो । जस्तो कि घर छोडेर कलेज पढ्न आएका विद्यार्थीको हकमा पहिलो पटक परिवारबाट टाढा हुनु । नयाँ वातावरणमा आफुलाई नितान्त एक्लो महसुस गर्नु । पैसाको चाजोपाजो मिलाउन कठिन हुनु आदि । यस्तै गरी पढाइलेखाइको अध्याधिक चाप । ब्रेक-अप, आपसी तथा पारिवारिक सम्बन्ध विग्रनाले पनि विद्यार्थी डिप्रेसनको चपेटामा पर्न सक्छन् ।

समस्याको समाधानः 
डिप्रेसन उचित औषधोपचारबाट ठीक हुन्छ । औषधिको अतिरिक्त मनोपरामर्शद्धारा पनि डिप्रेसन ठीक हुन्छ । अधिकांश विदेशी मनोचिकित्सकहरुले डिप्रेसनको उपचारका लागि औषधिसँगै मनोपरामर्श (साइकोथेरापि) लाई उपयोगमा ल्याउँछन् । नेपालमा भने मनोपरामर्श सेवा सर्वसुलभ नभएका कारण चिकित्सकले औषधिलाई नै जोड दिन्छन् । तर कम कडा खालको डिप्रेसनको उपचारमा औषधि भन्दा मनोपरामर्श नै उत्तम मानिन्छ । यसका साथै डिप्रेसनको प्रभावकारी उपचारमा विरामी स्वयंको, परिवार तथा साथीसंगीहरुको महत्वपुर्ण भुमिका रहन्छ ।


विरामीले गर्नु पर्ने कामः 
डिप्रेसनबाट पीडित व्यक्तिले शंका लागेमा छिटो भन्दा छिटो मनोचिकित्सकसँग सम्पर्क गर्नुपर्छ । जति छिटो औषधोपचार गरियो त्यत्ति नै छिटो डिप्रेसन ठीक हुन्छ, पुनः हुने सम्भावना पनि कम हुन्छ । चिकित्सकको परामर्श अनुरुप औषधि खाने तथा गृहकार्य गर्ने । ठुलो कार्यलाई सानो सानो भागमा बाँढेर पालैपालो गर्ने । एक्लै नबस्ने । साथी तथा परिवारका सदस्यसँग आफ्नो समस्या बाढ्ने । ठुला ठुला निर्णयहरु आफैं नगर्ने । यस्ता निर्णयहरु लिनुपर्दा साथी वा परिवारका सदस्यहरुको सहयोग लिने । हल्का किसिमका व्यायामहरु गर्ने । हास्यब्यांगे सिनेमाहरु हेर्ने तथा मनोरंजनका क्रियाकलापहरुमा सहभागी हुने ।  

साथीसंगीले गर्नु पर्ने कामः
आफ्नो कुनै साथीमा डिप्रेसनको लक्षण देखिएको छ भने उसलाई चिकित्सकसँग सम्पर्क राख्न सल्लाह दिने । उपचारप्रति ऊ उदासिन देखिएको खण्डमा मनाएर उसलाई चिकित्सकहाँ लिएर जाने । विरामी साथीलाई सक्दो सहयोग गर्ने, उसको समस्यालाई मनन् गर्ने तथा उसलाई उत्साह तथा हौसला दिने । यदि विरामी साथीले ‘दिनदिनै मरिमरि बाँच्नु भन्दा एक दिन मर्न निको’ जस्ता कुराहरु गरेको खण्डमा उसको परिवारको सदस्यहरु तथा उसको उपचारमा संलग्न चिकित्सकलाई जानकारी दिने । साथीलाई खेल्न तथा घुमफिर गर्न लिएर जाने ।



कलेजको भुमिकाः
कलेजमा डिप्रेसन न्युनीकरण गर्नाकालागि कलेजको महत्वपुर्ण भुमिका रहन्छ । त्यसैले हरेक कलेजले आफ्ना विद्यार्थीलाई डिप्रेसन तथा अन्य मानसिक रोगहरुबाट जोगाउन मनोपरामर्श सेवाको व्यावस्था गर्नुपर्छ । विद्यार्थीहरु शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको खण्डमा नै कलेजले आशातीत शैक्षिक सफलता प्राप्त गर्न सक्दछ । 

सम्पर्क:



https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

Sunday, July 12, 2020

ब्रेन बाइट्स 

वायु, ब्रेन र बडी 
ओम बानियाँ 

मानव शरीरका तीन स्तम्भः हावा, पानी तथा भोजन मध्ये हावाको स्थान सबै भन्दा माथि छ । मानिसले मात्र होइन कि यस चराचर जगतमा सबै सजीव प्राणीहरूले जन्मदेखि मृत्युसम्म सासको रूपमा वायु सेवन गर्दछन् । वास्तवमा वायु बिना प्राणीहरूको जीवन सम्भव छैन । वायु बिना त मानिस एक क्षण पनि बाँच्न सक्दैन । त्यसैले मानिसले सास लिने गर्छन् । सासको रूपमा मानिसले एक पटकमा लगभग २५ घनइंच हावा भित्र लिन्छन्, त्यति नै हावा बाहिर छोड्छन् । यो क्रिया प्रतिमिनेट १७–१८ पटक दोहोरिन्छ । अर्थात् एक मिनेटमा मानिसले करिब ४५० घनइंच हावा लिने र बाहिर छोड्ने गर्दछन् । तर यो मात्रा मानिसको श्रम, गति, अवस्था, लिंग र उमेरमा भर पर्दछ । मानिसले लिने सासमा २०.९४६ प्रतिशत अक्सिजन, ७८.०८४ प्रतिशत नाइट्रोजन, ०.९३४ प्रतिशत अर्गन, ०.०३३ प्रतिशत कार्बन डायअक्साइड तथा एकदमै थोरै–थोरै मात्रामा नियोन, हिलियम तथा हायड्रोजन जस्ता तत्वहरू हुन्छन् भने मानिसले फ्याँक्ने सासमा १६.४० प्रतिशत अक्सिजन, ७९ प्रतिशत नाइट्रोजन, ४.४१ प्रतिशत कार्बन डायअक्साइड तथा थोरै–थोरै मात्रामा अन्य तत्वहरू हुन्छन् । 


वायुमा रहेको प्राणवायु (अक्सिजन) नै शरीरकालागि आवश्यक हुन्छ । तर ब्रेन अर्थात् मस्तिष्कलाई अन्य अंगहरूको तुलनामा बढी प्राणवायु आवश्यक पर्दछ । त्यसैले वायुबाट बढी भन्दा बढी अक्सिजन लिएर आफ्नो शरीरलाई निरोग राख्नुको साथै मस्तिष्कशक्ति अद्भुतरूपमा बढाउन सकिन्छ । 

मानिसको शरीरको सबै भन्दा महत्वपूर्ण अंग बे्रन खप्परको हाडभित्र सुरक्षित अवस्थामा रहेको हुन्छ । यसले विभिन्न भागहरूबाट प्रेरणा लिने र स्नायु मार्फत् विभिन्न अंगहरूमा पठाउने काम गर्दछ । स्नायुमनोवैज्ञानिकहरूका अनुसार मानिसको बे्रनमा लगभग १५०,००,००,००,००० संख्यामा स्नायुकोष(न्युरोन) रहेका हुन्छन् । मानव मस्तिष्कको तौल लगभग १.४ कि.ग्रा.हुन्छ, जुन शरीरको कूल तौलको केवल २ प्रतिशत मात्र हुन्छ । तर यही १.४ कि.ग्रा.को मस्तिष्कलाई शरीरले लिने अक्सिजनको २०–२५ प्रतिशत अक्सिजन आवश्यक पर्दछ । अर्थात् शरीरले एक पटकमा सासकोरूपमा २५ घन इंच हावा लिन्छ भने त्यसमा अक्सिजनको मात्रा लगभग ५ घन इंच हुन जान्छ । त्यो ५ घन इंच अक्सिजन मध्ये करिब १ देखि १.२५ घन इंच अक्सिजन मस्तिष्कलाई आवश्यक पर्दछ । त्यसैले मस्तिष्क शक्तिको उच्चतम सु–संचालनका लागि पर्याप्त मात्रामा शुद्ध अक्सिजन लिने गर्नुपर्दछ । यसका लागि प्राणायाम सर्वोत्तम विधि हो ।

महर्षि पतंजलीका अनुसार श्वास प्रक्रियालाई नियन्त्रण गर्दै त्यसमा एक अनुशासित र नियन्त्रित क्रम ल्याउनु नै प्राणायाम हो । प्राणायामले शरीरलाई निरोगी र सुदृढ बनाउँछ । मनलाई निर्मल र एकाग्र बनाउँछ । प्राणायामका तीन भागहरु हुन्छन् । ती हुन्ः पूरक प्राणायामः फोक्सोमा प्राणवायु भर्ने क्रियालाई पूरक प्राणायाम भनिन्छ । कुम्भक प्राणायामः श्वास पूर्णरूपले राक्ने क्रियालाई कुम्भक प्राणायाम भनिन्छ । श्वास लिएर भित्र रोक्ने क्रियालाई अन्तर कुम्भक र श्वास बाहिर छोडेर बाहिर नै रोक्नुलाई बाहिय कुम्भक भनिन्छ । रेचक प्राणायामः फोक्सोको दुषित वायु पूर्णरूपले बाहिर निकाल्ने क्रियालाई नै रेचक प्राणायाम भनिन्छ ।

हावामा रहेको अक्सिजन सासको रूपमा फोक्सोमा पुगेर ब्लडस्ट्रिम मार्फत् लाखौँ–करोडौँ कोष तथा स्नायुकोषहरूमा पुगेर स्नायुकोषहरूलाई पोषण दिने र क्रियाशिल बनाउने काम गर्दछ । त्यसैले नै मानिसका मस्तिष्कले जति मात्रामा पर्याप्त अक्सिजन प्राप्त गर्दछ, त्यति नै यसको शक्ति बढ्छ । वास्तवमा सासको रूपमा लिइने हावामा निहित अक्सिजन मस्तिष्कको ज्यादै सर्वशुलभ र सर्वोत्तम ऊर्जा हो ।  मस्तिष्कको यो ऊर्जा फोकटमा पाइन्छ, यसका लागि एक पैसा पनि तिर्नु पर्दैन । तर धेरै मानिसहरूलाई हावामा रहेको अक्सिजनको यो महत्व थाहा छैन । 

अक्सिजन यही महत्वले गर्दा नै यसलाई प्राणवायु भन्ने गरिन्छ । यो प्राणवायु धेरै उचाइ तथा गहिराइमा कम हँुदै जान्छ । त्यसैले हिमाल चढ्दा वा सुरूङमा पस्दा अक्सिजन लिएर जाने कारण पनि यही हो ।  अतः प्राणवायुको यो महत्वलाई मनन गरी निम्नानुसार प्राणवायुको सदुपयोग गरेर ब्रेनबडी निरोग राख्नुको साथै मस्तिष्क शक्ति अद्भुतरूपमा बढाउन सकिन्छ । 

रुख रोपौंः
घर वरिपरिको वातारण सधैँ सफा, शुद्ध र स्वच्छ राख्ने । आफ्नो घर–आँगनमा तुलसी, निम, बर–पिपल तथा बेलपत्र आदि जस्ता रूख–विरूवाहरू लगाउने । रूख–विरूवाहरूले दिउँसो मानिसलाई अनावश्यक कार्बन डायअक्साइड लिन्छन् भने     मानिसलाई अति आवश्यक अक्सिजन फ्याँक्छन् । तर तुलसी तथा पिपल जस्ता बोट–विरूवाहरूले दिन–रात कार्बन डायअक्साइड लिन्छन्, अक्सिजन फ्याँक्छन् ।     वायुमण्डलमा सबै भन्दा बढी अक्सिजन पिपलले नै फ्याँक्दछ । त्यसैले वातारणमा जति पिपलका रूखहरू हुन्छन्, त्यति नै हावामा मस्तिष्क ऊर्जा, अक्सिजन हुने गर्दछ । 

वर्षायामको बेला थियो । तर टन्टालापुर घाम लागिरहेको थियो । चौरासी नागेकी एक जना वृद्धाले असिनापसिना भएर खेतमा आँपका बेर्नाहरू लगाइरहेको देखेपछि बाटोमा हिँडिरहेको युवकले सोध्योः “ए, बज्यै, तपाई अब कति नै बाँच्नु हुन्छ र, यतिका मेहनत गरेर आँपका विरुवाहरू लगाउँदै हुनुहुन्छ ?” बटुवा युवकको कुरा सुनेर वृद्धा पसिना पुछ्दै रूखको छहारीमा गईन् र माथितिर हेर्दै भनिन्ः “बाबु, यी बोट–बिरुवाहरू जसले मलाई छायाँ र शीतलता दिएका छन्, फल र फूलहरू दिएका छन्, के यी बोट–बिरुवाहरू मैले लगाएका हुन र ?”

प्रणायाम गरौंः
प्रत्येक दिन सबेरै शान्त, शुद्ध र खुला ठाउँमा बसेर प्राणायामहरू गर्ने हो भने शरीर निरोग हुनुको साथै अद्भुतरूपमा मस्तिष्क शक्ति पनि बढ्ने गर्दछ । प्राणायामले सबै किसिमका रोगहरूलाई फाइदा गर्दछ । त्यसैले रोगी निरोगी सबैका लागि प्राणायाम लाभदायक हुन्छ ।   




बिहान हिडौंः
वातावरणमा भएको धुवाँ धूलोले शरीरलाई हानी गर्छ । त्यसैले सधैँ धुवाँ, धुलोबाट बच्ने । प्रत्येक मिनेट–मिनेटमा सासप्रति सचेत हँुदै लामो र गहिरो सास लिने । बिहान–साँझ ४–५ किलो मिटर हिँडेर वायु सेवन गर्ने । बिहानको हिँडाइ मानिसको लागि सर्वोत्तम व्यायाम हो । 


विश्राम गर्रौः
श्रम अनुसार विश्राम गर्न जरुरी छ । त्यसैले कार्यगर्दा वा पढाइ–लेखाइ गर्दा थकाइ लाग्यो भने साससँग सम्बन्धित अति नै सरल निम्नलिखित विश्राम टेक्निकहरू अपनाएर मन–मस्तिष्क र शरीरलाई रिचार्ज गर्न सकिन्छ ।

विश्राम टेक्निक एकः 

सीधा उभिने र नाकद्वारा लामो र गहिरो श्वास लिने र केही बेरसम्म (१ देखि ६ गन्ति गर्दासम्म) टाउकोमा श्वास रोक्ने । र, ओम (ओ ककककक म) उच्चारण गर्दा मुखको सहायताबाट बिस्तारै श्वास बाहिर फ्याँक्ने । श्वास छोड्दा मनलाई ओममा केन्द्रित गर्दै शरीरबाट तनाव श्वाससँगै बाहिर निस्केको कल्पना गर्ने । यो क्रिया १५–२० पटक गर्नु पर्याप्त छ ।


विश्राम टेक्निक दुईः 
कुर्सीमा आरामसँग बस्ने । दुवै आखाँ बन्द गर्ने । मनमनै २१ बाट उल्टो गन्ति गर्दै आउने, सो क्रममा हातको चोरऔँलाले बूढीआँैलाको टुप्पोदेखि तलसम्म सुमसुम्याउने । जस्तैः चोरऔँलाले बूढीऔँठाको टुप्पोलाई स्पर्श गर्ने र बिस्तारै  तलतिर झार्ने, मनमनै उच्चारण गर्ने, २१ । पुनः चोरऔला बूढीऔँलाको टुप्पोमा लग्ने र बूढीऔंलालाई हल्का सुमसुमाउँदै तल झार्ने र मनमनै उच्चारण गर्ने, २० । यसै क्रमले १ सम्म उल्टो गन्ति गर्ने । १ मा पुगेपछि पूर्ण विश्राम र शान्त अनुभव गर्ने । केही क्षणपछि ऊर्जावान् भएर आफ्नो कार्यमा लाग्ने ।

पुछारमाः
अतः मानिसको जीवनमा वायुको ठूलो महत्व छ । तर यहाँ हेक्का राख्नु पर्ने कुरा के भने वायु शुद्ध भयो भने त्यो प्राणवायु हो, प्राणवायु बे्रनको अपार ऊर्जा हो । तर वायु अशुद्ध भयो भने त्यो जहर जस्तै हो । त्यसैले हरेक मानिसहरु वातावरणप्रति सधैँ सचेत हुनुपर्दछ । जहाँ तहीँ फोहोर–मैला फालेर, धुवाँ–धूलो उडाएर, रूख–बिरूवाहरू सखाप पारेर वातावरण प्रदुषित बनाउनु हुँदैन । यो वा त्यो कारणले तत्कालीन लाभका लागि वातावरण प्रदुषित पार्नु भनेको आफ्नो र आफ्ना सन्ततीका लागि आफैँ जहर तयार पार्नु हो । अतः उपर्युक्त कुराहरुलाई आत्मसात गरी हरेक नयाँ वर्षमा तथा आफ्नो जन्म दिनको औसरमा रुख रोपेर त्यसको स्याहरसुसार गर्नु भोलिका सन्ततीलाई प्राणवायुरुपी अमूल्य उपहार दिनु हो । (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)
 





Friday, July 10, 2020

हेल्थ फर्स्ट 

फ्रि रेडिकल्स र हेल्थ
ओम बानियाँ

मानव शरीर अनेक जीवकोशहरु मिलेर बनेको हुन्छ । वास्तवमा मानव शरीर एक बिशाल ब्रह्माण्ड हो । त्यसैले त वेद्मा भनिएको नै छ, यथा पिण्डे, तथा ब्रह्माण्डीय । यथा ब्रह्माण्डीय तथा पिण्डे ।। अर्थात् शरीरमा जे छ ब्रह्माण्डमा पनि त्यही छ । ब्रह्माण्डमा जे छ, शरीरमा पनि त्यही छ । यो सारा ब्रह्माण्ड पंचतत्व (पृथ्वी, जल, वाय, अग्नि तथा आकाश) र अनेक जीवहरु मिलेरको छ । मानव शरीर पनि पंचतत्व तथा अनेक जीवकोषहरु मिलेर बनेको छ । जीवकोशहरु अनेक अणुहरु मिलेर बनेको छ । अनि अणुहरु परमाणुहरु र परमाणुहरु इलेक्ट्रोन, प्रोट्रोन तथा न्युक्लियस मिलेर बनेको छ । 


परमाणुको प्राकृतिक गुण के हो भने यसको केन्द्र अर्थात् न्युक्लियसमा विद्यमान प्रोट्रोनको संख्या बराबर इलेक्ट्रोन हुने गर्छ । इलेक्ट्रोन केन्द्रको वरिपरि अर्को कक्षमा रहन्छ । यदि कुनै कारण परमाणुमा इलेक्ट्रोनको कमी भयो भने यसले अर्को परमाणुको इलेक्ट्रोन खोसेर वा शेयर गरेर इलेक्ट्रोनको कमी पूर्ति गर्ने गर्छ । तर जब कुनै परमाणुमा इलेक्ट्रोनको कमी हुन्छ, तब उसले बेचैनीको साथमा, तुरुन्त जहाँबाट जस्तो भए पनि इलेक्ट्रोन हासिल गर्ने कोसिस गर्छ । यस्तो परमाणु नै फ्रि रेडिकल हो । फ्रि रेडिकल्स एक अक्सिजनयुक्त परमाणु हो, जसका एक वा एक भन्दा बढी इलेक्ट्रोन हुन्छन्, जसले अन्य परमाणुसँग उच्च प्रतिक्रिया गर्छन् । 

फ्रि रेडिकल्सको कारणः

साधारणतया शब्दमा भन्दाखेरि शरीरमा मेटाबोलिज्म जस्ता रासायनिक प्रक्रियाको प्राकृतिक  उप–उत्पादन (वायप्रोडक्ट्स) नै फ्रि रेडिकल्स हो । अधिकांश यस्ता फ्रि रेडिकल्स अक्सिजनको परमाणु हुन्छ । अक्सिजनको सहायतबाट ग्लुकोज ऊर्जामा परिवर्तन हुँने प्रक्रियामा पनि फ्रि रेडिकल्स बन्ने गर्छ । तनावका कारण पनि अध्याधिक मात्रामा फ्रि रेडिकल्स पैदा हुने गर्छ । अन्य यस्ता रेडिकल्स आसपासको वातावरणबाट आउँछन् । प्रदुषण, विकिरण, धँुवा, आदिको कारणले फ्रि रेडिकल्स अधिक मात्रामा बन्न सक्छन् । गलत आहारबिहार, पौष्टिक भोजनको कमी, फोहोर पानी, वायु, धूमपान, मद्यपान तथा किटनाशाकले पनि फ्रि रेडिकल्स पैदा गर्ने कार्य गर्दछ । कतिपय औषधिको प्रभावबाट पनि फ्रि रेडिकल्स बन्ने गर्छ । यसका साथै केही फ्रि रेडिकल्स शरीरमा पहिलादेखि नै रहेका हुन्छन् । यस्ता फ्रि रेडिकल्स फरक फरक आकार, प्रकार र रासायनिक संगठनका हुन्छन् । 

फ्रि रेडिकल्सको प्रभावः
फ्रि रेडिकल्स जीवनका लागि आवश्यक छ, यसले शरीरलाई बाह्य आक्रमणबाट बचाउने कार्य गर्दछ । तर,  शरीरमा यसको मात्रा आवश्यकता भन्दा बढी भएमा यसले कोशहरुलाई नै हानीनोक्सानी पुराउने कार्य गर्छ । शरीरमा अनेक रासायनिक प्रक्रियाहरुका कारण थोरै थोरै फ्रि रेडिकल्स बनिरहन्छन् । कतिपय यस्ता फ्रि रेडिकल्स शरीरबाट ब्याक्टेरिया तथा भाइरसहरु हटाउनका लागी बन्ने गर्छन् । र, यस्ता फ्रि रेडिकल्सको निस्तेज सजिलै संग हुने गर्छ । तर कतिपय अवस्थामा जब अत्याधिक मात्रामा फ्रि रेडिकल्सहरु बन्न थाल्छन्, शरीरले यस्ता फ्रि रेडिकल्सलाई नियन्त्रण नै गर्न सक्दैन । अनि यस्ता फ्रि रेडिकल्सले अन्य अणुबाट इलोक्ट्रोन चोर्ने कोसिस गर्छन् । जब एक परमाणु अर्को परमाणुको इलेक्ट्रोन खोस्न सफल हुन्छ, तब अर्को परमाणुमा इलेक्ट्रोनको कमी हुन्छ । अनि उसले पनि अर्को परमाणुमाथि हमला गर्छ । यो छिनाछपटीको एक चेनबद्ध प्रक्रिया बन्न पुग्दछ । जसले गर्दा कोशहरु, डीएनए तथा प्रोटिन आदिमा बहुतै हानी पुग्ने गर्दछ । परिणामस्वरुप अनेक खतरनाक विमारीहरुको जन्म हुने गर्छ । उमेरको प्रभाव पनि फ्रि रेडिकल्सको कारणले हुने गर्छ । यसको अलवा थकान, सिरदर्द, सम्झना शक्तिको कमी, जोर्नी तथा मांशपेशीको दर्द, त्वचाको चाउरीपना, कपाल फुल्ने, नेत्रज्योतिको कमजोरी तथा रोगप्रतिरोधक क्षमताको कमी आदि जस्ता समस्याहरु फ्रि रेडिकल्सको कारण पैदा हुन सक्दछ । 

बच्ने उपायः

फ्रि रेडिकल्स र अक्सिडेसन स्टे«सबाट पर्णरुपमा मुक्त हुन सम्भव छैन । तर यसको प्रभावलाई कम गर्न भने सकिन्छ । एन्टी अक्सिडेन्टस्ले फ्रि रेडिकल्सको प्रभावबाट कोशहरुलाई बचाउने कार्य गर्छ । त्यसैले स्वास्थ्य रहन एन्टी अक्सिडेन्टयुक्त आहार सेवन गर्न जरुरी हुन्छ । एन्टी अक्सिडेन्टस्ले फ्रि रेडिकल्सलाई नष्ट गर्ने कार्य गर्छ । एन्टी अक्सिडेन्टले आफ्नो इलोक्ट्रोन दिएर छिनाछपटी बन्द गराउँछ । एन्टी अक्सिडेन्टको प्रमुख विशेषता के छ भने यसले आफ्नो इलोक्ट्रोन दिएर पनि शान्त रहन्छ, फ्रि रेडिकल्समा परिवर्तन हुँदैन । वास्तवमा एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्सको सफाइ गर्ने कार्य गर्छ । भिटामिन ई, भिटामिन सी, बिटा केरोटिन, लायकोपिन, फिटो न्यटिं«एटस आदि प्रमुख एन्टी अक्सिडेन्टस् हुन् । केही मात्रामा एन्टी अक्सिडेन्टस् शरीरले नै बनाउने गर्छ ।
पुछारमाः
अतः स्वस्थ जीवन जीउन पौष्टिक तथा सन्तुलित आहार, प्राकृतिक जीवनशैली तथा नियमित व्यायामको कुनै विकल्प छैन । मानिस स्वस्थ जीवन जिउन चाहन्छ कि अस्वस्थ जीवन, यो कुरा मानिसको हातमा नै छ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद हुन् ।)
सम्पर्क: https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19





Thursday, July 9, 2020

हेल्थ फर्स्ट
ब्रेनफुड फर्सी
ओम बानियाँ

र्सी । सस्तो र सर्वसुलभ सुपरफुड हो । ब्रेनफुड हो । पौष्टिकता र औषधीय गुणको पावरहाउस फर्सीलाई संस्कृतमा कुष्माण्डा, पीतफला आदि नामबाट चिनिन्छ भने हिन्दीमा कद्दु, काँशीफल, लालपेठा, कुम्हडा, अंग्रेजीमा पम्पकिन र ल्याटिनमा कुकुरबिता मास्किमा भनिन्छ । गोला, च्याप्टा तथा लामा गरेर अनेक किसिमका फर्सीहरु नेपालमा जहाँतहीँ पाइन्छन् । 


फर्सी विशेष गरेर वर्षा ऋतुमा पाईने लहरामा फल्ने दिव्य फल हो । त्यसैले नेपालमा ग्रीष्म–वर्षा ऋतुमा फर्सीको खेती गरिन्छ । अरू तरकारी बालीको तुलनामा फर्सीमा उत्पादन क्षमता, पौष्टिक तत्वहरू, भण्डारण क्षमता र ढुवानी खप्न सक्ने क्षमता बढी हुनुका कारणले यसको खेती प्रचलित हुन सकेको हो । यसका हरिया र पाकेका दुवैथरी फलको तरकारी बनाएर खाइन्छ । यसका लहराका कलिला मुन्टा र पातको पनि तरकारी बनाइन्छ । पाकेको फर्सीमा प्रशस्त मात्रमा भिटामिन ‘ए’ पाइन्छ । फर्सीको औषधीय महत्व पनि छ । फर्सीका कलिला मुन्टा सागको रुपमा, फल र बिया तरकारीका रुपमा तथा बिया र जरो आदिलाई औषधिका रुपमा उपयोग गरिन्छ । नेपालका सबै जिल्लाहरूमा फर्सीको खेती गरिन्छ ।

फर्सीका प्रकारः
वानस्पतिक गुणका आधारमा फर्सी तीन किसिमका छन्, नेपाली फर्सी, युरोपियन फर्सी वा हिउँदे फर्सी तथा सुख्खा तथा गर्मी यामको स्क्वास । नेपाली फर्सीका लहरा लामा, फल खण्ड परेका, फलका भेट्ना पाटापाटा परेका, पात गाढा हरिया, गोलाकार र पातको नसामा सेता थोप्लाहरू भएका हुन्छन् । युरोपियन फर्सीका पात हल्का पहेंला रंगका फल गोला र फलका भेट्ना डोला हुन्छन् । नेपालमा स्थानीय जातहरूको बढी खेती गरिन्छ । फलको आकारका आधारमा फर्सीलाई जाँते (गोला थेप्चा आकारका) र मादले (लाम्चा मादले आकारका) भनिन्छ । मादले भन्दा जाँते फर्सी बढी मीठो हुन्छ ।


पोषणको खजनाः
फर्सी पोषणको खजना हो । फर्सीमा निम्नलिखित पौष्टिक तत्वहरु पाइन्छन् ।
पानी:                                            ९२.६ ग्राम
प्रोटिन:                                          १.४ ग्राम
चिल्लो:                                          ०.१ ग्राम
खनिज पदार्थ:                                ०.६ ग्राम
रेशा:                                             ०.७ ग्राम
कार्बोहाइड्रेट:                                ४.६ ग्राम
क्याल्सियम:                                  १० मिलिग्राम
फस्फोरस:                                   ३० मिलिग्राम
फलाम (प्रति १०० ग्राममा)            ०.७ मिलिग्राम
भिटामिन ए (प्रति १०० ग्राममा)     ८३.३ मिलिग्राम
भिटामिन बी (प्रति १०० ग्राममा)    ०.०६ मिलिग्राम
भिटामिन सी (प्रति १०० ग्राममा)    २
क्यालोरी प्रति (प्रति १०० मा)        २५

आहा फर्सीको मुन्टाः
हरियो सागपात मध्य फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत  हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।


फर्सीको मुन्टा खानुका फाइदा:
युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग नियमित भोजनमा खाने हो भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने पोषणविद्हरु बताउँछन । फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पुराउँछ । त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, छाला सुन्दर बनाउन पनि फर्सीको मुन्टा विशेष मानिन्छ । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सीले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पुराउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ । त्यतिमात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरलाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषिकाहरुलाई रोक्नमा मद्दत पुराउने चिकित्सकहरु बताउँछन् । यसले  पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो ।


डाक्टर पम्पिकिनः
आयुर्वेदिक मत अनुसार फर्सी मन्दाग्निकारक, वातलाई कुपित गर्नेवाला, भारी र कफनाशक गुणयुक्त छ । फर्सीको फल पौष्टिक, तिर्खा समाप्त गर्ने, पिसाब बढी लगाउने, भोक हटाउने साथै वात–पित्त बढेकालाई हानि गर्ने एवं कफवृध्दिमा लाभदायक छ । फर्सीले पेटमा स्निग्धता पैदा गर्नुका साथै कब्ज निवारण  गर्दछ । मल–मूत्र दुबै सफा गराई ज्वरनिवारकको काम पनि गर्दछ । फर्सीको बीज विषनाशक मानिन्छ साथै यो बीजबाट निकालेको तेल स्नायुमण्डलको पोषक एवं शक्तिवध्र्दक मानिन्छ । फर्सीको बीजलाई उत्तमकोटीको कृमिनाशक (पेटका जूका–कीरा) औषधिका रुपमा प्रयोग गरिन्छ ।युनानी चिकित्सामा फर्सीलाई पिसाब दिसा सफा गर्ने र बवारिस एवं प्रमेहमा लाभदायक मानिन्छ । आधा पाकेको फल कफलाई समाप्त गर्ने साथै पित्तनाशक छ । छालाका रोगीहरुको लागि पथ्य भोजनका रुपमा यसलाई लिन सकिन्छ । यसको बीज गर्मीको कारण निस्केका विभिन्न समस्याहरुमा लाभदायक छ । दिमागको लागि निकै पोषक छ । छाती पोल्ने साथै मुखबाट रगत आउने समस्या छ भने त्यसमा लाभदायक छ । 


बीजको तेलले शरीरको मालिस गर्नाले स्फूर्ति पैदा हुन्छ । साथै छालामा चम्किलोपन आउँछ । टाउको मालिस गर्नाले रौंको सुक्खापन समाप्त हुनुका साथै गाढा निद्रा लाग्दछ । रिँगटा लाग्ने, गर्मीले बेहोस हुने, टाउको दुख्ने, उदास हुने आदि स्थितिमा यस तेलले नियमित रुपमा टाउकोमा मालिस गर्नाले आश्चर्यजनक लाभ हुन्छ । खोकी र क्षयरोगमा यो तेल लाभदायक छ । फर्सीको तरकारी कब्जनिवारक गुणयुक्त छ तर यसलाई बोक्रा फ्याँकेर पकाउनु हुँदैन । बोक्रासँगै पकाउनु पर्दछ । फर्सीको तरकारीमा पुदिना, रायो, लसुन मिलाएर पकाउनाले स्वाद र गुण दुवै बढ्दछ । पाकेको फर्सीको कडा बोक्रालाई सफासँग धोइ तासेर सुकाउनाले र सुकेपछि कुटेर चूर्ण बनाउने । यो चूर्ण दाल, तरकारी, पीठोमा मिलाएर खानु स्वास्थ्यवध्र्दक छ । १–१ चम्चा बिहान र साँझ तातो पानीसँग खानाले कब्ज निवारण गर्दछ साथै शरीरमा पोषक तत्व बढ्दछ ।


र्सी खाएर कसैलाई बेफाइदा भएमा पुदिना या लसुनको चिया जस्तो पकाई पिउन दिनुपर्दछ । फर्सीको कुनै पनि परिकारमा पुदिना, लसुन, रायो, त्रिकटु (पिपला, सूठो र मरिच), जैतुनको तेल आदि मिलाउनाले आकस्मिक रुपमा हुनसक्ने बेफाइदा पनि न्यून भएर जान्छ । (फर्सीको फल, पात, मुन्टा तथा जरोका अनेक औषीय गणहरु छन् । विस्तित्र चर्चा गर्ने हो भने एउटा मोटो किताब नै तयार हुन्छ ।) (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)


Tuesday, July 7, 2020

ब्रेन बाइट्स 

ब्रेन फुड 'बिउ'
ओम बानियाँ

ब्रेन अर्थात मस्तिष्क मानव शरीरको सबै भन्दा महत्पुर्ण अंग हो । मस्तिष्कले नै सम्पुर्ण अंगहरुको नियन्त्रण तथा नियमन गर्ने गर्छ । मानिसको बुद्धि, स्मरण शक्ति तथा समाथ्र्य यही मस्तिष्कको शक्तिमा निर्भर रहन्छ । त्यसैले स्वस्थ र सफल जीवन बाँच्न मस्तिष्कलाई स्वस्थ र मजबुत राख्न आवश्यक छ । मस्तिष्कलाई पर्याप्त अक्सिजन र अनेक प्रकारका पोषणहरुको आवश्यकता हुन्छ । मस्तिष्कका लागि भिटामिन, बी१२ तथा सोडियम, पोटासियम, म्याग्निज, फस्फोरस तथा जिंक इत्यादि खनिज पदार्थहरू अत्यावश्यक हुन्छन् । यी खनिज पदार्थहरू हरियो सागपातहरूमा पाइने हुँदा प्रशस्त सागपातहरू खाने गर्नुपर्दछ । यसको अतिरिक्त ओख्खर, बदाम, गाईको दुध, नौनी, स्याउ र स्याउको मुरब्बा, किसमिस, मुनक्का, अमला र अमलाको मुरब्बा, गाजर, जमुना, स्टाबरी तथा ब्ल्याकबेरी आदि जस्ता खाध्य पदार्थहरू मस्तिष्कका लागि निकै उपयोगि देखिएका छन् । चार मगज त दिमागी शक्तिका लागि बरदान हो ।


चार मगज के हो ? 

खरभुजाको बिज (सीड) लाई मगज भनिन्छ भने खरभुजा, तरभुजा, काँक्रो र फर्सीको बीजलाई चार मगज भनिन्छ । चार मगज बे्रनसिड हो । सुपरसिड हो । चार मगज प्रोटिन र आइरनको अथाह भण्डार हो । मगजमा प्रशस्त मात्रामा भिटामिन तथा मिनरलस पाइन्छ । भिटामिन ई, जिंक, आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने भएकोले मुटु र मस्तिष्कलागि निकै उपयोगी मानिन्छ । मगज स्वादिलो तथा स्वास्थ्यको लागि समेत अति लाभदयाक मानिन्छ । बिशेषगरि चार मगज मस्तिष्क शक्ति बढाउनको लागि प्रयोग हुन्छ र यसले स्मरण शक्ति बढाउन मद्धत समेत गर्दछ । चार मगजको साथमा बदाम तथा ओख्खर पनि सेवन गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । खरभुजा, तरभुजा, काँक्रो तथा फर्सीको बिज र बदामको केर्नेल्स (आलमण्ड) लाई पाँच मगज तथा खरभुजा, तरभुजा, काँक्रो तथा फर्सीको बिज बदामको केर्नेल्स (आलमण्ड) र ओख्खरको घाजीलाई छ मगज भनिन्छ ।


चार मगजको उपयोगः
चार मगजलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । चार मगज उपयोगको सबैभन्दा सरल तरिका यसको चटनी बनाएर सेवन गर्नु हो । चार मगजलाई भुटेर र कुटेर दुःधमा हालेर पनि सेवन गर्न सकिन्छ । चार मगजलाई अन्य मस्तिष्कमैत्रिय पदार्थहरुसँग उपयोगमा ल्याउनु झनै राम्रो हुन्छ । यहाँ एउटा यस्तो घरेलु उपाय प्रस्तुत गरिएको छ, जुन मेधाशक्तिवद्र्धकको साथसाथै बलवद्र्धक पनि छ । प्रत्येक वर्ष जाडो मौसम (पुस–माघ)–मा कम्तिमा पनि ४० दिनसम्म निम्नलिखित  आयूर्वेदिक योगको सेवन गरेर यसको चमत्कार हेर्नुहोस् । यदि सम्भव भएमा यो योगको सेवन वर्षभरि नै गर्न सकिन्छ  ।

                                   आवश्यक सामग्रीहरू                             मात्र (दैनिक)
                                   चार मगज                                              १० ग्राम
                                   शंखपुष्पी चूर्ण                                         २ ग्राम
                                   घोडताप्रे (ब्राह्मी)चूर्ण                                २ ग्राम
                                   बोझो (वच) चूर्ण                                      २ ग्राम
                                   बदाम (आलमण्ड)                                  २ दाना
                                   ओख्खर घाजी                                        १ दाना
                                   पिस्ता                                                    २ दाना
                                   छोहोरा                                                  १ वटा    
                                   अलैंची                                                   ४ वटा
                                   सौफ                                                     ५ ग्राम
                                   नौनी वा घ्यू                                            १ चम्मा
                                   दूध (स्थानीय गाईको दूध उत्तम हुन्छ)     एक गिलास

राती एक कप पानीमा बदाम २ दाना, पिस्ता २ दाना, छोहोरा १ दाना, तथा चार मगज १० ग्राम एउटा कचौरामा भिजाएर राख्ने । बिहान नित्यकर्मबाट निवृत्त भए पछि बदामको बोक्रा हटाएर सिलौटामा पानी हालेर घोट्ने र लेप कचौरामा निकाल्ने । ओख्खर, पिस्ता, छोहोरालाई स–साना टुक्रामा काटेर त्यसैमा मिसाउने  । चार मगज पनि कचौरामा हाल्ने  । अलैंची पनि कुटेर राम्रोसँग मिसाउने  । त्यसपछि त्यो मिश्रणलाई खूब राम्रोसँग चपाएर खाने  । त्यसपछि शंखपुष्पी, घोडताप्रे र बोझोको चूर्णलाई नौनी वा घ्यूमा मिसाएर चाट्ने  । र, एक गिलास मनतातो दूध पिउने  । अन्त्यमा सौंफ मुखमा हालेर चपाउने, १५–२० मिनेटसम्म  । अनि निल्ने  । यो आयूर्वेदिक योग ज्यादै बलवद्र्धक तथा मेधाशक्तिवद्र्धक छ  । सेवन गरेर लाभ उठाउन सकिन्छ  । 


मेमोरी मिल्कः
एक चम्चा चार मगजलाई भुट्ने र कुटेर चुर्ण बनाउने र गिलास मनतातो दुःधमा मिसाउने । एक एक  चिम्टी दालचिनी र सुकमेलको धुलो पनि मिसाउने । अनि आधा चम्चा बदामको तेल तथा एक चम्चा मह मिसाएर सेवन गर्ने । यो मेमोरी मिल्क बालबालिका तथा विद्यार्थीका लागि निकै उपयोगी छ ।

ब्रेनका लागि आयूर्वेदिक औषधी
आयूर्वेदका अनुसार मस्तिष्क तथा स्मरणशक्ति बढाउन सहयोग गर्ने केही प्रमुख जडीबूटी तथा आयूर्वेदिक औषधीहरू यस प्रकार छन् । घोडताप्रे (ब्राह्मी), बोझो(वच), शंखपुष्पी, अश्वगन्ध, बदाम, ज्योतिष्मति, जिंको बिलोबा, तुलसी, पिपलको फल, मुलेठी, ओखर,  अमला, स्टा«बरी तथा सर्पगन्ध आदि ।  आयूर्वेदिक औषधीः सारस्वत चूर्ण, शंखपुष्पी सीरप, स्मृति कल्प रस, अश्वगन्धारिष्ट, मेन्टेट सीरप, जिंको बिलोबा, सेन्ट जोन्स वर्ट तथा जिनसिङ, ब्रह्मीघृत, दिव्य मेधावटी, खमीरा गावजबां अम्बरी(युनानी औषधि) तथा एनाकार्डियम–३० शक्ति (होमियोप्याथीक औषधि) आदि ।



पुछारमाः
चार मगज मस्तिष्कका लागि निकै फाइदाजनक छ । बजारमा पाइने ब्रेन टनिकको तुलनामा निकै सस्तो पनि छ । त्यसैले सर्वसाधारणले नचिनेको चार मगजलाई उपयोगमा ल्याएर मस्तिष्कलाई स्वस्थ र मजबुत बनाऔं । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)