Monday, June 1, 2020

ब्रेन बाइट्स:

संझनाशक्ति बढाउने शंखपुष्पी 
ओम बानियाँ
शंखपुष्पी अर्थात् कन्वाल्व्यूलस प्लूरिकोलिस । प्राचिनकालदेखि नै औषधिको रुपमा प्रयोग हँुदै आएको एक बहुउपयोगी दिव्य वनस्पति हो । यसको फूल शंख जस्तो हुने हुनाले यसलाई शंखपुष्पी भनिएको हो । यो वनस्पति प्राकृतिकरुपमा नेपालमा पनि पाइन्छ । फूलको आधारमा यसका तीन जाती हुन्छन् । सेतो, रातो र निलो शंखपुष्पी । औषधीय प्रयोगमा भने सेतो फूल फुल्ने शंखपुष्पी उपयुक्त मानिन्छ । 


ब्रेन टनिकः
प्राचिनकालदेखि नै शंखपुष्पीलाई एक बे्रन टनिकका रुपमा प्रयोग गरिदै आएको छ । चरकले यसलाई स्मरणशक्तिवद्र्धक वनस्पति भनेका छन् । आधुनिक वैज्ञानिक अनुसंधानले समेत शंखपुष्पी स्मरणशक्तिवद्र्धक, बुद्धिवर्धक, आयूवद्र्धक तथा शान्तिदायक वनस्पति भएको पुष्टि गरेको छ । यो वनस्पति मानसिक रोग हटाउने तथा मस्तिष्क शक्ति बढाउने उत्तम औषधि हो । अनिद्रा रोगमा पनि यो निकै उपयोगी छ । यसले पित्तलाई शमन गर्छ । मिर्गी रोगको पनि उत्तम औषधि हो । शंखपुष्पीलाई प्राकृतिक आईक्यू बुस्टर पनि भन्ने गरिन्छ । मस्तिष्क शक्तिवद्र्धक जति पनि वनस्पतिहरु छन्, ती मध्य शंखपुष्पी प्रमुख हो । यसले स्मरणशक्तिको कमजोरी तथा मस्तिष्क सम्बन्धित रोगहरुमा विशेष लाभ गर्छ । यसमा मानसिक उत्तेजना कम गर्ने गुण पनि हुन्छ । पढाइलेखाइमा कमजोर तथा हाइपर विद्यार्थीका लागि शंखपुष्पी निकै उपयोगी छ । यस्ता विद्यार्थीले चिकित्सकको सल्लाहमा शंखपुष्पी सिरप वा शंखपुष्पी चूर्ण ३ देखि ६ महिना सेवन गरेर लाभ प्राप्त गर्न सक्छन् । 

अटिजम टनिकः
अटिजम एक असाध्य न्युरोडेभलपमेन्ट रोग हो । यस रोगबाट पीडित बालबालिकाका लागि शंखपुष्पी निकै उपयोगी मानिन्छ । तर यस सम्बन्धमा थप अनुसंधानको आवश्यकता छ । 

उच्च रक्तचापमा उपयोगीः
तनावका कारण पैदा भएको उच्च रक्तचापमा पनि शंखपुष्पी निकै उपयोगी छ । शंखपुष्पी २५० ग्राम, जटामांसी १५० ग्राम खुबसँग मिलाएर शिशिमा राख्ने । आधा चम्चा यस चूर्णलाई बिहानसाँझ सेवन गर्ने हो भने उच्च रक्तचापमा विशेष लाभ हुन्छ । 

थाइरोइडमा प्रभावः 
शंखपुष्पीले थाइरोइड ग्रन्थिमा प्रभाव पारेर स्रावलाई सन्तुलित बनाउँछ । हाइरथाइरोइडिज्मबाट उत्पन्न हुने घबराहट, अनिद्रा तथा कम्पन्न जस्तो उत्तेजना नियन्त्रण गर्न शंखपुष्पी निकै उपयोगी छ । हाइपरथाइरायडको समस्या भएका ब्यक्तिले शंखपुष्पीको प्रयोग गरेमा यो समस्याबाट मुक्ति सहजै मिल्दछ । यसका लागि शंखपुष्पिको पञ्चांग (पञ्चांग भन्नाले फुल फल जरा काण्ड र पात भन्ने बुझाउँदछ) चुर्ण ३ देखी ६ ग्राम दिनको ३ पटक खानु पर्दछ । शंखपुष्पी सिरप पनि उपयोगी हुन्छ ।


मानसिक रोगमा उपयोगीः

 शंखपुष्पी तनाव, चिन्ता, घवराहट, डिप्रेसन, मेनिया, मिर्गी, हिस्टेरिया तथा अनिद्रा जस्ता मानसिक रोगहरुमा निकै फाइदाजनक मानिन्छ । त्यसैले उपयुक्त तरिकाले यसको सेवनबाट यस्ता रोगहरुबाट मुक्ति प्राप्त गर्न सकिन्छ । 
शंखपुष्पी सिरप

शंखपुष्पी सिरप मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढाउने एक प्रसिद्ध आयूर्वेदिक टनिक हो । यसले मस्तिष्कलाई बलप्रदान गर्छ । मनलाई शान्त पार्छ । यो टकिन स्मरणशक्तिको कमी, भूल्ने रोग, एकाग्रताको कमीमा निकै उपयोगी छ । मानसिक तनावबाट पैदा भएका जति पनि रोगहरु छन्, यस्ता रोगहरुमा यसले विशेष लाभ गर्छ । साधारणतया १० मिली लिटर शंखपुष्पी सिरपमा शंखपुष्पी पंचांग २ सय मिलीग्राम, ब्राह्मी ५० मिलीग्राम, शक्कर ८ हजार मिलीग्राम, निम्बू सत्व ६ मिलीग्राम हुन्छ । कुनै कुनै कम्पनीहरुले बोझो तथा ज्योतिषमति पनि मिसाएर शंखपुष्पी सिरप बनाउँछन् । यो टनिक बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ । शंखपुष्पी सिरप चिसो प्रकृतिको हुने हुँदा यसको सेवन जाडोयाममा भन्दा गर्मीयाममा गर्न ठीक हुन्छ । जाडोयाममा सेवन गर्नु पर्दा मनतातो पानीसँग सेवन गर्नुपर्छ । 

पुछारमाः
शंखपुष्पी प्राकृतिक बे्रन बुस्टर हो । अतः यसको उचित प्रयोग गरे मस्तिष्क शक्ति बढाउनको साथै तानवसँग सम्बन्धित रोगहरुको उपचार समेत गर्न सकिन्छ । बढी मानसिक कार्य गर्ने व्यक्तिहरुले यसको सेवन गर्न राम्रो हुन्छ । विद्यार्थीका लागि यो प्रकृतिको दिव्य उपहार हो । उचित मात्रामा यसको सेवन गर्ने हो भने यसको कुनै साइडइफेक्ट हुँदैन । त्यसैले यस महत्वपूर्ण वनस्पतिको बारेमा चांसो राखेर यसको व्यावसायीक खेती गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)

No comments:

Post a Comment