Tuesday, June 2, 2020

ब्रेन बाइट्स 

सेवाको शक्ति 
ओम बानियाँ 

फ्नो ७ वर्षको छोरोले ज्यादै जिद्धी ग¥यो । त्यो बालहठदेखि तङ आएर आमाले छोरालाई एक थप्पड दिईन । छोरो ‘कुक्काइ–कुक्काइ’ खुब रोयो । अनि आमाको रिसले रन्थनिएर घरबाट निस्कियो । घुम्दाघुम्दै जंगलमा पुग्यो । सुनशान त्यो जंगल देखेर ऊ निकै डरायो र रुन थाल्यो । ऊ रुदै, आमालाई सम्झिदै जोडले करायोः ‘आई हेट यु.......।” जंगलले प्रतिध्वनी ग¥योः ‘आई हेट यु..........आई हेट यु.........।’ त्यो जंगलबाट निस्केको त्यो चर्को आवाज सुनेर बालक आत्तियो र घरतिर दौडियो । आमाको काखमा गएर जंगलको सारा वृत्तान्त सुनायो । छोराको कुरा सुनेर आमाले भनिन्ः “बाबु, तिमीले एउटा काम फेरि गर । फेरि त्यही जंगलमा जाऊ र त्यही ठाउँमा उभिएर भन, आई लव यु ।” आमाको सल्लाह मुताबिक बालक पुनः डराइ–डराइ जंगलमा गयो  र त्यही ठाउँमा उभिएर जोडले भन्योः “आई लव यु......।” जंगलले प्रतिध्वनी ग¥योः ‘आई लव यु............आई लव यु.......। जंगलको त्यो प्रतिध्वनी सुनेर ऊ निकै खुसी भयो । अनि बाख्राको पाठोझैँ बुर्कुसी मार्दै गरतिर फर्कियो । 

हो, समाजले हमेसा यस्तै प्रतिध्वनी गर्छ । त्यसैले यदि हामीले समाजलाई घृणा दियौँ भने समाजले हामीलाई घृणा नै दिन्छ । यदि हामीले प्रेम दियौँ भने प्रेम नै दिन्छ । यस मनोविज्ञानलाई प्रकाश पार्दै जेनेट कोलले लेखेका नै छन्ः 

अरुको सहयोग नगरिकन,
हामीले आफ्नो सहयोग गर्न सक्दैनौं ।
अरुलाई फाइदा नदिइकन,                 
हामीले आफुलाई फाइदा पु¥याउन सक्दैनौं ।
अरुलाई खुसी नदिइकन,
हामी आफु खुसी हुन सक्दैनौं ।” 

तर यो सामाजिक मनोविज्ञानलाई धेरै कमले बुझ्ने गर्छन् । त्यसैले त अहिलेको जमानामा निश्वार्थ भावले सामाजिक सेवा लाग्ने मानिस बिरलै भेटिन्छन् । धेरैलाई थाहा भएकै कुरो हो, नेपालमा सामाजिक सेवालाई राजनीतिको सिँढी बनाउने तथा सामाजिक संस्थाहरूलाई मागी खाने भाँडो बनाउनेहरू थुप्रै छन् । यसको मतलब सबै समाजसेवीहरू यस्तै हुन्छन् भन्ने होइन । तर यस्ता काला थुतुना भएका कथित समाजसेवीहरूले छेपारोलेझैँ रंग बदलिरहन्छ र कुनै न कुनै रुपमा समाजलाई बलत्कार गरिरहन्छन् । 

हो, समाजमा अनेक थरिका मानिसहरू हुन्छन्, छिमेकीको घरमा आफै आगो झोसिदिएर एक बाल्टी पानी बोकेर ‘गुहार–गुहार’ भन्दै आगो निभाउन दौडिँने व्यक्तिहरू पनि हुन्छन् । जलिरहेको घर हेर्ने रमितेहरू पनि हुन्छन् । कारोबारमा मिलावट गर्ने तथा कमसल बस्तुहरू चर्को मुल्यमा विक्री गर्ने कालोबजारीयाहरू त समाजमा निकै धेरै हुन्छन् । हुन पनि हो, मौका पाएर पनि घुस नखाने प्रहरी–कर्मचारी तथा नियमकानुन अनुसार तलमाथि नगरिकन कारोवार गर्ने उद्योगपति र व्यापारी कति नै छन् र यो समाजमा ?

केही वर्ष अगाडिको कुरा हो बुटवलका एक जना कपडा व्यापारी आफन्तलाई भेट्न गोराही, दाङ गएका रहेछन् । गाउँमा शुद्ध घिउ पाइन्छ भन्ने थाहा पाएर तीजको लागि आवश्यक घिउ लिन गाउँमा पुगेछन् । एक कृषकले उनलाई ताजा र शुद्ध घिउ दिन्छु भन्दै ठुलो ठेकोमा दही मथेछन् र घिउका खाउँ–खाउँ लाग्ने ठल्लाहरू निकालेर उनकै अगाडि तताएर दिएछन् । व्यापारी ताजा र शुद्ध घिउ लिएर घर फर्केछन् र साँझ नै भातसँग शुद्ध र ताजा घिउ खाएर स्वाद फेर्न घिउ मुखमा के हालेछन्, उनको स्वाद नै बिग्रिएछ र उनले थुःथुः गर्दै घिउ थुकेछन् । आफ्नै आँखा अगाडि मथेको दहीबाट निकालेको घिउ किन यस्तो भयो ? उनको दिमागमा प्रश्न खडा भएछ । अनि उनी त्यो घिउ लगेर प्रयोगशाला जाँच गर्न दिएछन् । जाँचमा घिउमा दुईतिहाइ वनस्पति घिउ मिसाइएको पाइएपछि प्रयोगशालाका कर्मचारीले हाँस्दै व्यग्ंय गरेछन्, ‘तपाईंले खासाको कपडालाई एक्पोर्ट क्वालिटिका कपडा भन्दै बेचेर ठग्नुहुन्छ, आज तपाईलाई गाउँको कृषकले पनि वनस्पति घिउलाई शुद्ध घिउ भनेर ठगे छ । तपाईंले दही मथेको त हेर्नु भयो, तर ठेकोमा के–के हालिएको छ भन्ने त हेर्नु भएन नि ?’

हो, हरेक समाजमा खराब मानिसहरू पनि हुन्छन्, असल मानिसहरू पनि हुन्छन् । डा. गोविन्द केसी तथा महावीर पुन जस्ता आँखामा राखे पनि नबिझाउने महान् समाजसेवीहरू पनि हुने गर्छन् । यस्ता समाजसेवीहरूको सामाजिक जोशलाई हरेक समाजिक मानिसहरूले सलाम गर्नुपर्छ र उनीहरूलाई साथ दिएर उनीहरूको उत्साह बढाउनुपर्छ भने समाजिक संघसंस्थाहरूलाई मागी खाने भाँडो बनाउने असामाजिक तत्वहरूलाई निरुत्साहित पार्नुपर्छ, नंगाउनुपर्छ । जेसुकै होस् भनेर ‘चुपचाप’ बस्नु हुँदैन । यदि समाजले ‘चुपचाप’ बसेर रमिता हे¥यो भने समाजका लागि केही राम्रो काम गरौँ भन्ने स्वःउत्प्रेरित युवाहरूको पनि जोश घट्न सक्दछ । 


मानिस एक सामाजिक प्राणी हो । मानिस समाजबाट कदापि अलग रहन सक्दैन । त्यसैले मानिसले आफ्नो पारिवारिक कर्तव्यका साथै सामाजिक सेवालाई जीवनको अभिन्न अंग मान्नुपर्छ । र, हरेक सामाजिक कार्य तथा विकास निर्माणको यज्ञमा आफ्नो क्षेत्रबाट यथासक्य सेवा र आर्थिक दान गर्नुपर्छ ।  सेवाबाट कहिल्यै अलग रहनु हँुदैन । एउटा भनाइ नै छ सेवा गरे मेवा पाइन्छ । तर, रक्सीभट्टी खोलेर अकुत सम्पत्ति लुट्ने र सेवाको नाममा अस्पताललाई चन्दा दिने वा चामलमा ढुङ्गा हालेर बेच्ने र गाउँमा मन्दिर बनाएर समाजसेवीको खोल ओड्ने जस्तो कामहरू गर्नु हँुदैन । वास्तवमा यो सेवा होइन, वेइमानी हो । यो त एक प्रकारले अर्काको घरमा आगो लगाएर घर सखाप भएपछि एक बाल्टी पानी लिएर अगि सर्नु जस्तै हो । त्यसैले यस्तो सेवाको कुनै अर्थ छैन । त्यो किनभने मानिसको पहिलो कर्तव्य भनेको नै आफ्नो पेशा वा व्यवसायप्रतिको इमानदारीता हो । त्यसैले यदि तपाईं गल्ला व्यापारी हुनुहुन्छ भने तपाईंको कर्तव्य हो कि ग्राहकलाई उचित मुल्यमा शुद्ध खाद्यान्न बेच्ने, यसको साथै बेलाबेलामा सामाजिक कार्यहरूमा ‘होस्टेमा हँैसे’ मिलाउने तथा आफ्नो आम्दानीको केही रकम बिना स्वार्थ सामाजिक सेवामा खर्च गर्ने । तर, अधिकांश मानिसहरूले यस्तो शुभकर्मलाई घाटाको व्यापार मान्छन्, अवनतिको बाटो ठान्छन् । तर सारमा यस्ता व्यक्तिहरू सोह्रैआना गलत छन् । त्यो किनभने यो घाटाको व्यापार होइन, यो त नाफैनाफाको सागर हो । एक पटक यो बाटोमा हिँडेर त हेर्नुहोस्, तपाईं प्रतिष्ठा मात्र होइन कि आर्थिक उन्नति पनि रातरात चौगुना हुनेछ ? यदि तपाईं चिकित्सक हुनुहुन्छ भने मीठो बोली र प्रेमका हातहरूले रोगीहरूको ठीक उपचार गर्नुहोस् । गरीब, दुःखी, अनाथ र दीनहीनलाई आफुले सक्दो सहयोग गर्नुहोस् । ९० प्रतिशत रोगहरू त चिकित्सकको आत्मविश्वापूर्ण बोली र सालिन व्यवहार तथा उचित जीवनशैलीका बारेमा दिइने सुझावबाट नै ठीक हुन्छन् । यदि तपाईं नर्स हुनुहुन्छ भने फ्लोरेन्स नाइटिङ्गेलको आर्दशलाई कहिल्यै नछोड्नुहोस् । दिनरात रोगीविरामीको सेवामा खटिनुहोस् । यदि तपाईं कर्मचारी हुनुहुन्छ भने तपाईं आफ्नो काम गराउन जाँदा अन्य कर्मचारीबाट जस्तो व्यवहार चाहनुहुन्छ, तपाईंले पनि सेवाग्राहीसँग त्यस्तै व्यवहार गर्नुहोस् । यो नै पेशाकर्मी तथा कर्मचारीको पहिलो कर्तव्य हो । एक पटक सेवाग्राहीलाई यस्तो सेवा दिएर त हेर्नुहोस्, तपाईंको प्रतिष्ठा कसरी बढ्दो रहेछ ?


हो, नेपालको राजनीति निकै फोहोर छ । राजनीति फोहोर हुनाले नै हरेक क्षेत्र फोहोरले भरिएको छ । यसको प्रमुख दोषी सरकार र राजनीतिक दलका नेताहरू नै हुन् । तर देश खत्म भयो भनेर केवल नेताहरूको सत्तोसराप गरेर मात्र हुँदैन, हरेक नागरिकले आ–आफ्नो ठाउँमा बसेर इमानदारीपुर्वक आफ्नो कर्तव्य र दायित्व पनि पूरा गर्नुपर्छ । आखिर ओली, प्रचण्ड, तथा शेरबहादुरहरूलाई नेता बनाएको कसले हो ?  त्यसैले नेतादेखि कृषकसम्मका हरेक नागरिकहरूले आ–आफ्नो पेशा–व्यावसायप्रति इमानदारिता र अनुशासन देखाउँदै आफ्नो सामाजिक दायित्वको पनि बोध ग¥यो भने नै यो नेपाल संसारकै राम्रो बन्ने छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)




No comments:

Post a Comment