Wednesday, June 10, 2020

हेल्थ फर्स्ट 

गर्मीयामको खान्की 
ओम बानियाँ

र्मी मौसम विभिन्न खाले स्वास्थ्य समस्याहरुको मौसम पनि हो । झाडापखाला तथा पेटसम्बन्धि समस्या त गर्मी महिनाका पहिचान नै हुन् भन्दा फरक पर्दैन । गर्मी महिनामा खानेकुरा छिटो सड्ने, जिवाणुको संक्रमण बढि हुने र जिवाणुको वृद्धि विकास बढी हुने भएकाले विभिन्न खाले सरुवा रोगहरुको जोखिम बढी हुन्छ । त्यसमाथि अहिले त झन कोरोनाको महामारी फैलिएको छ । त्यसैले गर्मीमा हुने स्वास्थ्य समस्याबाट बच्न खानपानमा निकै ध्यान दिनुपर्ने हुन्छ ।


गर्मीयामको समाप्तिसँगै आउने वर्षायाममा पनि उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मी महिनामा ठोस खानेकुरा जतिसक्दो थोरै खानुपर्छ भने तरल पदार्थ जतिसक्दो धेरै खानुपर्छ । गर्मीयाममा यी खानेकुरा सकेसम्म नखानु नै बेस । खानै परेमा निकै होसियारी अपनाउनुपर्छ ।

मसलेदार खानेकुराः
मसलेदार खानेकुराहरु धेरैलाई मन पर्छ । मासु तथा तरकारीमा विभिन्न खाले मसलाहरु मिसाइएन भने खल्लो लाग्छ । तर गर्मी महिनामा खुर्सानी, अदुवा, जिरा, दालचिनी तथा तयारी मसलाको सेवन कम भन्दा कम गर्नु ठीक हन्छ । यस्ता मसलाले शरीरमा तापक्रम बढाएर हानी गर्छ ।

रातो मासुः 
रातो मासु तथा प्रउन जस्ता गर्मी पैदा गर्ने मासुजन्य खानेकुराहरु पनि गर्मी महिनामा धेरै खानु हुँदैन । यस्तो मासुजन्य पदार्थको बढी सेवनले पेट खराब गर्ने र झाडावान्ता गराउने सम्भावना हुन्छ ।

गहुँको रोटीः 
गहुँको पिठो तथा आटाबाट बनाइएको रोटी गर्मी महिनामा खानु उति लाभदायक मानिँदैन । रोटी पचाउन गाह्रो हुन्छ । त्यसैल रोटी खानै परे बिहानको भोजनमा खाने र बेलुकीको भोजनमा भात खाने ।

रोष्ट परिकारः 
रोष्ट गरिएका मासुजन्य तथा अन्य परिकार पनि गर्मी महिनामा बढि नखानु बेस हुन्छ । बासी रोष्टका परिकारहरु झन खानु हँुदैन ।

आँपः


गर्मी महिनामा आँप खान सबैलाई मीठो लाग्छ । तर दिनको १–२ गोटाभन्दा बढी आँप खाँदा शरीरमा गर्मी बढ्ने र पेट खराब हुने लगायतका समस्या देखिन सक्छन् । त्यस्तै किशोरकिशोरीले बढि आँप खाएमा डण्डीफोर अधिक आउने समस्या देखिन्छ । आँपलाई चिसो पानीमा रातभर डुबाएर अर्को विहान निकालेर राम्ररी बोक्रा छिलेर खाँदा राम्रो हुन्छ । काँचो आँपबाट बनाइएको आँपको पना सेवन गर्नु गर्मीयाममा निकै लाभदायक हुन्छ ।

घिउ तथा दुग्धजन्य पदार्थः
गर्मी महिनामा घिउ तथा दुग्धजन्य गर्मी गराउने परिकारको सेवन पनि कम गर्नु ठीक हन्छ ।

जंक फुडः
जंक फुड, फास्ट फुड तथा बढि तेल मिसिएका वा तेलमा तारेका खाद्यपदार्थको सेवन पनि कम गर्नुपर्छ । यस्ता परिकारबाट फूड प्वाइजनिङको सम्भावना बढ्छ । जंक फुड तथा फास्ट फुड अन्य मौसममा पनि नखानु नै बेस ।

चिया कफीः
चिया र कफीको सेवनले शरीरलाई कनै फाइदा गर्दैन, उल्टो असर गर्छ । जाडोयाममा एक दुई कप चिया र कफी सेवन गरे पनि गर्मीमा चिया र कफी नखानु नै बेस हुन्छ ।

कोल्ड ड्रिंक्सः
गर्मी महिनामा शरीरलाई चिसो बनाउन आइसक्रिम तथा कोल्ड ड्रिंक्स अत्याधिक सेवन गरेको पाइन्छ । तर शरीर चिसो बनाउने नाममा आइसक्रिम र कोल्ड ड्रिंक्स बढि खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पूराउँछ । बालबालिका, बिरामी, गर्भवती, सुत्केरी तथा बृद्धबद्धाले कोल्ड ड्रिंक्स खान हुदैन ।

उसो भए के खाने तः

गर्मीयाममा शरीरमा पानीको मात्रा कम रहने हुनाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । फ्रिजको पानी भन्दा घैंटोको पानी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । पानीको साथसाथै जौ वा गहुको सातुको शर्वत, बेल, खस तथा चन्दनको शर्वत, आपको पना, उखुको रस, नरिवल पानी, चिसो मीठो लस्सी आदि पिउनुपर्छ । लस्सी त गर्मीयामका लागि अमृत नै हो । 


लस्सी बनाउन निकै सजिलो छ । लस्सी सजिलै घरमा बनाएर सेवन गर्न सकिन्छ । लस्सीका लागि आवश्यक सामाग्री हुन्ः दही, पानी, तथा मिश्री वा चिनी । चार गिलास लस्सी बनाउनका लागि दुई गिलास दही, दुई गिलास चिसो पानी र ४ चम्चा चिनी वा मिश्री मिलाएर ब्लेंडरमा हाल्ने र राम्रोसग घोल्ने । अनि ४–५ थोपा गुलाबजल मिलाउने । लस्सी तयार भयो । जौको सातु शितल, पौष्टिक तथा कब्जनाशक हुन्छ । त्यसैले गर्मीयाममा जौको सातुलाई पानीमा घोलेर पिउनु राम्रो हुन्छ । खानामा भात, जौ वा गहुको रोटी, मुंग वा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाको चट्नी, काँक्रो, गाजर आदिको सलाद खाने गर्नुपर्छ । नास्तमा तरभुजा, खरभुजा जस्ता रसद्धार फलफलहरु सेवन गर्न ठीक हुन्छ । 

चिसो पेयको सट्टा कागतीको सर्बत 

 
 गर्मीसँगै शरीरलाई मनग्ये पानी चाहिन्छ । ठीक यही बेला अस्वस्थकर अनि महँगो चिसो पेय पदार्थको बिक्री पनि बढ्छ । यस्ता पेय पदार्थले हड्डी कमजोर बनाउँछन् । त्यसो भए गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने? प्रश्न हुन सक्छ । कागतीको सर्बत सबैभन्दा प्रभावकारी उत्तर यही हो । सर्बतलाई हामी गर्मी वा जाडो, तातो वा चिसो जेमा पनि मिलाएर खान सक्छौं । गर्मीले थकित भएको बेला वीरेनुन, कागती र पुदिनाको पात हालेर पानी पिउन पाइयो भने शरीरलाई पानी त पुग्छ नै कागतीमा रहेको भिटामिन सी र पुदिनाको पातले रोगसँग लड्ने क्षमता बढाउँछ । कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेला हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ । गर्मीमा शरीरलाई चाहिने पानी पर्याप्त ऊर्जा हुन्छ । 


 
कोरोनाको संक्रमणबाट बच्न प्रतिरोधक क्षमता बढाउन बिहान खाली पेटमा एक चम्चा (१० एमएल) अमलाको रस, एक चम्चा घिउकुमारीको रस तथा एक चम्चा गुर्जोको (गिलोय) रस । तीन चम्चा तातो पानीमा मिसाएर सेवन गर्ने वा तातो पानीसँग एक चम्चा अमलाको धुलो तथा काँचो बेसारको सानो टुक्रा सेवन गर्ने । सकिन्छ भने एक चम्चा च्यवनप्रास बिस्तारै बिस्तारै १० मिनेट समय लगाएर चाट्ने । मधुमेहीले चाही सुगरफ्रि च्यवनप्रास सेवन गर्ने । नास्ता खाने बेलामा तुलसी पत्र, दालचिनी, मरिच, सुठो, मुनक्का आदिको काढा वा जडिबुटि चिया पिउने । स्वादका लागि आवश्यकता अनुसार मह वा गुढ तथा कागतीको रस हाल्ने । साँझ पनि यो चिया पिउने । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् । )



No comments:

Post a Comment