Sunday, June 7, 2020

ब्रेन बाइट्स 

ब्रह्माण्डीय ब्रेन 
ओम बानियाँ 

ब्रेन (मस्तिष्क) मानव शरीरको सबै भन्दा महत्वपूर्ण जीवनदायी अंग हो । ब्रेनद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ । मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही ब्रेन नै हो । ब्रेन मेमोरी बैंक पनि हो । मेमोरी लगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही ब्रेन हो । वास्तवमा बे्रन बोडीको बोस हो । त्यसैले मानव जीवनमा ब्रेनको ठूलो महत्व छ । ब्रेनको यही महत्वका कारण नै प्राचिन कालदेखि नै ब्रेनको शोधखोज तथा जाँचपडतालप्रति वैज्ञानिकहरूको ठूलो दिलचस्पी रहँदै आएको छ । समयसँगै ब्रेनको शोधखोज तथा जाँचपडतालको प्रक्रिया र स्वरुप पनि परिर्वतन हुदै गयो । आधुनिक कालको शुरुतिर ब्रेनको जाँचपडतालका लागि नापतौलको प्रक्रिया थालनी भयो । त्यसबेला ब्रेनको होइन कि पूरा खोपडीकै नापतौल हुने गर्दथ्यो । ब्रेनको जाँचपडतालको यो तरिका लामो समयसम्म चलिरह्यो । तर १९ औं शताब्दीमा आएर यस्तो निरन्तरताको क्रमभंग भयो । 


फांस्रीसी वैज्ञानिक पाल ब्रोकाले खोपडीको ठाउँमा गिदी अर्थात् ब्रेनको नापतौल शुभारम्भ गरे । प्रमुख हस्तीहरूको मृत्यु हुने बित्तिकै ब्रोका त्यहाँ पुगेर ब्रेनको तौल लिने गर्थे । ब्रोकाको दावी थियो कि जसको ब्रेनको तौल बढी हुन्छ, त्यही व्यक्ति नै बढी बुद्धिमान् हुन्छ । अध्ययनको क्रममा उनले २ किलो ग्रामको ब्रेन फेला पारे । तर महान् गणितज्ञ गौसको ब्रेनको तौल केवल १४ सय ९२ ग्राम अर्थात् ब्रेनको औसत तौलभन्दा पनि कम देखियो । त्यसैले प्रश्न उठ्यो, बुद्धिमान् मानिसको ब्रेनको तौल बढी हुने भए गौस जस्ता बुद्धिमान् वैज्ञानिकको ब्रेनको वजन यति थोरै किन भयो ? 

स्वयं पाल ब्रोकाको ब्रेन समेत १४ सय २८ ग्राम देखियो भने यस युगकै महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनको ब्रेनको तौल समेत लगभग त्यति नै थियो । त्यसैले ब्रेनको वजन बढी भएका मानिस बढी बुद्धिमान् हुन्छन् भन्ने ब्रोका लगायतका वैज्ञानिकहरूको तर्क गलत सावित भयो ।ब्रोकाको तर्क गलत सावित भएपछि ब्रेनको जाँचपडताल गर्ने एक अर्को नयाँ विधि शुरु भयो । स्नायुवैज्ञानिकहरू ब्रेनको क्षेत्रफल र वनौटमा केन्द्रित भए । जाँचपडतालसँगै ब्रेनको बाहिरी सतह (कोर्टेक्स) जति बढी उबडखाबड हुन्छ, त्यत्ति नै मानिस बुद्धिमान् हुन्छ भन्ने तर्क बाहिर आयो । वैज्ञानिक गौसको ब्रेन जाँचपडताल गर्दा उनको ब्रेन पनि अत्यन्तै बढी उबडखाबड देखियो । यसले यस तर्कलाई थप बल दियो। 


न् १९५५ मा विश्वलाई एउटा अपूर्णीय क्षती भयो, महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनको देहान्त भयो । देहान्तपछि परम्परा अनुसार उनको सतिगति पनि भयो । तर अचम्म लाग्दो कुरा के भयो भने सन् १९६० मा साइन्स पत्रिकामा आइन्सटाइनको ब्रेनको तस्विर छापियो । आइन्सटाइनको ब्रेन साइन्स पत्रिकामा छापिने बित्तिकै विज्ञान जगतमा एउटा तरंग फैलियो, हलचल मच्चियो ।अनुसंधानपछि थाहा भयो, आइन्सटाइनको सतिगति गर्दा खोपडी त थियो, तर त्यसभित्र गिदी (ब्रेन) थिएन । पोस्टमर्टमको बेलामा नै आइन्सटाइनको ब्रेन गायव पारिएको थियो, चोरिएको थियो । त्यो चोर थिए, थोमस हार्वे । 

थोमस हार्वे को थिए ? थोमस हार्वे प्रिन्सटोन अस्पतालका एक कहलिएका प्याथोलोजिष्ट थिए । आइन्सटाइनको मृत्युको समयमा उनी त्यही काम गर्दथे । आइन्सटाइनको पोस्टमर्टममा समेत उनी संलग्न थिए । त्यसै बखतमा नै उनले बढो चलाखीपूर्ण तरीकाले आइन्सटाइनको ब्रेन गायब बनाएका थिए ।  

न् १९८० मा क्यालिफोर्निया विश्वविद्यालयकी प्रसिद्ध न्युरोएनाटोमिष्ट प्रो. डा. म्यारियन सी. डायमन्डले गायब भएको आइन्सटाइनको ब्रेन खोजेर त्यसको वैज्ञानिक अध्ययन गर्ने निधो गरिन् र विभिन्न माध्यमहरू अपनाई थोमस हार्वेबाट आइन्सटाइनको ब्रेन प्राप्त गर्न सफल भइन् । र, आइन्सटाइनको मृत्यु भएको २५  वर्षपछि उनले आइन्सटाइनको ब्रेनलाई संरक्षण गरेर राखेका अन्य ११ जना मानिसहरूको ब्रेनसँग तुलनात्मक अध्ययन गरिन् । अध्ययनबाट उनले आइन्सटाइनको ब्रेनमा ग्लियल सेल्स बढी भएको पाइन् । प्रो. डा. मेरियन सी. डायमन्डको यो खोजपछि ग्लिया(न्युरोग्लिया) सेलप्रति स्नायुवैज्ञानिकहरूको ध्यान आकृष्ट भयो । साथमा एउटा प्रश्न पनि खडा भयो, के ग्लिया(न्युरोग्लिया) सेलहरू बढी भएका कारण नै अलबर्ट आइन्सटाइन यति बुद्धिमान् भएका थिए ?


र, मैकमास्टर विश्वविद्यालयका प्रोफेसर सेन्ड्रा वाइटेल्सनले गरेको अर्को अध्ययनबाट दुई वटा अनौठो तथ्यहरू सामुन्ने आए । एक थियो, आइन्सटाइनको ब्रेनको पछिल्लो भागको माथिल्लो हिस्सा (पेराटाइल लोब) सामान्य भन्दा धेरै विकसित थियो । एक मतका अनुसार ब्रेनको यो भागले गणितीय कार्यहरू सम्पन्न गर्दछ । त्यसैले आइन्सटाइनले सारा गणितीय हिसाबकिताब यही पेराटाइल लोबको बलमा गरेका थिए भन्ने कतिपय वैज्ञानिकहरूको दावी छ । यसै गरी आइन्सटाइनको ब्रेनको अर्को विशेषता थियो, सामान्यता टेम्पोरल लोबको बीचमा एउटा नली हुन्छ, जसले टेम्पोरल लोब र पेराटाइल लोबलाई अगल गर्दछ, तर त्यो नलीलाई आइन्सटाइनको ब्रेनमा थिएन । त्यसैले यो पनि अनुमान गरियो कि यस्तो नलीको अभावमा टेम्पोरल लोब र पेराटाइल लोबका बीचमा बढी सम्वाद हुने गर्दथ्यो होला र आइन्सटाइन बढी बुद्धिमान भएका थिए होला ?

इन्सटाइनको मृत्यु भएको २५ वर्षपछि २ सय टुक्राहरू पारेर सुरक्षितसँग राखिएको आइन्सटाइनकोे ब्रेनको जाँचपडतालको अर्को अध्याय पनि सकियो । आइन्सटाइनको बुद्धि र ब्रेन क्षमताको तथाकथित संभावित कारणहरू पनि इंगित गरियो । तर अधिकांश स्नायुवैज्ञानिकहरू यस्ता तथ्यहरूप्रति पूर्ण सहमत हुन सकेनन् । त्यो किनभने आइन्सटाइन भनेको १४–१५ सय ग्रामका एक निर्जीव ब्रेन मात्र थिएनन्, वस्तुतः आइन्सटाइनको ब्रेन त उनको पूरा अस्तित्व –ब्रह्माण्ड) को एक हिस्सा थियो र त्यो ब्रेनले पूरा तालमेलका साथ कार्य गर्दथ्यो । वास्तवमा कुनै पनि मानिसको ब्रेन केवल एक शरीरिक अंग मात्र होइन, पूरा ब्रह्माण्डीय परिवेशको हिस्सा हो । र, यसको कार्य प्रणाली पूरा परिवेशसँग अन्तर्सम्बिन्धित हुन्छ । शरीरको हरेक क्रिया, स्मृति, विचार, चेतना आदिको आफ्नै महत्व छ । वास्तवमा यसैको आधारमा नै बुद्धिमत्ताको पहिचान हुन्छ ।

डेढ किलोको ब्रह्माण्ड


प्राचिन वैदिक वैज्ञानिक(ऋषिमुनी)हरूले ब्रेनका बारेमा धेरै नै शोधखोज गरेका थिए । उनीहरूले मस्तिष्क शक्ति बढाउने अनेकौं टेक्निकहरू पनि विकास गरेका थिए । ब्रह्माण्ड जति रहस्यमय छ, त्यत्ति नै मानव ब्रेन रहस्यमय भएको कुरा समेत उनीहरूले उल्लेख गरेका थिए । यो तथ्यप्रति अहिलेका नामी भौतिक शास्त्रीहरु पनि सहमत छन् । डा. दीपक चोपडा यसै तथ्यलाई प्रकाश पार्दै भन्छन्, बे्रन र ब्रह्माण्डमा निकै समानता छ । ब्रह्माण्डमा जे छ, ब्रेनमा पनि त्यही छ । वास्तवमा मानिसको ब्रेन एक ब्रह्माण्ड हो । लेखिका जुडिथ हुपरले आफ्नो प्रसिद्ध किताब द थ्री पाउण्ड युनिभर्समा लेखेकी छिन्ः ब्रेन बिना संसारमा केही छैन, न त क्वार्क छ, न त ब्लैक होल छ, न त प्रेम छ, न त घृणा छ । ब्रह्माण्डको अस्तित्व यसकारण छ कि यो हाम्रो बे्रनमा अवस्थित छ । अर्थात् ब्रेन भएर नै ब्रह्माण्डको अस्तित्व छ । ब्रेन हाम्रो लागि तीन पाउण्डको ब्रह्माण्ड हो ।


बुद्धि तथा स्मरण शक्ति भन्ने कुरा ब्रेनको कुनै एक भागको बपौती होइन कि यो त सामाजिक परिवेश एवं व्यक्तिको अनुभवको प्रतिफल हो । त्यसैले बुद्धिलाई पेराटाइल लोब तथा बढी ग्लियल सेल्सको पर्याय मान्नु सर्वथा गलत हो । वास्तवमा हरेक मानिस आफ्नो ठाउँमा महान् छन्, विशेष छन् । एक से एक प्रतिभावान् छन् । त्यो किनभने हरेक सामान्य मानिसको ब्रेन ब्रह्माण्डीय छ । मानिसको ब्रेनमा असीमित शक्ति र समाथ्र्य छ । मानव जीवनमा कुनै कुरा ठूलो हो भने आफ्नो प्रतिभा पहिचान गर्न सक्नु ठूलो कुरा हो । त्यसैले जोजसले आफ्नो प्रतिभा पहिचान गरेर मेहनतसाथ अगडि बढ्छन्, उनीहरूले नै जीवनमा महान् कार्य गर्दछन् र अमर बन्दछन् । महान् वैज्ञानिक अलबर्ट आइन्सटाइन यसैको एक सशक्त उदाहरण हुन् । भनिन्छ, ज्ञान आर्जन गर्न सकिन्छ, ज्ञानबाट बुद्धि विकास गर्न सकिन्छ । ज्ञान र बुद्धिको सामंजस्यद्वारा नै प्राप्त हुन्छ, सफलता ! (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)




No comments:

Post a Comment