Monday, June 29, 2020

ब्रेन बाइट्स:

तँपाईको ई.क्यु. कति  ?
ओम बानियाँ

मानिस एक बुद्धिमान् प्राणी हो । यही बुद्धिका कारण नै मानिस अन्य प्राणीको तुलनामा पृथक र श्रेष्ठ छ । सामान्यतया बुद्धि भन्नाले समझ अर्थात् बोध गर्न सक्ने, उचित–अनुचित, असल–खराव छुट्याउन सक्ने सामथ्र्यलाई बुझाउँछ । यस्तो सामथ्र्य हरेक मानिसमा फरक फरक हुन सक्दछ । अर्थात् कुनै मानिस तीक्ष्ण बुद्धिका हु्न्छन् भने कुनै मध्यम तथा कतिपय मानिसहरु मन्दबुद्धिका हुन्छन् । मानसिक दुर्वलताबाट पीडित मानिसहरु मन्दबुद्धिका हुन्छन् । 


मनोवैज्ञानिक विधिद्धारा मानिसको बुद्धि कति छ भन्ने कुरा नाप गर्न सकिन्छ । बुद्धिको यस किसिमको जाँचलाई नै बुद्धिलब्धी परीक्षण (आई.क्यु. टेस्ट) भन्ने गरिन्छ । जस्तो कि यदि बुद्धिलब्धी ९० देखि ११० आयो भने त्यसलाई समान्य बुद्धिवाला मानिस मानिन्छ । ७० देखि तल आयो भने मन्दबुद्धिको श्रेणीमा राखिन्छ । तर आई.क्यु. १४० भन्दा बढी भयो भने त्यस्तो मानिसलाई प्रतिभाशाली(जिनियस) मानिन्छ । 

२०औं शताब्दीका महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनको आई.क्यु. १६० थियो । केही दिन अघि दिवंगत अर्का महान् वैज्ञानिक स्टीफन हाकिंगको आई.क्यु. पनि १६० नै छ । संसारमा १४० भन्दा बढी आईक्यु हुने व्यक्तिहरु धेरै कम छन् । अधिकांश मानिसहरुको आई.क्यु. चाहीं ९० देखि ११० का बीचमा नै हुने गर्छ । हुनत आइन्सटाइन तथा स्टीफन हाकिंगको आधिकारिकरुपमा आई.क्यु. परीक्षण भएको छैन । तर उनीहरुले गरेको कार्य हेरेर उनीहरुको आई.क्यु. १६० को अनुमान गरिएको हो । त्यसो त कसै कसैले आइन्सटाइनको आई.क्यु. १९० भएको दावी पनि गरेका छन् । यो कुरा आफ्नो ठाउँमा छ । तर, यो लेख पढ्दै गर्दा धेरैलाई आईक्युको बारेमा थप कुरा जान्न उत्सुकता लाग्न सक्दछ । त्यसैले यहाँ आई.क्यु. वारेमा थप चर्चा गर्ने जमर्को गरिएको छ । चर्चा आईक्युको इतिहासबाट शुरु गरौं ।

बुद्धि परीक्षणको इतिहास:
 
आईक्यु अर्थात् बुद्धिलब्धी परीक्षणको इतिहास हेर्दा मनोवैज्ञानिक बुन्टले सन् १८७९ मा मनोविज्ञानको पहिलो प्रयोगशाला स्थापित गरेपछि नै बुद्धि परीक्षणको शुभारम्भ भएको मानिन्छ । त्यसपछि थुप्रै वैज्ञानिकहरूले आफ्नो योगदान दिए । ती मध्ये हलफ्रेड विनेटले यस दिशामा ठोस कार्य शुरू गरे । बुद्धि परीक्षणको विकासमा साइमन, बिनेट, गाल्टन, पीयरसन, कौटिल, एम. टरमैन तथा मैरिल जस्ता मनोवैज्ञानिकहरूमा नाम सर्वोपरी छ ।   


साधारणतया बुद्धि परीक्षणलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । ती हुन्ः  व्यक्तिगत बुद्धि परीक्षण । सामूहिक बुद्धि परीक्षण ।

व्यक्तिगत बुद्धि परीक्षणः

व्यक्तिगत बुद्धि परीक्षण भन्नाले त्यस्तो परीक्षणलाई जनाउँछ जसले व्यक्तिको बुद्धि परीक्षण गर्दछ । यसलाई अर्को शब्दहरूमा भन्ने हो भने यो परीक्षणद्वारा एक एक व्यक्तिको बुद्धि परीक्षण गर्ने गरिन्छ ।  

सामूहिक बुद्धि परीक्षणः
सामुहिक बुद्धि परीक्षण भन्नाले दुई वा भन्दा बढी व्यक्तिहरूलाई एक साथमा राखेर लिइने परीक्षणलाई जनाउँछ । यसको साथै बुद्धिपरीक्षण दुई किसिमका हुन्छन् । (क) शाब्दिक बुद्धि परीक्षणः यस किसिमको बुद्धि परीक्षणमा भाषा वा शब्दहरूको प्रयोग गरिन्छ । (ख) अशाब्दिक बुद्धि परीक्षणः यस किसिमको परीक्षणमा भाषाको प्रयोग गरिँदैन । यो परीक्षण त्यस्ता व्यक्तिहरूको लागि हो, जसलाई भाषाको ज्ञान हुदैन । अनपढ, बहिरा तथा अन्धा इत्यादिका लागि यो परीक्षण अन्तर्गत बुद्धि परीक्षण गर्ने गरिन्छ । यस किसिमका परीक्षण हातद्वारा गरिने हुदा यसलाई क्रियात्मक बुद्धि परीक्षण पनि भनिन्छ । 


बुद्धि परीक्षणका विभिन्न विधिहरू छन् । बुद्धि परीक्षण गर्ने विशेष संस्थाहरूमा प्रयोगमा ल्याइने केही बुद्धि परीक्षण यस प्रकार छन्ः

वैश्लरको बुद्धि परीक्षणः
यो बुद्धि परीक्षण ज्यादै प्रचलित छ । यो बुद्धि परीक्षणद्वारा ३ वर्षका बालबालिकादेखि ६४ वर्षसम्मका वयस्क मानिसको बुद्धि परीक्षण गर्न सकिन्छ । जस्तो कि ३ वर्षदेखि ७ वर्षका बालबालिकाको लागि वैश्लर प्राथामिक बुद्धि परीक्षण सात वर्षदेखि १६ वर्षका किशोर–किशोरीका लागि वैश्लर चिल्डे«न बुद्धि परीक्षण तथा १६ वर्षदेखि माथिका वयस्कका लागि वैश्लर व्यस्क बुद्धि परीक्षण । तर वैश्लरको बुद्धि परीक्षण १६ वर्षदेखि ६४ वर्ष सम्मका व्यक्तिहरूको बुद्धि परीक्षण गर्दा बढी उपयोग गरिन्छ । 

अलेक्जेण्डरको परीक्षणः
यो परीक्षण ७ देखि १८ वर्ष सम्मका किशोरहरूको लागि हो । अलेक्जेण्डरको यो परीक्षण शिक्षित अशिक्षित तथा बहिराहरूका लागि पनि उपयोगमा ल्याइन्छ । 


टरमन तथा मैटिल स्टैल्फोर्ड बिने बुद्धि परीक्षणः
यो परीक्षण २ देखि ६ वर्षका लागि हो । यस परीक्षणमा कुकुर, बिरालो, गुडिया, कचौरा, खेलौना तथा काठका टुक्रालाई प्रयोगमा ल्याइन्छ । 

रेवेन्स प्रोग्रेसिव मैट्रिक्सः
 यस अन्तर्गत दुई परीक्षणहरु छन्ः एउटा बालकका लागि र अर्को वयस्कका लागि । उपर्युक्त सबै परीक्षण अशाब्दिक अर्थात् लिखित परीक्षण हुन् । केही परीक्षण शाब्दिक पनि हुन्छन्, जसका लागि मौखिक प्रश्नहरू सोध्ने गरिन्छ । यस्ता परीक्षणलाई घरमा नै प्रयोग गरेर आफ्ना बालकहरूको बुद्धि परीक्षण गर्न सक्नुहुनेछ । यस्ता शाब्दिक बुद्धि परीक्षण मध्ये केही प्रमुख बुद्धि परीक्षण यसप्रकार छन्ः

बिने साइमन बुद्धि परीक्षणः 
 बुद्धि परीक्षणहरूमा बिने साइमन बुद्धि परीक्षणको विशेष महत्व छ । यो बुद्धि परीक्षण व्यक्तिको मानसिक आयुको आधारमा गर्ने गरिन्छ । मानसिक आयु निर्धारण गर्नका लागि विनेले १००० बालकहरूको परीक्षण गरेर प्रश्नावली बनाएका छन् । जसको सहायताबाट एकै आयुका १००० बालकहरूलाई पनि परीक्षण गर्न सकिन्छ । विनेले ३ वर्षदेखि १५ वर्ष सम्मका बालक तथा किशोरहरूका लागि अलग अलग प्रश्नावली बनाएका छन् । जुन बालकले जुन उमेरको लागि निर्धारित प्रश्नहरूको सही सही जवाफ दिन्छ । त्यसको मानसिक आयु त्यति नै हुन्छ । उदाहरणका लागि ५ वर्षको बालकलाई निर्धारण गरेको प्रश्नहरू ५ वर्षको बालकले दिन्छ भने त्यसको मानसिक आयु ५ वर्ष हुन्छ । यदि ४ वर्षको बालकले ६ वर्षको बालकलाई बनाएको प्रश्नहरूको जवाफ दिन्छ भने त्यो बालकको मानसिक आयु ६ वर्ष हुन्छ । यस्तो बालकलाई तीक्ष्ण बुद्धिको बालक मानिन्छ । तर ३ वर्षका बालकलाई निर्धारित प्रश्नहरू ५ वर्षका बालकले दिन्छ भने त्यो बालकलाई मन्द बुद्धिको बालक हो । जुन बालकले सामान्य बालकका साथ विद्यालयमा पढ्ने योग्यता राख्दैनन् । जसलाई विशेष प्रकारको बालकका लागि बनाइएको स्कूलमा पठाउनुपर्छ । 



टरमैनको बुद्धि परीक्षण प्रणालीः 

बुद्धि परीक्षणको संसारमा टरमैन बुद्धि परीक्षण एउटा कोशे ढुङ्गा हो । यो परीक्षण लिने साइमन बुद्धि परीक्षणको संशोधित स्वरूप हो । विने साइमनको बुद्धि परीक्षणमा मानसिक आयुको आधारमा बालबालिकाहरूको बुद्धि परीक्षण गरिन्छ भने टरमैनको परीक्षणमा बुद्धि लब्धीद्वारा बुद्धि परीक्षण गरिन्छ । त्यसैले प्रश्न उठ्छ, बुद्धिलब्धी के हो ? शारीरिक आयु र मानसिक आयुको अनुपातिक स्वरूप नै बुद्धि लब्धी(आई.क्यु.) हो । यो बुद्धि लब्धी टरमैनको देन हो । बुद्धिलब्धी निर्धारण गर्न मानसिक आयु(मेन्टल एज) लाई शारीरिक आयु (क्रोनोलोजिकल एज)ले भाग दिएर १०० गुणन गर्नुपर्दछ । त्यसैले बुद्धि लब्धीका लागि शारीरिक आयु तथा मानसिक आयु थाहा हुनुपर्दछ । स्मरण राख्नुस्, बालबालिका जति वर्षका भए, त्यो नै उनीहरूको शारीरिक आयु हो । जस्तो कि तपाईंकी छोरी ३ वर्षकी भइन भने उनको शारीरिक आयु ३ वर्ष हुन्छ । तर मानसिक आयु, विभिन्न प्रश्नहरूको माध्यमबाट निर्धारण गरिन्छ । यो नै बुद्धि लब्धीको मूल हो । बालबालिकाको मानसिक आयु अबगत गर्ने केही उदारहणहरू यहाँ प्रस्तुत गरिएको छ । 

तीन वर्ष आयु समूहको बुद्धि परीक्षणः 
यस उमेरका बालबालिकाहरूको बुद्धि परीक्षणका लागि निम्न प्रश्नहरू सोध्न सकिन्छः (१.) तिम्रो आँखा कहाँ छ ? कपाल कहाँ छ ? (२.) तिम्रो नाक कहाँ छ ? कान कहाँ छ ? (३.) तिम्रो नाम के हो ? (४.) कुकुर कसरी कराउँछ ? (५.) गाई कसरी कराउँछ ? (६.) तिमी केटा हौ कि केटी ? (७.) कुनै जनवारको चित्र देखाएर, यो केको चित्र हो ? (८.) कलम देखाएर, यो के हो ? (९.) पैसा देखाएर, यो के हो ? (१०.) गिलासको दूध देखाएर, यो के हो ? शर्वत देखाएर, यो के हो ? पानी देखाएर, यो के हो ?


४ देखि ५ वर्ष आयु समूहको बुद्धि परीक्षणः 
यस उमेरका बालबालिकाहरूको बुद्धि परीक्षणका लागी निम्न प्रश्नहरू सोध्न सकिन्छः (१.) यो हातमा कति औंलाहरू छन् ? अनि यो हातमा कति औंलाहरू छन् ? (२.) दुवै हातमा कति औंलाहरू छन् ? (३.) रातो, हरियो, निलो रंग देखाएर, यो कुन रंग हो ? (४.) दुई वटा गिलासमा पानी भरेर (एउटामा आधा र अर्कोमा भरि), कुन गिलासमा पानी भरि छ ? ५.) दुई वटा भाँडोमा सामान भरेर (एउटामा आधा र अर्कोमा भरि) उठाउन लगाउने र सोध्ने, कुन भाँडो गरुङ्गो छ ? (६.) कुर्सीलाई देखाएर सोध्ने, यो के हो ? यो के काम आउँछ ? (७.) कुनै जनवार जस्तै भैंसी, गाई वा कुकुर देखाएर, यो के हो ? यसले के गर्दछ ? यसले के खान्छ ? (८.) भन्नुहोस्, यो सामान कुर्सीमा राख । (९.) ढोका खोल, बन्द गर । (१०.) फ्रिजबाट ४ वटा टमाटर वा २ वटा आलु लिएर आऊ इत्यादि । यदि तपाईंकी ३ वर्षकी छोरीले तीन वर्ष आयु समÒहको बुद्धि परीक्षणका सबै सही जवाफ दिइन भने तपाईकी छोरीको मानसिक आयु हुन्छ, ३ । मानसिक आयु ३, शारीरिक आयु ३ भयो भने बुद्धि लब्धी हुने भयो, १०० । यसको अर्थ तपाईकी छोरी सामान्य बुद्धिकी रहेछिन् भन्ने थाहा हुन्छ । तर तपाईकी ३ वर्षकी छोरीले ४ देखि ५ वर्ष आयु समूहको बुद्धि परीक्षणका सबै जवाफ एकदमै सही–सही दिइन भने तपाईकी छोरीको मानसिक आयु, ५ हुन्छ । जसले गर्दा तपाईकी छोरीको बुद्धि लब्धी हुने भयो, १६७ । यसको अर्थ तपाईंको छोरी प्रतिभाशाली रहेछिन् भन्ने थाहा हन्छ । यसरी बालबालिकाहरूको बुद्धि परीक्षण गरिन्छ । 

मन्दबुद्धिको सुधार सम्भव



सुधार सम्भव छ । आई.क्यु. कम भएका पढाइलेखाइमा कमजोर मन्दबुद्धिका बालबालिकाहरुको सुधार सम्भव छ । त्यसैले आफ्ना बालबच्चाहरू मन्द बुद्धिका देखिएका छन्, हरेश खानु हँुदैन । आमाबाबु तथा परिवारका प्रत्येक सदस्यहरू मन्दबुद्धिका बालबालिकाको क्षमता विकासमा दृढ संकल्पित भएर लाग्नुपर्छ । घरको वातावरण बालबालिकाको विश्वास जगाउने बनाउनु पर्छ । चिकित्सक तथा सम्बन्धित विषयका विशेषज्ञहरूको परार्मश लिई उनीहरूको सुझावहरूको पालना गर्नु तथा गराउनुपर्छ । मन्दबुद्धिका बालबालिकाको पनि मानसिक क्षमता बढाउन सकिन्छ भने कुराप्रति विश्वस्त भई धैर्यपूर्वक यस्ता बालबालिकाहरूलाई विशेष शिक्षा तथा सुविधा उपलब्ध गराउनुपर्छ । आमाबाबु तथा परिवार निरन्तर यस्ता बालबालिकाको सुधारमा मेहनतका साथ लागिरहनु पर्दछ । कठोर परिश्रम तथा धैर्यबिना यस किसिमका बालबालिकाको मानसिक क्षमता वृद्धि गर्न गाह्रो हुन्छ । यो तथ्यलाई विशेष गरेर आमाबाबुले बुझ्नै पर्छ । मन्दबुद्धिता संस्थामा परीक्षण गराएर तुरून्त चमत्कारको आशा गर्नु हुदैन । बालबालिकाको आहार बिहारमा पनि विशेष रुची दिनुपर्छ । मानसिक क्षमता बृद्धि गर्ने खालका आहार दिनुपर्छ ।

पुछारमाः
हो, आधुनिक प्रतिस्पर्धात्मक युगमा बुद्धि परीक्षणको ठूलो महत्व छ । तर बुद्धि परीक्षण सबकुछ होइन । बुद्धि परीक्षणको प्रमुख उद्देश्य बालबालिकाहरूको मूल्यांकन गर्नु पक्कै होइन, अपितु छुपेको प्रतिभा खोज्नु हो । बालबालिकाहरूलाई दिशा निर्देश गर्ने बाटो तयार गर्नु हो । त्यसैले बुद्धि परीक्षण गराएर बालबालिकाको मानसिक क्षमतालाई मध्यनजर राखेर उनीहरूको स्याहारसुसार गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । त्यसैले प्रत्येक आमाबाबुले आफ्ना बालबच्चाको उज्जवल भविष्यप्रति चनाखो हुनुपर्दछ ।  


न्त्यमा याद राख्नुस्, यस संसारका हरेक मानिस एकदमै असाधारण तथा अद्भुत छन् । प्रत्येक मानिससँग असाधारण प्रतिभा छ, योग्यता छ । त्यसको अभिव्यक्ति पनि असाधारण छ । त्यसैले प्रतिभालाई केवल शैक्षिक प्रमाणपत्र र आई.क्यु.ले मात्र मूल्यांकन गर्न सकिँदैन, गर्नु पनि हुदैन । थुप्रै मन्द बुद्धिको बालकपछि गएर महान् वैज्ञानिकहरू भएको सत्य कथाहरू त धेरैलाई थाहा नै छ । वास्तवमा आई.क्यु. भन्दा बढी महत्वपुर्ण हुन्छ, ई.क्यु. (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।) । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 

सम्पर्क:
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

No comments:

Post a Comment