Tuesday, June 30, 2020

ब्रेन बाइट्सः
मिडिया, प्रतिभा र लोकप्रियता
ओम बानियाँ 

केही वर्ष पहिला सडकमा सिघान पुछ्दै गाउदै हिँड्ने प्रेम परियार तथा अशोक दर्जी आज देश विदेशका नेपाली माझ निकै चर्चित छन् । उनीहरु एक अद्भुत गायक प्रतिभा हुन् । तर उनलाई देशविदेशमा यसरी चर्चित बनाउने कार्यमा मिडियाको ठुलो हात छ । यदि मिडिया हुदैन्थ्यो भने सम्वतः उनी गाउँकै भिरपाखोमा हराउने थिए । 


रुपन्देहीकी अर्की बालप्रतिभा तेरिया फौजा मगरको लोकप्रियतामा पनि मिडियाकै ठुलो हात छ । जीटीभीको एक कार्यक्रम डान्स इन्डिया डान्सका कारण नै उनको चर्चा यसरी संसारभर चम्किएको हो । प्रेम, अशोक तथा तेरियाको कुरा मात्र होइन, मिडिया हुदैन्थ्यो भने कुनै पनि नेता, अभिनेता तथा खेलाडी आदिको लोकप्रियता यसरी संसारभरि फैलिने थिएन ।

मिडियाका कारण नै अहिले विश्वकफ फुटबलका खेलाडीहरु संसारभरिका फुटबलप्रेमीहरुका माँझ लोकप्रिय छन् । नत्र, हामी नेपालीहरुले नेइमार, मेसी तथा क्रिस्टिनो रोनाल्डो आदिको फुटबल प्रतिभालाई कसरी वाह वाह गर्ने औसर पाउथ्यौ । तर, यसको मतलव मिडियाकै कारण कुनै आम मानिस एकाएक सेलिब्रेटि बन्छन् भन्ने चाहीँ पक्कै होइन । अशोक दर्जी वा तेरिया मगर बन्न जति प्रतिभाको खाँचो हुन्छ, त्यत्ति नै जीवनको एक महान् लक्ष्य, अथक मेहनत र लगनशीलता आवश्यक हुन्छ । 


जीवनको स्पष्ट लक्ष्य, अथक मेहनत र लगनशीलता बीना कुनै पनि प्रतिभा यसरी चम्किन सक्दैन । तर मिडियाले प्रतिभाहरुलाई संसारसामु पुराउने कार्य गर्दछ । प्रतिभालाई लोकप्रिय बनाउन मिडियाको ठुलो हात रहेको कसैले नकार्न सक्दैन । मिडियाको यही महत्व देखेर नै खास गरी कतिपय नेता तथा अभिनेताहरु जसरी पनि मिडियामा छाइरहन खोज्छन् । नागरिकलाई पनि के लाग्छ भने मिडियामा धेरै देखिने नेताहरुनै सबकुछ हुन् ।

मानिसको आधुनिक जीवनमा मिडियाको महत्व आफ्नो ठाउँमा छ । तर, यस संसारमा प्रतिभा नभएका कुनै मानिस छैनन् । संसारका हरेक मानिस विशेष छन्, अपांग भएका तथा सुस्त मनस्थितिको लेबल पाएका बालबालिका सबै अ–आफ्नो ठाउँमा महान् छन् । वास्तवमा संसारका सबै मानिस बेजोड छन्, एक से एक प्रतिभाशाली छन् । तर बिडम्बना के भने अधिकांश मानिसलाई आफ्नो प्रतिभा अवगत छैन, त्यसैले त धेरै मानिसहरू त्यसै हराएर गएका छन् । 

गल्ति यहीनिर भएको छ । यही गलितका कारण नै महान् फुटबल खेलाडी हुने प्रतिभा भएको कुनै व्यक्ति भीर–पाखामा हलो जोतिरहेका हुन सक्छन् । एउटा महान् कलाकारले गाउँघरमा हलो–ठेको बनाएर बेचिरहेका हुन् सक्छन् । महान् वैज्ञानिकहरू खुम्चिएर स्कुलमा कखरा पढाइरहेका हुन सक्छन् । पढ्न पाएर पनि कतिपयले आफ्नो प्रतिभा पहिचान गर्न नसकेका पनि हुन्छन् । हाम्रो जस्तो गरीब देशमा त यस्तो सम्भावना ज्यादै बढी हुन्छ । त्यसैले हरेक बालबालिकाले सानैमा आफ्नो वास्तविक प्रतिभा तथा क्षमता के हो, त्यो पहिचान गर्नुपर्छ । र, सोही अनुसार जीवनको लक्ष्य बनाउनुपर्छ । 


हो, हरेक बालबालिकालाई आफ्नो प्रतिभा पहिचान गर्न सजिलो हुँदैन । त्यो किनभने अधिकांश बालबालिकाहरुको प्रतिभा लुकेर बसेको हुन्छ । त्यसैले यस्ता बालबालिकाले आफ्नो प्रतिभा पहिचान गर्न विशेषज्ञको सहयोग लिन सक्छन् । त्यसो त कतिपय प्रतिभालाई समयले पनि साथ दिएको हुन्छ । कतिपयले यसलाई आफ्नो भाग्य पनि भन्ने गर्छन् । तर यो सरासर गलत हो, सही कुरा यो अन्तर्मनको आवाज सुनेर जीवनको महान् लक्ष्य बनाउने क्षमता र मिहिनतको फल हो ।

मानिसको जीवनमा आई.क्यु. को महत्व हुन्छ । समान्यता कम आई.क्यु. भएको व्यक्तिले भन्दा बढी आई.क्यु. भएको व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्दछ । तर प्रा. डेनियल गोलमैनका अनुसार आई.क्यु. भन्दा बढी महत्वपुर्ण हुन्छ, भावनात्मक सक्षमता(ई.क्यु.) ।    त्यसैले त कतिपय आई.क्यु. औसत वा त्यो भन्दा पनि कम भएका व्यक्तिहरूले पनि कुनै विशेष क्षेत्रहरूमा अदभुुत दक्षता देखाउने गर्छन् । 

एक जना बालक जसको आई.क्यु. केवल ५० थियो, तर त्यो बालकले कुनै पनि मितिको वार बताउन सक्थ्यो । त्यत्ति मात्र होइन उसले कुनै पनि शब्दको हिज्जे एक पटक सुनेको भरमा तुरुन्त अघिपछिबाट भन्न सक्थ्यो । लामो भाषण पनि एक पटक सुनेको भरमा जस्ताको तस्तै (अर्थ नबुझेपनि) भन्न सक्थ्यो । 

न्युटोन र अलबर्ट आइन्सटाइन पछिका चर्चित भौतिकशास्त्री स्टिफन हाकिंग सेरेब्रम पाल्सी जस्तै स्नायुरोग, मोटर न्युरोन डिजिजबाट ग्रस्त छन् । उनी हिँडडुल गर्न तथा बस्न सक्दैनन्, सुन्न र बोल्न सक्दैनन् । राम्रोसँग सास लिन सक्दैनन् । खानेकुरा निल्न सक्दैनन् । टाउको उठाउन सक्दैनन् । उनी २१ वर्षका हुँदा चिकित्सकले उनलाई उनी अब २ वर्ष भन्दा बढी बाँच्न नसक्ने बताए पनि उनी अहिले ७७ वर्षको उमेरसम्म बाँचे । उनले ब्रह्माण्डको सम्बन्धमा निकै रहस्यमय तथ्यहरू पत्ता लगाएका छन् । उनी विश्वमा सबै भन्दा बढी पढिने विज्ञान लेखक पनि हुन् । 


अतः यस्ता दृष्टान्तहरू होवार्ड गार्डनरको बहुमुखी बुद्धिमत्ता (मल्टिपल इन्टिलिजेन्स)को प्रमाणहरु हुन् । बुद्धिमत्ताको सम्बन्धमा गार्डनरको भनाइ छ कि हरेक मानिससँग कुनै न कुनै प्रतिभा हुन्छ, जसका लागि अलग–अलग सीपहरूको आवश्यकता पर्छ । यस्ता सीपहरू मस्तिष्कका अलग–अलग केन्द्रसँग सम्बन्धित हुन्छन् । त्यसैले त पढाइलेखाइको जिरो फुटबल वा क्रिकेटको हिरो हुन सक्दछ । हो, हरेक मानिससंग प्रतिभा हुन्छ । तर आफ्नो प्रतिभा पहिचान गर्न सृजनशिल बुद्धि तथा बौद्धिक स्मरणशक्ति आवश्यक हुन्छ । सृजनात्मक चिन्तन यस्तो प्रक्रिया हो, जो लक्ष्य–निर्देशित हुन्छ । अर्थात् सृजनतात्मकतामा व्यक्तिलाई आफ्नो लक्ष्य निश्चित थाहा हुन्छ र उसको हरेक व्यबहारहरु यही लक्ष्यसँग सम्बन्धित हुन्छ । अनि त ऊ आफ्नो लक्ष्यमा पुग्दछ । तर ऊ देशविदेशमा लोकप्रिय हुन मिडियाको आवश्यकता पर्छ । मिडिया बिना कुनै पनि प्रतिभाको लोकप्रियता देशविदेशसम्म फैलिन सक्दैन । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमख हुन् ।)
 सम्पर्क: 
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

Monday, June 29, 2020

ब्रेन बाइट्स:

तँपाईको ई.क्यु. कति  ?
ओम बानियाँ

मानिस एक बुद्धिमान् प्राणी हो । यही बुद्धिका कारण नै मानिस अन्य प्राणीको तुलनामा पृथक र श्रेष्ठ छ । सामान्यतया बुद्धि भन्नाले समझ अर्थात् बोध गर्न सक्ने, उचित–अनुचित, असल–खराव छुट्याउन सक्ने सामथ्र्यलाई बुझाउँछ । यस्तो सामथ्र्य हरेक मानिसमा फरक फरक हुन सक्दछ । अर्थात् कुनै मानिस तीक्ष्ण बुद्धिका हु्न्छन् भने कुनै मध्यम तथा कतिपय मानिसहरु मन्दबुद्धिका हुन्छन् । मानसिक दुर्वलताबाट पीडित मानिसहरु मन्दबुद्धिका हुन्छन् । 


मनोवैज्ञानिक विधिद्धारा मानिसको बुद्धि कति छ भन्ने कुरा नाप गर्न सकिन्छ । बुद्धिको यस किसिमको जाँचलाई नै बुद्धिलब्धी परीक्षण (आई.क्यु. टेस्ट) भन्ने गरिन्छ । जस्तो कि यदि बुद्धिलब्धी ९० देखि ११० आयो भने त्यसलाई समान्य बुद्धिवाला मानिस मानिन्छ । ७० देखि तल आयो भने मन्दबुद्धिको श्रेणीमा राखिन्छ । तर आई.क्यु. १४० भन्दा बढी भयो भने त्यस्तो मानिसलाई प्रतिभाशाली(जिनियस) मानिन्छ । 

२०औं शताब्दीका महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनको आई.क्यु. १६० थियो । केही दिन अघि दिवंगत अर्का महान् वैज्ञानिक स्टीफन हाकिंगको आई.क्यु. पनि १६० नै छ । संसारमा १४० भन्दा बढी आईक्यु हुने व्यक्तिहरु धेरै कम छन् । अधिकांश मानिसहरुको आई.क्यु. चाहीं ९० देखि ११० का बीचमा नै हुने गर्छ । हुनत आइन्सटाइन तथा स्टीफन हाकिंगको आधिकारिकरुपमा आई.क्यु. परीक्षण भएको छैन । तर उनीहरुले गरेको कार्य हेरेर उनीहरुको आई.क्यु. १६० को अनुमान गरिएको हो । त्यसो त कसै कसैले आइन्सटाइनको आई.क्यु. १९० भएको दावी पनि गरेका छन् । यो कुरा आफ्नो ठाउँमा छ । तर, यो लेख पढ्दै गर्दा धेरैलाई आईक्युको बारेमा थप कुरा जान्न उत्सुकता लाग्न सक्दछ । त्यसैले यहाँ आई.क्यु. वारेमा थप चर्चा गर्ने जमर्को गरिएको छ । चर्चा आईक्युको इतिहासबाट शुरु गरौं ।

बुद्धि परीक्षणको इतिहास:
 
आईक्यु अर्थात् बुद्धिलब्धी परीक्षणको इतिहास हेर्दा मनोवैज्ञानिक बुन्टले सन् १८७९ मा मनोविज्ञानको पहिलो प्रयोगशाला स्थापित गरेपछि नै बुद्धि परीक्षणको शुभारम्भ भएको मानिन्छ । त्यसपछि थुप्रै वैज्ञानिकहरूले आफ्नो योगदान दिए । ती मध्ये हलफ्रेड विनेटले यस दिशामा ठोस कार्य शुरू गरे । बुद्धि परीक्षणको विकासमा साइमन, बिनेट, गाल्टन, पीयरसन, कौटिल, एम. टरमैन तथा मैरिल जस्ता मनोवैज्ञानिकहरूमा नाम सर्वोपरी छ ।   


साधारणतया बुद्धि परीक्षणलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । ती हुन्ः  व्यक्तिगत बुद्धि परीक्षण । सामूहिक बुद्धि परीक्षण ।

व्यक्तिगत बुद्धि परीक्षणः

व्यक्तिगत बुद्धि परीक्षण भन्नाले त्यस्तो परीक्षणलाई जनाउँछ जसले व्यक्तिको बुद्धि परीक्षण गर्दछ । यसलाई अर्को शब्दहरूमा भन्ने हो भने यो परीक्षणद्वारा एक एक व्यक्तिको बुद्धि परीक्षण गर्ने गरिन्छ ।  

सामूहिक बुद्धि परीक्षणः
सामुहिक बुद्धि परीक्षण भन्नाले दुई वा भन्दा बढी व्यक्तिहरूलाई एक साथमा राखेर लिइने परीक्षणलाई जनाउँछ । यसको साथै बुद्धिपरीक्षण दुई किसिमका हुन्छन् । (क) शाब्दिक बुद्धि परीक्षणः यस किसिमको बुद्धि परीक्षणमा भाषा वा शब्दहरूको प्रयोग गरिन्छ । (ख) अशाब्दिक बुद्धि परीक्षणः यस किसिमको परीक्षणमा भाषाको प्रयोग गरिँदैन । यो परीक्षण त्यस्ता व्यक्तिहरूको लागि हो, जसलाई भाषाको ज्ञान हुदैन । अनपढ, बहिरा तथा अन्धा इत्यादिका लागि यो परीक्षण अन्तर्गत बुद्धि परीक्षण गर्ने गरिन्छ । यस किसिमका परीक्षण हातद्वारा गरिने हुदा यसलाई क्रियात्मक बुद्धि परीक्षण पनि भनिन्छ । 


बुद्धि परीक्षणका विभिन्न विधिहरू छन् । बुद्धि परीक्षण गर्ने विशेष संस्थाहरूमा प्रयोगमा ल्याइने केही बुद्धि परीक्षण यस प्रकार छन्ः

वैश्लरको बुद्धि परीक्षणः
यो बुद्धि परीक्षण ज्यादै प्रचलित छ । यो बुद्धि परीक्षणद्वारा ३ वर्षका बालबालिकादेखि ६४ वर्षसम्मका वयस्क मानिसको बुद्धि परीक्षण गर्न सकिन्छ । जस्तो कि ३ वर्षदेखि ७ वर्षका बालबालिकाको लागि वैश्लर प्राथामिक बुद्धि परीक्षण सात वर्षदेखि १६ वर्षका किशोर–किशोरीका लागि वैश्लर चिल्डे«न बुद्धि परीक्षण तथा १६ वर्षदेखि माथिका वयस्कका लागि वैश्लर व्यस्क बुद्धि परीक्षण । तर वैश्लरको बुद्धि परीक्षण १६ वर्षदेखि ६४ वर्ष सम्मका व्यक्तिहरूको बुद्धि परीक्षण गर्दा बढी उपयोग गरिन्छ । 

अलेक्जेण्डरको परीक्षणः
यो परीक्षण ७ देखि १८ वर्ष सम्मका किशोरहरूको लागि हो । अलेक्जेण्डरको यो परीक्षण शिक्षित अशिक्षित तथा बहिराहरूका लागि पनि उपयोगमा ल्याइन्छ । 


टरमन तथा मैटिल स्टैल्फोर्ड बिने बुद्धि परीक्षणः
यो परीक्षण २ देखि ६ वर्षका लागि हो । यस परीक्षणमा कुकुर, बिरालो, गुडिया, कचौरा, खेलौना तथा काठका टुक्रालाई प्रयोगमा ल्याइन्छ । 

रेवेन्स प्रोग्रेसिव मैट्रिक्सः
 यस अन्तर्गत दुई परीक्षणहरु छन्ः एउटा बालकका लागि र अर्को वयस्कका लागि । उपर्युक्त सबै परीक्षण अशाब्दिक अर्थात् लिखित परीक्षण हुन् । केही परीक्षण शाब्दिक पनि हुन्छन्, जसका लागि मौखिक प्रश्नहरू सोध्ने गरिन्छ । यस्ता परीक्षणलाई घरमा नै प्रयोग गरेर आफ्ना बालकहरूको बुद्धि परीक्षण गर्न सक्नुहुनेछ । यस्ता शाब्दिक बुद्धि परीक्षण मध्ये केही प्रमुख बुद्धि परीक्षण यसप्रकार छन्ः

बिने साइमन बुद्धि परीक्षणः 
 बुद्धि परीक्षणहरूमा बिने साइमन बुद्धि परीक्षणको विशेष महत्व छ । यो बुद्धि परीक्षण व्यक्तिको मानसिक आयुको आधारमा गर्ने गरिन्छ । मानसिक आयु निर्धारण गर्नका लागि विनेले १००० बालकहरूको परीक्षण गरेर प्रश्नावली बनाएका छन् । जसको सहायताबाट एकै आयुका १००० बालकहरूलाई पनि परीक्षण गर्न सकिन्छ । विनेले ३ वर्षदेखि १५ वर्ष सम्मका बालक तथा किशोरहरूका लागि अलग अलग प्रश्नावली बनाएका छन् । जुन बालकले जुन उमेरको लागि निर्धारित प्रश्नहरूको सही सही जवाफ दिन्छ । त्यसको मानसिक आयु त्यति नै हुन्छ । उदाहरणका लागि ५ वर्षको बालकलाई निर्धारण गरेको प्रश्नहरू ५ वर्षको बालकले दिन्छ भने त्यसको मानसिक आयु ५ वर्ष हुन्छ । यदि ४ वर्षको बालकले ६ वर्षको बालकलाई बनाएको प्रश्नहरूको जवाफ दिन्छ भने त्यो बालकको मानसिक आयु ६ वर्ष हुन्छ । यस्तो बालकलाई तीक्ष्ण बुद्धिको बालक मानिन्छ । तर ३ वर्षका बालकलाई निर्धारित प्रश्नहरू ५ वर्षका बालकले दिन्छ भने त्यो बालकलाई मन्द बुद्धिको बालक हो । जुन बालकले सामान्य बालकका साथ विद्यालयमा पढ्ने योग्यता राख्दैनन् । जसलाई विशेष प्रकारको बालकका लागि बनाइएको स्कूलमा पठाउनुपर्छ । 



टरमैनको बुद्धि परीक्षण प्रणालीः 

बुद्धि परीक्षणको संसारमा टरमैन बुद्धि परीक्षण एउटा कोशे ढुङ्गा हो । यो परीक्षण लिने साइमन बुद्धि परीक्षणको संशोधित स्वरूप हो । विने साइमनको बुद्धि परीक्षणमा मानसिक आयुको आधारमा बालबालिकाहरूको बुद्धि परीक्षण गरिन्छ भने टरमैनको परीक्षणमा बुद्धि लब्धीद्वारा बुद्धि परीक्षण गरिन्छ । त्यसैले प्रश्न उठ्छ, बुद्धिलब्धी के हो ? शारीरिक आयु र मानसिक आयुको अनुपातिक स्वरूप नै बुद्धि लब्धी(आई.क्यु.) हो । यो बुद्धि लब्धी टरमैनको देन हो । बुद्धिलब्धी निर्धारण गर्न मानसिक आयु(मेन्टल एज) लाई शारीरिक आयु (क्रोनोलोजिकल एज)ले भाग दिएर १०० गुणन गर्नुपर्दछ । त्यसैले बुद्धि लब्धीका लागि शारीरिक आयु तथा मानसिक आयु थाहा हुनुपर्दछ । स्मरण राख्नुस्, बालबालिका जति वर्षका भए, त्यो नै उनीहरूको शारीरिक आयु हो । जस्तो कि तपाईंकी छोरी ३ वर्षकी भइन भने उनको शारीरिक आयु ३ वर्ष हुन्छ । तर मानसिक आयु, विभिन्न प्रश्नहरूको माध्यमबाट निर्धारण गरिन्छ । यो नै बुद्धि लब्धीको मूल हो । बालबालिकाको मानसिक आयु अबगत गर्ने केही उदारहणहरू यहाँ प्रस्तुत गरिएको छ । 

तीन वर्ष आयु समूहको बुद्धि परीक्षणः 
यस उमेरका बालबालिकाहरूको बुद्धि परीक्षणका लागि निम्न प्रश्नहरू सोध्न सकिन्छः (१.) तिम्रो आँखा कहाँ छ ? कपाल कहाँ छ ? (२.) तिम्रो नाक कहाँ छ ? कान कहाँ छ ? (३.) तिम्रो नाम के हो ? (४.) कुकुर कसरी कराउँछ ? (५.) गाई कसरी कराउँछ ? (६.) तिमी केटा हौ कि केटी ? (७.) कुनै जनवारको चित्र देखाएर, यो केको चित्र हो ? (८.) कलम देखाएर, यो के हो ? (९.) पैसा देखाएर, यो के हो ? (१०.) गिलासको दूध देखाएर, यो के हो ? शर्वत देखाएर, यो के हो ? पानी देखाएर, यो के हो ?


४ देखि ५ वर्ष आयु समूहको बुद्धि परीक्षणः 
यस उमेरका बालबालिकाहरूको बुद्धि परीक्षणका लागी निम्न प्रश्नहरू सोध्न सकिन्छः (१.) यो हातमा कति औंलाहरू छन् ? अनि यो हातमा कति औंलाहरू छन् ? (२.) दुवै हातमा कति औंलाहरू छन् ? (३.) रातो, हरियो, निलो रंग देखाएर, यो कुन रंग हो ? (४.) दुई वटा गिलासमा पानी भरेर (एउटामा आधा र अर्कोमा भरि), कुन गिलासमा पानी भरि छ ? ५.) दुई वटा भाँडोमा सामान भरेर (एउटामा आधा र अर्कोमा भरि) उठाउन लगाउने र सोध्ने, कुन भाँडो गरुङ्गो छ ? (६.) कुर्सीलाई देखाएर सोध्ने, यो के हो ? यो के काम आउँछ ? (७.) कुनै जनवार जस्तै भैंसी, गाई वा कुकुर देखाएर, यो के हो ? यसले के गर्दछ ? यसले के खान्छ ? (८.) भन्नुहोस्, यो सामान कुर्सीमा राख । (९.) ढोका खोल, बन्द गर । (१०.) फ्रिजबाट ४ वटा टमाटर वा २ वटा आलु लिएर आऊ इत्यादि । यदि तपाईंकी ३ वर्षकी छोरीले तीन वर्ष आयु समÒहको बुद्धि परीक्षणका सबै सही जवाफ दिइन भने तपाईकी छोरीको मानसिक आयु हुन्छ, ३ । मानसिक आयु ३, शारीरिक आयु ३ भयो भने बुद्धि लब्धी हुने भयो, १०० । यसको अर्थ तपाईकी छोरी सामान्य बुद्धिकी रहेछिन् भन्ने थाहा हुन्छ । तर तपाईकी ३ वर्षकी छोरीले ४ देखि ५ वर्ष आयु समूहको बुद्धि परीक्षणका सबै जवाफ एकदमै सही–सही दिइन भने तपाईकी छोरीको मानसिक आयु, ५ हुन्छ । जसले गर्दा तपाईकी छोरीको बुद्धि लब्धी हुने भयो, १६७ । यसको अर्थ तपाईंको छोरी प्रतिभाशाली रहेछिन् भन्ने थाहा हन्छ । यसरी बालबालिकाहरूको बुद्धि परीक्षण गरिन्छ । 

मन्दबुद्धिको सुधार सम्भव



सुधार सम्भव छ । आई.क्यु. कम भएका पढाइलेखाइमा कमजोर मन्दबुद्धिका बालबालिकाहरुको सुधार सम्भव छ । त्यसैले आफ्ना बालबच्चाहरू मन्द बुद्धिका देखिएका छन्, हरेश खानु हँुदैन । आमाबाबु तथा परिवारका प्रत्येक सदस्यहरू मन्दबुद्धिका बालबालिकाको क्षमता विकासमा दृढ संकल्पित भएर लाग्नुपर्छ । घरको वातावरण बालबालिकाको विश्वास जगाउने बनाउनु पर्छ । चिकित्सक तथा सम्बन्धित विषयका विशेषज्ञहरूको परार्मश लिई उनीहरूको सुझावहरूको पालना गर्नु तथा गराउनुपर्छ । मन्दबुद्धिका बालबालिकाको पनि मानसिक क्षमता बढाउन सकिन्छ भने कुराप्रति विश्वस्त भई धैर्यपूर्वक यस्ता बालबालिकाहरूलाई विशेष शिक्षा तथा सुविधा उपलब्ध गराउनुपर्छ । आमाबाबु तथा परिवार निरन्तर यस्ता बालबालिकाको सुधारमा मेहनतका साथ लागिरहनु पर्दछ । कठोर परिश्रम तथा धैर्यबिना यस किसिमका बालबालिकाको मानसिक क्षमता वृद्धि गर्न गाह्रो हुन्छ । यो तथ्यलाई विशेष गरेर आमाबाबुले बुझ्नै पर्छ । मन्दबुद्धिता संस्थामा परीक्षण गराएर तुरून्त चमत्कारको आशा गर्नु हुदैन । बालबालिकाको आहार बिहारमा पनि विशेष रुची दिनुपर्छ । मानसिक क्षमता बृद्धि गर्ने खालका आहार दिनुपर्छ ।

पुछारमाः
हो, आधुनिक प्रतिस्पर्धात्मक युगमा बुद्धि परीक्षणको ठूलो महत्व छ । तर बुद्धि परीक्षण सबकुछ होइन । बुद्धि परीक्षणको प्रमुख उद्देश्य बालबालिकाहरूको मूल्यांकन गर्नु पक्कै होइन, अपितु छुपेको प्रतिभा खोज्नु हो । बालबालिकाहरूलाई दिशा निर्देश गर्ने बाटो तयार गर्नु हो । त्यसैले बुद्धि परीक्षण गराएर बालबालिकाको मानसिक क्षमतालाई मध्यनजर राखेर उनीहरूको स्याहारसुसार गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । त्यसैले प्रत्येक आमाबाबुले आफ्ना बालबच्चाको उज्जवल भविष्यप्रति चनाखो हुनुपर्दछ ।  


न्त्यमा याद राख्नुस्, यस संसारका हरेक मानिस एकदमै असाधारण तथा अद्भुत छन् । प्रत्येक मानिससँग असाधारण प्रतिभा छ, योग्यता छ । त्यसको अभिव्यक्ति पनि असाधारण छ । त्यसैले प्रतिभालाई केवल शैक्षिक प्रमाणपत्र र आई.क्यु.ले मात्र मूल्यांकन गर्न सकिँदैन, गर्नु पनि हुदैन । थुप्रै मन्द बुद्धिको बालकपछि गएर महान् वैज्ञानिकहरू भएको सत्य कथाहरू त धेरैलाई थाहा नै छ । वास्तवमा आई.क्यु. भन्दा बढी महत्वपुर्ण हुन्छ, ई.क्यु. (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।) । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।) 

सम्पर्क:
https://www.ucl.ac.uk/pals/research/clinical-educational-and-health-psychology/research-groups/international-cognitive-19

Saturday, June 27, 2020

ब्रेन बाइट्सः

सलहको 'स्वाद'
ओम बानियाँ 


कोरोना नियन्त्रणको नाममा भएको लकडाउनका कारण पैदा भएको भोकमरिमाथि सलहले आतंक मच्चाउन थालेको छ । सलहको आतंक कति खतरनाक हुन्छ अहिले भन्न सकिने अवस्था छैन । विज्ञहरुले त सलह आउँदैन भन्थे । तर आयो । हरेक क्षेत्रका विज्ञ त हाम्रा पम हुन् । पमले के भन्छन ? सबैको चाँसो छ।  तर अब हाम्रा सर्वज्ञ पमले सलहमा यति प्रोटिन हुन्छ, उति फ्याट्टिय र बोसिय तत्व हुन्छ, अब सलह छोप्पौं र खाऔं भोकमरि हटाऔं भन्नबेर छैन ! अझ त्यति मात्र हो र सलह कोरोनाको औषधि पनि भन्न सक्छन् है ! 

जसले पुर्खादेखि सलह खाएको छ, उसको लागि सलह खानु कुखुरा खानु जस्तै हो । चिनतिर त सलहलाई बढो स्वादसँग खान्छन् रे ? बियर ग्रिल्स त झन 'वाह' भन्दै कति स्वादिष्ट छ भन्दै खान्थे होला ? सहलको चपेटामा परेका केन्या लगायतका देशहरुमा त हिजो आज यो निकै स्वादिष्ट भोजन भएको छ । 


नेपालीहरुले पनि सलह खाएका रहेछन् । हिजो मात्र एक जना हजुरआमाले भन्दै थिइन, उहिल्यै पहाडमा सलहले बालीनाली सखाप पारेर भोकमरि परेपछि हामीहरुले पनि सलह भुटेर खाएका हौं, सलह छोप्यो, टाउको तानेर आन्द्रभँडी निकाल्यो अनि भुटेर खाइयो ।

बाद्यतामा बाहेक नेपालीहरुले सलह खाना सक्दैनन् । तर सलह पौष्टिकताको खजना हो । यसमा ६२ प्रतिशत प्रोटिन हुन्छ भने अन्य खनिज तथा भिटामिन्स पनि पर्याप्त मात्रामा हुन्छ ।  सलहको मासुले कतिपय रोगहरु पनि ठीक हुन्छ भन्ने भनाइ छ । 
अध्ययन भन्छ, सलहले रोगप्रतिरोधक क्षमता बढाउँछ, शरीरको दुःखाई कम गर्छ, क्यान्सरसँग लड्छ तथा मुटुरोगको जोखिम कम गर्दछ । 


अन्तमा:

मेरो व्यक्तिगत इच्छा के भने प्रम सलहको बारेमा विज्ञ बनेर नबोलुन् । तर उनी बोल्छन् ! सलहको महाविज्ञ बनेर बोल्छन् !
-----------
जय होस् !

Friday, June 26, 2020


Dunning-Kruger Effect 

(Unskilled individuals overestimating their abilities and experts underestimating theirs) 

In the field of Cognitive Psychology, the Dunning–Kruger effect is a Cognitive Bias in which people with low ability at a task overestimate their ability. It is related to the cognitive bias of illusory superiority and comes from the inability of people to recognize their lack of ability. Without the self-awareness of Meta-cognition, people cannot objectively evaluate their competence or incompetence. As described by social psychologists David Dunning and Justin Kruger, the bias results from an internal illusion in people of low ability and from an external misperception in people of high ability; that is, the miscalibration of the incompetent stems from an error about the self, whereas the miscalibration of the highly competent stems from an error about others  (Kruger, Justin; Dunning, David (1999). 

The psychological phenomenon of illusory superiority was identified as a form of cognitive bias in Kruger and Dunning's 1999 study, "Unskilled and Unaware of It: How Difficulties in Recognizing One's Own Incompetence Lead to Inflated Self-Assessments". The identification derived from the cognitive bias evident in the criminal case of McArthur Wheeler, who, on April 19, 1995, robbed two banks while his face was covered with lemon juice, which he believed would make it invisible to the surveillance cameras. This belief was based on his misunderstanding of the chemical properties of lemon juice as an invisible ink.(Why losers have delusions of grandeur". New York Post. 23 May 2010. Retrieved 19 March 2014.) 

Other investigations of the phenomenon, such as "Why People Fail to Recognize Their Own Incompetence" (2003), indicate that much incorrect self-assessment of competence derives from the person's ignorance of a given activity's standards of performance. Dunning and Kruger's research also indicates that training in a task, such as solving a logic puzzle, increases people's ability to accurately evaluate how good they are at it.  (Dunning, David; Johnson, Kerri; Ehrlinger, Joyce; Kruger, Justin (1 June 2003).

“The fool doth think he is wise, but the wise man knows himself to be a fool.”   
*William Shakespeare Touchstone, in As You Like It .

“A little knowledge is a dangerous thing” 
 Alexander Pope in An Essay on Criticism, 1709. 

“Ignorance more frequently begets confidence than does knowledge”
Charles Darwin in The Descent of Man in 1871.

In short,  individuals who are the least competent at a task often incorrectly rate themselves as high-performing even when they lack particular knowledge or expertise. 

Implications:The Dunning-Kruger effect:
 
According to David Dunning, If you’re incompetent, you can’t know you’re incompetent, and that has two major implications:
  1. It leads to mistakes and poor decisions.
  2. It prevents you from catching your errors.
In other words, not only does the Dunning-Kruger effect make you perform poorly, but it also makes it hard to recognize how badly you are in fact doing.



Two Key Reasons Why this Bias Exists  

1. Ego: We tend to overestimate our abilities and knowledge on various topics as a way to increase our confidence. We do not want to plead ignorance to others or ourselves. In turn, our minds create a natural defense to respond to these situations (Ehrlinger et al., 2008).   

2. Knowledge Gaps: Our below-average abilities in an area inherently makes us a bad judge of how good we are in that skill. Therefore, having knowledge gaps makes it difficult for us to detect our own errors. Imagine trying to identify a well-written piece if you yourself do not possess solid grammar skills. (Dunning & Kruger, 1999).


 


रुकुमको चौरजारीमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको रगत नसुक्दै रुपन्देही तिलोत्तमा नगरपालिकाको मैनहवा स्थिति गंगादेवि पशु फर्ममा ५ जना कामदारहरुको बिभत्स हत्या भएको छ । हत्या गर्ने सोही फर्ममा काम गर्ने झपेन्द्र सिंजाली बताइएको छ । यस घट्ना अर्को दिन फेरि रुपन्देहीकै कंचन गाउँपालिकाका रिम बहादुर कुमालले छतमा सुतिरहेका आफ्नै १५ वर्षीय छोराको घाँटी, मुख र टाउको बन्चरोले हानेर हत्या गरेका छन् भने बुटवलमा ८ वर्षको विरामी छोरालाई आफ्नै बाबुले मारेर गाडेको आरोप छ । यसरी केही वर्षयता हत्याहिंसाका यस्ता जघन्य घट्नाहरु निकै बढेका छन् । 

किन यसरी बढेका छन् हत्याहिंसाका जघन्य घट्नाहरु ? यसका राजनीतिक, समाजिक, परिवारिक, जैविक तथा मनोवैज्ञानिक कारणहरु के के हुन सक्छन् ? हत्याहिंसाका यस्ता घट्नाहरु न्युनिकरण गर्न कारणहरुको गहिराइमा पुग्न अति आवश्यक छ ।  

हिंसा के हो ? यस प्रश्नसँगै हत्याहिंसाको कारणहरु खोज्ने प्रयास गरांै । हिंसाको शाव्दिक अर्थ हुन्छ, अर्कोको ज्यान लिने वा काटमार गर्ने काम । यसर्थमा कुनै पनि प्राणीको हत्या गर्नु नै हिंसा हो । तर हिंसाको अर्थ यति साँगुरो भने छैन । अरुलाई पीडा–कष्ट–हानी आदि पु¥याउने काम पनि हिंसा नै हो । वास्तवमा हिंसाको भावना मनमा उत्पन्न हुनु नै हिंसा हो । त्यो किन भने हत्या तब हुन्छ, जब मनमा हिंसाभाव पैदा हुन्छ । अतः मनमा असन्तोष, कुण्ठा, संर्घष, तनाव, वैचनी तथा अन्तद्र्वन्द्व उत्पन्न हुनु भनेको पनि मानसिक रूपमा भित्रभित्र कुनै न कुनै हिंसा गर्नु हो । क्रोध दबाउनु, मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनु पनि हिंसा नै हो । अतः प्राणीहरूको बध वा हत्या गर्ने अथवा शारीरिक आक्रमण गरेर प्राणीहरूलाई अंगभंग पार्ने तथा पीडा पु¥याउने कामलाई शारीरिक वा भौतिक हिंसा भनिन्छ भने प्राणीहरूलाई कुट्छु–पिट्छु मार्छु भनेर डर–धम्की दिने, गाली–गलोज गर्ने, दुर्वाच्य तथा बोलीले अरूलाई पीडा–कष्ट दिने कामलाई वाचिक वा शाब्दिक हिंसा भनिन्छ । त्यसैगरि मनमनै गरिने हत्याको विचार, अंगभंग पार्ने सकल्प तथा मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनुलाई मानसिक वा भाविक हिंसा भनिन्छ । 


मनोवैज्ञानिकहरूको भनाइ छ कि मानिसले हिंसाको भावना जन्मदेखि नै लिएर आउँछ । आमाको काखमा जब नवजात शिशुलाई भोकले सताउँछ, तब ऊ आमाको स्तनतिर लपक्क लप्किन्छ । तर, आमाले अनिच्छा जाहेर गरेमा उसले स्तनमा हान्छ, हात–खुट्टा झट्काउँछ । यहीँबाट नै मानिसको मनमस्तिष्कमा क्रोध तथा हिंसा भावना फैलिंदै जान्छ, झागिंदै जान्छ । 

मनोवैज्ञानिकका अनुसार हिंसा फौलिनुका पछाडि मुख्यतयाः तीन कारणहरू छन्– एक हो, मनोसामाजिक कारण, अर्को रासायनिक कारण र तस्रो हो, आनुवांशिक कारण अर्थात् जन्मजात आमाबाबुबाट आउने गुण । मनोवैज्ञानिकको मान्यता छ, उपर्युक्त एक वा दुई वा तीनै कारणबाट नै हिंसाको जन्म हुने गर्दछ । यसको प्रभाव कहिले प्रारम्भिक स्थितिमा नै दब्छ त कहिले यसले उग्ररूप धारण गर्दछ । तब सानातिना कुराहरूमा नै मानिसले हत्या जस्ता जघन्य अपराधहरू गर्दछ ।

सामाजिक रूपमा हिंसा तेरो मेरो भावानाबाट जन्मिने गर्दछ । तरो मेरोको झगडा मिल्यो भने त ठीकै भयो । तर झगडा मिलेन भने घर, समाज, राज्य, देश तथा विश्वमा नै हिंसा फैलिन सक्दछ । त्यसो त पुरुष प्रधान समाजमा मूलतः पुरुषलाई नै हिंसाको कारक मानिन्छ । त्यो किनभने तुलनात्मक रुपमा पुरुष ताकतवार हुन्छ, समर्थ हुन्छ, त्यसैले आपूm भन्दा निर्धोेलाई दबाउन ऊ कहिल्यै पछि पर्दैन । त्यसैले परिवारमा जब पतिको हिंसा पत्नीमाथि हावी हुन्छ, तब पत्नी मात्र होइन कि सम्पूर्ण परिवार नै भय र सन्त्रासको चपेटामा पर्दछ । तर अचम्मको कुरा के भने यहि स्थिति त्यहाँ पनि पैदा हुन्छ, जहाँ पत्नी पतिमाथि हावी हुन्छे, तब पतिलाई आफ्नो इज्जत, परिस्थितिहरू तथा गृहस्थी चलाउनकालागि पत्नीको कर्कश व्यवहार सहनुपर्दछ । तर एक स्थिति यस्तो पनि आउँछ, जब धैर्यताको बाँध फुट्दछ र कुरा हिंसामा आउँछ । यहीँ नै तनाव, कुण्ठा, हिंसा, भय र सन्त्रास आदि जस्ता रोगहरूले जन्म लिन्छन् । 


मनोवैज्ञानिक समस्याहरुका कारण पनि हत्याहिंसाका घट्नाहरु घट्ने गर्छन् । रुपन्देहीको मैनहवा स्थित गंगादेवि पशु फर्ममा ५ जना कामदारहरुको बिभत्स हत्याका ओरोपित झपेन्द्र सिंजाली पनि मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको स्थानियको भनाइ छ । हत्याहिंसा बढ्नुमा राजनीति पनि त्यत्तिकै दोषी देखिन्छ । नेपालमा दण्डहीनताका कारण पनि हत्याहिंसा फैलिएको छ । राजनीतिक पार्टीहरुले हत्याराहरुलाई राजनीतिक संरक्षण दिने, डनहरुलाई साँढेझैं पाल्ने तथा आफ्ना कार्यकर्ताहरुलाई विरोधीको खुट्टा भाँच्न उस्काउने जस्ता अपराधिक गतिविधिहरुले गर्दा हत्याहिंसालाई झन् बढावा मिलेको छ । 

दण्डहीनता यसरी मौलाउनुमा दोष नागरिकको पनि छ । अधिकांश आमनागरिकले अपराधीलाई सजाए दिलाउन त चाहन्छन्, यदि ऊ आफन्त वा  आफ्नो पक्षको नभए मात्र । एक पटक कल्पना गर्नुहोस् त, सकडमा हत्यारा वा बलात्कारीलाई फासी दे भन्दै नारा लगाउनेहरु मध्य कति जना के उनका आफन्त वा पक्षका मानिसले यस्तै अपराध गरेको खण्डमा यसरी नै पीडित पक्षलाई न्याय दिलाउनका लागि आवाज बुलन्द गर्छन् ? वा आफन्तको अपराध छुपाउने कार्यमा सहयोग गर्छन् ? 

नेपालमा घरेलू हिंसा पनि बढ्दो छ । आर्थिक समस्या, घरेलू झैंझगडा तथा मद्यपान आदि यसका प्रमुख कारणहरु हुन् । खासगरी निम्नवर्गीय परिवारमा मद्यपानका कारणनै प्रशस्त घरेलू हिंसाहरु हुने गर्छन् ।

रुपन्देहीका ४० वर्षीय विनोद(नाम परिवर्तन) एक मजदुर हुन् । उनको परिवारमा उनकी पत्नी र ४ सन्तान छन् । उनले मजदुरी गर्छन् । र, साँझ टन्न रक्सी पिउँछन् । रक्सी पिएपछि अनावश्यक र तथ्यहीन निहु झिकेर पत्नीसँग झगडा गर्छन् । कुटपटिमा उर्तिन्छन् । केही महिना अगाडि उनले नभएको निहुँ झिकेर पत्निको टाउको फुटाएका थिए । उनको यस्तो व्यवहारले उनका छोराछोरीहरुले समेत निकै कष्टपूर्ण जीवन जिउनु परेको छ । त्यसैले उनको १२ वर्षको जेठो छोरो कामको खोजीमा लखनऊ पुगेका छन् । 

नेशनल इष्टिच्युट अफ हेल्थका वैज्ञानिकहरूले हतियारलाई हिंसाको भाइरस भनेका छन् । हतियार र हिंसाको सम्बन्ध गरिएका अनेकौ अध्ययनबाट यहाका वैज्ञानिकहरू यो निश्कर्षमा पुगेका हुन् । उनीहरूको दावी छ कि यदि समाजमा हतियारको संख्यालाई नियन्त्रण गर्ने हो भने हिंसाको घटना तथा काटमारमा ठूलो कमी आउँछ । तर बिडम्बनाको कुरा के भने हिजोआज संसारमा हतियार केवल विद्रोही, आतड्ढवादी तथा अपराधीहरूसँग मात्र छैन कि आम नागरिकसँग पनि छयापछयापती साना–ठुला हतियारहरू छन् । 

यस्ता हतियार लाइसेंस बीना नै राख्ने र प्रयोगमा ल्याउने गरिन्छ । त्यसैले हिंसाको भाइरस फैलाउने हतियार जति–जति विश्वभरि फैलिदै छ, त्यति–त्यति नै हिंसाले डरलाग्दो स्वरूप धारण गर्दै छ । वास्तवमा हतियारको होडबाजी र तेरो मेरो भावनाका कारण नै संसारमा हिंसा ज्यादै डरलाग्दो रूपमा फैलिएको छ । त्यसैले हिंसाको महामारीलाई नियन्त्रण गर्न हरेक देशका सरकारहरूले ढिलो नगरी ठोस कदम चाल्नुपर्दछ । तर सरकारी प्रयास मात्र काफी छैन, हामी सबैले हिंसा रोगको नियन्त्रणमा अ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नुपर्दछ, होस्टेमा हैँसे थप्नुपर्दछ, हिंसालाई ग्ल्यामर दिने, यसैको मद्धतबाट नै आफ्नो समस्या सुल्झाउन खोज्ने मूर्खता त्याग्दै हतियारको राजनीतिबाट देशलाई सधैँ मुक्त राख्नुपर्दछ । नत्र विश्वव्यापीरुपमा फैलिँदै गएको हत्याहिंसा महामारीबाट कोही पनि सुरक्षित हुनेवाला छैनन् । (लेखक साइकोथेरापिष्ट हन् ।)



Wednesday, June 24, 2020

हेल्थ फर्स्ट 
विश्वको पहिलो मनोचिकित्सा 
ओम बानियाँ

हो, शरीरको चोट देखिन्छ । तर मनको चोट देखिँदैन । चोट लागेपछि, घाउ बनेपछि दर्द त हुन्छ नै । तर शरीरको चोटले भन्दा मनको चोटले मानिसलाई असहय पीडा दिन्छ । मनमा बर्जिएको गहिरो चोटले त मानिसलाई मानसिक रुपमा बिकलांग पनि बनाउन सक्दछ । तर, भीडभाड, भागदौड र गलाकाट प्रतिस्पर्धाको आधुनिक युगमा हरेक मानिसले धेरै थोरै यस्ता चोटहरुको सामना गर्नु नै पर्छ । शरीरका चोटहरुको पीडा जस्तै मनका चोटहरुको पीडा पनि सहनु नै पर्छ । त्यसैले पनि हरेक मानिसको मन कुनै कुनै मानसिक समस्याको कारण अशान्त छ, बैचन छ । 


मानिसलाई यस्ता समस्याहरुबाट छुटकारा दिलाउन विश्व स्वास्थ्य क्षेत्र लागिरहेको छ । मानसिक रोगहरुको उपचारको नाउँमा खरबौं रुपैयाँ खर्च भैरहेको छ । अनेक उपचार पद्धतिहरुको विकास र बिस्तार भएको छ । तर विडम्बना के भने मानिसको पीडा भने झनै बढेर गएको छ । मानसिक समस्याहरुको बजारिकरणका कारण नै यस्तो स्थिति सृजना भएको हो ।

मानसिक समस्या अहिलेको समस्या होइन, उहिले पनि थियो । आम मानिसको मात्र होइन, उतिबेला महाभारतका अर्जुन समेत यस्तै मानसिक पीडाबाट ग्रस्त थिए । यो कुरा श्रीमद्भगवत्गीतामा नै उल्लेख छ । गीताको आरम्भिक दृश्यमा अर्जुन सेता घोडाको रथमा गाण्डिव लिएर उभिएका छन् । सामरिक उत्साहले निकै परिपूर्ण पनि छन् । उनको आँखामा विजयको चमक छ र अनुहारमा हौसला । आत्मविश्वासले भरिएका अर्जुनले देवदत्त नामक शंख बजाएर यूद्धको घोषणा गर्छन् । शंखध्वनीसँगै शारा यूद्धक्षेत्र थर्रर थर्किन्छ । अनि उनले अदम्य साहसका साथ श्रीकृष्णालाई रथ दुई सेनाको बिचमा खडा गर्न अनुरोध गर्छन् ।  श्रीकृष्णले रथलाई दुई सेनाको बिचमा खडा गर्छन् । तर, साहस र आत्मविश्वासले परिपुर्ण अर्जुन एकाएक घबराइउँछन्, हतास, उदास र खिन्न हुन्छन् । 

मनोविज्ञानको भाषामा अर्जुनमा देखिएको लक्षण एक किसिमको एनजाइटि तथा डिप्रेसन नै थियो ।  आधुनिक मनोविज्ञानका अनुसार बैचनी, निस्क्रियता, थकान, ऊर्जाहीनता, हाथखुट्टा सुन्न हुनु, पसिना आउनु, कम्पन जस्ता लक्षणहरुलाई एनजाइटि तथा डिप्रेसन भन्ने गरिन्छ । अर्जुनले भनेका नै छन्ः केशव १ मेरो अंगहरु शिथिल हँुदै गएका छन् । मेरो मुखु सुकेको छ । शरीर काँपेको छ । मरो हातबाट गान्डिव छुट्न लागेको छ । म उभिन पनि नसक्ने भएको छु । अनि अर्जुन शोकले उद्विग्न भई धनुष राखेर रथको पछाडि गएर बस्छन् । 


मनोविज्ञानका अनुसार यस्तो स्थितिमा मानिसको समझ तथा सोच विकृति हुन्छ । बुद्धिले ठीक ढंगबाट कार्य गर्दैन । अनि विचारले मानिसलाई गलत दिशातिर लान्छ । ठीक यसरी नै अर्जुन पनि गलत दिशामा गएका छन् । हे केशव ! मैले सबकुछ विपरीत देखिरहेको छु । आफन्तालाई मारेर हाम्रो कुनै लाभ तथा कल्याण हुनेवाला छैन । अर्जुनको यस भनाइबाट उनलाई सम्पूर्ण यूद्ध निरर्थक लागिरहेको छ । मनोविज्ञानको भाषामा यो सेन्स अफ होपलेसनेसको लक्षण हो । 

अर्जुनको कुरालाई गम्भिररुपमा हेर्ने हो भने उनी अत्याधिक चिन्ता, घोर निराशा, अनिर्णयको बन्दी भएको र उनको फोकस नकारात्मक दिशामा गएको देखिन्छ । उनलाई आफन्तसँग यूद्ध गर्नु भन्दा आफु मर्न बढी श्रेयस्कर लागेको छ  । यसले आत्महत्याको संकेत गर्छ । यो नै सबै एनजाइटि डिसअर्डर तथा डिप्रेनको लक्षण हो । 

अतः परिस्थिलाई हेर्ने दृष्टिकोणले मानिसलाई कसरी प्रभाव पार्छ र मानिसमा मानसिक समस्या देखा पर्छ भन्ने यो एक सशक्त उदाहरण हो । यहाँ मननीय कुरा के भने मानिस परिस्थितिले भन्दा पनि मनस्थितिले दुःखी हुने गर्छ । वास्तवमा मानसिक समस्याको जड भनेको नै परिस्थिति होइन, परिस्थितिलाई हेर्ने मानिसको दृष्टिकोण हो । यदि मानसिको मनस्थिति मजबुत छ भने जस्तोसुकै परिस्थितिमा पनि उसले विजय प्राप्त गर्न सक्दछ । यदि मनस्थिति कमजोर छ भने ससानो परिस्थितिबाट पनि मानिस विचलित हुने गर्छ । अतः परिस्थितिलाई होइन, मनस्थिति परिर्वतन गर्नुहोस् । सकारात्मक मनस्थितिले नै सकारात्मक परिस्थिति सृजना गर्छ । 

परिस्थिति तथा मनस्थिति


मानिस परिस्थितिले भन्दा पनि मनस्थितिले दुःखी हुने गर्छ । वास्तवमा मानसिक समस्याको जड भनेको नै परिस्थिति होइन, परिस्थितिलाई हेर्ने मानिसको दृष्टिकोण हो । यदि मानसिको मनस्थिति मजबुत छ भने जस्तोसुकै परिस्थितिमा पनि उसले विजय प्राप्त गर्न सक्दछ । यदि मनस्थिति कमजोर छ भने ससानो परिस्थितिबाट पनि मानिस विचलित हुने गर्छ । अतः परिस्थितिलाई होइन, मनस्थिति परिर्वतन गर्नुहोस् । सकारात्मक मनस्थितिले नै सकारात्मक परिस्थिति सृजना गर्छ ।




कग्नेटिभ साइकोथेरापिका पिता मानिने डा. अरुन बैकले पनि यही भनेका छन् । बैकको यस सिद्धान्तले भन्छ, मानसिक समस्यामा उल्झिएको व्यक्तिले हरेक कुरालाई केवल नकारात्मक दृष्टिले हेर्ने गर्छ । उसले स्वयं आफ्नो, भूत, वर्तमान र भविष्यको विषयमा गलत वा उल्टो विचार राख्ने गर्छ । ठीक यसरी नै गीताको आरंभिक चरणमा अर्जुन यस्तै नकारात्मकता अल्झिएको पाइन्छ ।

बैक साइकोथेरापि मानसिक विकारहरू(मेन्टल डिस्अर्डर) तथा व्यथाहरू(डिस्टे«स)को मूल कारण प्रतिकूल वा नकारात्मक भावना (नेगेटिभ फिलिङ्स) हो भन्ने मान्यतामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान(कग्निसन) तथा चिन्तनले नै मानसिक रोग पैदा गर्छ । त्यसैले मानसिक रोग ठीक गर्नका लागि रोगीको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावनाहरू परिवर्तन गर्न आवश्यक पर्छ । कग्निटिभ बिहाभियर थेरापीमा विभिन्न कग्निटिभ टेक्निकहरूको सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ, जसले गर्दा रोगीको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भइ व्यवहार समायोजित हुन पुग्छ । 

पुछारमाः
श्रीकृष्ण एक अलौकिक मनोवैज्ञानिक थिए । उनले अर्जुनलाई परिस्थितिबाट भाग्न होइन, परिस्थितिलाई हेर्ने दृष्टिकोण परिवर्तन गरि परिस्थितिको सामना गर्न सिकाए । अहिलेको मनोचिकित्साले गर्ने पनि यही त हो । अतः वास्तवमा गीता एक अद्भुत मनोविज्ञान हो । यो मनको उपचारको पुर्ण विज्ञान हो । श्रीकृष्ण विश्वको पहिलो मनोचिकित्सक । (लेखक साइकोथेरापिस्ट हुन्। )