Thursday, May 21, 2020

ब्रेन बाइट्स

रेट्रो वाकिंग
ओम बानियाँ

स्वास्थ्यका लागि व्यायामको ठूलो महत्व छ । व्यायामले माइण्ड र बडी दुबैलाई स्वस्थ र मजबुत राख्न सहयोग गर्छ । त्यसैले स्वस्थ, निरोग र ओजस्वी तेजस्वी जीवन जिउन हरेक दिन एक घण्टा समय व्यायामका लागि छुट्टाउन आवश्यक छ । व्यायाम अनेक किसिमका हुन्छन् । ती मध्य हिंडाइ र दौडाइ निकै सरल र बिना खर्चको एक श्रेष्ठ व्यायाम हो । दैनिक आधादेखि एक घण्टाको हिंडाइ र दौडाइका अनेक स्वास्थ्य लाभहरु हुन्छन् । अझ उल्टो हिंडाइ र दौडाइ (रेट्रो वाकिंग तथा रेट्रो रनिंग ) स्वास्थ्यका लागि निकै प्रभावकारी मानिन्छ ।


के हो रेट्रो वाकिंग ?

अगाडि हिंडे, दौडे जस्तै गरी पछाडितिर हिंड्ने तथा दौडिने क्रियालाई उल्टो हिंडाइ तथा उल्छो दौडाइ ((रेट्रो वाकिंग तथा रेट्रो रनिंग ) भनिन्छ । उल्टो हिंडाइ र दौडाइ एक रोमान्चक व्यायाम मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै उत्तम व्यायाम हो । यस व्यायाम मस्तिष्क शक्ति, स्मरण शक्ति, ध्यान शक्ति, एकाग्रता तथा सजगता बढाउन, मांशपेशी सुडौल बनाउन, घुँडालाई मजबुत बनाउन, शरीरको सन्तुलन कायम गर्न तथा खेलकुदलाई प्रभावकारी बनाउनका लागि निकै उत्तम मानिन्छ । सामान्य हिंडाइमा मुटुको धड्कन प्रति मिनेट १०६ हाराहारी हुन्छ भने रेट्रो वाकिंगमा मुटुको धड्कन प्रति मिनेट १५६ सम्म पुग्दछ ।

 रेट्रो वाकिंग सम्बन्ध अनेक वैज्ञानिक अध्ययनहरु भएका छन् । उल्टो हिंडाइ र दौडाइको अर्को निकै महत्वपुर्ण स्वास्थ्य फाइदा घुँडामा तनाव कम हुनु हो । तसर्थ यस व्यायामले घँुडाको दुःखाइमा निकै फाइदा गर्छ । यस्तो हिंडाइले क्यालोरी बर्न गर्न पनि सहयोग पुराउँछ । सामान्य हिंडाइको तुलनामा रेट्रो वाकिंगले ४० प्रतिशत भन्दा बढी क्यालोरी बर्न गर्छ, जसले गर्दा मोटोपनामा घटाउन निकै फाइदा पुग्छ । साताको चार दिन १०, १५ मिनेट उल्टो हिंडाइ गर्ने हो भने शरीरमा लचिलोपना बढ्छ । शरीर सन्तुलन हुन्छ । दृष्टि बढछ, श्रवण शक्ति बढछ, उत्साह, आत्मविश्वास, मस्तिष्क शक्ति, एकाग्रता तथा सजगता बढाउन पनि सहयोग गर्छ । १०० कदम रेट्रो वाकिंग १००० कदम सामान्य हिंडाइ बराबर प्रभावकारी रहने अध्ययनले देखाएको छ । रेट्रो वाकिंगले जस्तै फाइदा मूनवाकिंगले पनि गर्छ । मूनवाकिंग भनेको पछाडितर्फ हिंडेर गरिने नाच हो । यो नाचको सर्जक माइकल ज्याक्सन हुन् । 

रेट्रो वाकिंग र ब्रेनः
रेट्रो वाकिंगको सबै भन्दा बढी प्रभाव मस्तिष्कमा पर्छ । यस व्यायामले निस्क्रिय रहेको मस्तिष्कको भागहरुलाई सक्रिय बनाउन सहयोग गर्छ । यस्तो हिंडाइले मस्तिष्क सजगता, सृजनशिलता, एकाग्रता तथा सर्टटर्म मेमोरी समेत बढ्ने अध्ययनले देखाएको छ । यस व्यायामलाई एचडी तथा एडीएचडीका बालबालिकाको उपचारका लागि थेरापिको रुपमा उपयोग गर्न सकिने कतिपय अध्ययनको दावी छ । यसका साथै अनेक अध्ययनहरुले अन्य विद्यार्थीको तुलनामा रेट्रो वाकिंग गर्ने विद्यार्थीको स्मरण शक्ति बढेको देखाएका छन् । रेट्रो वाकिंग तथा रनिंग सानासाना बालिबालिकाहरुले पनि सजिलै गर्न सक्छन् । यस्तो व्यायाम गर्न बालबालिका निकै खुसी पनि हन्छन् । कतिपय बालबालिकाहरुले त आपसमा खेल्ने क्रममा यस्तो व्यायाम स्वस्पूmर्तरुपमा गरिरहेका हुन्छन् । मानसिक समस्याहरुमा परेका व्यक्तिहरुका लागि पनि रेट्रो वाकिंग तथा रनिंग एक थेरापिका रुपमा प्रयोगमा ल्याउन सकिन्छ । 


रेट्रो वाकिंग र मेमोरीः
कुन योग ध्यान गरेर ? कस्तो भोजन तथा औषधि खाएर ? कस्तो पजल हल गरेर वा कस्तो प्रशिक्षण लिएर मेमोरी बढ्छ भन्ने  मानिसहरुको जिज्ञासा रहँदै आएको छ । तर, खुसीको कुरा के भने मेमोरी बढाउने एउटा निकै सरल विधि छ, त्यो हो हिँडाइ र दौडाइ । दैनिक २ हजारदेखि १० हजार पाइला हिंड्ने वा दौडिने हो भने मधुमेह जस्ता रोगहरु नियन्त्रण मात्र होइन, मानिसको मेमोरी समेत बढ्ने अनेक अध्ययनहरुले देखाएका छन् । अझ सामान्य हिंडाइ वा दौडाइसँगै रेट्रो वाकिंग तथा रेट्रो रनिंग गर्ने हो भने यसको प्रभाव दस गुणा बढी हुन्छ । हिंडाइ वा दौडाइले कसरी मेमोरी बढाउँछ भन्ने प्रश्नको सरल उत्तर हो, मस्तिष्कमा रक्तसंचार । हिंडाइ, दौडाइ तथा रेट्रो वाकिंग गर्दा मस्तिष्कमा रक्तसंचार बढ्छ र मस्तिष्कले पर्याप्त अक्सिजन तथा पोषण तत्वहरु पाउँछ । स्मरण रहोस्, डेढ किलोको मस्तिष्कलाई २० प्रतिशत अक्सिजन आवश्यक पर्छ ।

रेट्रो वाकिंग र मोटोपनाः
उल्टो हिँडाइ र दौडाइ क्यालोरी घटाउन तथा मोटोपना घटाउन निकै उत्तम व्यायाम मानिन्छ । अतः जति हिंड्दा तथा दौडिंदा पनि मोटोपना कम नभएर निराश भएका मानिसहरुले यसबाट लाभ प्राप्त गर्न सक्छन् । यसका लागि दैनिक आधा घण्टा अगाडितर्फ र पछाडितर्फ हिंडेर वा दौडिँएर केही दिनमै शरीरको मोटोपना घटाउन सक्छन् ।   

रेट्रो वाकिंगको विधि

रेट्रो वाकिंग निकै सरल छ । जसरी अगाडि हिंडिन्छ, त्यसरी नै पछाडितर्फ हिंड्नु रेट्रो वाकिंग हो । पछाडि दौडिंनु रेट्रो रनिंग हो । रेट्रो वाकिंग तथा रेट्रो रनिंग गर्दा ध्यान दिन पर्ने कुरा के भने यो व्यायाम गर्ने ठाउँ समथर र खुल्ला हुनुपर्छ । नत्र, पल्टिने खतरा हुन्छ । समथर चौर वा ठुलो हलमा यस व्यायाम गर्न उपयुक्त हुन्छ । कोठामा दस कदम अगाडितर्फ हिँडेर वा दौडिएर अनि दस कदम पछाडितर्फ हिँडेर वा दौडिँएर पनि यो व्यायाम गर्न सकिन्छ । 

अन्तमाः
अतः रेट्रो वाकिंग तथा रेट्रो रनिंगले शरीरलाई मात्र होइन, मस्तिष्क तथा मनलाई स्वस्थ र मजबुत बनाउन सहयोग गर्छ । त्यसैले दिनहुँ आधा घण्टा हिंडाइ तथा दौडाइ गर्ने । अनि १०, १५ उल्टो हिंडाइ तथा दौडाइ गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । आफै गरेर हेर्नुहोस्, केही दिनमा नै यस व्यायामको लाभ आफैं थाहा पाउनु हुने छ । (लेखक साइकोथेरापिष्ट, माइण्डबडी थेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)






Wednesday, May 20, 2020

हेल्थ फर्स्ट 

एक मुठ्ठीको चनाका ताकत
ओम बानियाँ
एउटा प्रसिद्ध लोकोक्ती छ, घोडाको जस्तो हर्सपावर तागत चाहिए, चना खानुहोस् । प्राचिन कालमा चना घोडाको प्रमुख आहार मानिन्थ्यो । चना घोडाको निकै प्रिय आहार पनि हो । चना खाएर नै घोडा यति बलवान भएको मान्यताले उक्त लोकोक्ती बनको हुनुपर्छ । हुन पनि चना शारीरिक तथा मानसिक स्वास्थ्य तथा सौंदर्यका लागि निकै उपयोगी छ । यो अनेक रोगहरुको औषधि पनि हो । वास्तवमा बहुगुणी चना सुपरफूड हो । 


सुपरफूड चनाः
चना पौष्टिकता र ताकतको पावरहाउस हो । चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रशस्त मात्रामा पाइन्छन् । चनामा पनि गाढा खैरो वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुराउँछ । यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ ।

ब्रेनफूड चनाः
चना शारीरिक कमजोरी हटाउन, ताकत र ऊर्जाका लागि निकै फाइदाजनक मानिन्छ । चना सबैभन्दा सस्तो र बदामभन्दा पनि धेरै असरदार हुन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खानुपर्छ । यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरिरमा ताकत आउँछ । चनामा भिटामिन बी–६ भएको कारणले यसको सेवनले मस्तिष्कलाई तेज बनाउनको साथै स्मरणशक्तिको विकास गर्छ । 

चाइल्डफूड चनाः
चना बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पनि निकै फाइदाजनक छ । त्यसैले बालबालिकालाई बदामको साथै कालो चना खवाउने गर्नुपर्छ । चनामा पाइने भिटामिन्सले बालबालिकाको मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढाउन सहयोग गर्छ भने यसमा पाइने फस्फोरसले दाँतलाई मजबूत बनाउने काम गर्छ ।


बोडि बिल्डर चनाः
चनाले हरेक प्रकारको कमजोरीलाई भगाउँछ । ताकत बढाउँछ । तौल बढ्न सहयोग गर्दछ । भुटेको चना स्वाथ्यको लागि लाभदायक हुन्छ । जब त्यसलाई गुढसँग मिलाएर सेवन गरिन्छ तब त्यो शरीरको लागि स्वभाविकरुपमा भन्दा एकदमै फाइदाजनक सावित हुन्छ । विशेषगरी आफ्नो शरीर बनाउन जिम जाने व्यक्तिको लागि यो नभई नहुने खाद्य पदार्थ हो ।  गुढ र चनामा धेरै मात्रामा प्रोटिन पाइन्छ जुन माशंपेशीलाई मजबूत बनाउन एकदमै सहयोगी हुन्छ र त्यसमा भएको जिन तत्वले छालालाई निखार्ने काम गर्छ । यी दुई तत्व एकै साथ सेवन गर्नाले शरीरमा मेटाबोलिजमको मात्रा बढ्छ र यसले शरीर सुडौल बनाउन र लम्बाइ बढाउन सहयोग पुराउँछ । यसका लागि एक मुठ्ठी चना लिने र राम्रोसँग सफा गर्ने । त्यसबाट किरा लागेको, नभिज्ने कडा चनालाई निकाल्ने र सफा चनालाई धोएर एक गिलास सफा पानीमा रातभर भिजाएर राख्ने । बिहानको नित्यकर्मपछि यसरी भिजाएर राखेको चनालाई राम्रोसँग चपाएर खाने र चनाको पानी पनि पिउने । स्वादका लागि चनामा पिसेको मरिच, अदुवा, सिधे नून तथा कागतीको रस मिलाउन सकिन्छ । अझ चनाको पानीमा १ चम्चा मह घोलेर पिउनु तथा भिजाएको चनालाई अंकुरित गरेर खानु सर्वोत्तम हुन्छ । अंकुरित चनाको नास्ता उत्तम टनिक हो । चनालाई अंकुरित गर्नका लागि २४ घण्टा जति भिजाएको चनालाई चिसो कपडा वा थैलीमा बाँधी झुण्डाएर राख्ने । गर्मीयाममा आवश्यकता अनुसार पानी छर्किदै रहने । दुईतीन दिनमा चना अंकुरित हुन्छ । चनाको मात्रालाई बिस्तारै आफ्नो तौल र व्यायामको हिसाबले बढाउँदै लान सकिन्छ । यसरी नियमित एक मुठ्ठी चना खानले शरीर स्वस्थ रहनुको साथै बलिष्ट र ताकतवार हुन्छ । 

मेडिसिन चना

चनामा प्रशस्त मात्रामा औषधीय गुण हुन्छ । यो अनेक रोगहरुको औषधि पनि हो । चनामा प्रचर मात्रामा आइरन पाइन्छ । त्यसैले चनाको सेवन गर्नाले रक्तअल्पता(एनिमिया)को समस्या टाढा राख्दछ । शरीरमा आइरनको कमीका कारण हुने रक्तअल्पताको समस्यालाई चना खाएर टाढा भगाउन सकिन्छ । चनाले रगत सफा पनि गर्ने काम गर्छ । चनामा मह मिसाएर खानाले अझैं प्रभावकारी हुन्छ ।  चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचनक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । भिजाएर राखेको चनामा मह मिसाएर खानाले पत्थरीको खतरा कम हुन्छ र यदि मुत्राशय वा मृर्गौलामा पत्थरी छ भने पनि सजिलै निस्किन मद्दत गर्छ । चना तागतिलो हुनुका साथै शरीरमा भएको अतिरिक्त ग्लूकोजको मात्रालाई पनि कम गर्छ । बिहान खाली पेट चनाको सातु खानाले पनि मधुमेहको खतराबाट बच्न सकिन्छ । २५ ग्राम कालो चना रातभरि भिजाएर बिहान खालीपेट सेवन गर्ने हो भने मधुमेहमा निकै फाइदा गर्छ । जौ र चनाको रोटी  मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । चनाले यौन कमजोरी हटाउँछ । वीर्यको संख्या वृद्धि गर्दछ । वीर्य गाढा हुने गर्दछ । एक मुठ्ठी चनासँगै पाँचवटा बदाम भिजाउने । बिहान मज्जाले चपाएर खाने । त्यसपछि एक गिलास मनतातो दुध पिउने । चिनियाँ माटोको भाँडामा भिजाएको चना खानाले पुरुषहरुलाई निकै फाइदा पुराउँछ । चनालाई दूधसँग पनि खान मिल्छ । चना छालाको लागि पनि निकै लाभदायक रहेको छ । चनाको बेसनलाई बेसारसँग मिसाएर मुहारमा लगाउनाले फाइदा हुन्छ । यसले सुन्दरता बढाउनुका साथै दाग, दाद जस्ता समस्याहरुबाट पनि राहत दिन्छ । भुटेको चना खानाले बारम्बार पिसाब जानुपर्ने समस्याबाट आराम पाइन्छ । दैनिक भुटेको चना खानाले पायल्समा पनि राहत मिल्छ । चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ । नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् । पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । गुढसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ । चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चना निम्न रक्तचापलाई सामान्य बनाउन निकै उपयोगी हुन्छ । २० ग्राम चना र किसमिस वा मुनक्काको २५ दाना रातभरि सफा पानीमा भिजाएर राख्ने । बिहान नित्यकर्मपछि नास्ताको रुपमा भिजाएको चना र किसमिस खाने । पानी पिउने हो भने केही दिनमै रक्तचाप सामान्य हन्ुछ । शरीर बलिष्ट बन्छ, चेहराको चमक बढ्छ । चनाले शरीरको इम्यूनिटीलाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ । गर्मीको समयमा चनाको सातुले धेरै फाइदा हुन्छ । शरीरलाई तन्दुरुस्त, ऊर्जा प्रदान गर्न लु लाग्नवाट बच्न सातुले सहयोग गर्छ । सातुलाई कागती र बिरेनुनसंग घोलेर पिउदा पनि फाइदा हुन्छ । नुन हालेको सातु मन नपरे गुढ वा चिनी हालेर समेत सातु खाना सकिन्छ । 


चना खाने विधि

चनालाई अनेक तरिकाले सेवन गर्न सकिन्छ । चनाको गेडागुडीको तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ । चनालाई अंकुरित गरेर तथा चनाको रोटी बनाएर पनि सेवन गर्न सकिन्छ ।

पुछारमाः
अतः चना मानिसको लागि प्रकृति दिव्य बरदान हो । यो बहुगुणी चना जति पौष्टिक र औषधीय गुणहरुले भरिपूर्ण छ, त्यत्ति नै सस्तो र सर्वसुलभ छ । त्यसैले उचित तरिकाले चनाका परिकारहरुको सेवन गरेर शरीरलाई स्वस्थ र मजबुत बनाउन सकिन्छ । अनेक रोगहरुलाई टाढा भगाउन सकिन्छ । तर, हिजोआज जंकफूड र फास्टफूडहरुका कारण चनाको उपयोग कम हँुदै गएको छ । यो चिन्ताको विषय हो । यसतर्फ हामी सबै सचेत हुन आवश्यक छ । जंकफूड र फास्टफूड होइन, नास्ताका रुपमा, तरकारी आदिका रुपमा चना खाऔं, बालबालिकाहरुलाई पनि चना खाने बानी बसालौं । (लेखक साइकोथेरापिष्ट तथा सुलभ हेल्थ फूड्स प्रमुख हुन् ।)



Monday, May 18, 2020

ब्रेन बाइट्स

अवचेतनको ‘गुहार’
ओम बानियाँ 

२७ वर्षीय साक्षी एक विवाहित महिला हुन् । उनी एक चर्चित बैंकमा अधिकृत पदमा कार्यरत छिन् । संयुक्त परिवारकी बुहारी भएता पनि अहिले उनको वैवाहिक जीवन सुखमय छ । पारिवारिक सम्बन्ध निकै सुमधुर छ । तर ३ वर्ष पहिला उनको जीवन निकै कष्टपुर्ण थियो । उनीसँग अहिले पनि त्यतिबेलाको एक मानसिक समस्याको कटु अनुभव छ । उनी भन्छिन्, “यदि मैले समयमै उचित मनोवैज्ञानिक सेवा नपाएको भए साहेद म देवीको रुपमा बाहिरबाट पुजनीय, तर भित्रभित्र घुट्न र अन्तद्र्वन्दको जीवन बाँच्न बाद्य हुने थिएँ ।”


कुरा ५ वर्ष पहिलाको हो । निम्न मध्यम परिवारकी साक्षीको एक निम्न मध्यम परिवारका लेखा अधिकृत विनोदसँग विवाह भयो । विनोद भाइहरूमा जेठा थिए । उनका दुवै जना भाइहरूले पढ्दै थिए । व्यावस्थापनमा स्नातक साक्षीलाई एमबीए गर्ने ठूलो धोको थियो । तर आफ्नो पतिको जिम्मेवारी र घरको आर्थीक स्थिति देखेर उनले आफ्नो एमबीए पढ्ने इच्छा पति र सासुुससुरासामु व्यक्त गर्न सकिँरहेकी थिइनन् । यसरी समय बित्दै गयो, आफ्नो धोको पुरा नहुने देखेर उनी ज्यादै चिन्तित र परेशान हुन थालिन् । एक दिन काम गर्दागर्दै अचानक उनी वेहोश भइ भुइँमा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै हल्लिन थालिन् । उनी एउटा खुट्टा चल्न छोड्यो । त्यो देखेर परिवारका सदस्यहरू तथा आफन्तहरु जम्मा भए र तुरुन्त अस्पताल पु¥याए । अस्पतालमा उनको सम्पुर्ण मेडिकल परिक्षण भयो । तर सबै मेडिकल रिर्पोटहरू सामान्य देखिए । 

रिर्पोटहरू हेरेपछि अस्पतालका फिजिसियनले साक्षीका सासुससुरालाई भित्र बोलाएर भने, ‘साक्षीको मेडिकल रिर्पोटहरु सबै समान्य छन् । उनको समस्या शारीरिक नभएर मानसिक हो । त्यसैले एक पटक मानसिक रोग विभागमा गएर डा. कोर्टेक्सलाई देखाउनुहोस् ।’ तर साक्षीका सासुससुरा मात्र होइन साक्षीका आमाबा पनि साक्षी मनोरोगबाट पीडित भएको मान्न तयार भएनन् । उनीहरूले साक्षी भुतप्रेतको वाधाअड्चनद्वारा पीडित भएको दावी गर्दै उनलाई धामीकहाँ लिएर गए । धामीले झारफुक गर्न थाले । साक्षी पनि धामीसँगै हल्लिन थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोड–जोडले हाँस्दै र कराउँदै बक्न थालिन्, ‘हेर् । हेर् । हेर् । म कालीदेवी हुँ, कालीदेवि । अहिले नै, भर्खरै, एउटा बोका ल्याएर बली चढाऔ । र, सबैले मेरो पूजा गरौ । मेरो कुरा नमानेको खण्डमा ठुलो अनिष्ट आई पर्ने छ ।’ साक्षीको कुरा सुनेर सबै आश्चर्यचकित भए ।

गाउँभरि हल्ला फैलियो । अनि साक्षीलाई देवीको रुपमा पुज्न थालियो । साक्षीलाई देबीको रुपमा पुजेर बोकाको बली दिइयो । मन्दिरमा पुजापाठ तथा स्वस्तीशान्ति पनि गरियो । तर पनि साक्षी बेलाबेला काप्न, हल्लिन र बेहोस हुन छोडिनन्, उनको समस्या जस्ताको तस्तै थियो । भित्री पीडा भित्रै थियो । अर्कोतिर भने उनलाई देवी भनेर पुज्नेहरु बढ्दै थिए । टाढा टाढासम्म उनको चर्चा थियो । यसरी नै ४ महिना बित्यो । वगंलादेशबाट एमबीबीएस गरेर फर्केका साक्षीका भाइले उनका सबै मेडिकल रिर्पोटहरु हेरे र उनको अवस्था देखे अनि परिवार र आफन्तहरुको विरोधका वावजुत साक्षीलाई मनोचिकित्सक डा. कोर्टेक्स कहाँ लिएर गए । 

डा. कोर्टेक्सले सबै रिपोर्टहरु हेरे । साक्षीसँग केहीबेर गहन कुरा गरे । अनि साक्षीका सासुससुरा तथा पति विनोदलाई भित्र बोलाए । साक्षीको रोग र मनोवैज्ञानिक उपचारको वारेमा विस्तारपुर्वक सम्झाउन बुझाउन थाले, ‘साक्षीको समस्या भनेको कन्भर्जन डिसर्डर हो । जसलाई चलनचल्तीको भाषामा हिस्टेरिया भन्ने गरिन्छ । यसको मूल कारण भनेको तनाव हो । जस्तै पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक  तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहुँदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदिइत्यादि ।’ उनले अगाडि भने, ‘अँ । यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्दछ । अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) हुने हुनाले यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । वास्तवमा हिस्टेरिया अवचेतन मनको खेल हो जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।’ उनले अगाडि भने, ‘हिस्टेरियामा विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । जस्तैः बेहोश हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झम्झमाउने र लाटो हुने  । घाँटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देविदेउताको रुप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।’


‘ठीक भन्नु भयो डा. साब साक्षीमा पनि यस्तै यस्तै लक्षणहरु देखिने गर्छन् । अनि यो रोग ठीक त हुन्छ नि डा. साब ?’ दबेको आवाजमा विनोद बोले । डा. कोर्टेक्सले चस्मा मिलाउँदै भने, ‘यसको कारण पत्ता लगाइ उपचार गर्ने हो भने यो समस्या बिलकुलै ठीक हुन्छ । तर बुझ्नु पर्ने कुरा के भने जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिने भन्दा बढी महत्व दिएको देखिन्छ । तर यो बुझाइ गलत हो । त्यो किनभने हिस्टरिया अनेक कारणहरु उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणहरुले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ । साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरुले हुन सक्दछ । महिलाले पुरुषलेझैं आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरमा भन्दा किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्याहरुलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।’ 


 ‘औषधि कति खानु पर्ला डा. साहेब ?’ सीमनाको सासुको प्रश्न थियो । डा. कोर्टेक्स, ‘हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्का शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरुद्धारा पैदा भएको तनावको प्रतिरक्षा स्वरुप देखिएको मनको रोग हो । वास्तवमा यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । त्यसैले सबै भन्दा पहिला यस कुरालाई परिवार, समुह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ । अनि तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस् । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानको लागि तनावको पहिचान आवश्यक छ । तर तनाबको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ । साक्षीलाई औषधि भन्दा पनि तपाईहरुको सहयोगको आवश्यकता छ ।’ विनोद आश्चर्य पर्दै, ‘हाम्रो सहयोग ? हामीहरुले त साक्षीलाई सहयोग गरिरहेका नै छौ ।’  डा. कोर्टेक्सः ‘हो, सहयोग गर्नु भएको छ तर साक्षीको मनको गुहारलाई सुन्न सक्नु भएको छैन तपाईंहरुले । विनोदजी, तपाईंहरुले मेलै भनेझैं साक्षीलाई सहयोग गर्नु भयो भने केही दिनमै साक्षीको समस्या छुमन्तर हुन्छ ।’ डा. कोर्टेक्स मुँसुक्क हाँसे । ‘हामीहरुले के कस्तो सहयोग गर्नु पर्रो हामीहरु सहयोग गर्न तयार छौं डा. साब ।’ साक्षीका ससुरा बोले ।

‘साक्षीको एमबीए पढ्ने ठूलो धोको छ । त्यसैले साक्षीलाई एमबीए पढ्ने वातावरण बनाइदिनुहोस् । अर्को कुरा तपाईंहरुले आआफ्नो ठाउँबाट घरायसी काममा उनलाई सहयोग गर्नु पर्यो ।’ विनोद आश्चर्य पर्दै, ‘हो र डा. साब । यसबारेमा त साक्षीले हामीस“गै कहिल्यै कुरा गरेनिन् ।’ ‘परिवारको आर्थिक समस्या बुझेर नै उनले आफ्नो इच्छा मनमै दबाएर बसिन् । जसको कारण यस्तो मनोवैज्ञानिक समस्या पैदा भयो ।’ ‘डा. साब, मैले कुरा बुझें, अब हामीहरुले जसरी हुन्छ तपाईले भनेझैं गर्ने छौं । साक्षीको एमबीए पढ्ने धोको पनि पुरा गरिदिने छौं ।’ रिपोर्टहरु दिँदै डा. कोर्टेक्स बोले, ‘हरेक हप्ताको सोमवार १२ दिनसम्म साक्षीलाई लिएर आउनु होला । तपाईंहरुको सर्पोट तथा मनोवैज्ञानिक उपचारबाट साक्षी बिलकुल ठीक हुने छिन् ।’ 



सोमवारदेखि साक्षीको चिकित्सा सत्र शुरु भयो । डा. कोर्टेक्सले साक्षीको औषधिप्रतिको विश्वासलाई ध्यानमा राखेर औषधिको रुपमा प्लेसबो पिल्स दिए । तीन चिकित्सा सत्रपछि नै साक्षीलाई निकै आराम महसुस हुन थाल्यो । उनको मन भित्र गुम्सिएको कुण्ठा तथा अन्तद्र्वन्द घट्दै गयो । साक्षीको आत्मबल तथा ऊर्जा बढ्दै गयो । १२ चिकित्सा सत्रपछि साक्षी बिलकुल ठीक भइन् । अनि परिवारको सल्लाह वमोजिम उनले एमबीए पढ्न थालिन् । घरधन्दा र एक छोराको रेखदेख गरेर पनि उनले २ वर्षमा प्रथम श्रेणीमा एमबीए उत्र्तीण मात्र गरिनन् बैंकमा जागिर प्राप्त गर्न समेत सफल भइन् । (कथाकार साइकोथेरापिष्ट हुन् ।)




Sunday, May 17, 2020

 हेल्थ फर्स्ट 

प्राण हो पिपल 
ओम बानियाँ 
पिपल । चिरपरिचित वृक्ष हो । हिन्दू धर्ममा यस वृक्षको निकै ठूलो महत्व रहेको छ । धार्मीक दृष्टिकोणले मात्र होइन वैज्ञानिक दृष्टिकोणले पनि पिपल निकै उपयोगी छ । पिपल यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलले दिनरात प्राणवायु (अक्सीजन) फ्याँक्छ । वास्तवमा प्राणीहरुको लागि पिपल प्राण हो । पिपल वृक्ष बहुगुणकारी छ । पिपलको हरेक भाग जस्तैः पात, फल, बोक्रा, जरा सबै औषधीको रुपमा प्रयोगमा आउँछ । यसबाट अनेक प्रकारका गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ । त्यसैले यस बहुगणकारी वृक्षलाई औषधीको खजना पनि भनिन्छ । 


ब्रेन बुस्टरः
पिपलको पात र फल मस्तिष्क तथा नर्भस सिस्टमका लागि निकै उपयोगी मानिन्छ । मस्तिष्कजन्य रोगहरुमा पिपलले धेरै फाइदा गर्छ । मृर्गी रोग तथा तनाव नियमन गर्न पिपल निकै उपयोगी छ पीपलमा एंटीअक्सीडेंट भरिपुर्ण रुपमा पाइन्छ, यसको कमलो पात नियमित रूपले चपाउनाले तनावमा कमी आउन थाल्छ, बुढौलीपनवाट पनि टाढै राख्न मद्दत गर्छ ।



पिपल र पेटरोगः

पिपललाई पित्त नाशक मानिन्छ । त्यसैले पीपलको पातको प्रयोग कब्जियत तथा ग्याष्टिकको समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । शरीरमा पित्त बढेमा वा पेटमा ग्याँस भरिएमा पिपलको पातको ताज रस एक एक चम्चा साँझ बिहान सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठीक हुन्छ । 

पिपल र रुघाखोकीः
रुघाखोकी जस्ता श्वासप्रश्वास समस्यहरुमा पनि पीपल लाभदायक हुन्छ । पीपलको पात सुकाएर मिश्रीको साथ काढा बनाएर पिउन सकिन्छ । यसले रुघा छिटो निको हुन्छ । श्वासप्रश्वास सम्बन्धी समस्याहरुमा पीपलको बोटको नजिक बसेमा धेरै फाइदा हुन्छ । पीपलको बोक्राको चुर्ण खाना तथा पिपलको पात दुधमा उमालेर पिउनाले श्वासप्रश्वास सम्बन्धित सबै रोग निको हुन्छ । 


पिपल र मधुमेहः
पिपल मधुमेहको लागि पनि निकै उपयोगी छ । पिपलको तीन कोमल पात, आँपको तीन पात र बेलाउतीको तीन पातको रस बिहान खाली पेट सेवन गर्ने हो भने केही दिनमै मधुमेह सामान्य हुन्छ । 

पिपल र जन्डिसः
पिपलको तीन कोमल पातको रसमा मिश्री मिलाएर सेवन गर्ने हो भने भाइरल जण्डिस ठीक हुन्छ । अन्य कुनै औषधिको आवश्यकता पर्दैन ।

पिपल र चर्म रोगः
पिपल छालाको टनिक हो । यसले छालालाई नरम र मुलायम बनाउँछ भने छालाका रोगहरु ठीक पार्छ । पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टा ठीक हुन्छ । पिपलको कोमल पातलाई राम्ररी चपाएर खाएमा चर्म रोगहरुमा उपयोगी हुन्छ । पीपलको ताजा पातलाई तातो बनाइ लेप बनाएर घाउमा लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ निको हुन्छ । छालामा हुने कुनै पनि रोग जस्तैः दाद, खाज तथा चिलाउने समस्याहरुमा पनि पीपलको कमलो पात चपाउने वा कमलो पातको काडापानी बनाई पिउनाले फाइदा गर्छ । पिपलले मानिसको छाला चाउरी पर्नबाट बचाउँछ । पपीपलको जरामा प्रशस्त एन्टीअक्सीडेन्ट रहेको हुन्छ । यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ । यसको जरालाई काँटेर पानीमा मिलाइ पिसेर छालामा लगाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ ।


पिपल र दाँत:
पीपलको दन्तमंजन बनाई दात माज्नाले दांत बलियो हुन्छ । दाँतको दुखाईको समस्य समेत निको हुन्छ । यसको अलवा १० ग्राम पीपल को छाला, कत्था तथा २ ग्राम कालो मरिच पिसेर मंजन बनाई प्रयोग गर्नले दाँतको समस्य समाधान हुन्छ । दाँत हल्लिन र सड्नबाट जोगाउंछ । 

पुछारमाः
अतः पिपल बहुगणकारी छ । यसका अनेक स्वास्थ्य फाइदाहरु छन् । वास्तवमा पिपल प्राणी जगतका लागि प्रकृतिको दिव्य उपहार हो । यही वृक्ष मुनि ध्यान बसेर नै गौतम बद्धले ज्ञान प्राप्त गरेका थिए । त्यसैले पिपल वृक्षको संरक्षण तथा यसको उचित उपयोग आजको आवश्यकता हो । 




ब्रेन बाइट्स

कोरोनाबाट कसरी बच्ने ?
ओम बानियाँ 

कोरोना भाइरस (सार्स कोभ २) संक्रमण छिट्टै हट्ने लक्षण देखिँदैन । जाडोयाममा यस भाइरसले झनै उघ्ररुप लिन सक्दछ । सधैंभरि लक डाउन गरेर पनि साद्य छैन । त्यसैले ढिलोचाँढो यस भाइरसको सामाना गर्नुको विकल्प छैन । यसका लागि हरेक व्यक्तिले आजैदेखि आफ्नो जीवनशैली परिवर्तन गर्न नितान्त आवश्यक छ । 



■भौतिक दुरी कायम राख्ने, भीडभाडबाट टाढा रहने, पटक पटक हात धुने र हात नधोइकन अनुहार नछुने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने । योग, प्राणायाम तथा व्यायाम गर्ने, चुरोट, रक्सी, चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागति, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने तथा मनबाट डरत्रास हटाउने ।

■वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर  भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ । यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ । भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन् । अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ । 

कोरोना भाइरस शरीरमा प्रवेश गर्ने मूल बाटो भनेको नाक र मुख हो । त्यसैले नाक र मुख सफा गर्न तथा भाइरसहरुलाई त्यहाँबाट बाहिर फ्याँक्न जलनेति र गार्गल महत्वपुर्ण हुने हँदा दिनहुँ जलनेति र गार्गल गर्न अत्यन्तै फाइदाजनक हुन्छ ।    

■जलनेति गरेर नाक सफा गर्ने । जलनेति गर्ने विधि यस प्रकार छ– टुटीवाल नेती लोहोटामा अलिकति नून हालेको मनतातो पानी भर्ने । टुक्रक्क बस्ने । सर्वप्रथम, नाकको जुन स्वर चलेको छ अर्थात् जुन नाकको प्वालबाट सास चलेको छ, त्यसलाई माथितिर फर्काएर मास्तिरको नासापुटमा टुटी लगाएर पानी खसाल्ने । अर्को नासापुटबाट पानी झर्न शुरू गर्दछ । आधा जति पानी यसरी खसालेपछि यो क्रिया अर्को नाकको प्वालबाट गर्ने । त्यसपछि जोडले सिं सिं गरेर दुवै नासापुट सफा गर्ने, नाकमा एक थोपा पनि पानी रहनु हुँदैन । जलनेति क्रियाले नाकभित्र बसेका भाइरसहरुलाई बाहिर फ्याँक्न सक्दछ । यसका अन्य थुप्रै फाइदाहरू पनि छन् । जलनेतिले शिरो भागका सम्पूर्ण अंगहरू नाक, कान, आँखा, गला आदि शुद्ध र निरोग राख्दछ । टाउको दुख्ने, पिनास, टन्सिल, कानको रोग, रूघा–खोकी तथा आँखाका रोगहरूमा धेरै फाइदा गर्दछ । यस्ता रोगहरू हुन दिँदैन, भएको भए जरैसँग हटाउँछ । सँुघ्ने, सुन्ने, देख्ने र बोल्ने शक्तिको साथै स्मरणशक्ति वृद्धिमा सहयोग गर्दछ । यस क्रियाबाट नाक सफा भइ नाक राम्रोसँग खुल्दछ, जसले गर्दा प्राणायाम गर्न सजिलो हुन्छ । 


■जलनेति गरेपछि नाकमा एक एक थोपा घिउ वा तिलको तेल वा नरिवलको तेल हाल्ने । अनि आयल पुलिगं गर्ने । यसका लागि एक चम्चा तिल वा नरिवलको तेल मुखमा राखेर २, ३ मिनेट मुख वरिपरि घुमाउने र थुक्ने । अनि नुनबेसार हालेको तातो पानीले कुल्ला गर्ने ।





Thursday, May 14, 2020

हेल्थ फर्स्ट 

औद्योगिक खाद्यपदार्थदेखि सावधान
 ओम बानियाँ 

हिजोआज उपयोग गरिने अधिकांश खाद्यपदार्थहरु उद्योगहरुबाट उत्पादन हुने गर्छन् । सानासाना नानीहरुको दूध र लिटोदेखि लिएर बिहान नास्तामा खाने पाउरोटी, बिस्कुट तथा चाउचाउ आदि सबै औद्योगिक उत्पादनहरु हुन् । यस्ता औद्योगिक उत्पादनहरु स्वास्थ्यका लागि कति खतरनाक छन् भन्ने धेरैलाई थाहा छैन, थाहा भएकाहरु पनि यसप्रति गम्भिर छैनन् । दिन प्रतिदिन औद्योगिक उत्पादनहरुको उपयोग तीब्र गतिमा बढ्दै गएको छ । यस्ता औद्योगिक उत्पादनहरुको अत्याधिक सेवनका कारण नै मानिस अनेक रोगहरुको आक्रमण परेको हो ।


कारण स्पष्ट छः
पहिलो कुरा त औद्योगिक उत्पादनहरु प्राण बिनाका मृत हुन्छन् भने प्रोसेसिंगका क्रममा पदार्थका प्राकृतिक गुणहरु पनि नष्ट भएका हुन्छन् । त्यहीमाथि प्रडक्टहरुको आयु बढाउन, आकर्षण बनाउन तथा सस्तोमा उत्पादन गरी बढी नाफा कमाउन उत्पादनहरुमा परिरक्षक (पे्रजर्भेटिभ), कृत्रिम रंग तथा केमिकल्सको प्रयोग हुने गर्छ । प्राकृतिक गुण नस्ट भएका तथा हानीकारक केमिकल्स मिसाइएका यस्ता मृत खानेकराहरु खानु भनेको मोटसाइकलमा मट्टितेल हाल्नु जस्तै हो । मोटसाइकलमा मट्टितेल हालेपछि मोटरसाइकल बिग्रिन्छ कि बिग्रिदैन ?

एक अशिक्षित मानिसले पनि मोटसाइकलमा मट्टितेल हाल्दैन । पेट्रोल नै हाल्छ । तर हिजो आज शिक्षित मानिसले समेत प्राकृतिक आहारको गुण नै बिग्रने गरी प्रशोधित र रिफाइन्ड गरेर बनाइएका बासी खाना, कृत्रिम रंग एवं रासायनिक पदार्थ मिसाइएका खाद्यपदार्थ प्रयोग गर्ने गरेका छन्, जसलाई मानिसहरुले आधुनिक आहारशैली र सभ्यताको परिचय दिनसमेत पछि परेका हुँदैनन् । आजका सबै बजारिया तयारी खाना यस्तै प्रशोधित र हानीकारक रासायनिक तत्वहरु मिसिएका हुन्छन् । विज्ञापनले खिचिसकेको छ मानिसको आहारलाई र पछाडि पारिदिएको छ स्वास्थ्यलाई । 

कम्पनीहरुले प्रडक्टहरुको आयु बढाउन, आकर्षण बनाउन तथा सस्तोमा उत्पादन गरी बढी नाफा कमाउन उत्पादनहरुमा परिरक्षक (पे्रजर्भेटिभ), कृत्रिम रंग तथा केमिकल्सको प्रयोग गर्ने गर्छन् । जडीबुटीको तुलनामा केमिकल्स निकै सुलभ र सस्तो पनि हुन्छन् । तर यस्ता केमिकल्सहरुले मानिसको स्वास्थ्यमा खतरनाक असर गर्छन् । टुथ पेस्ट, पेस वास, स्याम्पू तथा क्रिम आदि जस्ता प्रडक्टहरुमा समेत सोडियम लोरिल सल्फेट हालेको पाइन्छ । यो केमिकल निकै खतरनाक मानिन्छ । यसले क्यान्सर समेत पैदा गर्न सक्दछ । सोडियम लोरिल सल्फेटले मात्र होइन, सौंदर्य प्रसाधनमा प्रयोग गरिने अन्य केमिकल्स पनि उत्तिकै हानी गर्छन् । तर, आर्कषक विज्ञापनको मोहनी परेर तथा तत्कालिन फाइदालाई हेरेर उपभोक्ताले यस्तै प्रडक्टहरु प्रयोग गर्दै आएका छन् । अधिकांश उपभोक्तालाई खाद्य पदार्थ तथा सौंदर्य प्रसाधानहरुको समिश्रणप्रति कुनै मतलब हुँदैन। 

स्वभाविक आहारः
कुनै पनि पौष्टिक तत्व नभएका मृत तथा बासी औद्योगिक खाद्यपदार्थहरु मानिसको स्वाभाविक आहार होइनन्, प्रकृतिबाट सिधैं प्राप्त हुने, नमरेका अमृत खाद्यपदार्थ (लिभिंग फुड) नै मानिसको स्वाभाविक आहार हो । अमृत या नमरेका खाद्य पदार्थ भन्नाले प्राण भएका खाद्यपदार्थ हुन्, जो उर्मिन सक्छन् । जस्तो चना, आलु तथा केराउ आदि । तर, बिस्कुट तथा चाउचाउ उर्मिन सक्दैनन् । बिस्कुट, चाउचाउ तथा कुरकुरे जस्ता मृत औद्योगिक खाद्यपदार्थहरुले शरीरमा टक्सिन बढाएर मानिसलाई बिरामी बनाउँछन् भने गेडागूडी, फलपूmल तथा सागपात जस्ता प्राण भएका अमृत पदार्थहरुले शरीरलाई उर्जा दिन्छन्, पोषण दिन्छन्, शरीरबाट रोगहरुलाई खेद्छन् । त्यसैले रोगबाट मुक्त हुन र स्वास्थ्य रहन बिस्कुट तथा चाउचाउको ठाउँमा अंकुरित अनाज, ताजा नरिवल  वा फलपूmलहरु, कोल्डडिं«ग्सको ठाउँमा नरिवलको पानी वा कागती पानी, दालमोठ आदिको ठाउँमा फलपूmल र सागपातको सलाद जस्ता अमृत खाद्यपदार्थ (लिभिंग फुड) खानुपर्छ ।   


यहाँ मनन गर्नु पर्ने कुरा के भने प्राकृतिक मकैले दिने फाइदा कर्नफलेक्सले दिँदैन । आलुले दिने फाइदा आलुचिप्सले दिँदैन । शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण ओटमिलमा पक्कै हुँदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर संमरक्षक र अध्याधिक चिनी मिलाएर तयार पारिएका जुसमा अवश्य पाइँदैन । 

गीतामा भनिएको छ, आयुर्वेदमा भनिएको छ । र, अहिले स्वास्थ्य विज्ञानले पनि भनेको छ, पकाएको ३ घण्टा भित्र भोजन सेवन गर्नुपर्छ । बासी खानाले स्वास्थ्य असर गर्छ । तर, हामीहरुले बोत्तल, डिब्बा र प्याकेटका ३ वर्ष पुराना तयारी खाना खाइरहेका छौं । स्वास्थ्यप्रति यो भन्दा लापरवाही अर्को के हुन सक्दछ ?

पुछारमाः
अपच, ग्यास्टिक, अल्सर, मोटोपन, मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, फ्याटि लिभर, मृर्गौलाको रोग, पाइल्स, कमर दर्द, शिर दर्द, अनुहारको दागधब्बा, कालोपोतो, डण्डीफोर, पाठेघरको समस्या, यौन समस्या, थकान, चिन्ता तथा डिप्रेसन आदि रोगहरु गलत आहारबिहार उपज हो । यदि तपाई यसता कुनै पनि दीर्घरोगहरुबाट पीडित हुनु भएको छ भने आजैबाट औद्योगिक उत्पादनहरुको सेवन बन्द गर्नुहोस् । ताजा प्राकृतिक आहारबिहार शुरु गनुहोस्, तीन महिनामा नै यस्ता रोगहरुबाट मुक्त हुन सक्नु हुनेछ । हजारौं मानिसहरुले यसरी नै आफ्नो आहारबिहारमा परिवर्तन गरेर यस्ता रोगहरुबाट मुक्त भएको उदाहरणहरु छन् । त्यसैले मानिस स्वस्थ रहन प्रकृतितिर नफर्की हँुदैन । प्रकृतिको न्यानो काखले मानिसको सुख र स्वास्थ्य पर्खिरहेको छ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)


Wednesday, May 13, 2020

ब्रेन बाइट्स 

बुक स्मार्ट कि स्ट्रिट स्मार्ट 
ओम बानियाँ

हिजोआज स्मार्ट शब्द निकै चर्चामा छ । प्रायः मानिसहरु स्मार्ट हुन चाहन्छन् । संघ, संस्था तथा कम्पनीहरुले पनि स्मार्ट कर्मचारीहरु काममा लगाउन चाहन्छन् । समाजमा स्मार्टनेसको महत्व बढ्दै गएका कारण कतिपय मानिसले आफुमा स्मार्टपना देखाउनका लागि पनि जानी नजानी स्मार्ट शब्द प्रयोग गरेको देखिन्छ । निर्वाचन ताका अधिकांश उमेदवारहरुले स्मार्ट सिटीको खुब भाषण गरेको सर्बविदितै छ । तर मजाको कुरा के भने अधिकांश मानिसहरुलाई स्मार्टको वास्तविक अर्थ भने थाहा छैन । मनिसलाई के भम्र छ कि जो व्यक्ति देख्नमा सुन्दर र सुडौल छ, उही नै स्मार्ट हो । यो सरासर गलत हो । स्मार्टनेसको मतलब सुन्दरता होइन, यसको शाब्दिक अर्थ हो, बुद्धिमान, समझदार, मेधावी, गतिशिल, फुर्तिलो, जागरुक, चतुर तथा हाजिर जवाफी । शाब्दिक अर्थमा यस्ता गुणहरु भएको व्यक्ति नै स्मार्ट व्यक्ति हो । 


हिजोआज स्मार्ट शब्दसँग जोडिएर अनेक विशेषणहरु आएका छन् । जस्तो कि स्मार्ट फोन, स्मार्ट सिटी, स्मार्ट कार्ड आदि आदि । बुक स्मार्ट तथा स्ट्रिट स्मार्ट यसका थप उदाहरणहरु हुन् । बौद्धिक जगतमा हिजोआज बुक स्मार्ट तथा स्ट्रिट स्मार्ट वारेमा बाक्लो बहस हुने गरेको छ । बुक स्मार्ट भन्दा स्ट्रिट स्मार्ट उत्तम भन्नेहरु धेरै छन् । के यो सही हो ?

केस नं. एकः
डा. बाबुराम भट्टराई । नेपालका एक नेता तथा नेपालका ३५ औं भुपु प्रधानमन्त्री । वि.स. २०११ सालमा गोरखाको खोप्लाङमा जन्मिएका बाबुराम भट्टराई नेपाली राजनीतिमा मात्र होइन, शैक्षिक तथा बौद्धिक वृतमा समेत निकै चर्चित छन् । भोजप्रसाद भट्टराई  तथा धर्माकुमारी भट्टराईका दोस्रो सन्तानका रुपमा जन्मिएका भट्टराईको राष्ट्रव्यापी चर्चा त्यत्तिबेला भयो, जब उनी एसएलसीमा बोर्डफस्ट भए । राजनीतिक रुपमा उनले १० वर्षे सशस्त्र विद्रोह मार्फत आफ्नो पहिचान बनाएका हुन् । मनोवैज्ञानिकरुपमा डा. बाबुराम भट्टराई एक बौद्धिक तथा उच्च आईक्यु भएका व्यक्ति हुन् । उनको स्मरणशक्ति पनि निकै तेज छ । स्कुल तथा क्याम्पसमा उनी सधैँ प्रथम आउनुले पनि यस कुरालाई प्रमाणित गर्छ । तर, उनी राजनीतिक क्षेत्रमा एक सफल नेताको रुपमा स्थापित हुन सकेका छैनन् । उनको पढाइ र कामलाई लिएर नेपालमा एउटा लोकोक्ती नै बनेको छ, पीएचडी बाबुराम भन्दा तीन पटक एसएलसी फेल हरिवंश उत्तम ।

केस नं. दुईः

हरिवंश आचार्य एक लोकप्रिय अभिनेता । नेपालका सर्वश्रेष्ठ हाँस्य कलाकार । पढाइलेखाइमा गोबरगणेश कहलिए पनि अभिनय तथा गायनमा उनि धेरै कुशल र अब्बल छन् । मदन कृष्ण श्रेष्ठसँगको उनको अद्भुत केमिस्ट्रीले मह जोडी नेपाली आकाशको तारा भएको छ । हरिवंश आचार्यलाई सानैदेखि पढाइलेखाइमा खासै रुचि थिएन । उनी पढाइलेखाइमा निकै कमजोर थिए । उनी एक पटक होइन, तीन तीन पटक एसएलसीमा फेल भएका थिए । र, चौथो पटकको प्रयासपछि थर्ड डिभिजनमा बल्ल बल्ल एसएलसी पास भएका थिए । 

यी दुई स्मार्ट तस्विरहरु अहिले हाम्रो सामु जीवीत छन् । र, प्रश्न के भने कक्षा एकदेखि नै प्रथम प्रथम भएका र विद्यावारिधि समेत गरेका निकै मेधावी डा. बाबुराम भट्टराईले किन आफ्नो पेशा तथा राजनीतिमा जुन स्थान बनाउनु पर्दथ्यो त्यो बनाउन सकेनन्, केवल एक विद्धान नेता मात्रका रुपमा मात्र सीमित रहे भने अर्कोतिर पढाइलेखाइका दृष्टिले गोबरगणेश हरिबंश आर्चायले यति ठूलो सफलता र लोकप्रियता कसरी प्राप्त गरे ? यो जिज्ञासाको विषय हो । 

हो, यस कुरामा कनै संदेह छैन, दुबै स्मार्ट व्यक्ति हुन् । तर, यहाँ उल्लेखनिय कुरा के भने डा. बाबुराम बुक स्मार्टका उदाहरण हुन् भने हरिवंश स्ट्रिट स्मार्टका उदाहरण हुन् । सामान्य शब्दमा भन्ने हो भने उच्च शैक्षिक योग्यता हासिल गरेका पढाइया व्यक्ति, जसले कठिन परिस्थितिहरुमा निर्णय लिनु पर्दा तथ्यहरुबाट, किताबहरुबाट र पढाइलेखाइबाट प्राप्त ज्ञानका आधारमा गर्छन्, भने त्यस्ता व्यक्तिलाई बुक स्मार्ट भनिन्छ । अर्कोतिर व्यवहारमा कुनै कामकुरा कसरी गरिन्छ वा गर्न सकिन्छ भन्ने व्यवहारिक समझदारी भएका व्यक्तिलाई स्ट्रिट स्मार्ट भनिन्छ । छोटो शब्दमा भन्ने हो भने किताबहरुबाट भन्दा पनि व्यबहारिक जीवनबाट तथा व्यक्तिगत अनुभवहरुबाट प्राप्त ज्ञान नै स्ट्रिट स्मार्ट हो ।

साधारणतया आईक्यु बढी भएका व्यक्ति बुक स्मार्ट हुने गर्छन् भने ईक्यु बढी भएका व्यक्ति स्ट्रिट स्मार्ट हुने गर्छन् ।  हो, यस कुरामा कुनै संदेह छैन कि स्मरणशक्ति तथा आईक्यु बढी भएको व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्दछ । डा. बाबुरामले जस्तो उच्च शैक्षिक योग्यता हासिल गर्न सक्छन् । तर आईक्यु बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिहरुले उच्च पेशागत दक्ष्यता प्रर्दशन गर्छन् भन्ने छैन । उच्च पेशागत दक्ष्यताका लागि ईक्यु बढी हुन आवश्यक छ । आईक्युले शैक्षिक परीक्षामा राम्रो अंक दिलाउँछ जबकि ईक्युले जीवनको परीक्षामा राम्रो अंक दिलाउँछ । मनोविज्ञानको दावी छ कि जीवनमा २० प्रतिशत सफलता आईक्युको कारण हुन्छ भने ८० प्रतिशत सफलतामा ईक्युको कारण हुन्छ । त्यसैले मानिसको जीवनमा आईक्यु भन्दा बढी महत्वपुर्ण हुन्छ, ईक्यु (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।) ।


आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोड्ने, कठिनाइहरुमा औसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खुबी नै भावनात्मक बुद्धिमत्ता हो । प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको महत्व विषयमा वर्षौदेखि शोध गर्दै आएका शोधकर्ता प्रा. डेनियल गोलमैनको भनाइ छ, बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । बुद्धिलब्धी (आई. क्यू.) ठूला–ठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरूभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता । 

आधुनिक समाजमा भावनात्मक बुद्धिमत्ताको झनै ठुलो महत्व छ । त्यो किनभने ईक्यु बढी भएका व्यक्ति नै अगाडि बढ्दै जान्छन्, समस्याहरुलाई खुड्किलो बनाउँदै मास्तिर चढ्छन्, तर ईक्यु कम भएका व्यक्तिको जीवन समस्याहरु गन्नमा नै कट्छ ।  अर्को कुरा ईक्यु कम भएका व्यक्तिहरुमा बढी मानसिक समस्याहरु देखिने गर्छ । त्यसैले हरेक मानिसले जीवन सफल र स्वस्थ बनाउन आफुमा ईक्यु दक्षता विकास गर्न आवश्यक छ । ईक्यु दक्षताहरुले मानिसको जीवन प्रभावशाली हुने संभावना बढ्छ ।

पुछारमाः
अतः आईक्यु बढी भएको व्यक्ति बुक स्मार्ट हो भने ईक्यु बढी भएको व्यक्ति नै स्ट्रिट स्मार्ट हो ।  आईक्यु र ईक्यु दुवै भएको व्यक्ति महामानव हो । नेपाली राजनीतिमा अहिलेसम्म आईक्यु र ईक्यु दुबै भएका केवल एक राजनीतिज्ञ जन्मिएका छन्, उनी हुन्, बीपी कोइराला । बीपी कोइरालाबाट कांग्रेसलेमात्र होइन, पूर्वाग्रहबाट माथि उठ्ने हो भने गैरकांग्रेसहरुले धेरै सिक्न सक्दछन् । शान्ति र समृद्धिका लागि बीपी कोइराला सर्वश्रेष्ठ रोलमोडल हुन् । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)