Monday, May 11, 2020

ब्रेन बाइट्स
यसरी हुन्छ स्मरण शक्ति शक्तिशाली
ओम बानियाँ

कुनै पनि सूचना तथा अनुभवहरू (डेटा) पंच ज्ञानेन्द्रिय अर्थात आँखा, नाक, कान, जिब्रो तथा त्वचा मार्फत् अवचेतन मन अर्थात मेमोरी बैंकमा संग्रह हुने गर्छन् । यसरी मेमोरी बैंकमा संग्रह भएका कुराहरुलाई चेतन मनले स्मृतिमा ल्याउने कार्य गर्छ, जसलाई स्मरण शक्ति भन्ने गरिन्छ । स्मरण ती कुराहरुको हुन्छ, जुन कुराहरु पंच ज्ञानेन्द्रिय मार्फत् मेमोरी बैंकमा संग्रह भएका हुन्छन् । मेमोरी बैंक भन्नाले मस्तिष्कको कुनै एक निश्चित ठाउँ होइन, डेटा संकलित हुने मस्तिष्कको समष्टिगत भाग हो । यहाँ बुझ्नु पर्ने कुरा के भने मानिसको स्मरण शक्ति संचालन तथा नियमनका लागि मस्तिष्कका विभिन्न प्रणाली तथा भागहरूको सक्रिय सहभागिता रहन्छ । डेटाहरु मस्तिष्कको कुनै एक भागमा संग्रह नभएर मस्तिष्कको चारैतर्फ छरिएर रहेको हुन्छ । जस्तो कि प्रायः मोटर मेमोरी मोटर प्रोसेसिंग भागमा, श्रव्य मेमोरी वायाँ मस्तिष्कको नियोकोर्टेक्समा, दृश्य मेमोरी दायाँ नियोकोर्टेक्समा तथा काइनेस्थेटिक मेमोरी कोर्टेक्सको बाहिर, सेरेबेलममा भण्डारण हुन्छ ।


मस्तिष्कमा डेटा संग्रह गर्नका लागि मस्तिष्कका विभिन्न भागहरूको सक्रिय सहभागिता हुुने भएता पनि लिम्बिक प्रणाली तथा नियोकोर्टेक्सको केन्द्रिय भुमिका रहन्छ । त्यो किनभने लिम्बिक प्रणालीले डेटाहरूलाई दीर्घकालीन मेमोरीमा भण्डार गर्न पठाउने कार्य गर्छ । लिम्बिक प्रणाली, जसलाई भावनात्मक मस्तिष्क पनि भनिन्छ, यसको प्रमुख कार्य भनेको डेटाहरू मुल्यवान् छन् कि छैनन् भन्ने निर्णय गर्ने पनि हो । त्यसैले लिम्बिक प्रणालीको सम्र्पकमा आएका डेटाहरूलाई नियोकर्टेसमा भण्डारण गर्न उपयुक्त छ कि छैन भन्ने कुरा निर्धारण गर्न लिम्बिक प्रणालीले नियोकर्टेक्ससँग निरन्तर संवाद स्थापित गर्दछ ।  

यस कार्यमा हिप्पोक्याम्पस तथा एमिग्डेलाको महत्वपुर्ण भुमिका रहन्छ । हिप्पोक्याम्पसले अभावनात्मक सुचानाहरू तथा एमिग्डेलाले भावनात्मक सचनाहरूका बारेमा निर्णय गर्दछन् । त्यसैले लिम्बिक प्रणालीका यी दुई भागहरूः हिप्पोक्याम्पस र एमिग्डेलासँग सुचनाहरू काटछाँट र पे्रषित गर्ने योग्यता भएन भने नयाँ सुचनाहरू दीर्घकालीन भण्डारणमा पुग्न सक्दैनन् । ठीक यही कुुरा अल्जाइमरका रोगी तथा पाको उमेरका कारण हुने स्मरणशक्तिको कमीमा लागु हुन्छ । त्यो किनभने यस्ता मानिसहरूको हिप्पोक्याम्पीले डेटाहरूलाई मेमोरी बैंकमा पठाउने आफ्नो जैविक क्षमता घुमाउँदै गएको हुन्छ ।


औसतरूपमा मानिसको मस्तिष्क शक्ति तथा डेटा स्टोर गर्ने क्षमता उस्तै–उस्तै हुन्छ । यदि कुनै डेटा मानिसको मेमारी बैंकमा स्टोर हुन्छ भने बिर्सने रोग वा अन्य रोगहरूको कारणले बाहेक, त्यो डेटा बिर्सिदैन । मेमोरी बैंकमा स्टोर भएका डेटाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहँुदैन । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहुँदैन । किनकि सानैदेखिनै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर मेमोरी बैंकमा संग्रह भएका यस्ता सबै कुराहरु चाहेको बेला तुरुन्त स्मृतिमा आउँछन् भन्ने छैन । आउन पनि सक्छन् । नआउन पनि सक्छन् । चाहेको बेलामा याद नआएर पछि याद आउन पनि सक्छन् । जस्तो कि दुईचार दिन यता तपाई स्कूलकलेज वा अफिस जाँदा आउँदा बाटोमा अनेक घरहरु देख्नुभयो, पसलहरु देख्नुभयो, होर्डिंग बोर्डहरु देख्नुभयो, मानिसहरु आवतजावत गरेको देख्नुभयो, कार, बस, ट्रक, साइकल, मोटरसाइकल, अटोरेक्सा, रेक्सा आदि गुडेको देख्नु भयो, मानिस बोलेको, हाँसेको, गाडी कराएको, कुकुर भुकेको अनेक आवाजहरु सुन्नु भयो । तपाईंलाई अहिले यस्ता कुन कुन कराहरु याद छ ? लगभग कुनै कुराहरु पनि याद छैन । मस्तिष्कमा जोड लगाएर याद गर्न खोज्नु भयो भने मुश्किलले मुठीभरका कुराहरु याद हुने छन् । याद नहुन पनि सक्छन् ।  त्यो किनभने तपाईंको चेतनमनलाई बाटोमा देखिएका यस्ता कमन कुराहरुप्रति कुनै चासो थिएन । र, जति पनि बाटोमा देखेका तथा सुनेका कुराहरु थिए, ती चेतनरुपमा अवचेतनमा प्रवेश भएका थिएनन् । तर तपाईले बाटोमा ट्राफिक जाम गर्ने गरी बसको एक बढेमानको साँढे देख्नु भएको थियो भने वा मानिसको भीडमा एकदम अग्लो र मोटो डरलाग्दो मानिस देख्नु भएको थियो भने पक्का पनि त्यो तपाईंलाई याद आउँछ । यदि बाटोमा कुनै महिला कुक्काइ कुक्काइ रोइरहेको थिइन् भने त्यो पनि तपाईलाई पक्का याद आउँछ । यदि तपाईं क्रिकेटको खेलाडी वा क्रिकेटप्रेमी हुनुहुन्छ भने बाटोमा क्रिकेटको ब्याट समाएर हिंडेको केटो याद आउन सक्दछ । तर तपाईंसँगै हिँडेको तपाईंको साथीलाई त्यो याद नआउन सक्दछ । यहाँ उल्लेखनीय कुरा के हो भने यसरी यस्ता कुराहरु याद आउनुको कारण हो,  विषयले ध्यान खिच्नु र चेतनरुपमा त्यो विषय मेमोरी बैंकमा संग्रह हुनु ।  यस तथ्यबाट के प्रष्ट हुन्छ भने यदि कुनै पनि कुराहरु चेतनरुपमा मेमोरी बैंकमा संग्रह हुन्छन् भने ती कुराहरु सजिलै स्मरणमा आउँछन् । यो नै स्मरणशक्ति शक्तिशाली बनाउने वैज्ञानिक आधार हो । त्यसैले निम्न तीन सिद्धान्तहरुलाई व्यबहारमा ल्याउने हो भने जोसुकैले पनि आफ्नो स्मरणशक्तिलाई शक्तिशाली बनाउन सक्छन् । 

पहिलो सिद्धान्तः 
मानिसको मनमस्तिष्कमा स्मरणशक्तिको संरचना यसरी हुन्छ कि असामान्य, अद्भूत, अनुपातहीनता, धेरै ठुलो तथा धेरै सानो कुराहरुप्रति मानिसको ध्यान केन्द्रित हुन्छ र चेतन मनले यस्ता कुराहरुलाई मेमोरी बैंकमा देखिने गरी राख्दछ । यसरी राखिएका कुराहरु चेतन मनले चाहिएको बेलामा सजिलै बाहिर निकाल्न सक्दछ । स्कूलकलेज वा अफिस जाँदा वा घर फर्किदा देखिएका अनगिन्ती कुराहरु मध्य बढेमानको साँढे वा निकै अग्लो र मोटो डरलाग्दो मानिस याद आउनुको कारण पनि यही हो ।अतः असामान्य, अद्भूत, अनुपातहीनता, धेरै ठुलो तथा धेरै सानो कुराहरु याद गर्न सजिलो हुने हँुदा कुनै पनि याद गर्नु पर्ने कुराहरुको आकार, प्रकार तथा रुपरंगलाई  धेरै ठुलो तथा धेरै सानो, असामान्य र अद्भुत बनाएर तथा एकअर्कोलाई अचम्मसँग जोडेर सजिलै याद राख्न सकिन्छ । उदाहरणका लागि बाघ र टोपी शब्द याद राख्नु छ भने बाघले बढेमानको टोपी लगाएको कल्पना गर्ने हो भने यो कुरा सधैं याद रहिरहन्छ । 

दोस्रो सिद्धान्तः
मानिसको स्मरण शक्ति भावनाबाट प्रभावित हुन्छ । त्यसैले मन छुने अति राम्रो भावना वा अति खराब भावना मेमोरी बैंकमा राम्रोसँग स्टोर हुन्छ । त्यसैले त मानिसलाई अति गर्मी वा अति सर्दी, अति मान वा अति अपमान, अति सुख वा अति दुःखसँग सम्बन्धित भावानात्मक कुराहरु सजिलै याद रहन्छ । स्कूलका अनगिन्ती दिनहरुमा पुरस्कार पाएको दिन वा शिक्षकले गाली गरेको वा सजाय दिएको गरेको दिन कुनै विद्यार्थीले साहेदै बिर्सिन्छन् । स्मरणशक्तिको यस विज्ञानलाई विज्ञापनले खुब उपयोग गरिरहेको छ । 

तेस्रो सिद्धान्तः
स्मरण शक्तिको तेस्रो सिद्धान्त हो, लक्षित सोच । जब मानिसको चेतनमन लक्ष्यप्रति एकाग्र हुन्छ, तब चेतन मनले लक्ष्यसँग सम्बन्धित कुराहरुलाई ग्रहण गरी मेमोरी बैंकमा पठाउँछ । तर अन्य विषयहरुलाई वास्तै गर्दैन । क्रिकेट खेलाडी वा क्रिकेटप्रेमीलाई क्रिकेटको ब्याट समाएर हिँडेको व्यक्ति याद आउनु र अन्य व्यक्तिहरुलाई त्यो याद नआउनुको कारण पनि यही हो ।

अतः यी तीन सिद्धान्तहरुलाई अलग अलग वा एकआपसमा मिलाएर व्यबहारमा ल्याउने हो भने निश्चितरुपमा मानिसको स्मरण शक्ति शक्तिशाली हुन्छ । शक्तिशाली स्मरणशक्तिले नै मानिसलाई सफल बनाउँछ । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)
Shri Yantra Chart: 

Sunday, May 10, 2020

 ब्रेन बाइट्स 

संकल्प शक्ति 
ओम बानियाँ

प्रख्यात दार्शनिक राल्फ वाल्डो इमर्सन भन्छन्ः मानिसको उद्देश्य जति नै विशाल किन नहोस्, एक न एक दिन उसले त्यो उद्देश्य प्राप्त गरेर नै छोड्छ । तर यसकालागि दृढसंकल्पको साथै उद्देश्य परिपूर्तिको दिशामा निष्ठा अर्थात निरन्तर अग्रसरता चाहिँ हुनुपर्छ । हुन पनि हो, दृढसंकल्पको उत्तोलक, निष्ठाको ओट र पर्याप्त इच्छाशक्तिको बलले गन्तव्य पथको चट्टान त के पृथ्वी नै हल्लाउन सकिन्छ ! तर विश्वका थुप्रै मानिसहरूलाई आफ्नो यो अथाह शक्तिको बारेमा थाहा छैन । एक हातले विश्व हल्लाइदिने आर्किमिडिज ज्ञान अवगत छैन । त्यसैले त अधिकांश मानिसहरूले जीवनमा आफ्नो लक्ष्य समेत बनाउन सकिँरहेका छैनन् । केवल झर्ला र खाउँला भनेर राजा–महाराजा वा नेताको टांगमुनि थुतुनो आँ गरेर बसिरहेका छन् । के तपाईं पनि यसरी नै आँ गरेर त बस्नुभएको छैन ? छ भने भयो भो, अब थुतुनोलाई धेरै कष्ट नदिनुहोस्, झर्नेवाला केही छैन । त्यसैले टांग पनि नढुक्नुहोस् । एक दिन त अवश्य नै कुनै मसीहा आउँछ र पेटभरि टन्न खाना पाइन्छ भन्ने आशामा पनि नबस्नुहोस् । तपाईंको मसीहा तपार्इंं आफैँ हो । तपार्इंं आफैँ आफ्नो राजा हो । एक पटक मनको राजा भएर त हेर्नुहोस् ?

नदी त्यसै नदी हुँदैन । झरना र ससाना कुलेसाहरूले गर्दा नै नदी विशाल हुँदै जान्छ । नदीको जलप्रवाह पनि बढ्दै जान्छ । अनि नदी कर्णालीझैँ सुस्साउँदै समुन्द्रसम्म पुग्न सक्छ । नदीको गन्तव्य समुन्द्र नै हो । तर, यदि नदी ससाना कुलेसाहरू तथा खोला–नालाहरूमा बाँडिदै गयो भने के समुन्द्रसम्म पुग्न सक्छ ? पक्कै पुग्दैन । जीवनको दौडमा पनि यही सिद्धान्त लागू हुन्छ । त्यसैले जीवनमा कुनै महान् कार्य गर्नु छ भने अनगिन्ती इच्छा र चाहनाहरू पछि भेडादौड दौडिनु हुदैन । तर अधिकांश मानिस जीवनको मूल्य र मान्यताहरूलाई बिर्सिएर यस्तै–यस्तै स–साना महत्वहीन इच्छाहरूको पछि भेडादौड दौडिँरहेका छन् । झर्ला र खाउँला भन्ने आशामा आँ गरेर टांग ढुकिँरहेका छन् । यस्तै महत्वहीन इच्छाहरू र मूर्खताले गर्दा नै मानिस दिग्भ्रमित छ,  किंकर्तव्यविमूढ छ । उदास छ, निराश छ । दिन प्रतिदिन मानिस सुक्दै गएको छ, गल्दै गएको छ । दुब्लाउँदै गएको छ, निथ्रिदै गएको छ । त्यसैले नै अशक्त मन–शरीरको (आँको) थुतुनोले आक्रोेशको आगो ओकल्दै छ । तर यस्तो आक्रोेशको आगोले केही हुनेवाला छैन । त्यो किनभने लक्ष्यमा पुग्न आक्रोेशको राँको होइन, इच्छाशक्तिको आँठो आवश्यक हुन्छ । तर मानिसको त्यो अपार शक्तिको आँठो अनगिन्ति इच्छा र आशाका टांगहरूको ससाना कुलेसाहरूमा बाँडिदै–बाँडिदै सकिएको छ, रित्तिएको छ । त्यसैले त अधिकांश मानिसहरू आफ्नो गन्तव्यसम्म पुग्न सकिँरहेका छैनन् । टांगमुनि आँ नै गरिरहेका छन् । त्यसैले सावधान ! यस्ता अनगिन्ती इच्छा र चाहनाहरूको भेडादौडदेखि सावधान !! झर्ला र खाउँला भन्ने चेतनादेखि पनि सावधान !

फेरि याद राख्नुहोस्, इच्छाहरूको गह्रंगो भारी बोकेर भेडा दौडले लक्ष्यको समुद्रसम्म पुग्न सकिँदैन । झर्ला र खाउँलाको आशामा भोकको थुतुनो पनि भरिँदैन । यो निश्चित छ । त्यसैले महत्वहीन इच्छाहरूलाई त्याग्नुहोस् । झर्ला र खाउँलाको मनस्थितिबाट आफूलाई आजाद बनाउनुहोस् । जीवनमा केही गर्ने अठोट गर्नुहोस् । जीवनको लक्ष्य बनाउनुहोस् । र, जीवनलाई सार्थक बनाउन लक्ष्य प्राप्तिको दिशामा दृढसंकल्पकासाथ भावनात्मक बुद्धिमत्ताले कठोर मेहनत गर्दै अगाडि बढ्नुहोस् । यसरी दृढसंकल्पको उत्तोलक, निष्ठाको ओट र पर्याप्त इच्छाशक्तिको बलले साहसी पाइलाहरू अगाडि बढाउनु भयो भने लक्ष्यको बाटोमा देखापर्ने प्रत्येक अवरोधहरू नै लक्ष्यमा पुग्ने खुड्किलाहरू बन्नेछन् । तपार्इंं अवश्य नै लक्ष्यमा पुग्नुहुनेछ । यसमा कुनै शंका छैन । ढिलो चाँडो भन्ने कुरा अलग हो । यस प्रसंगमा एक विद्वान डा. नारमन मैकलियडले बहुतै सटीक तथा तर्कसंगत शब्दहरू व्यक्त गरेका छन्ः “यद्यपि बाटो खराब र खतरनाक छ, त्यसको अन्त पनि देखिएको छैन, बहुतै दुर्गम छ, तापनि परमात्माप्रति विश्वास गर्दैै दृढताका साथ साहसी पाइला अघि बढाऊ, एक न एक दिन लक्ष्य (बाटोको अन्त) प्राप्त गर्नेछौँ ।” 


कतिपय मानिसले लक्ष्य त बनाउँछन्, तर त्यो लक्ष्यमा दृढसंकल्प हुदैन, दृढइच्छाशक्ति र पर्याप्त निष्ठा हुदैन, जसले गर्दा उनीहरू सफलताको पहिलो खुड्किलो नै उक्लिन सक्दैनन्, तब लक्ष्यमा पुग्ने सवालै उठ्दैन । त्यसैले आफ्नो निर्दिष्ट लक्ष्यमा पुग्न मस्तिष्कको यो भाषालाई बुझ्नु नै पर्दछ । अनिगिन्ति इच्छा र आकांक्षाहरूले चंचल मनलाई झन् चंचल बनाउँछ । त्यसैले यस्ता सानातिना इच्छाहरूबाट मनलाई वशमा राखी मनलाई अर्जुनलेझैँ लक्ष्यमा टिकाउनुपर्छ । हुनत चंचल मनलाई वशमा राख्ने कार्य गाह्रो छ । तर असम्भव चाहिँ पक्कै छैन । तपाईं–हामी जस्ता साधारण मानिसको त कुरै छोडौँ । पाँच हजार वर्ष पूर्व महाभारत युद्धभूमिमा श्रेष्ठ धनुर्धर अर्जुनको मन समेत चंचल भएको थियो । र, उनले श्रीकृष्ण समक्ष यसो भनेका थिएः 

चंञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्थे वायोरिव सुदृष्करम् ।।




(अर्थात् हे कृष्ण ! यो मन अति नै चंचल, सुदृढ र बलमान् छ । यसलाई वशमा राख्न मलाई वायुलाई वशमा राख्न भन्दा पनि कठिन जस्तो लागेको छ ।) जसको जवाफमा श्री कृष्णले अत्यन्तै वैज्ञानिक र सटीक शब्दहरू व्यक्त गर्नु भएको थियो, जुन अहिले पनि त्यतिकै उपयोगी र मनन योग्य छः 

असंशयं महाबाहो मनो दुर्निग्रहं चलम ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च ग्रह्यते  ।।
 
(अर्थात हे महाबाहु ! निःसन्देह मन चंचल र कठिनताले वशमा हुने खालको छ । तर हे कुन्तीपुत्र १ बारम्बारको प्रयत्न, अभ्यास तथा विरक्ति भावद्वारा यसलाई वशमा राख्न सकिन्छ ।) त्यसैले दृढसंकल्प लिएर विवेकको प्रयोग गरी बारम्बार प्रयत्न र अभ्यास गर्दैरहनाले मनमस्तिष्कलाई सफलताको बाटोमा हिँडाउन सकिन्छ । लक्ष्यको सही बाटो पहिल्याइ हिँड्न थालेपछि लक्ष्यसम्म पुग्न नसक्ने प्रश्नै उठ्दैन । त्यसैले जीवनको निर्दिष्ट लक्ष्य प्राप्तिका लागि दृढसंकल्पको ऊर्जालाई सदुपयोग गर्नु अनिवार्य छ । यसका लागि सानातिना इच्छा र आकांक्षाहरूको पछि नलागि मनलाई एकाग्रपूर्वक लक्ष्यमा टिकाउनुपर्छ । वास्तवमा लक्ष्यको आँखामा अर्जुनको एकाग्रताले नै इच्छाशक्ति बढ्ने गर्छ । 

दृढसड्ढल्प भनेको मानसिक अठोट हो । मनको आँट हो । आफ्नो काममा पूरापुर विश्वासकासाथ लाग्ने, लक्ष्यबाट जस्तोसुकै विषमपरिस्थितिमा पनि विचलित नहुने विचारको गहराइबाट निस्केको हिम्मत हो । आमभाषामा भन्ने हो भने आफ्नो कुनै महान् लक्ष्य प्राप्तिका लागि वा कुनै सकाम कामकाज गर्न, जस्तो कि जौ–तिल–कुश र पानी अँजुलीमा लिई गर्ने प्रतिज्ञा हो । यस्तो प्रतिज्ञा जति मनको गराइ अर्थात् एकीकृत क्षेत्रबाट उर्लिन्छ, त्यत्ति नै हिमालझैँ दृढरहिरहन्छ । दृढसड्ढल्पको प्राविधि पक्षलाई हेर्ने हो भने दृढसड्ढल्पमा तीन तत्वहरू निहित हुन्छन् । ती हुन्ः ऊर्जा, बुद्धि र, विश्वास । त्यसैले कुनै सड्ढल्प दृढसड्ढल्प हुनाका लागि पर्याप्त ऊर्जा, सद्बुद्धि र विश्वास आवश्यक हुन्छ । 

विश्वास त दृढसड्ढल्पको जरो नै हो । विश्वास बिना त दृढसड्ढल्पको कल्पना नै गनै सकिँदैन । त्यसैले दृढसड्ढल्प भनेको डीङ हाँक्नु होइन, धाक लगाउनु होइन, फाइँफुट्टी गर्नु पनि होइन । भेडोझैँ बिना सोचबिचार एकोहोरो हिँड्नु पनि होइन । आवेगमा हल्ला बोल्नु तथा डुङ्ग्री पिटनु पनि होइन । सरल शब्दमा भन्नुपर्दा दृढसड्ढल्प भनेको गर वा मरको प्रण हो । यस्तै प्रण सन् १९४०, जून ४–मा विंस्टन चर्चिलले गरेका थिए । चर्चिलले हाऊस आफ कमन्सलाई सम्बोधित गर्दै भनेका थिएः “हामीहरू आखिर तक लड्नेछौँ, हामीहरू फ्रान्सको धरतीमा लड्नेछौँ, हामीहरू समुद्र र सागरहरूमा लड्नेछौँ, हामीहरू आफ्नो बढ्दै गएको विश्वास तथा शक्तिले हावामा पनि लड्नेछौँ, हामीहरू हर हालतमा आफ्नो देशको रक्षाको लागि लड्नेछौँ, यसका लागि हामीहरूलाई जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्, तर हामीहरू लड्नेछौँ । हामीहरू समुद्रको किनारामा लड्नेछौँ, हामीहरू मैदानमा लड्नेछौँ, हामीहरू खेतहरूमा लड्नेछौँ, हामीहरू गल्लीहरूमा लड्नेछौँ, हामीहरू बजारमा लड्नेछौँ, हामीहरू पहाडमा लड्नेछौँ । यो लडाइँमा चाहे हाम्रो ज्यान किन नजाओस्, हामीहरू यो लडाइँ लड्नेछौं, तर आत्मसमर्पण भने कदापि गर्नेछैनौं ।”



भारतका महान् क्रान्तिकारी नेता सुवासचन्द्र बोसको संकल्प पनि फलाम जस्तो दृढ र मजबुत थियो । विदेशमा बसेर आजाद हिन्द फौज गठन गरेका बोसले सन् १९४२ मा देशविदेशमा बसोबास गर्ने सम्पूर्ण भारतीयहरूलाई स्वतन्त्रता संग्राम होमिन आब्हान गर्दै शेरको गर्जनमा भनेका थिएः “तुम मुझे खुन दो, मै तुम्हे आजादी दुंगा । (तिमी मलाई रगत देऊ, म तिमीलाई आजादी दिन्छु ।)” दृढसड्ढल्प भनेको नै यही हो ।  त्यसैले जीवनमा केही गर्ने संकल्प गरेका व्यक्तिहरूले दृढसड्ढल्पको यो मनोविज्ञानलाई अनिवार्य रूपमा बुझ्नुपर्छ । ख्याल गर्नुहोस्, दृढसड्ढल्प र इच्छाशक्ति भएका मनका शेरहरूले नै जुन कार्यमा हात हाल्छन्, त्यो पूरा गरी छोड्छन् । बाँकी कामात्तुर नाउँका शेरहरूले त इच्छाको भीख मात्र माग्छन् । सधैँभरि झर्ला र खाउँलाको थुतुनो नै आँ गर्छन् । 

इतिहास साक्षी छ, दृढसंकल्पका शेरहरू एक पटक गन्तव्यपथमा पाइला टेकिसकेपछि निष्ठापूर्वक आफ्नो बाटो हिँडिरन्छन्, डटेर अगाडि बढिरहन्छन् । कर्तव्यपथका पर्खालहरूलाई तोड्दै जान्छन्, फोड्दै जान्छन् । खुड्किलो बनाउँदै जान्छन् । मास्तिर चढ्दै जान्छन्, अगाडि बढ्दै जान्छन् । रोकिँदैनन्, अगाडि बढिरहन्छन् । एक न एक दिन आफ्नो गन्तव्यमा पुगी छोड्छन् । त्यो किनभने यस्ता मनका शेरहरूलाई दृढसंकल्पद्वारा नै आफ्नो अपार शक्ति जागृत हुन्छ भन्ने कुरा थाहा छ । त्यसैले तपाईं पनि उठ्नुहोस् । जाग्नुहोस् । दृढसंकल्पको शेर बन्नुहोस् । जीत तपाईको निश्चित छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)

Thursday, May 7, 2020

ब्रेन बाइट्स

सकारात्मक सोचको विज्ञान 
ओम बानियाँ

विंस्टन चर्चिलले भनेका छन्ः ‘निराशावादीले हरेक अवसरमा कठिनाई देख्दछ, तर आशावादीले हरेक कठिनाईमा अवसर देख्दछ ।’ चर्चिलको यो भनाइजति मनोवैज्ञानिक छ, त्यत्ति नै सत्य पनि छ । त्यसैले जीवनमा अगाडि बढ्नकालागि आशावादी दृष्टिकोण तथा सकारात्मक सोच राख्नु हरेक मानिसकालागि ज्यादै आवश्यक छ । तर सकारात्मक सोच तथा विश्वास जतिसुकै शुभसंकल्पका लागि भएपनि त्यो तथ्यमा आधारित हुनुपर्छ । तथ्यहीन विश्वासबाट सफलता प्राप्त हुँदैन । 



तथ्यहीन विश्वास त विश्वास नै होइन, अन्धविश्वास हो । जस्तोकि अखण्ड भजनकीर्तन गरेर वा हरहर महादेव पानी देऊ भनेर पानी पर्दैन, पानी कसरी पर्छ भन्नेकुरा अब धेरैलाई थाहा छ । इन्द्र रिसाएर वा भ्यागुतो नकराएर खडेरी पर्दैन, बाक्लो रूपमा वन–जंगल फँडानी हँुदै गयो भने खडेरीपर्छ । त्यसैले खडेरीबाट बच्न भजनकीर्तनको ठाउँमा वन–जंगल फँडानी रोक्नुपर्छ, प्रशस्त रूखविरुवाहरू रोप्नुपर्छ । माथि आकाशमा पानी लिएर इन्द्र बसेका छन्, उनले नै पानी बर्साउँछन् भन्नेजस्ता तथ्यहीन कुरामा विश्वास गरेर सोचले सकारात्मक काम गर्दैन । 

सोचका प्रभाव:
हो, मानिसको जीवनमा सोचको ज्यादै ठुलो महत्व छ । महात्मा बुद्धले भनेका नै छन्, जस्तो सोच्चौँ तिमी त्यस्तै हुन्छौं । यो वैज्ञानिक तथ्य हो । प्रसिद्ध मनोचिकित्सक आरुन बेकको कग्निटिव मोडलका अनुसार डिप्रेसनको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्तीक सोचले नै डिप्रेसन लगायतका मानसिक रोगहरू पैदा गर्छ । 


सोचको स्नायुविज्ञानः
सोच अर्थात् विचारको उद्गम स्थल मस्तिष्क हो । विचारको प्रभाव पनि सबै भन्दा बढी मस्तिष्कमा नै पर्दछ, अनि मस्तिष्कमार्फत् सम्पुर्ण शरीरमा पर्दछ । वैज्ञानिकरूपमा नै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारसँग सम्बन्धित रसायन सक्रिय हुन्छन् । न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हुँदैन, शरीरभरि नै रहन्छ, पेट, मिर्गौला तथा कलेजो लगायतका अंगहरूमा पनि यसको उपस्थिति हुन्छ । यसैकारणले नै विचारले मानिसको शरीरिक ढाचा तथा रड्ड–ढड्ड पनि निर्धारित गर्ने गर्दछ । मानिसको मस्तिष्कमा सयौँ प्रकारका स्नायु रसायनहरू छन्, ती मध्ये सेरोटोनिन, नोरएपीनेफ्रीन तथा डोपामीन, यी तीन प्रसन्न पैदा गर्ने रसायनहरु हुन् । यिनै रसायनहरुमा नै मानिसको आनन्द, खुसी तथा प्रसनन्ता टिकेको हुन्छ । यदि यी रसायनहरुले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेशन हुनेगर्दछ । त्यसैले त भनिएको नै छ शुभ विचार तथा शुभ संकल्प शक्तिले नै मानिसलाई महान् बनाउँछ । 

सोचको रुप

सोचका दुई रूप हुन्छन् अर्थात् सोच दुई किसिमका हुन्छन् । सकारात्मक सोच तथा नकारात्मक सोच । यसलाई राम्रो र नराम्रो सोच भन्न सकिन्छ, असल र खराव सोच वा शुभ र अशुभ सोच पनि भन्न सकिन्छ । सोचको बुभ्mनै पर्ने मनोविज्ञान के हो भने मानिसको मन–मस्तिष्क लगायत सम्पÒर्ण शरीरमा राम्रा विचारको प्रभाव सधैँ राम्रो पर्दछ र नराम्रो विचारको प्रभाव सधैँ नराम्रो नै पर्दछ ।  मानिसको सोच तथा दृष्टिकोणलाई विभिन्न तत्वहरूले प्रभाव पार्दछन् । त्यसैले यस्ता तत्वहरूले नै मानिसको सोच र दृष्टिकोण निर्धारण गर्दछन् । मानिसको सोच र दृष्टिकोण निर्धारण गर्ने केही प्रमुख तत्वहरू यसप्रकार छन्ः पैत्रिक गुण । अनुभव । वातावरण । स्वःसुचना तथा शिक्षा  । यी यावत् कुुराहरूद्वारा नै मानिसको सोच तथा दृष्टिकोण बन्ने गर्दछ । तर मानिसले चाहेको खण्डमा आफ्नो सोच र दृष्टिकोणलाई परिवर्तन गर्न सक्दछ । 


सकारात्मक मनोविज्ञानः
हिजोआज मनोविज्ञानले धेरै नै प्रगति गरेको छ । रुखरुपी मनोविज्ञानले थुप्रै नयाँ–नयाँ हाँगाबिँगाहरू हालेको छ । यस्तै भर्खर–भर्खर पलाएको नयाँ कलकलाउँदो हाँगा हो, सकारात्मक मनोविज्ञान । शाब्दिक अर्थमा मानव जीवनको सकारात्मक पक्षहरू जस्तैः खुसी, आनन्द तथा आरोग्यता आदिको विज्ञान नै सकारात्मक मनोविज्ञान हो । यो मानिसको सकारात्मक आचार–विचारको मनोविज्ञान हो । यो मनोविज्ञानले मानिसलाई आफ्नो सोच र जीवनशैली सकारात्मक राखेर कसरी आरोग्य तथा सार्थक जीवन जिउन सकिन्छ भन्ने कुरा सिकाउँछ । प्रसिद्ध मनोवैज्ञानिक प्रा.डा. मार्टिन सेलिगमैन सकारात्मक मनोविज्ञानका सर्जक हुन् । 

पुछारमाः 
हो, सकारात्मक सोचमा अद्भुत शक्ति हुन्छ । सकारात्मक सोचका कारण नै मानिस स्वस्थ, शिक्षित र समृद्ध बन्न सक्छ । सकारात्मक सोच राख्नेले नै आफुले देखेको सपना पुरा गर्न सक्दछ । तर यहाँ बुझ्नु पर्ने कुरा के भने हुर्किएको आगो निभाउन सकारात्मक सोच राखेर मात्र हुँदैन, हुर्किएको आगोमा पानी हाल्नुपर्छ । एक दिन त आगो निभ्नेछ भनेर सकारात्मक सोच राख्दा के हुन्छ, थाहा छ ? एक दिन आगो त निभ्नेछ, तर सबकुछ खरानी भएपछि मात्र आगो निभ्ने छ । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)







Tuesday, May 5, 2020

ब्रेन बाइट्स 

व्यक्ति एकः रुप अनेक 
ओम बानियाँ 

तामिल र हिन्दी भाषामा बनेको कथानक चलचित्र अपरिचितका नायक अम्बी (विशाल) एक सीधासाधा युवक हो । ऊ जति इमानदार छ, त्यत्ति नै अनुशासित पनि छ । ऊ आफुले कानुनको अक्षरस पालना गर्छ र अरुले पनि त्यसरी नै कानून पालना गरुन् भन्ने चाहन्छ । तर उसले पाइला–पाइलाहरूमा बेइमान, श्वार्थी र भ्रष्ट मानिसहरू भेट्छ । यस्तो अवस्थामा उसको रगत तात्छ । अनि ऊ एकाएक अपरिचित नामक व्यक्तित्वको रुपमा देखा पर्छ । अनि उसले अपराधीलाई गरुण पुराणमा उल्लेख भए बमोजिम सजाय दिन्छ । जस्तो कि दालमा छिपकली परेको पनि ख्याल नगरी लापरवाही गर्ने रेलवे क्यान्टीनको मालिकलाई कुखुरा भुत्लाएर तेलबेसार दली तेलको कराहीमा तारेझैं तार्छ । जनताको रगत चुस्ने व्यापारीलाई किर्मी भोजनम्ः अर्थात् जुकाले टोकाएर मार्छ । अम्बीले नायिका नन्दनी(सधा)लाई खुब माया गर्छ । नन्दनी अम्बीकी सानैदेखिकि साथी भएपनि उसले अम्बीलाई जीवन साथीको रुपमा हेरेकी हँुदैने । एक दिन अम्बीले उसलाई प्रेम प्रस्ताव राख्दछ । तर नन्दनीले उसको प्रेम अस्विकार गर्छे । अम्बीलाई ठूलो चोट पर्छ । अनि अम्बी एक स्टाइलिस्ट केटो रेमोको रुपमा नन्दनीको जीवनमा आउँदछ । यसरी एउटै व्यक्तिले, अम्बी, अपरिचित र रेमोको तीन व्यक्तित्वहरू धारणा गर्दछ । तर यसको जानकारी अम्बीलाई हुदैन । कथा अगाडि बढ्छ, न्युरो अस्पतालका चिकित्सकले अम्बी बहु–व्यक्तित्व विकृतिबाट पीडित भएको निदान गर्छन् । द थ्री फेसस् अफ इभ पनि यस्तै कथामा आधारित एक चर्चित अंग्रेजी फिल्म हो । यस फिल्ममा नायिकाका पनि तीन फरक–फरक व्यक्तित्वहरू हुन्छन् । 


व्यक्ति एकः व्यक्तित्व अनेक
अतः यसरी कुनै एक व्यक्तिले दुई वा दुई भन्दा बढी व्यक्तित्वहरूमा विभाजित भएर बेग्लाबेग्लै समयमा स्पष्ट र पूर्ण विरोधी व्यवहार देखाउन थाल्दछ भने त्यसलाई बहु–व्यक्तित्व विकृति (मल्टिपल पर्सनालिटि डिसअर्डर) भनिन्छ । यदि यस्तो व्यक्तित्वको दुई रुपमात्र देखा पर्छ भने त्यसलाई द्वि–व्यक्तित्व विकृति (डबल पर्सनालिटि डिसअर्डर) भनिन्छ । यस्तो अवस्थामा व्यक्तित्वको एक रुप अर्को रुप भन्दा बिलकुल अलग हुन्छ । जस्तो कि यहाँ गोडार्डले उल्लेख गरेको पोली र नोर्माको घटना स्मरणीय छ । नोर्मा एउटी शालीन, संयमी र मधुर व्यक्तित्व भएकी केटी थिइन् भने पोली तेज, चंचल र स्वार्थी व्यक्तित्व भएकी केटी थिइन् । यहाँ अर्को उल्लेखनीय कुरा के भने चलचित्र अपरिचितका अम्बीलाईझैं बहु–व्यक्तिव विकृतिग्रस्त व्यक्तिलाई आफ्नो बहु–व्यक्तित्वको बारेमा जानकारी हुदैन । बहु–व्यक्तित्व विकृतिलाई हिजोआज मनोविच्छेदी पहिचान विकृति(डीआईडी) भनिन्छ । बहु–व्यक्तित्व विकृति पुरुषको तुलनामा महिलामा बढी देखिएको छ ।  

व्यक्तित्व के हो ? 

व्यक्तित्वलाई अंग्रेजीमा पर्सनालिटि भनिन्छ, जुन शब्द लैटिन शब्द परसोनाबाट बनेको हो । यसको शाब्दिक अर्थ हुन्छ, मुखौटो (मास्क) । तर यस शाब्दिक अर्थले केवल व्यक्तित्वको बाहिरी आवरणलाई मात्र इंकित गर्ने भएकाले यस अर्थ अवैज्ञानिक ठराइ व्यक्तित्वको अनेकौं परिभाषाहरू प्रस्तुत गरियो । मनोवैज्ञानिक आइजेन्कका अनुसार व्यक्तित्व व्यक्तिको चरित्र, चित्रप्रकृति, ज्ञानशक्ति तथा शरीर गठनका करीब–करीब एक स्थायी एवं टिकाउ संगठन हो, जसले जीवनको परिस्थितिहरूको साथमा हुने समायोजनको निर्धारण गर्दछ । अर्को शब्दमा व्यक्तित्व भिन्न–भिन्न शीलगुणहरूको एक यस्तो डाइनेमिक संगठन हो, जसको कारण व्यक्तिको व्यवहार तथा विचार कुनै पनि वातावरणमा आफ्नो ढंगको अर्थात् अपूर्व (युनिक) हुन्छ । अतः व्यक्तिको व्यक्तित्व फरक–फरक र युनिक हुन्छ । र, यस्तो व्यक्तित्व निर्माणमा व्यक्तिको शरीरिक बनौट, सोच, बुद्धि र वातावरणको प्रमुखता रहन्छ ।

बहुव्यक्तित्व र समाजः
हरेक समाजका प्रायः हरेक व्यक्तिले स्टे«सफुल अवस्थामा वा आफ्नो कामनापूर्ति नभएको स्थितिमा वा आफुले भनेजस्तो नभएको खण्डमा एकाएक अर्को रुपमा धारणा गरेका पाइन्छ । जस्तो कि क्रोधावस्थामा मानिसको व्यक्तित्व एकदम फरक हुन्छ । यस्तो अवस्थामा, केही क्षण, व्यक्तिले आफ्नो पूर्व पहिचान समेत बिर्सिएको हुन्छ । यसैगरी राजनीतिक व्यक्ति तथा सेलिबेट्रिहरूले नाटकीय रुपमा आफ्नो बहुव्यक्तित्व प्रर्दशन गरेका पाइन्छ । नेपाली राजनीतिलाई हेर्ने हो भने नेकपाका अध्यक्ष क. प्रचण्ड यसको सशक्त उदाहरण हुन् । क. प्रचण्ड फरक–फरक ठाउँमा आफ्नो फरक–फरक व्यक्तित्वहरू देखाउने नेताको शीर्ष स्थान रहेको सर्वविदितै छ । जस्तो कि नागरिक समाज तथा आम नागरिकसँगको अन्तक्र्रिया आदिमा उनी एक शालीन, सौम्य र परिपक्क राजनेताको रुपमा प्रस्तुत हुन्छन् । त्यस्तै उनले दलहरूसँगको वार्तामा भद्र सम्झौताको मान्यता राख्छन् । तर जब उनी कार्यकर्ताको भीडमा पुग्छन्,  उनले आक्रमक, अविवेकी, विद्रोही व्यक्तित्व देखाउँछन् । यो क. प्रचण्डको चेतनमनको नाटक पनि हुन सक्दछ, एक आदत पनि हुन सक्दछ, यो उनलाई थाहा नभएको अवचेतनको खेल पनि हुन सक्दछ । त्यस्तो त क. प्रचण्डले बेला भन्ने गरेको सुनिन्छ, उनी नेपाली राजनीतिमा पुष्पकमल र प्रचण्ड, दुवै व्यक्तित्वको रुपमा स्थापित हुन चाहन्छन् ।

यो एक उदाहरण हो । यस्तो बहु–व्यक्तित्व अन्य नेताहरूमा पनि देख्न सकिन्छ । मनोवैज्ञानिक रुपमा यो सामान्य कुरा हो । तर यदि यस्तो बहु–व्यक्तित्वले आफ्नो दैनिक जीवनमा नै प्रत्यक्ष प्रभाव पार्छ र आफुमा बहु–व्यक्तित्वहरू छन् भन्ने व्यक्तिलाई जानकारी भएको हुदैन भने त्यो बहु–व्यक्तित्व विकृति हो । बहु–व्यक्तित्व विकृतिका हरेक व्यक्तित्वहरूको आफ्नै छुट्टै पहिचान, आत्मछवि तथा नाम हुन्छ । 

डीआईडी झुटो हो कि साँचोः

बहु–व्यक्तित्व विकृतिका बारेमा अध्ययन–अनुसंधान भैइरहेको छ । तर कतिपय विशेषज्ञहरूले बहु–व्यक्तित्व विकृतिलाई पूर्ण स्वीकार गरेको पाइदैन । तर डीएसएमले बहु–व्यक्तित्वलाई एक मनोरोगको रुपमा वर्गिकृत गरेको छ । त्यसो त कतिपय व्यक्तिहरूले आफु यस्तो विकृतिबाट मुक्त भएको सप्रमाणहरू दिएको पनि भेटिएको छ । बहु–व्यक्तित्व विकृतिलाई यस विषयमा बनाइएका चलचित्रहरूले जनमानसमा चर्चित बनाएको पाइन्छ । तर चलचित्रमा देखाइएका कतिपय तथ्यहरू नितान्त काल्पनिक छन् ।



डीआईडीको कारणः
बहु–व्यक्तित्व विकृतिको प्रमुख कारण बाल्यकालको भवानात्मक ट्रउमा, यौन दुव्र्यवहार तथा स्टे«स हो । चलचित्र अपरिचितमा पनि डीआईडीको कारणका रुपमा यस्तै कुराहरू प्रस्तुत गरिएको छ । आफ्नो बहु–व्यक्तित्वका बारेमा एकदम अनभिज्ञ अम्बीलाई मनोचिकित्सकले हिप्नोटाइज्ड गरी पछाडिको जीवनतिर लग्छन् । अम्बीले खुसी–खुसी नन्दनीलाई प्रेम प्रस्ताव राख्दा नन्दनीले अम्बीको प्रेम अस्वीकार गरेपछि अम्बी एकाएक छांगाबाट खसेझैं हुन्छ, अनि रेमो देखा पर्छ । मनोचिकित्सकले अम्बीलाई बाल्यकालमा पु¥याउँछन्, विद्युत्वाला र प्रहरीको लापरवाहीले गर्दा बालक अम्बीको आँखा अगाडि नै उसकी प्यारी बैनीको ज्यान गएको, तर पनि न्याय नपाएको घटना सामुन्ने आउँछ । त्यसै ट्रउमाले अपरिचित व्यक्तित्व पैदा भएको हुन्छ ।

पुछारमाः
बहु–व्यक्तित्व विकृतिमा बनेका चलचित्रहरू हेर्न निकै रोचक हुने भएता पनि यस विकृतिलाई बुझ्न निकै कठीन हुन्छ । त्यो किनभने चाहे त्यो बहु–व्यक्तित्व विकृति होस् वा अन्य व्यक्तित्व विकृति होस्, यस्तो विकृतिबाट पीडित व्यक्तिले आफु यस्तो विकृतिबाट ग्रस्त भएको स्वीकार्दैन । तर उनीहरूको यस्तो व्यक्तित्वले दैनिक जीवनमा परिवार, समाज र स्वयंलाई पनि निकै अप्ठारो बनाइरहेको हुन्छ, अनावश्यक समस्या उत्पन्न गराइरहेको हुन्छ । त्यसैले बहु–व्यक्तित्व विकृति होस् वा अन्य व्यक्तित्व विकृति, औषधोपचार हुन आवश्यक छ । व्यक्तित्व विकृतिहरू मनोरोग भएकाले यस्ता विकृतिहरूको उपचार पनि मनोवैज्ञानिक हुनु ठीक हुन्छ । तर बहु–व्यक्तित्व विकृति मनोचिकित्साका लागि एक चुनौती हो । तथापि हिप्नोसिसले यस रोगको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । (लेखक मनोविद हुन् ।)



Sunday, May 3, 2020

ब्रेन बाइट्स 
किन घट्छ स्मरणशक्ति ?
ओम बानियाँ 
ब्रेन अर्थात् मस्तिष्क मानव शरीरको सबै भन्दा महत्वपुर्ण अड्ड हो । मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ । कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही मस्तिष्क हो । मस्तिष्क मानिसको ‘मेमरी बैंक’ पनि हो । यही मेमोरी बैंकमा नै सूचनाहरू संग्रह हुन्छन् र यसका आधारमा नै मेमोरी (सम्झना–शक्ति)ले कार्य गर्दछ । तर, सबै मानिसको स्मरणशक्ति एकनाश हुँदैन र सधैँभरि उस्तै पनि रहँदैन । प्रायः सबै मानिसहरूले आफ्नो जीवन कालमा स्मरणशक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग(स्मृतिलोप)का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाद्य हुन्छन् ।


किन घट्छ स्मरणशक्ति ?

स्मरणशक्ति गडबड हुने तथा बिर्सिने रोगका विभिन्न कारणहरू हुन्छन् । उमेर ढल्कदै गएमा तथा स्मरणशक्तिका क्रियात्मक आधार (स्मरणशक्तिका तीन क्रियाहरू हुन्छन्ः अंकन(रजिस्टे«सन्), धारणा(रिटेन्सन) तथा पुनःस्मरण(रिकल) मा कुनै त्रृटि भएमा पनि स्मरणशक्ति कमजोर हुन्छ । जस्तो कि याद राख्नु पर्ने विषयमा राम्रोसँग ध्यान दिइएन भने त्यो विषय मस्तिष्कमा राम्रोसँग अंकन तथा धारण हुन सक्दैन, जसले गर्दा स्मरणशक्ति कमजोर हुन्छ । त्यसैगरी ठीक तरिकाले पुनःस्मरण गर्न नसकेको खण्डमा पनि स्मरणशक्ति कमजोर हुन्छ । यी मेमोरी घट्ने सामान्य कारणहरू हुन् । तर स्मरणशक्ति शिरको चोटपटक तथा अन्य शारीरिक तथा मानसिक रोगहरूका कारण पनि घट्ने गर्छ । त्यसैले सजिलोका लागि स्मरणशक्तिको कमी तथा स्मृतिलोपलाई दुई भागमा वर्गिकरण गर्न सकिन्छ ।

(१.) सामान्य विस्मृति(नर्मल फर्गेटफुलनेस)
(२.) बिर्सने रोग (एम्नेसिया)

 
सामान्य विस्मृतिः
मानिसको उमेर ढल्कदै गएमा मानिसको स्मरणशक्ति पनि केही न केही मात्राामा घट्दै जान्छ । यो प्रायः हरेक बृद्धबृद्धाले महसुस गरेको तथ्य हो । खास गरी ४० वर्षको उमेरपछि प्रायः मानिसहरूले आफ्नो स्मरणशक्ति घटेको गुनासो गर्छन् । यस किसिमको स्मरणशक्तिको कमीले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन । तर, बुढेसकालमा, खासगरी ६०–६५ वर्षको उमेरपछि मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्ने गरी स्मरणशक्तिमा कमी आयो भने त्यो स्नायुरोग, अल्जाइमरका कारणले हुन सक्दछ । तर, अल्जाइमरले जस्तो लक्षणहरू देखाउने ९० प्रतिशत कारणहरू अल्जाइमर नभएर अन्य रोगहरू हुने गर्छन् । 

बिर्सने रोग (एम्नेसिया)ः

बिर्सने रोग (मेमोरी लस)–लाई मेडिकल भाषामा स्मृतिलोप(एम्नेसिया) भनिन्छ । यस्तो रोग लागेको व्यक्तिले आफ्नो नाम, ठेगाना, मिती–वार, गाउँ–टोल आदि जस्ता कुराहरू वा सम्पूर्ण कुरा बिर्सन सक्दछन् । वास्तवमा बिर्सिने रोग (एम्नेसिया) पुनःस्मरण गर्ने क्षमता वा पुर्वअनुभवहरूको पहिचान गर्ने आंशिक वा पुर्ण अयोग्यता हो । एम्नेस्टिक डिस्अर्डरमा पुराना कुराहरू मात्र होइन कि नयाँ कुराहरू पनि याद राख्न कठीन हुन्छ । स्मृति लोप विभिन्न कारणहरूले हुने गर्दछ । तर यसको प्रमुख कारण मस्तिष्कमा हुने क्षति तथा खराबी हो । कोर्सकोफको संलक्षण (सिन्ड्रोम) पनि यस्तो स्मृति लोप हो, जुन भिटामिन बी १ (थाइमीन)को कमीले हुने गर्छ । मस्तिष्कमा चोटपटक लागेर हुने स्मृति लोप प्रायः स्थायी प्रकृतिको हुन्छ, तर भिटामिन बी १ को कमीले हुने स्मृति लोप, सुरुमा नै उपचार गरेको खण्डमा निको हुन्छ । 

स्मृति लोप दुई किसिमका हुन्छन् । (१) एन्टेरोग्रेड एम्नेसिया (२) रेट्रोग्रेड एम्नेसिया । 

एन्टेरोग्रेड एम्नेसियामा नयाँ सुचना संझना राख्ने क्षमता ह्रास हुन्छ, यस प्रकारको एम्नेसिया प्रायः प्रोग्रेसिभ डिमेंसियामा देखा पर्छ भने रेट्रोग्रेड एम्नेसियामा पुरानो कुराहरू याद गर्न कठिन हुन्छ । चर्चित हिन्दी सिनेमा ‘गजिनी’ मा नायक सञ्जय सिंघानिया (आमिर खान)लाई टाउकाको चोटले गर्दा एन्टेरोगे्रड एम्निेसिया (सर्टटर्म मेमोरी लस अर्थात् अल्पकालीन मेमोरीको कमी)बाट पीडीत देखाइएको छ । यस्तो अवस्थामा अल्पकालीन स्मरणशक्ति बाहेक अन्य संज्ञानात्मक (कग्निटिभ) क्षमता भने प्रायः सामान्य हुन्छ । यसै गरी प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र जीवन रेखामा नायिका उमा (मिनाक्षी आनन्द)  तथा शम्भु प्रधानद्वारा निर्देशित नेपाली चलचित्र सपनामा नायिका सपना (करिश्मा केसी)लाई टाउको चोटले स्मृति लोप भएको देखाइएको छ । यी दुवै चलचित्रहरूमा नायिकाहरूलाई टाउकाको चोटपछि पुरानो कुनै कुराहरू याद हँुदैन । यो रेट्रोग्रेड एम्निेसिया उदाहरण हो । तर यी चलचित्रहरूमा देखाएझैं पुनः टाउकाको चोटले स्मृति फर्किदैन ।

स्नायु रोगः डिमेंसिया
बृद्धावस्थामा(६० वर्ष भन्दा बढी) हुने मानसिक क्षमताको ह्रास, जसले गर्दा व्यक्तिको स्मरणशक्ति, सुझबुझ, सोचविचार, नयाँ कुरा सिक्ने क्षमता तथा नयाँ परिस्थितिमा ढल्ने योग्यता आदि यदि धेरै नै बढेर जान्छ भने त्यो डिमेंसियाको लक्षण हो । सामान्यता उमेरसँगै व्यक्तिको मानसिक तथा शारीरिक क्षमताहरूमा कमी आउने भएता पनि यस्तो कमीले मानिसको आमजीवनमा कुनै ठुलो असर गर्दैन । तर डिमेंसियाले मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्न थाल्दछ । डिमेंसिया विभिन्न किसिमका हुन्छन् । जस्तैः अल्जाइमर डिमेंसिया, भास्कुलर डिमेंसिया, शिरको चोटपटकबाट हुने डिमेंसिया, एचआइभीको कारणबाट हुने डिमेंसिया, पार्किन्सन डिमेंसिया, हन्टिगंटन डिमेंसिया तथा पिक डिमेंसिया आदि । मेमोरीको कमी डिमेंसियाको एक प्रमुख लक्षण हो । तर सबै डिमेंसियामा मेमोरी कमी हुन्छ भन्ने छैन । शिरको चोटपटक  वा अन्य शारीरिक कारणहरुले पैदा भएको स्मृतिलोपलाई अग्र्यानिक एम्नेसिया भनिन्छ भने मनोवैज्ञानिक कारणबाट पैदा भएको स्मृतिलोपलाई साइकोजनिक एम्नेसिया (डिसोसिएटिभ एम्नेसिया) भनिन्छ । प्रायः अग्र्यानिक एम्नेसिया एन्टेरोग्रेड प्रकृतिका हुन्छन् भने साइकोजनकि एम्नेसिया रेट्रोग्रेड प्रकृतिका हुन्छन् ।


स्मरणशक्ति घट्ने अन्य कारणहरूः

शारीरिक रोगहरू जस्तै कलेजो तथा मिर्गौलाको रोग, थाइरायड ग्रन्थिको रोग, हाइपर–हाइपोकैल्केमिया, भिटामिन बी१ को कमी, भिटामिन बी१२ को कमी, आयोडिनको कमी, थायराइड ग्रन्थिको समस्या, रक्ताल्पता, नर्मल प्रेसर हाइड्रोसेफलस, औषधिको प्रतिप्रभाव, ट्यूमर, संक्रमण, मुटु र   छातीको रोग, दृष्टि तथा श्रवण दोष, हाइपर–हाइपोएटे«मिया, मद्यपान तथा दुव्र्यसन, सिफलिस, मधुमेह आदि तथा मानसिक रोगहरू जस्तैः डिप्रेसन तथा आत्तिने रोग, मानसिक थकान (न्युरेस्थेनिया), आत्मविस्मृति (फ्युग), तीब्र दुविधा, मानसिक मंदता तथा मस्तिष्कीय चोटपटक, स्नायुमण्डलमा सङ्क्रमण र अन्य स्नायुरोगहरूका कारण पनि डिमेंसिया देखा पर्छ, मानिसको स्मरणशक्ति कमजोर हुने तथा घट्ने गर्छ । यत्ति मात्र होइन कि गलत  जीवनशैलीका कारणले पनि स्मरणशक्ति घट्ने गर्छ । स्मरणशक्ति कमजोर हुनुको लगभग २० प्रतिशत कारण त मानिसको गलत जीवनशैली हो ।

बिर्सिने रोगको उपचार र रोकथामः
कतिपय बिर्सने रोग स्थायी प्रकृतिका हुन्छन् भने अधिंकाश बिर्सने रोग उपचारबाट ठीक हुन्छन् । जस्तो कि डिपे्रसिभ सिउडोडिमेंसिया, डिप्रेसनको उपचारपछि ठीक हुन्छ । त्यस्तै गरी मद्यपानका कारण भिटामिन बी१ को कमीले हुने एम्नेसिया पनि भिटामिन बी१ पÒर्तिपछि निको हुन सक्दछ । यसै गरी डिसोसिएटिभ एम्निेसिया (मनोजन्य बिर्सने रोग) लगायत माथि उल्लेखित अधिकांश रोगहरू औषधोपचारपछि ठीक हुन्छन् । यस्ता रोगहरू निको भएपछि स्मरणशक्ति पनि सामान्य हुन्छ । यसका साथै स्मरणशक्ति पुनस्र्थापना कार्यक्रमले पनि बिर्सने रोगको उपचारमा ठुलो टेवा पु¥याउने गर्छ । त्यसैले आफु तथा आफ्ना परिवारका कुनै सदस्यमा यदि बिर्सिने रोगको लक्षण देखा परेको छ भने तुरुन्त चिकित्सकसँग सम्र्पक गर्नु  बुद्धिमानी हुन्छ । समयमै औषधोपचार गरेको खण्डमा बिर्सने रोग ठीक हुन्छ, ठीक नभए पनि नियन्त्रण गर्न सकिन्छ । यसका साथै निम्नलिखित कुराहरूप्रति विशेष ध्यान दिने हो भने बिर्सने रोग तथा डिमेंसियाको रोगथाम गर्न सकिन्छ ।

रक्तचाप सामान्य राख्ने । कोलेष्ट्रोल नियन्त्रण गर्ने । होमोसिस्टीन सामान्य राख्ने । यदि होमोसिस्टीनको मात्रा बढ्यो भने पनि हृदयघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ । शिरलाई चोटपटकबाट बचाउने । आँखा तथा कानलाई ठीक राख्ने । आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने । शारीरिक व्यायामका साथै मानसिक व्यायाम गर्ने, सधैँ सन्तुलित आहार लिने । मस्तिष्कको प्रयोग गर्ने । सामाजिक रूपमा सक्रिय रहने । तनाव तथा डिप्रेसन आदिबाट बच्ने । स्वस्थ जीवनशैली अपनाउने । 

मानिसको जीवनमा जीवनशैलीको ठूलो महत्व छ । जीवनशैली ठीक राख्ने हो भने अधिकांश रोगहरू हुन पाउदैनन्, कतिपय रोगहरू त उचित जीवनशैलीबाट नै ठीक हुन्छन् । यदि यस्ता रोगहरू ठीक भए भने स्मरणशक्तिले पनि ठीकठाकसँग आफ्नो कार्य गर्न समर्थ हुन्छ । त्यसैले मस्तिष्कको सबैभन्दा महत्वपुर्ण कार्य स्मरणशक्तिलाई सधैँ तरोताजा राख्न मानिसले आफ्नो जीवनशैली ठीक राख्नुपर्छ । सधैँ सन्तुलित भोजन गर्ने, शारीरिक तथा मानसिक व्यायाम गर्ने, सधैँ सकारात्मक सोच राख्ने तथा सकारात्मक कार्यहरू गर्ने हो भने डिप्रेसन लगायतका अनेकौँ रोगहरूबाट समेत जोगिन सकिन्छ । बुढेस्कालसम्म स्मरणशक्ति ठीक राख्न सकिन्छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)


Saturday, May 2, 2020

ब्रेन बाइट्स
म्युजिक मेडिसिन
ओम बानियाँ

म्युजिक अर्थात् संगीत प्रकृतिको अनुपम उपहार हो । डाँडापहरा, पाखापखेरा, बनजंगल, झरना, नदीनाला तथा समुद्र जताततै संगीत नै संगीत छ । भरभुमिको वालुवादेखि हिमालको हिउँले तथा हरेक वनस्पति तथा प्राणीहरुको अंगअंगहरुले हरदिन हरपल गीत गाइरहेको छ ।  म्युजिक प्रकृतिको म्याजिक हो । म्युजिक मेडिसिन पनि हो । प्रकृतिको यो अनुपम उपहारको महत्वलाई बुझेर नै प्राचिन कालदेखि नै मानिसहरुले शब्दहरुलाई लिपिबद्ध गर्ने, संगीत भर्ने तथा कर्णप्रीय आवाजमा स्वरांकन गर्ने कार्य गरी संगीत तयार गर्दै आएका छन् । संगीत प्राचिन कालदेखिको एक प्रमुख र निकै लोकप्रिय मनोरंजनको साधान हो । तर हाम्रो समाजमा म्युजिकले मान्छे बिर्गाछ भन्ने पनि चलन छ । त्यो एक हदसम्म सत्य पनि हो, त्यो किनभने आफ्नो कामधन्दा वा पढाइलेखाइ छोडेर दिनरात गीतसंगीत सुन्नेतिर लाग्ने हो भने म्युजिकले अवश्य नै मानिस बिर्गाछ । तर मन प्रसन्न गर्ने तथा उत्प्रेरित गर्ने खालका म्युजिकहरु कहिलेकाहीँ सुन्ने हो भने म्युजिकले मानिसको थकित मनलाई मनोरंजन दिनुकासाथै मानिसलाई दिशा निर्देश समेत गर्छ । कर्णप्रीय संगीतले शारीरिक थकाइ पनि मेटाउँछ ।


म्युजिकको म्याजिक

मीठो र कर्णप्रीय म्युजिकले श्रोतालाई यसरी बाँध्दछ कि श्रोता केही क्षण सबैकुरा बिर्सेर गीतमा हराउँछन् । सम्ववत् मानिस यसरी र यत्तिबेर एकाग्रचित्त अन्य कुनै चिजमा हँुदैनन् । साँच्चै म्युजिकले मानिसको मनमा म्याजिक नै पैदा गरिदिन्छ । वास्तवमा हरेक मानिसको मनमस्तिष्क म्युजिकल हुन्छ । यस संसारमा म्युजिक मन नपर्ने मानिस नै हुँदैनन् भने पनि हुन्छ । हरेक समान्य मानिसलाई म्युजिक मन पर्छ । त्यसैले उनीहरुले मौका पाउनासाथ म्युजिक सुन्छन्, वेलावेलामा गीत गुनगुनाउँछन् । 

म्युजिकले मानव मनमस्तिष्कमा निकै ठुलो प्रभाव पार्छ । म्युजिकको कतिपय प्रभाव प्रत्यक्ष नै अनुभव हुन्छ भने अधिकांश प्रभाव मानिसको अवचेतन मनमा गएर बस्दछ । अवचेतन मन, मानिसको त्यो मन हो, जसले मानिसको संसारलाई हेर्ने दृष्टिकोण, आचारविचार र उसको व्यक्तित्व निर्माणमा महत्वपुर्ण भुमिका निभाउँछ।  म्युजिक मानिसलाई मात्र होइन, पशुपंक्षीहरुलाई पनि मन पर्छ । त्यही भएर त नदीनाला, ताल र बनजंगलको म्युजिकमा चराचुरुंगीहरु रमाइलोसँग नाचिरहेका हुन्छन् । म्युजिक सुनेर गाईभैंसीले पनि बढी दूध दिने गर्छन् । भारतका प्रसिद्ध वैज्ञानिक जगदिश चन्द्र बोसले त वनस्पति समेत संगीतबाट प्रभावित हुने कुरा प्रमाणित गरिदिएका थिए ।

म्युजिक मेडिसिन

म्युजिकले मेडिसिनको काम गर्छ भन्ने तथ्य मैले धेरै पहिला नै आफैँ अनुभव गरेका भएता पनि सन् २००२ तिर आएर माइन्डबडी मेडिसिनको अध्ययनका दौरानमा मैले सिनेमाथेरापीसँगै म्युजिक थेरापीका बारेमा धेरै कुराहरु सिक्ने मौका पाएँ । सानैदेखि फिल्मप्रति रुचि राख्ने भएकोले पनि सिनेमाथेरापी र म्युजिक थेरापीले मलाई आकर्षित गर्नु स्वभाविकै थियो । त्यसैले मैले म्युजिक थेरापी र सिनेमाथेरापीलाई कग्निटिभ थेरापीसँगै प्रयोगमा ल्यान शुरु गरेँ । 

म्युजिक थेरापी (राग चिकित्सा) आयुर्वेदको एक अंग हो । वेदमा म्युजिकलाई ठूलो महत्व दिइएको  छ । चार वेद मध्यको एक प्रमुख वेद, सामवेद संगीतसँग सम्बन्धित छ । गान्धर्व वेद भनेको त संगीत शास्त्र नै हो । आयुर्वेदका अनुसार वात, पित्त र कफ असन्तुलन र कुपित भयो भने मानिसलाई रोग लाग्छ । यसरी कुपित भएको वात, पित्त र कफलाई सन्तुलित गर्न म्युजिकले ठूलो भूमिका खेल्छ ।राग चिकित्साका अनुसार रागहरुलाई विभिन्न रोगहरुको उपचार गर्न प्रयोग गर्न सकिन्छ । जस्तो कि अहीर भैरव रागले अपच रोगमा फाइदा गर्छ । असावरीले आत्मविश्वास बढाउन सहयोग गर्छ । बागेश्रीले अनिद्रामा र भिमा पलासले दुश्चिंता घटाउन सहयोग गर्छ आदि । राग चिकित्साका अनुसार रागले अनिद्रा, दुखाइ, उच्च रक्तचापदेखि लिएर मिर्गी तथा सिजोफ्रेनिया समेत फाइदा गर्ने कुरा उल्लेख छ । यस सम्बन्धमा भारतको चेन्नइ स्थित राग अनुसंधान केन्द्रले अनुसंधान गरिरहेको छ ।  

मोजार्ट र म्युजिक

मानिसको शरीरमा म्युजिकले के कस्तो प्रभाव पार्दछ भन्ने विषयमा थुप्रै अध्ययन अनुसंधान भए, भैरहेका छन् । अध्ययनबाट म्युजिकका थुप्रै औषधीय गुणहरु समेत भेटिएका छन् । प्रसिद्ध फ्रेन्च चिकित्सक अल्पे्रmड टोमाटिजले आफ्नो सम्पूर्ण जीवन नै स्वर र म्युजिकले, खासगरी मोजार्ट म्युजिकले मानव शरीरमा के कस्तो असर गर्दछ भन्ने अनुसंधानमा लगाए । आफ्नो ५० वर्षको अध्ययन, अनुसंधानबाट मोजार्ट म्युजिकमा अद्भुत औषधीय गुणहरु भएको तथ्य फेला पारे । उनले मोजार्ट म्युजिकलाई मेडिसिनका रुपमा पनि प्रयोग गरे । उनको म्युजिक मेडिसिनबाट लाखौं रोगीहरुले स्वास्थ्य लाभ पाए । उनी रोगीहरुको माँझ डा. मोजार्टको उपनामले लोकप्रिय भए ।

कस्तो म्युजिक 

म्युजिक धेरै किसिमका हुन्छन् । तर, सबै म्युजिकहरुलाई थेरापीका रुपमा प्रयोग गर्न सकिँदैन । कुन रोग र रोगीलाई कस्तो संगीतलाई थेरापीका रुपमा प्रयोग गर्ने भन्ने कुरा जान्न विशेषज्ञको सल्लाह आवश्यक हुन्छ । रोगीले आफै उचित म्युजिक छनौट गर्न सक्दैनन् । बरु उल्टो रोग बढाउने खालका म्युजिक सुन्न र हेर्न मन पराउँछन । जस्तो कि डिप्रेस्ड व्यक्तिले प्रायः उदास गीत सुन्न र हेर्न चाहन्छन् । प्रेमी वा प्रेमिकाको विछोडको पीडामा परेकाहरुले नारायण गोपालको यो सम्झिने मन छ, म बिर्सु कसरी तथा अंजु पन्तको न पाएँ तिमीलाई न बिर्सें तिमीलाई जस्ता गीतहरु सुन्न र हेर्न चाहन्छन् । तर यस्ता गीतले उसको उदासी झन् बढाउँछन् । त्यसैले यस्ता व्यक्तिलाई मन प्रसन्न बनाउने खालका, उत्प्रेरित गर्ने र उसको नकारात्मक सोचलाई सकारात्मक बनाउने खालका म्युजिकहरु सुन्न र हेर्ने सल्लाह दिनुपर्छ ।   

म्युजिक थेरापी प्रयोग

हिजोआज विकसित मुलुकमा म्युजिक थेरापी माइन्डबडी मेडिसिनको एक प्रमुख टेक्निकका रुपमा उदाएको छ । मनोजन्य रोगहरुदेखि लिएर लर्निगं डिसअर्डर, डिमेंसिया क्यान्सर र पक्षघातले थला परेका रोगीहरुकालागि पनि निकै उपयोगी पनि देखिएको छ । यहाँ उल्लेखनीय कुरा के भने मानिसका लगभग ८० प्रतिशत रोगहरु मनका कारण नै पैदा हुन्छन् । त्यसो त कतिपय शारीरिक रोगहरुको उपचारकालागि पनि म्युजिक थेरापी प्रयोगमा ल्याउन सकिन्छ । साधारणतया म्युजिक थेरापीलाई बिभिन्न रोगहरुमा बैकल्पिक वा पूरक चिकित्साको रुपमा प्रयोगमा ल्याउने गरेको पाइन्छ । साइकोम्युजिकोलोजिस्टले रोगहरुको चिकित्साका लागि मनोवैज्ञानिक टेक्निकहरुका साथै म्युजिकलाई प्रयोग गर्ने गर्छन् । 



नेपालमा म्युजिक थेरापीः

नेपालमा म्युजिक थेरापीको प्रयोग भएको देखिँदैन । त्यसो त विशाल छिमेकी देश भारतमा समेत म्युजिक थेरापीको विकास भएको छैन । तर भारतका कतिपय चिकित्सकहरुले म्युजिक थेरापीलाई प्रयोगमा ल्याउँदै आएका छन् । भारतको चेन्नइ स्थित प्रसिद्ध विश्वविद्यालय, नेश्नल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरो साइन्सेसकी प्राध्यापिका डा. मन्जुला देविले प्रायः रोगीहरुलाई म्युजिक थेरापी प्रेस्क्राब्ड र्गिर्छन् । यसबाट उनले आशातीत सफलता पनि पाइरहेको बताउँछिन् । डा. मन्जुलाको अनुभव छ, सुस्त मनस्थितिका बालबालिकाका लागि म्युजिक थेरापीले अद्भुत फाइदा गर्छ ।

अन्तमा श्रोतालाई मनोरंजन प्रदान गरी व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका यस्ता म्युजिकहरु मेडिसिनको रुपमा उपयोग आउनु निकै खुसीको कुरा हो । तर बिडम्बना के भने २१ औं शताब्दीमा पनि नेपालको मनोचिकित्सा केवल औषधिमा मात्र निर्भर छ । नेपालमा साइकोथेरापीको पनि विकास हुन सकेको छैन । त्यसैले नेपालमा साइकोथेरापीसँग म्युजिक थेरापी तथा सिनेमा थेरापीको विकास हुन जरुरी छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)



Friday, May 1, 2020

ब्रेन बाइट्स 

माइण्ड मालिक, ब्रेन बोस 
ओम बानियाँ

साधारणतया माइण्ड र ब्रेनलाई समानार्थी र पर्यावाचीका रुपमा प्रयोग गरिन्छ । तर माइण्ड (मन) र बे्रन (मस्तिष्क) एउटै कुरा होइन, फरक फरक हुन् । ब्रेन शरीरको एक प्रमुख भौतिक अंग हो भने माइण्ड भौतिक अंग होइन । मन मस्तिष्क जस्तो दृश्य छैन । मन अदृश्य छ । जहाँ ब्रेनको सम्बन्ध भौतिक शरीर (फिजिकल बोडी) सँग छ भने माइण्डको सम्बन्ध शुक्ष्म शरीर (मेन्टल बोडी) सँग छ । वास्तवमा ब्रेन हार्डवेयर हो भने माइण्ड सफ्टवेयर हो । बे्रन शरीररुपी संस्थाको बोस हो भने माइण्ड मालिक । त्यो किनभने ब्रेनले शरीरको नियन्त्रण र नियमन गर्छ भने माइण्डले ब्रेनको । त्यसैले माइण्ड (मन)लाई सर्वशक्तिमान मानिन्छ । 


मनबाट विचारको उत्पत्ति हुन्छ । मनमा विचार, चेतना, ज्ञान, इच्छा आकांक्षा, अनुभव, अनुभूति तथा भावना हुन्छ भने मस्तिष्कले स्नायु प्रणाली मार्फत शरीरका विभिन्न अंगहरुमा सूचना आदनप्रदान गर्दछ । वास्तवमा मन र मस्तिष्कले यसरी नै कार्य गर्छन्, जसरी भौतिक शरीर र मानसिक शरीरले काम गर्छन् । माइण्ड शुक्ष्म शरीरका हेड हो भने ब्रेन स्थुल शरीरको हेड हो ।  

स्टोरहाउस अफ मेमोरी

महात्मा बुद्धले मनलाई स्मृति आलय अर्थात् स्टोरहाउस अफ मेमोरी भनेका छन् । त्यो किनभने अनुभव, आदत तथा संस्कार आदि यही मनमा नै संग्रह हुने गर्छ । वैदिक ऋषिमुनिको भनाइ छ, आत्माको ऊर्जाले मनले कार्य गर्दछ । मनको प्रोग्रामिंग अनुसार मस्तिष्कले र मस्तिष्कको निर्देशन अनुसार शरीरले कार्य गर्छ । मनलाई आत्मा र मस्तिष्क बीचको पुल पनि भन्ने गरिन्छ । सामान्यतया मनका दुई भागहरु हुन्छन् । सचेतन मन तथा अवचेतन मन । 


सचेतन मनः  
सचेतन मन मनको लगभग दसौ हिस्सा हो, जसमा स्वयंको तथा वातावरणको बारेमा जानकारी तथा चेतना रहन्छ । यही मनले नै दैनिक कार्यहरू गर्दछ । मानिसको चेतन मनले दुःख–पीडा आदि शारीरिक संवेदनाहरू ग्रहण गर्छ । यो मन तार्किक हुन्छ र हरेक विषयहरुमा तर्क गर्छ । चेतन मनले कुनै पनि विषयलाई सहजतापुर्वक ग्रहण गर्दैन । जस्तो कि गाईलाई देखाएर यो भैंसी हो भन्ने हो भने तपाईंले होइन, यो भैंसी हो भन्नुहुन्छ । त्यो किनभने गाई र भैंसीको रुपरंग तपाईंको अवचेतन मनमा स्टोर भएको छ । गाई कस्तो हुन्छ, भैंसी कस्तो हुन्छ भन्ने कुरा तपाईलाई थाहा छ ।  चेतन मन नै बुद्धि हो । 

अवचेतन मनः
अवचेतन मन मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन । यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरूमा प्रभाव पार्दछ । यसको बोध व्यक्तिको आउने सपनाहरूसित हुन सक्दछ । यसमा व्यक्तिको मूल प्रवृत्तिसित जोडिएका इच्छाहरू जस्तै भोक, प्यास तथा यौन इच्छाहरू दबिरहेका हुन्छन् । मानिसले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन । यदि यस भागमा दबेका इच्छाहरू प्रकट भएर धेरै लक्षणहरू उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन् । वास्तवमा भन्ने हो भने मानसिक रोगहरुको कारण मस्तिष्क रसायनको असन्तुलन होइन, अवचेतनमा दबेका इच्छा र आकांक्षाहरुको विकृति रुप हो । त्यसैले मानसिक रोगको उपचार मस्तिष्कमा होइन, मनमा खोज्नु आवश्यक छ । 

पुछारमाः
आधुनिक विज्ञान शरीरमुखी भएका कारण ब्रेनको बारेमा अनेकौं वैज्ञानिक अध्ययनहरु भएता पनि माइण्डको बारेमा खासै वैज्ञानिक अध्ययनहरु भएका छैनन् । त्यसो त वैदिक ऋषिमुनिहरुले माइण्डलाई ठूलो महत्व दिएर माइण्डका बारेमा निकै अध्ययन गरेका थिए । त्यसैले माइण्डका बारेमा थुप्रै कुरा जान्न वैदिक शास्त्रहरुको शोधखोज र अध्ययन गर्न आवश्यक छ । (लेखक साइकोथेरापिष्ट हुन् ।)