Tuesday, March 24, 2020

ब्रह्माण्डरुपि शरीरका जीवजन्तु

ब्रह्माण्डरुपि शरीरका जीवजन्तु
 ओम बानियाँ

 वेद भन्छ, यथा पिण्डे तथा ब्रह्माण्डे । अर्थात् ब्रह्माण्डमा जे–जे छ, शरीरमा पनि त्यही–त्यही छ । जसरी शारा ब्रह्माण्ड पाँच महाभूतहरु आकाश, वायु, अग्नि, जल तथा पृथ्वीले बनेको छ त्यसरी नै मानव शरीर पनि पाँच महाभूतहरुले बनेको छ । त्यसैले त वैदिक वैज्ञानिकहरुले मानव शरीर आफै एक शुक्ष्म ब्रह्माण्ड हो भनेका छन् ।
धेरैलाई थाहा नभएको अर्को तथ्य के हो भने जसरी  विशाल ब्रह्माण्ड भित्र अनेक अनेक सृष्टिहरु छन्, त्यसरी नै मानव शरीर भित्र पनि अनेक जीवजन्तुहरुका सृष्टिहरु छन् । मानव शरीरमा बसोबास गर्ने शुक्ष्म जीवजन्तुहरुलाई जीवाणु (माइक्रोब्स) भनिन्छ । अधिकांश यस्ता शुक्ष्म जीवजन्तुहरुलाई शुक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिने भएकाले माइक्रोब्स भनिएको हो ।

शुक्ष्म जीवाणुहरुले शरीररुपी सृष्टि संचालनमा महत्वपूर्ण भुमिका खेल्छन् । यस्ता जीवाणुहरु बिना मानिस बाँच्न सक्दैनन् भने पनि हुन्छ । मानिसको पाचन क्रियालाई स्वस्थ र सुदृढ बनाउनेदेखि लिएर पेट र आन्द्रालाई सफा राख्न, हानीकारक जीवाणुहरुलाई सफाया गर्न, चिनीलाई फ्याट्टी एसिडमा परिवर्तन गर्न, इन्जाइम्स, भिटामिन्स तथा हार्मोन्सलाई संश्लेषण गर्न, शरीरको प्रतिरोधक प्रणाली मजबुत बनाउन, मस्तिष्क रसायनहरुलाई सन्तुलित राख्न र मानिसको मुड, भावना तथा व्यक्तित्व निर्माण गर्न समेत माइक्रोब्स महत्वपूर्ण भूमिका रहन्छ । पुर्खाहरुको स्वास्थ्य, बसोबास गर्ने ठाउँ, रहनसहन, पेशा, व्यक्तिगत सरसफाइ, खानपिन तथा भावना अनुरुप मानिसको शरीरमा माइक्रोब्सको फुट प्रिन्ट विकास हुने गर्छ । मानिसको शरीरमा खरबौं संख्यामा माइक्रोब्स (शुक्ष्म जीवाणु) हुने गर्छन्, जसको वजन लगभग डेढ किलो हुने गर्छ ।

शुक्ष्म जीवाणुहरु अनेक थरिका हुन्छन् । भाइरस, ब्याक्टेरिया, प्रोटोजोआ तथा फंगी आदि सबै शुक्ष्म जीवाणुहरु हुन् । यहाँ उलेख्य कुरा के भने यस्ता जीवाणुहरु पृथ्वीमा जीवन सुरु भएदेखि नै अस्तित्वमा थिए । यी सबै भन्दा सरल र शुक्ष्म प्राणीमा परिस्थिति अनुरुप आफुलाई छाँटकाँट र परिवर्तन गर्न सक्ने अचम्मको क्षमता भएको हुँदा अरु कुनै प्राणीहरू बाँच्न नसक्ने वातावरणमा समेत यिनीहरू जीवित रहन सक्छन् । त्यसैले यस्ता जीवाणुहरु समुद्रको सतहदेखि उम्लेको बाफ र हिमालको जम्ने पानीमा समेत पाइन्छन् ।

सबै शुक्ष्म जीवाणुहरु फाइदाजनक छैनन् । कतिपय शुक्ष्म जीवाणुहरुले शरीरलाई हानीनोक्सानी पुराउँछन् । भाइरस सबैभन्दा साना जीवाणुहरू हुन् । भाइरसका कारण रुघाखोकी, ज्वरो, घाँटी बस्ने आदि जस्ता सामान्य समस्याहरुदेखि पोलियो, इबोला र एड्स जस्ता भयानक रोगहरु समेत लाग्ने गर्दछन् ।  प्रोटोजोआ ब्याक्टेरिया जस्तै एक कोषीय जीवाणु हुन् । तर तिनीहरूको एउटा भन्दा बढी न्युक्लियस हुन सक्दछ । यसमा अमिबा, ट्रिपानोसोम लगायत मलेरिया सार्ने परजीवी पर्छन् । लगभग एक तिहाइ यस्ता जिवाणुहरू परजीवी हुन् र यी लगभग १० हजार किसिमका छन् । तर यी मध्य थोरै किसिमका परजीवीहरूले मात्र मानिसहरूलाई रोग सार्छन् । फंगी पनि रोग सार्ने जीवाणु हो । यी जीवाणुहरूको न्युक्लियस हुन्छ र यी मसिना त्यान्द्राले बुनेको मान्द्रोजस्ता हुन्छन् । फंगीले कुपोषण, क्यान्सर, लागूपदार्थ वा भाइरल इन्फेक्सनका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाइसकेका मानिसहरूलाई मात्र अक्सर आक्रमण गर्ने गर्छ ।

ब्याक्टेरिया एक कोषीय जीवाणुहरू हुन् र अति शुक्ष्म हुनाले यिनीहरूको न्युक्लियस हुदैन र सामान्यतया एउटा मात्र क्रोमोजोम हुन्छ । यस सृष्टिका कुनै पनि जिवजन्तु र बनस्पतीको अस्तित्व ब्याक्टेरिया बिना सम्भव छैन । मृत जीवहरुको शरीरलाई कुहाउने कार्य पनि ब्याक्टेरियाले नै गर्दछ । ब्याक्टेरियाले मृत जीवको शरीरलाई कुहाउने क्रममा जटिल यौगिकहरुलाई साधारण यौगिकमा रुपान्तारण गर्दछ, जसलाई वनस्पतिले सोसेर लिन्छन् र विकसित हुन्छन् । तिनै वनस्पतीहरुमा नै सम्पूर्ण जनावरहरु प्रत्यक्षपरोक्ष रुपमा आश्रित रहँछन् ।
मानव शरीरमा खरबौं ब्याक्टेरियाहरू हुन्छन् । अधिकांश ब्याक्टेरियाको बास स्थान भनेको पाचन नली हो । ठुलो आन्द्राको एक थोपा फ्लुडमा मात्रै करिब १० लाख ब्याक्टेरिया हुने गर्छन् ।  पाचन नलीका ब्याक्टेरियाहरूले खाना पचाउन मदत गर्छन् । यत्ति मात्र होइन यी जीवाणुहरू रगत जम्नको लागि आवश्यक भिटामिन के का आधारभूत स्रोत पनि हुन् ।  सबै ब्याक्टेरियाहरु शरीर र स्वास्थ्यका लागि हितकर छैनन् । ४६ सय जातका ब्याक्टेरियाहरु मध्य ३ सय जातका ब्याक्टेरियाहरु प्योथोजेन (रोग ल्याउने) मानिन्छन् । यस्ता ब्याक्टेरियाका कारण मानिसहरूमा टाइफाइड, क्षयरोग, भ्यागुते रोग, एन्थ्राक्स, दाँत कीराले खानु, निमोनिया तथा यौनजन्य रोगहरूको प्रकोप देखा पर्छ । केही ब्याक्टेरियाहरुले शरीरको विभिन्न भित्री र बाहिरी अङहरुमा संक्रमण गरी शरीरको नास गर्दछन् र क्रमिक रुपमा फैलिएमा रोग जीर्ण हुन गइ बिरामीको मृत्यु समेत हुने गर्दछ । उदाहरणको लागी टाइफाइड रोग साल्मोनेला टाइफी नामक ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ र समयमै उपचार नभएको खण्डमा यो रोगले बिकराल रुप पनि लिन सक्दछ ।

सबै भन्दा बढी संख्यामा ब्याक्टेरिया मानिसको पेट (गट) मा पाइने गर्छन् । तर, यदि पेटमा पर्याप्त मात्रामा राम्रो ब्याक्टेरिया छैनन भने अनेक रोगहरु लाग्ने मात्र होइन, जतिसुकै स्वास्थ्यवद्र्धक, पौष्टिक खाद्यपदार्थहरु खाएपनि त्यसबाट जति फाइदा प्राप्त हुनु पर्ने हो, त्यो हुँदैन, रोगोपचारका लागि खाएको औषधिले समेत ठीकसँग काम गर्न सक्दैन । त्यसैले ब्रह्माण्डरुपी शरीरलाई स्वस्थ, निरोग र मजबुत राख्न सबै भन्दा पहिला पाचन प्रणाली स्वस्थ राख्न आवश्यक छ । त्यो किनभने अधिकांश रोगहरुको उद्गम स्थल भनेको नै पेट हो । पर्याप्त मात्रामा असल ब्याक्टेरियाको समुदाय (माइक्रोबायोटा) बिना पेट स्वस्थ रहन सक्दैन ।

हिजोआज गलत खानपान, अप्राकृतिक जीवनशैली तथा एन्टिबायोटिकको बढ्दो प्रयोगका कारण मानिसको शरीरमा माइक्रोबायोटा असन्तुलन भएको छ, एकातिर असल ब्याक्टेरियाहरुको संख्या कम हुदै गएको छ भने खराब ब्याक्टेरियाहरु झन झन मजबुत र सशक्त हुदै गएका छन् । साधारण शब्दमा एन्टिबायोटिक भन्नाले ब्याक्टेरिया विरुद्ध लड्ने औषधीलाई बुझाउँछ । एन्टिमाइक्रोबियल अझ सामान्य पदावली हो र यसले भाइरस, ब्याक्टेरिया, फंगी तथा साना परजीवी आदि, सबै प्रकारका सूक्ष्मजीवहरु विरुद्ध लड्ने औषधीलाई बुझाउँछ । तर दुःखको कुरा के भने एन्टिमाइक्रोबियलले असल माइक्रोब्सलाई समेत हानी नोक्सानी गर्न सक्दछ । त्यसैले एन्टिबायोटिकमा भरपर्दा र त्यसको अचाक्ली प्रयोग गर्दा अहिले भयावह परिणामहरू निस्केका छन् । संक्रामक रोगहरू समेत हराएका छैनन् । तीव्र गतिमा पुनः देखा परिरहेका छन् । ब्याक्टेरिया मात्र होइनन्, भाइरस लगायत फंगी तथा अन्य ससाना परजीवीहरू अचम्मै लाग्दो ढंगमा वातावरणमा घुलमिल भएका छन् । प्रतिरोधी भएका छन् । जसले मानव स्वास्थ्यमा थप संकट पारेको छ ।

अतः रोग प्रतिरोधक क्षमता बढाउन, मोटोपना, थाइरोइड, मधुमेह, आमवात तथा क्यान्सर आदि जस्ता रोगहरुबाट बच्नका लागि शरीरमा माइक्रोबायोटा सन्तुलन आवश्यक छ । पेटमा माइक्रोबायोटाको सन्तुलन कायम राख्नका लागि मानव मल प्रत्यारोपण चिकित्सा (एफ.एम.टी) अहिले चर्चामा छ । मानव मल प्रत्यारोपण उपचार चिकित्साविज्ञानको क्षेत्रमा एकदम नयाँ हो । झट्ट हेर्दा यस चिकित्सा सरल देखिएता पनि यसका कठिनाइहरु पनि प्रशस्त छन् । त्यो किनभने मानिसको पाचन अंगहरूमा पाइने जिवाणुहरूको समुदाय (माइक्रोबायोटा) व्यक्ति पिच्छे फरक फरक हुन्छ । कुनै दुईजना मानिसहरुमा जिवाणुहरूको समुदाय समान हुदैनन् । जिवाणुहरूको समुदाय समान भएनन् भने मल प्रत्यारोपण गर्न सकिंदैन । तर खुसीको कुरा के भने मल प्रत्यारोपण बिना, प्राकृतिक रुपमा नै पेटमा माइक्रोबायोटाको सन्तुलन कायम गर्न सकिन्छ । प्रिबायोटिक खाद्यपदार्थको सेवन नै असल जिवाणुहरूको संख्या बढाउने तथा खराब जिवाणुहरूको संख्या घटाउने सर्वोत्तम उपाय हो । फाइबर नै प्रिबायोटिक हो भने रिफाइण्ड फुड्स भनेको फाइबर नभएको फुड्स हो । त्यसैले प्राकृतिक जीवनशैली अपनाऔं, फाइबरयुक्त खाद्यपदार्थ खाआंै, रिफाइण्ड फुड्स तथा जंक फुड्सको सवेन बन्द गरौं र स्वस्थ जीवन बाचौं । (लेखक मनोविद् हुन् ।)


No comments:

Post a Comment