Saturday, October 24, 2020

 ब्रेन बाइट्स


यसपाली घरमै दसैं टीका

कृपया यो वर्ष दसैं टीका थाप्न मेरो घर नआउनु होला, म पनि अन्त कतै जादिनँ ।

ओम बानियाँ

दशैं नेपालीहरुको महान चाड हो । यस चाडलाई बडा दशैं, दशहरा, विजया दशमी तथा नवरात्र पनि भनिन्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र दसैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्री र दशौं दिनलाई दशमी वा दशैं भनिन्छ्र । यो तिथिमा दुर्गाले महिषासुर नामक दैत्यलाई तथा रामले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।


प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) बडादशैंका प्रमुख तिथिहरू हुन् । नेपाली समाजमा यि मध्य सबै भन्दा महत्वपर्ण दिन हो, विजया दशमी अर्थात दसैं टीका । 

नवरात्रीको दशौ दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ । यो दशैंको प्रमुख दिन हो । यस दिनमा रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबै भन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि  मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ । त्यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई  घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । त्यसपछि घरका मुलीले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अविर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद  दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान्छन् । यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो  भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन । 

 हुन पनि हो, बडादसैंको औसरमा गरिने हरेक कार्यक्रमहरु जस्तैः जमरा राख्नु, दुर्गा पुजा गर्नु, वलि दिनु, टीका तथा आर्शिवाद लिनुको ठुलो वैज्ञानिक तथा मनोवैज्ञानिक महत्व छ ।

जमरा औषधी पनि हो । जमराको रसलाई त प्राकृतिक चिकित्सामा ग्रीन ब्लड (हरियो रगत) भनिन्छ । मनोवैज्ञानिकरुपमा पुजाप्रार्थनाको उद्देश्य आफुले आफैंलाई सम्मोहित गरी निराशमय मनमा आशा छर्नु हो, अध्यारोबाट उज्यालोबाटोतिर अगाडि बढ्नु हो । क्रोधकी प्रतिक कालीलाई वली दिनुको अर्थ आफुभित्र भएको क्रोधरुपि राक्षसलाई हटाउनु हो । ठुलाबडा तथा मान्यजनबाट निधारमा टीका लगाउनु तथा आर्शिवाद दिनुको मनोवैज्ञानिक अर्थ भनेको मानसिक शक्ति तथा आत्मविश्वास बढाउनु हो । 
बडादशैंमा  आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा  टिका थापिन्छ ।  यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ ।  यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ ।  टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन, भनिन्छ । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि बडादशैं चाडको अन्त्य हुन्छ ।

तर कोरोनाको महामारीका कारण यसपालीको दसैं सावधानीपूर्वक घरमै मात्र सीमित गर्नु सबैको कर्तब्य हो ।  कृपया यो वर्ष दसैं टीका थाप्न मेरो घर नआउनु होला, म पनि अन्त कतै जादिनँ ।