Friday, January 24, 2020

ब्रेन बाइट्स


सधैं तन्नेरी
ओम बानियाँ 

हेल्थ फस्र्टले जेष्ठ नागरिकहरुका लागि हेल्थ शिविर आयोजना गरेको थियो । हेल्थ शिविरको प्रमुख आर्कषण डा. कोर्टेक्स थिए । त्यसैले पनि शिविरमा जेष्ठ नागरिकहरुको खचाखच भीड थियो । सहभागी सबै चर्चित चिकित्सक डा. कोर्टेक्सलाई सुन्न आत्तुर थिए । उद्घोषकको आमन्त्रणसँगै डा. कोर्टेक्स मंचमा पुगे । सहभागीहरु उठेर उनको स्वागत गरे । डा. कोर्टेक्सले नमस्कार गर्दै भने, ‘सबै आमाबुबाहरुमा मेरो नमस्कार ।’ सहभागीहरुले पनि हात जोड्दै नमस्कार फर्काए र आआफ्नो ठाउँमा बसे । डा. कोर्टेक्स मुसुक्क हाँस्दै बोले, शुरु के बाट गरुँ ? जोकबाट गर्छु है ?’ सबैका कान ठाडा भए । एकादेशमा एउटा टोल थियो । त्यस टोलमा एकल बृद्ध पुरुष र एकल बृद्धा महिला पनि बस्थे । एक दिन एक विवाह भोजमा दुवै जना एउटै टेबुलमा आमुन्ने सामुन्ने परे । धेरै पटक दुबैका आँखा जुधे । बृद्धले साहस गरे र सोधे, के तिमीले मसँग विहे गर्छयौे ? वृद्धाले मुसुक्कै हाँस्दै भनिन्, गर्छु, पक्का गर्छु । पार्टी सकियो । दुबै जना आआफ्नो घर गए । घरमा पुगेपछि बृद्ध कन्फियुज भए, होइन उनले मसँग विवाह गर्छु भनिन् कि गर्दिन भनिन् ? मैले त बिर्सें । बृद्धलाई रातभरि निद्रा लागेन । बिहान हुने बित्तिकै उनी सरासर बृद्धाको घर गए । र, बृद्धालाई सोधे, हिजो मैले तिमीसँग विवाहको प्रस्ताव राख्दा तिमीले हुन्छ भनेकी थियौ कि हुन्न ? मैले त भुसुक्कै बिर्सिए छु । बृद्धाले टाउको कनाउँदै भनिन्, हुन्छ त भनेकी हँु, तर तिमीलाई भनेकी अरु कसैलाई भने मैले पनि बिर्सें ?’ 

-------------------------
सबै मरिमरि हाँस्न थाले । डा. कोर्टेक्स मन खोलेर हाँसेका जेष्ठ नागरिकहरु देखेर आनन्दविभोर भए र मुसुमुसु हाँस्दै बोले, ‘हाँस्न स्वास्थ्यका लागि निकै फाइदाजनक छ । जो मानिस हाँस्न र रुन सक्दैन ऊ विमार हुन्छ । त्यसैले मन खोलेर मजाले हाँस्ने गर्नुहोस् । पीर परे भित्री देखि रुनुहोस् । मन हल्का हुन्छ । शरीर स्वस्थ हुन्छ ।’ डा. कोर्टेक्सले चस्मा मिलाउँदै भने, ‘हो, मानिस जन्मिन्छ । जवान हुन्छ । बुढो हुन्छ । अनि मर्छ । यो प्राकृतिकको नियम हो । तर पनि मानिस सधैं जवान रहन चाहन्छन्, बुढो हुन चाहँदैनन् । ५०, ६० काटेर मानिसलाई बुढौलीले छुनु प्राकृतिको एक सामान्य प्रक्रिया भएता पनि कतिपय मानिस जवानीमा नै बुढो देखिन्छन् भने कतिपय ६० नागेर पनि जवान । यसको एक प्रमुख कारण हो, फ्रि रेडिकल्स । फ्रि रेडिकल्सका कारण थकान, सिरदर्द, सम्झना शक्तिको कमी, जोर्नी तथा मांशपेशीको दर्द, त्वचाको चाउरीपना, कपाल फुल्ने, नेत्रज्योतिको कमजोरी तथा रोगप्रतिरोधक क्षमताको कमी आदि जस्ता समस्याहरु पैदा हुन सक्दछ । मानिस जवानीमै बुढो देखिन थाल्दछ । त्यसैले आफ्नो स्वास्थ्य ठीक राख्न र असमयमा बुढौलीपना रोक्न फ्रि रेडिकल्सको कुप्रभावलाई रोक्नु पर्छ । हुनत् फ्रि रेडिकल्स र अक्सिडेसन स्टे«सबाट पर्णरुपमा मुक्त हुन सम्भव छैन । तर यसको प्रभावलाई कम गर्न भने सकिन्छ । एन्टी अक्सिडेन्टस्ले फ्रि रेडिकल्सको प्रभावबाट कोशहरुलाई बचाउने कार्य गर्छ । त्यसैले स्वास्थ्य रहन एन्टी अक्सिडेन्टयुक्त आहार सेवन गर्न जरुरी हुन्छ ।’ 
 --------------------
डा. कोर्टेक्स अगाडि बोले, ‘एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्सलाई नष्ट गर्ने कार्य गर्छ । एन्टी अक्सिडेन्टले आफ्नो इलोक्ट्रोन दिएर छिनाछपटी बन्द गराउँछ । एन्टी अक्सिडेन्टको प्रमुख विशेषता के छ भने यसले आफ्नो इलोक्ट्रोन दिएर पनि शान्त रहन्छ, फ्रि रेडिकल्समा परिवर्तन हुदैन । वास्तवमा एन्टी अक्सिडेन्टले फ्रि रेडिकल्सको सफाइ गर्ने कार्य गर्छ । एंटी–अक्सिडेंटले फ्री रेडिकलको हानीकारक प्रभावलाई खत्म गरेर शरीरलाई सुरक्षा प्रदान गर्दछ, बुढयौलीलाई रोक्दछ । त्यसैले त यसलाई यौवनको झरनाको उपमा दिइएको हो । हाम्रो शरीरमा प्राकृतिक रूपमा नै एंटी अक्सिडेंट उपस्थिति हुने भएता पनि भोजनद्वारा पनि यो प्राप्त हुने गर्दछ । । केरोटिन, भिटामिन सी, भिटामिन ई तथा सिलेनियम, यी चार पदार्थहरू नै एंटी–अक्सिडेंट हुन् ।

भिटामिन ईः
भिटामिन ई सोल्युबल एंटी अक्सिडेंट हो । यो फ्रि रेडिकल्सको चेन प्रक्रियालाई तोड्ने सर्वाधिक शक्तिशली एन्टी अक्सिडेंट हो । मुटुको धमनीमा कोलेस्ट्रोल जम्ने एक कारण फ्रि रेडिकल पनि हो । भिटामिन ईले यसलाई रोक्ने कार्य गर्छ । धमनीमा कोलेस्ट्रोल जम्नबाट बचाउँछ । बदाम, मंगफुली, सूर्यमुखीको बिज, जैतुन, पालक, ब्रोकली, मेवा, चुकंदर, शलगम, किवी तथा अंकुरित अन्न आदिमा पर्याप्त भिटामिन ई पाइन्छ ।
भिटामिन सिः 
 भिटानिम सि पानीमा घुलनशील एन्टीअक्सिडेंट हो । यसले विशेष गरेर प्रदूषण तथा धूमपानको धुँवाबाट उत्पन्न हुने फ्रि रेडिकल्सलाई खत्म पार्ने कार्य गर्छ । यसले भिटामिन ईलाई पुनः शक्ति दिने कार्य पनि गर्छ । जसले गर्दा क्यान्सर हुने सम्भावना कम हुन्छ । अमला, बेलाउती, मेवा, सुन्ततला, टमाटर, कागती, लहसुन आदि भिटामिन सिको स्रोतहरु हुन् ।’ 
पालुंगो पावरःडा. कोर्टेक्सले पानी पिउदै भने, ‘पालुंगोको बारेमा कति थाहा छ ? पालुंगो सुपरफुड हो । बुद्धिलाई तीब्र पार्ने तथा शरीरलाई तन्दुरुस्त राख्ने खाद्यन्नको रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो । त्यो किनभने स्वस्थ शरीरको लागि यो भन्दा उपयुक्त अर्को हरियो सागतपात छैन । पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ, सलादको रूपमा प्रयोग गर्न सकिन्छ, तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ, सुप बनाएर पनि पिउन सकिन्छ । कतिपय मानिसलाई पालुंगो त्यति स्वादिलो नलाग्न सक्दछ, तर यसको सेवनले मनलाई फ्रेस बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ । यो एउटा महत्वपूर्ण ब्रेन टनिक हो भन्ने कुरा पोषणविज्ञहरूले हालसालै प्रमाणित गरिदिएका छन् । त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ ।’
बुढयौली रोक्ने अन्नः
डा. कोर्टेक्स केही अगाडि बढेर बोले, ‘मानिसको शरीरका लागि अंकुरित अन्न त अमृत भोजन नै हो । शरीरशास्त्री भन्दछन् कि जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीक–ठीक रूपमा भैंरहन्छ, तबसम्म बुढ्यौली आउँदैन, शरीर युवा र मजबुत बनिरहन्छ । तर जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्न–वाधा पर्दछ, तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति ढिलो तथा मन्द हुन पुग्दछ, तब शरीर बूढो तथा कमजोर हुन थाल्दछ । तर यदि भिटामिन ई, भिटामिन सी तथा कोलीन, यी तीन भिटामिनहरू पर्याप्त मात्रामा प्रतिदिन भोजनको माध्यमवाट शरीरलाई उपलब्ध हुन्छन् भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट चल्दछ । जबसम्म यो प्रक्रिया ठीक–ठीक चल्दछ, तबसम्म बुढयौली आउँदैन । हो, प्रकृतिको नियम अनुसार बूढोपना निश्चित छ । त्यसैले बुढयौली आउँछ, तर यी भिटामिनहरू सवेन गर्ने हो भने ढिलो आउँछ । जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवान जस्तो लाग्दछ ।’

अमृत फल अमलाः 
डा. कोर्टेक्सले अमला देखाउँदै भने, यो फल चिन्नुहुन्छ ? यो अमला हो । यो समान्य फल होइन, एंटी–अक्सिडेंटको एक बेजोड स्रोत हो । वास्तवमा अमला एक सर्वोत्तम फल हो, प्रकृतिको वरदान हो । अमला भिटामिन सीको अनन्त भण्डार हो । एक दाना अमलामा १६ वटा केरा वा ३ दाना सुन्तलामा जति भिटामिन सी माइन्छ । यो दिव्य अमृत फलले हाड, दाँत र गिंजालाई मजबुत बनाउँछ, अनुहारको कान्ति बढाउँछ, कपाललाई पाक्न दिँदैन, नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ, मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउँछ, बुद्धिलाई तीब्र बनाउँछ तथा शरीरमा बल–वीर्यको बृद्धि गराउँछ । यसले हाई ब्लड–प्रेशर, हृदय रोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, कब्जियत, स्नायु रोग, चर्म रोग, आँखाको रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जण्डिस, टी.बी., पिसाब तथा हड्डीका रोगहरूलाई ठीक पार्न सहयोग गर्दछ । अमलाले आँखा, मस्तिष्क तथा कपाललाई निकै फाइदा गर्दछ । यसलाई रसायनको रूपमा पनि प्रयोग गरिन्छ ।’
-------------------
‘अमला त्रिदोषनाशक फल हो । अमलामा पाइने एंटी–अक्सिडेन्ट इन्जाइमले बुढोपनालाई रोक्दछ । अमलामा जति रोग–प्रतिरोधक, रक्त–शोधक तथा बल–वीर्यबद्र्धक तत्वहरू पाइन्छ, त्यति संसारको कुनै पदार्थ तथा औषधिमा पाइँदैन । वास्तवमा अमला सम्पूर्ण शरीरको कल्प (बोडी रिभाइभ) गर्ने यौवनको झरना हो । नियम अनुसार अमलाको सेवन गर्ने हो भने यसले कायाकल्प गर्दछ । पाको उमेरसम्म पनि यौवनलाई कायम राख्दछ । वास्तवमा अमला आई टनिक हो, ब्रेन टनिक हो, हर्ट टनिक हो, हेयर टनिक हो । त्यसैले स्वास्थ्यलाई ठीक राख्न कुनै न कुनै रूपमा प्रतिदिन १–२ वटा अमला सेवन गर्नु पर्दछ ।’ डा. कोर्टेक्सले अमला खाँदै भने, अमलालाई अनेकौं तरिकाले सेवन तथा प्रयोग गर्न सकिन्छ । जस्तैः चूर्णको रूपमा, काटेर सलादको रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ । तर बिहानको नास्तामा २–४ वटा अमलाको मुरब्बा(जाम) सेवन गर्नु तथा राती सुत्ने बेलामा एक चम्चा अमलाको चूर्णमा दुई चम्चा मह मिलाएर एक गिलास दूधसँग सेवन गर्नु सर्वोत्तम हुन्छ । यसरी बाल्यकालदेखि नै कुनै न कुनै रूपमा यो सर्वशुलम अमृत फलको सेवन गर्ने हो शारीरिक तथा मानसिक, दुवै यौवन पाको उमेरसम्म पनि हृष्टपुष्ट रहन्छ ।’ 
--------------------
डा. कोर्टेक्सले पानी पिउँदै भने, आहा ! मुख नै गुलियो भयो ।’ टेबुलमा गिलास राख्दै भने, ‘एंटी अक्सिडेंटस् यस्ता तत्वहरू हुन्, जसले शरीरलाई सधैं हृष्टपुष्ट तथा युवा राख्नमा सहयोग गर्दछन् । एंटी अक्सिडेंटको यही गुणले गर्दा नै पोषणविद्हरूले एंटी अक्सिडेंटलाई यौवनको झरनाको उपमा दिने गर्छन् । त्यसैले आफ्नो स्वस्थ रहन, बुढौली रोकी यौवनलाई बरकरार राख्नको लागि भोजनमा प्रशस्त मात्रामा एंटी अक्सिडेंट्स सेवन गर्नुपर्दछ । गाजर, पालुंगो, आ“प, अमला, सुन्तला, मेवा, दूध, मक्खन, टमाटर, लहसुन, प्याज, का“क्रो, बदाम, ओख्खर, बन्दगोपी, सोयाबिन, रातो, पहे“लो, सुन्तला रंगका फलफूल  तथा सागपातहरूमा बढी एंटी अक्सिडेंट पाइने गर्दछ । त्यसैले यस्ता खानेकराहरु सेवन गर्ने तथा नियमितरुपमा व्यायाम तथा योगासन आदि गर्ने हो भने बुढेसकालसम्म पनि शरीरलाई जवान तथा स्वस्थ राख्न सकिन्छ । ल त आजलाई यत्ति नै । सहभागी सबैलाई हार्दिक धन्यवाद ।’ सभाहल फेरि तालीको गडगडहाटले गुन्जियो । डा. कोर्टेक्स हात हल्लाउँदै मंचबाट बाहिरिए । (लेखक मनोविद तथा साइकोथेरापिष्ट हुन् ।)

Wednesday, January 22, 2020

अ ब्युटिफुल ब्रेन


 अ ब्युटिफुल ब्रेन 

ओम बानियाँ
सन्त ऋतुको मौसम थियो बिहानी समय । सभागृहमा लगभग ५ सय मानिस एकदम कोचाकोच भएर बसेका थिए । मञ्चको भित्तामा ठूलो बैनर टाँगिएको थियो । त्यो बैनर माथिपट्टि एउटा लेखोट थियो, त्यहां लेखिएको थियो, 'वान डे मेमोरी वर्कसप' बाइ डा. कोर्टेक्स । सभागृहमा सुमधुर संगीत बजिरहेको थियो । सभागृहको भित्तामा झुन्ड्याइएको लठ्ठे भित्ते घडीले ‘टङ’ बिहानको ८ बजेको संकेत ग¥यो । मञ्चको दायाँपट्टिको कलात्मक ढोका खुल्यो । ढोकामा सेतो रङको सर्ट र निलो पाइन्टमा डा. कोर्टेक्स देखा परे र स्मार्ट हिडाइमा मञ्चतिर अगाडि बढे । र, मधुर मुस्कानसाथ सम्बोधन गर्दै भने, ‘गुड मर्निङ लेडिज एन्ड जेन्टलम्यान ! म सर्वप्रथम यो एकदिने मेमोरी वर्कसपमा पाल्नु भएका सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ डा. कोर्टेक्सको कण्ठबाट निस्केको कोइलीजस्तो मीठो र सुरिलो आवाज कानमा ठोकिनासाथ हरेक सहभागीका हत्केला स्वःस्पूmर्त रूपमा ठोकिए । सभागृह तालीले गुन्जायमान भयो ।---




 --------------------------
‘कार्यक्रम शुभारम्भ म एक प्रश्नबाट गर्न चाहन्छु,’ डा. कोर्टेक्स केही अगाडि बढेर भने, ‘तपाईमध्ये कसैले अंग्रेजी वर्णमालाको ‘ए’ अक्षर नभएका २० वटा अंग्रेजी शब्द ५ सेकेन्डभित्र बताउन सक्नुहुन्छ ?’ धेरैले जवाफ दिने प्रयास गरे । तर, अधिकांशले पाँचवटा भन्दा बढी शब्द भन्न सकेनन् । अनि डा. कोर्टेक्सले मञ्चमा आसीन एक फुच्ची बालिकातर्फ हेर्दै बोले, ‘स्मृति के तपाईं भन्न सक्नुहुन्छ ?’ स्मृति उठिन्।
‘प्रयास गर्छु सर ।’ ‘ल अब तिम्रो समय सुरु भयो ।’ स्मृतिले फर्र भनिन्, ‘वान, टु थ्री, फोर, फाइभ, सिक्स…ट्वान्टी,’ सहभागी जिल्ल परे । एक जना भद्रपुरुष उठेर भने, ‘यो तपाईहरूको मिलीभगत पनि त हुन सक्छ नि डा. साब ?’ ‘प्रोफेसर महेन्द्र थापाजी, यो हाम्रो मिलीभगत होइन, साँचो कुरा हो । ‘डा. कोर्टेक्सले प्रोफेसरलाई सम्झाउन खोजे । डा. कोर्टेक्सले आफ्नो नाम सम्बोधन गरेको सुनेपछि प्रोफेसर तीन छक पर्दै भने, ‘मेरो नाम तपाईंलाई कसरी थाहा भयो ? ‘डा. कोर्टेक्स मन्द मुस्कान छर्दै बोले, ‘म यस कार्यक्रमका लागि सभागृहमा पस्नु पूर्व सहभागीको नाम, ठेगाना तथा फोटो सरर्र हरेकी थिऍ , त्यसैबाट थाहा भयो ।’ ‘मलाई त झन् शंका पो लाग्यो ? ‘अगाडि बसेका युवक उठे, ‘उसो भए मेरो नाम बताउन सक्नुहुन्छ ?’ ‘तपार्इंको नाम सुधीर, ठेगाना माइतीघर । ‘सुधीरले थपडी मार्दै डा. कोर्टेक्सको प्रशंसा गरे । मेरो नाम बन्दना हो, मैले रजिस्टरमा आफ्नो फोन नम्बर पनि लेखेकी छु, कृपया मेरो फोन नम्बर बताउन सक्नुहुन्छ ?’ डा. कोर्टेक्स मुसुक्क हांस्दै बोले, ‘तपार्इंको फोन नम्बर हो, ९८४७०७८०७७ ।’ बन्दनाले हाँस्दै भनिन्, ‘एकदम सही छ ।’
-----------------------
डा. कोर्टेक्सले बन्दनालाई सोधे, ‘बन्दना ! म तपाईंलाई एक प्रश्न सोध्छु । जवाफ दिन तयार हुनुहुन्छ ?’ ‘प्रयास गर्छु,’ खाली कागज दिदै, ‘यो कागजमा आफ्ना खुसी ५० वटा अंक लेख्नुहोस् ।’ डेस्कमा राखेको पानी पिउदै डा. कोर्टेक्स बोले, ‘लेख्नुभयो ?’ ‘अ“, लेखें ।’ ‘अब तपाईंले यी अंक जोडले पढ्नुहोस्, अनि सबैले ध्यान दिएर सुन्नुहोस् । ‘७०५७६१२४४९८५६७२३१०९८५६४३८९७९०६४५४१५५७७३४८९०३१५७५५९’ बन्दनाले अंक पढिन् । डा. कोर्टेक्स बोेले, ‘अब यी अंकहरू नहेरकन भन्न सक्नुहुन्छ ?’ ‘७ ९..(हाँस्दै) अँह सक्दिनं ।’
डा. कोर्टेक्स केही अघि बढेर दर्शकलाई इंगित गर्दै भने, ‘अघि भर्खरै बन्दनाले पढेका अंक यहाँ उपस्थित तपाईंंमध्ये कसैले भन्न सक्नुहुन्छ ?’ सबै चुप । ‘उसो भए बन्दनाले भनेका अंक कसैले पनि याद सक्नु भएन ?’ पुनः मञ्चमा बसेकी स्मृतिलाई हेर्दै डा. कोर्टेक्स बोले, ‘स्मृति १ तपार्इंले भन्न सक्नुहुन्छ ?’ स्मृति उठिन् :‘प्रयास गर्छु सर, ७०५७६१२४४……………५५९ । ‘७–८ वर्षकी नानीले एकपटक सुनेको भरमा ५० वटा अंक जस्ताको त्यस्तै भनेको देखेर सबै आश्चर्यचकित भए । सबै उठेर ताली बजाए ।
डा. कोर्टेक्सले गर्वसाथ भने, ‘यो हो, ट्रेन्ड मेमोरी । यो कुनै चमत्कार होइन, मेमोरी टेक्निक सिकेर स्मृतिले यो कमाल देखाएकी हुन् । स्मृतिले मात्र होइन यस मञ्चमा आसीन उहाँ बुढाबा र आमाले पनि यसरी नै आफ्नो ‘मेमोरी प्रदर्शन’ गर्न सक्नुहुन्छ । स्मृतिको आडमा बस्ने निलो टिसर्ट लगाउने शिशिर भाइले त एकपटक सुनेको भरमा सयौं अंक तथा शब्द भन्न सक्नुहुन्छ ।’
--------------------
डा. कोर्टेक्स बोले, ‘बन्दना बैनी, तपाईंलाई धन्यवाद ! स्मृतिलाई पनि धेरैधेरै धन्यवाद !
‘बन्दना आफू बसेको ठाऊँतिर गइन् । स्मृतिले डा. कोर्टेक्सतिर हेर्दै भनिन्, ‘सर, आज्ञा भएमा म यस मञ्चबाट केही कुरा भन्न चाहन्छु,’ ‘जरुर, तपार्इं आफ्नो कुरा राख्न सक्नुहुन्छ,’ डा. कोर्टेक्सले स्मृतिलाई माइक दिए । स्मृति लामो सास लि“दै बोलिन्, ‘म अहिले ५ कक्षामा पढ्छु । तर, ४ कक्षामा पढ्दासम्म म गणितमा निकै कमजोर थिएं  । गणित हेर्न पनि मन पर्दैन्थ्यो । म सधैं गणितमा फेल हुन्थें, तीन कक्षामा मेरो गणितमा केवल १० अंक आएको थियो । त्यसैले मलाई साथीहरूले आलु, गोबरगणेश भनेर जिस्काउ“थे । बाबाले जति अनुरोध गर्दा पनि स्कुलले मलाई प्रोमोट गर्न मानेको थिएन । तर, भाग्यवश बाबाको साथीबाट डा. कोर्टेक्स सरका बारेमा थाहा भयो, अनि बाबाले मलाई मेमोरी क्लिनिकमा लिएर जानुभयो । न्युरोमनोवैज्ञानिक परीक्षणपछि म म्याथम्याटिकल डिसअर्डरबाट ग्रस्त भएको थाहा भयो । अनि मैले डा. कोर्टेक्स सरको प्रत्यक्ष रेखदेखमा मेमोरी टेक्निक सिकें, मेन्टल म्याथ सिकें । यसले मेरो मेमोरी मात्र बढेन कि गणितमा समेत निकै रुचि बढ्यो । ४ कक्षामा मैले गाणितमा १०० अंक ल्याउन सफल भए“ । अहिले त मेरो पढाइलेखाइमा निकै रुचि बढेको छ । मैले त आफ्नो जीवनको ‘स्पष्ट लक्ष्य’ बनाइकी छु । म एक प्रसिद्ध गणितज्ञ बनेर देशको सेवा गर्न चाहन्छु । धन्यवाद !' चारैतिरबाट तालीको गडगडाहटले सभागृह गुन्जियो ।
--------------------
खुसीले गदगद डा. कोर्टेक्स अगाडि बोले, ‘स्मृति !आई एम भेरी प्राउड अफ यु ।’ स्मृति मुसुक्क हाँस्दै आफ्नो ठाउंमा गएर बसिन् । डा. कोर्टेक्सले क्लास अगाडि बढाउंदै भने, ‘मेमोरी टेक्निकको मुख्य आधार भनेको साहचर्य (एसोसिएसन) हो । हरेक मानिसले साहचर्यवाट नै हरेक नया“ कुरा सिक्ने तथा याद राख्ने गर्छन् । जस्तो कि हामीले कुनै पनि भाषा पढ्न र लेख्नका लागि सबैभन्दा पहिला वर्णमाला सिक्छौं । अनि शब्द र वाक्य होइन त ? मानांै, अञ्जु र मञ्जु मिल्ने साथी हुन् । अञ्जुसंग भेट भयो भने मञ्जु पनि स्मृतिमा प्रकट हुन सक्छिन् । एकैछिन पानी शब्द सम्झिनुहोस् त ! पानीसंगै नदी याद आउन सक्छ । अनि नदीका माछा याद आउन सक्छन् । माछा खाएको याद आउन सक्छ । नदी नजिकैका रूखबिरुवा याद आउन सक्छन् । रूखमा बसेको चरा याद आउन सक्छ । पानीसंगै समुद्र याद आउन सक्छ । पानी जहाज याद आउन सक्छ । र, कुनै बेला तपार्इंले पानी जहाजमा यात्रा गरेको याद हुन सक्दछ । त्यस्तै गरी पानीस“गै वर्षा याद आउन सक्छ । वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउन सक्छ । वर्षाले बिजुली याद हुन सक्छ । बिजुलीस“गै घरको बल्ब याद आउन सक्छ । यसरी नै अनुभव स्मृतिमा प्रकट हुने गर्छन् । अतः मानिसको मेमारीले यसरी साहचर्यबाट कार्य गर्छ ।’
--------------------
डा. कोर्टेक्स केही अगाडि बढेर बोले, ‘औसत रूपमा मानिसको मस्तिष्क शक्ति उस्तैउस्तै हुन्छ । मस्तिष्कको मेमोरी स्टोर गर्ने क्षमता पनि लगभग समान नै हुन्छ । यदि कुनै पनि सूचना मानिसको दीर्घकालीन मेमोरी स्टोरमा पुग्छन् भने बिर्सने रोग वा अन्य रोगले बाहेक, ती सूचना बिर्सिंदैनन् । मेमोरी बैंकमा स्टोर भएका सूचनाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहुन्न । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहु“दैन । किनकि सानैदेखि नै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर, यहाँ अर्को उल्लेखनीय कुरा के भने मेमोरी बैंकमा रहेका सूचना सुरक्षित रहे पनि यदि बारम्बार प्रयोग हु“दैनन् भने चाहेको बेलामा याद नआउन सक्छन् ? (डा. कोर्टेक्स हाँस्दै) यदि चाहेको बेलामा सूचना याद भएनन् भने ती सूचनाहरूको के काम ? होइन त ? त्यसैले आवश्यक सूचनालाई मेमोरी बैंकमा राख्न र आवश्यक परेको बेलामा तुरुन्त स्मृतिमा ल्याउन मेमोरी टेक्निक आवश्यक हुन्छ ।’
  
'भ्यागुतो र साइकल याद गर्नु छ । यसका लागि पहिला भ्यागुतो शब्द हेर्नुहोस् वा सुन्नुहोस् । अनि भ्यागुतोको स्न्यापसट लिनुहोस् । यसैगरी, साइकल शब्द हेर्नुहोस् वा सुन्नुहोस् र साइकलको स्न्यापसट लिनुहोस् । अब भ्यागुतो र साइकलको स्न्यापसटलाई जोडेर नयाँ  अद्भूत खालको स्न्यापसट बनाउनुहोस् । जस्तो कि एउटा ठूलो भ्यागुतोले साइकल कुदाइरहेको छ । यति गर्नुभयो भने भ्यागुतो र साइकल, यी दुई आइटम तपाईंलाई सधैंभर याद रहन सक्छन् । यसैगरी, कमिला र ब्रेड याद गर्न कमिलाले ब्रेड बोकेर हिडेको दृश्य सम्झनुहोस्। '

-------------------
‘अत: उपर्युक्त कुरालाई ध्यानमा राखेर नै मेमोरी टेक्निक बनेका हुन् । यस कार्यक्रममा म एक मेमोरी टेक्निक उल्लेख गर्न गइरहेको छु । यो आधारभूत मेमोरी टेक्निक हो । यो मेमोरी टेक्निक सिकेपछि आफैं पनि मेमोरी टेक्निक बनाउन सकिन्छ । यो मेमोरी टेक्निक नाम हो, ‘लुक, स्न्याप एन्ड लिंक टेक्निक ।’
लुकः सिक्नु वा याद गर्नुपर्ने कुरालाई सबैभन्दा पहिला रुचिपूर्वक पढ्नु, हेर्नु तथा सुन्नुपर्छ । अर्थात् मस्तिष्कमा सूचना प्रविष्ट गर्नका लागि माध्यमप्रति सजग हुनुपर्छ । यहा“ लुकको अर्थ केवल हेर्नु वा पढ्नु मात्र नभएर सुन्नु, अनभुव गर्नु, स्वाद लिनु तथा सु“घ्नु पनि हो । त्यो किनभने पञ्च ज्ञानेन्द्रीय सहायतबाट नै सूचना मस्तिष्कमा प्रवेश गर्छ ।
स्न्याप: अनि हेरेको वा सुनेको कुरालाई याद राख्न कल्पनाचित्र (स्न्यापसट) बनाउनुपर्छ ।
लिंक: अब याद गर्नुपर्ने कुराको स्न्यापसटलाई मेमोरी कोडको स्न्यापसटसंग वा दुई वा भन्दा बढी नयाँ स्न्यापसटहरू जोड्ने कार्य गर्नुपर्छ । यसरी दुई वा दुई भन्दा बढी स्न्यापसट जोडेर नयाँ  मानसिक चित्र (स्न्यापसट) बनाउनुपर्छ ।
---------------------
जस्तो कि दुई शब्द, भ्यागुतो र साइकल याद गर्नु छ । यसका लागि पहिला भ्यागुतो शब्द हेर्नुहोस् वा सुन्नुहोस् । अनि भ्यागुतोको स्न्यापसट लिनुहोस् । यसैगरी साइकल शब्द हेर्नुहोस् वा सुन्नुहोस् र साइकलको स्न्यापसट लिनुहोस् । अब भ्यागुतो र साइकलको स्न्यापसटलाई जोडेर नया“ अद्भूत खालको स्न्यापसट बनाउनुहोस् । जस्तो कि एउटा ठूलो भ्यागुतोले साइकल कुदाइरहेको छ । यति गर्नुभयो भने भ्यागुतो र साइकल, यी दुई आइटम तपार्इंंलाई सधैंभरि याद रहन सक्छन् । यसै गरी कमिला र ब्रेड याद गर्न कमिलाले ब्रेड बोकेर हिडेको दृश्य सम्झनुहोस् । भ्यागुतो, साइकल तथा टोपी याद गर्नु छ भने साइकल र टोपीको स्न्यापसटलाई जोडेर नयाँ  स्न्यापसट बनाउनुहोस्, जस्तो कि साइकल कुदाइरहेको भ्यागुतोको टाउकोबाट टोपी खसेको नयाँ स्न्यापसट । अतः यसरी एकै छिनमा सयांै आइटम वा शब्द सजिलै र सधैंभरि यादराख्न सकिन्छ ।’
------------------
डा. कोर्टेक्सले सभागृहको चारैतिर नजर दौडाउंदै भने, ‘तपाईंहरूले अझ पनि मेमोरी टेक्निकमाथि शंका लाग्छ भने स्मृति तपाईंको सामु नै हुनुहुन्छ । तपार्इंहरूले अरू प्रयोग गरी हेर्न सक्नुहुन्छ ?’ डा. कोर्टेक्सले दर्शकलाई चुनौती दिए । सुधीरले आफ्नो मोबाइलबाट १० जना साथीहरूको नाम र फोन नम्बर सोधे । स्मृतिले तुरुन्त नै नाम र नम्बर जस्ताको त्यस्तै भनेको देखेपछि सबैको मुख ह्वांग भयो । मोहनले सोधे, १९ मे १९८० कुन बार पर्छ ? फुच्ची स्मृतिले मुसुक्क हा“स्दै भनिन्, ‘सोमबार । ‘मोहन मुसुक्क हाँसे, ‘जवाफ एकदम सही छ । यो मेरो जन्मदिन हो । ‘साक्षीले सोधिन्, २१+३४+५६+९०+३२–२९–६५ कति हुन्छ ? स्मृतिले हाँस्दै भनिन्, ‘१३९ ।
‘ज्योतिले सोधिन्, ‘४५६ इन्टु २१३ कति हुन्छ ? स्मृतिले भनिन्, ‘९७१२८ ।’
प्रो. महेन्द्रले सोधे ‘८७ वर्गमूल कति हुन्छ ?’ ‘९३२७ । ‘स्मृतिको अद्भूत मेमोरी पावरले प्रभावित भई प्रोफेसर महेन्द्र दौडिदै मञ्चमा गए र स्मृतिलाई उचालेर काँधमा राखें । खुसीले उफ्रींए। अन्य दर्शक पनि मञ्चमा गएर स्मृतिमाथि पैसाको बर्सात गर्न थाले । उपस्थित सबैले उठेर ताली बजाए । त्यो क्षण देखेर डा. कोर्टेक्स खुसीले गदगद थिए । (लेखक मनोविद तथा CogMED कोच हुन्। )